एमाले–माओवादी एकता: चुनाव चिह्नमा सहमति जुटाउन बाँकी

सुरेशकुमार यादव

काठमाडौँ, चैत १५ गते । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकताका लागि बनेको अन्तरिम विधान मस्यौदा कार्यदलले चुनाव चिह्न बाहेक सबै कुराको टुङ्गो लगाएको छ । कार्यदलले तयार पारेको विधान ७७ दफाको छ । पछि त्यसमा एक दुइटा दफा तलमाथि गर्न सकिन्छ, नभए यही रहने कार्यदलका सदस्य एवम् एमालेका नेता वेदुराम भुसालले जानकारी गराउनुभयो । केन्द्रीय समितिमा स्थायी कमिटी र पोलिटब्युरोसहित तीन संरचना हुनेछन् । केन्द्रीय समिति २९९ सदस्यीय, पोलिटब्युरो सदस्य ९९ तथा स्थायी समिति ३३ सदस्यीय हुनेछ । एमालेको केन्द्रीय कमिटी २०६ सदस्यीय छ । केन्द्रीय कमिटीमा रहेका नेता संवैधानिक पदमा गएका छन् । ती पद स्वतः खाली हुनेछन् । माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति चार हजारभन्दा बढी रहे पनि त्यसलाई एक सयमा झार्ने सहमति भएको छ । bam
यद्यपि यस कार्यसमितिमा कुन दलले कति भाग पाउने हो त्यसको टुङ्गो कार्यदलले लगाएको छैन । भुसालले भन्नुभयो, ‘कार्यसमितिमा कुन दलले कति भाग पाउँछन् त्यसको टुङ्गो लगाउने काम कार्यदलको होइन । त्यसको टुङ्गो एकता संयोजन समितिले लगाउनेछ । ’ पार्टीको नेपाल कम्युनिस्ट पार्टी रहनेछ र त्यसको संरचना १० तहको हुने उहाँले जानकारी गराउनुभयो । त्यसका साथै लेखा आयोग, निर्वाचन आयोग र अनुशासन आयोग गरी तीन आयोगको पनि प्रस्ताव गरिएको छ । त्यस्तै राष्ट्रिय परिषद्, प्रदेश परिषद् र सल्लाहकार परिषद् गरी तीन वटा प्रवेशको पनि विधानको मस्यौदामा प्रस्ताव गरेको छ । उहाँले भन्नुभयो, ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रका अलगअलग समिति हुनेछ र एकमात्र निर्वाचन क्षेत्र भएको प्रतिनिधिसभाका लागि प्रदेशसभाका निर्वाचन क्षेत्रका समितिले हुनेछ । ’ प्रदेश समितिको चार, जिल्ला समितिको ३, स्थानीय तहका समितिहरूको २ र वडा समितिको एक वर्षको कार्यकाल रहने विधानको मस्यौदामा रहेको जनाइएको छ । चुनाव चिह्नका लागि एमालेले सूर्य नै राख्नुपर्ने भनेको छ भने माओवादी केन्द्र त्यसलाई स्वीकार गर्ने पक्षमा छैन । माओवादी केन्द्रले दुवै पार्टीको चुनाव चिह्न नराखी कुनै अर्को राख्नुपर्ने भनेको छ । सूर्य राख्ने हो भने त्यसभित्र हसिया हथौडा राख्नुपर्ने माओवादी केन्द्रले तर्क गरेको छ ।

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना