थारू : तन्त्रमन्त्र र राजनीति

Luckyलक्की चौधरी

 

थारू समुदायको उत्पत्ति, थारू शब्दावली र उद्गमस्थलका बारेमा इतिहासकारबीच मतैक्य छैन । थामा ‘रू’ प्रत्यय लगाउँदा ‘थारू’ बन्छ । त्यसको अर्थ ‘रुक्नेवाला’ हुन्छ । आदिमकालमा सबै मानिस घुमन्ते युगमा थिए । यताउता घुमेर, फिरेर खाना बटुल्थे । अहिलेकोजस्तो खेतिपाती थिएन । थारूहरू नेपालमै रहेको लाखौँ वर्षको इतिहास छ । अर्थात् थारूहरू आदिमकालदेखि नेपालको तराई भू–भागमा जङ्गल फाँडेर बसे । उत्तरको पहाड उक्लेनन् । दक्षिणको भारतीय भूमिलाई पनि स्थायी बसोबास बनाएनन् । यद्यपि, भारतको राजस्थानदेखि पूर्व गङ्गाको मैदानसम्मको भू–भागमा थारूहरू बसोबास गरेको इतिहास पाइन्छ । अद्यापि, थारूको बसोबास भारतका केही स्थानमा छ । प्राचीन समयमा थारू समुदायको आफ्नै जातीय स्वायत्त शासन थियो । गणतन्त्रात्मक अभ्यास गरेका थिए । जसलाई थारूले ‘जनपद’ भन्थे ।
प्राचीनकालमा पूर्वी क्षेत्रमा मोरङको कदमाहा, सप्तरीको बरमझिया, रौतहट, बुटवल, दाङजस्ता ठाउँमा गणतन्त्रात्मक शासन प्रणालीको थारूले अभ्यास गरेको मानिन्छ । अहिले पश्चिमको कञ्चनपुरदेखि पूर्वको झापासम्मको समथर तराईमा थारूको बसोबास छ । २०६८ को जनगणनाअनुसार थारू समुदायको जनसङ्ख्या १७ लाख ३७ हजार ४७० छ ।
तन्त्रमन्त्र 
थारू समुदायमा तन्त्रमन्त्रको विश्वास अद्यापि छ । त्यसको प्रयोगलाई झारफुक, गुन, गुरैपाटी भन्ने गरिन्छ । मानवको सुरुवातीकालताका औषधि, उपचार, अस्पताल, चिकित्सक केही थिएन । गाउँकै वैद्य, गुरुवाहरू तन्त्रमन्त्रको सहायताले गाउँलेलाई आइपर्ने आकस्मिक समस्याको समाधान गर्थे । थारू समाजमा बोक्सी, गुरुवा, टुनामुना, वनदेवी, मसान, भुतप्रेत आदिको डर सधैँ रहने गर्छ । त्यो डरलाई गुरुवा (तन्त्र जान्ने मान्छे) ले मात्र भगाउने आँट गर्छ । अर्थात् गाउँलेलाई आइपर्ने यस्ता खतराको रक्षक गुरुवामात्र हुन्छ । त्यसरी गाउँघरमा गुरुवाको भर पर्ने वातावरण बन्दै आएको हो । धानमा रोग लागे गुरुवालाई देखाउने, मान्छेलाई सर्प, बिच्छीले टोकेमा गुरुवा वैद्यकै सहारा लिने, गाउँमा महामारी चलेमा गुरुवाकै सहारा, मान्छे बिरामी हुँदा गुरुवाकै भर । घाउ खटिरादेखि, हड्डी भाँच्चिएमा, आगोले पोल्दा सबै उपचार गुरुवाकै झारफुक र वैद्यको जडीबुटीको औषधिले निको पार्ने गाउँघरको प्रचलन उहिल्यैदेखिको हो । कोही झारफुकबाट निको हुन्थे, कोही अकालमा ज्यान गुमाउँथे । उहिले अस्पताल, चिकित्सक, औषधि केही नहुँदा गुरुवाको सहारा लिनु बाध्यात्मक अवस्था थियो होला । तर, अहिले यी सबै चीजको उत्पादन र व्यवस्था भैसक्दासमेत गुरुवाप्रति समाजमा मानिसको विश्वास कायमै रहनु समाज अझै अन्धकालीन अवस्थाले जकडिएको हो कि भन्ने लाग्छ । तुलनात्मक रूपमा चेतनास्तर बढेको होला तर घोडाघोडी नगरपालिका–५ देवकलियामा राधा चौधरीलाई बोक्सीको आरोपमा स्थानीय गुरुवा रामबहादुर चौधरीले फागुन २४ मा गरेको दुव्यर्वहार र कुटपिटले समाजको चित्र उजागर गरिदिएको छ । सबैलाई घोत्लिन बाध्य बनाइदिएको छ ।
अपरिचित भएर पनि (सोबारे ज्ञान नहुँदा पनि) कुनै चीज या वस्तुमा अधिक विश्वास गर्नु अन्धविश्वास हो । अर्थात् आदिमकालदेखि पुस्तान्तरण हुँदै आएको एउटा विश्वास नै हो अन्धविश्वास । जसको बारेमा मान्छे चेतना नहुँदा नहुँदै पनि मान्न बाध्य छ । थारू गाउँमा एउटा जबर्जस्त विश्वास छ, मान्छे मरेपछि बाहिर जलाउँदा या जमिनमा गाड्दा पनि उसको आत्मा प्रेतका रूपमा फर्केर आउँछ । त्यसले अनावश्यक कष्ट दिन्छ । त्यसलाई रोक्न र खुसी पार्न गुरुवाकै पूजापाठ, तन्त्रमन्त्र चाहिन्छ । घरका सदस्यलाई दुःख दिनबाट बचाउन गुरुवाले मात्र सक्छन् । अर्थात् गुरुवासँग त्यो दिव्यज्ञान छ, जसले प्रेतात्मालाई खुसी बनाएर घरका सदस्यलाई सुरक्षित राख्न सक्छ । उसो त थारू समाजमा मात्र होइन, गुरुवा, झारफुक, धामीझाँक्रीप्रतिको विश्वास नेपाली समाजमै विद्यमान छ । बिरालोले बाटो काट्दा डराउनु, काग कराउँदा, स्याल या कुकुर रुँदा अशुभ मान्नु, पुरुषको बायाँ र महिलाको दायाँ आँखा, शरीरको कुनै अङ्ग फरफराउँदा अशुभ सङ्केत ठान्नु हाम्रो नेपाली समाजका अन्धविश्वास हुन् । यी अन्धविश्वास शिक्षित समाजमा पनि देखिन्छ ।
यात्रा गर्नेक्रममा कसैले हाँछ्यू गर्दा, तेलीको दर्शन पाउँदा, रित्तो गाग्रो देख्दा पनि अशुभ मान्ने प्रचलन अद्यापि छ । यात्रामा हिँड्दा सगुनका रूपमा दही खानु, माछा हेरेर यात्रा थाल्नु, भरिएको कलश हेर्नु आदि अन्धविश्वासले शिक्षित माानिसका मनमा समेत घर जमाएर बसेको छ ।
राजनीति 
नेपालको राजनीतिमा थारू समुदायको पहुँच ओरालोतिर छ । यसअघि ०६४ सालको संविधानसभा निर्वाचनमा ४२ जना थारू सांसद थिए । ०७० को दोस्रो संविधानसभामा त्यो सङ्ख्या ३७ जनामा झ¥यो । २०७४ को निर्वाचनबाट प्रतिनिधिसभामा १० जना प्रत्यक्ष समानुपातिकमा सातजना निर्वाचित भए । प्रदेशसभामा १७ जना थारू सांसदमा निर्वाचित भए । जसमा १३ जना समानुपातिकबाट आए । राष्ट्रियसभा सदस्यमा कैलालीका हरिराम चौधरीमात्र एजना सदस्य गरी कुल ३८ जना थारू अहिले सांसद छन् । तर, गुणात्मक सङ्ख्या निकै न्यून छ ।
त्यस्तै, केन्द्रीय सरकारमा माओवादी केन्द्रकी रामकुमारी चौधरी एकजनाको मात्र प्रतिनिधित्व छ, कृषि राज्यमन्त्रीका रूपमा । तर, प्रदेश सरकारतर्फ दुईजना थारू मन्त्री हुनुहुन्छ । त्यस्तै, एकजना प्रदेशसभाको उपसभामुख । प्रदेश ५ को भौतिक पूर्वाधारमन्त्रीमा एमालेका वैजनाथ चौधरी, प्रदेश ७ मा भूमि व्यवस्था र कृषिमन्त्रीमा माओवादी केन्द्रकी विनिता चौधरी हुनुहुन्छ । त्यस्तै, प्रदेश ५ को उपसभामुखमा एमालेकी कृष्णी थारू (बर्दिया) हुनुहुन्छ ।
थारू राजनीतिको उद्गमस्थल कैलालीलाई मानिन्छ । जहाँबाट थारू हक–अधिकारको आवाज उठ्ने गर्छ । कैलाली थारू समुदायको सबैभन्दा बढी जनसङ्ख्या भएको जिल्ला हो । जहाँ थारूको मात्र जनसङ्ख्या तीन लाख २२ हजार १२० छ । कैलालीको कुल जनसङ्ख्या सात लाख ७५ हजार ७०९ छ । त्यस्तै, अन्धविश्वासमा सबैभन्दा बढी रुमल्लिएको जिल्ला पनि कैलाली नै हो । जहाँ राधा चौधरीजस्ता चेली बोक्सीको आरोपमा निर्घाट कुटिन्छन् । २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा ठूलो घटना घट्यो । जहाँ सातजना सुरक्षाकर्मी र एकजना नाबालकको ज्यान गयो । सोही घटना हो, थारूप्रति गैरथारूको विश्वासलाई ह्वात्तै घटाइदियो । सोअघि थारूप्रति गैरथारूको सद्भाव र विश्वास कायम थियो । सो घटनापछि अहिले थारूहरू अरूको नजरमा घटुवा भए । अहिले पनि सो घटनामा संलग्न भएको आरोपमा २५ जनाले बन्दी जीवन व्यतीत गरिरहेका छन् । पचासजनाभन्दा बढीलाई स्थानीय प्रशासनले ज्यान मुद्दा लगाई पक्राउ पुर्जी काटेको छ ।
पछिल्लो निर्वाचनमा कुनै थारू दलले राष्ट्रिय र क्षेत्रीय दलको मान्यता पाएन । रुक्मिणी चौधरी नेतृत्वको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) एक्लै निर्वाचनमा होमियो । भानुराम थारू नेतृत्वको समूहले विजयकुमार गच्छदारले छाडेको फोरम लोकतान्त्रिकलाई व्युँताउनेगरी निर्वाचनमा होमियो । तर, जनताले विश्वास गरेनन् । गच्छदारले असोज ३० गते आफ्नो दल काँग्रेसमा विलीन गराउनुभयो । गच्छदारको दल र भनुराम थारू नेतृत्वको थरुहट तराई पार्टी नेपालबीच २०७४ वैशाख ७ गते एकीकरण भएको थियो । तर, गच्छदार कांग्रेसमा विलीन भएपछि भानुरामको समूह असन्तुष्टि जनाउँदै काँग्रेस नगएर पुरानै दल व्युँताउने कसरतमा लाग्यो ।
बन्दीको अनशन
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०७४ जेठ ४ गते टीकापुर घटना र मधेस आन्दोलनका क्रममा लगाइएका झुटा मुद्दा फिर्ता लिने निर्णय गरेको थियो । तर, कार्यान्वयनमा आएन । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि आश्वासन दिएको थियो तर त्यो सरकारले पनि माखो मारेन । अहिले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पनि सोही आश्वासन दिइरहेको छ । व्यवहार हेर्न बाँकी छ । टीकापुर घटनापछि सरकारले घटनाको सत्य तथ्य छानबिन गर्न पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गरेको थियो । सो आयोगले प्रतिवेदन बुझाए पनि सार्वजनिक भएन । त्यस्तै, अनुसन्धानका पूर्वप्रमुख देवीलाल शर्माको संयोजकत्वमा अर्को छानबिन समिति गठन गरिएको थियो । सो समितिले पनि प्रतिवेदन सरकारलाई बुझायो तर सार्वजनिक भएन ।
टीकापुर घटनामा आरोपित २५ जना थारू कैलाली कारागारमा पुर्पक्षका लागि थुनामा छन् । तर, दोषी भए नभएको प्रमाणित छैन । आशङ्कामै थुनामा राखिएको छ । घटनापछि फरार टीकापुरका रेशम चौधरी दुई वर्षसम्म निर्वासित जीवन बिताए । उनले गत फागुन १४ मा कैलाली अदालतसामु आत्मसमर्पण गरे । निर्वासित अवस्थामै कैलाली १ बाट प्रतिनिधिसभा निर्वाचनमा भारी मतका साथ निर्वाचित भए । तर, निर्वाचन आयोगले अहिलेसम्म उनलाई निर्वाचित प्रमाणपत्र दिएको छैन । सोही प्रमाणपत्र, झुटा मुद्दा खारेजी र पद तथा गोपनीयताको शपथको माग गर्दै कैलाली कारागारका राजबन्दीले फागुन २० गतेदेखि २८ गतेसम्म अनशन बसे । माग पूरा गराउने आश्वासन दिएपछि राजबन्दीले अनशन तोडे । अनशनकै क्रममा रेशम चौधरीको स्वास्थ्य अवस्था बिग्रेपछि उनलाई थप उपचारका लागि फागुन २६ गते वीर अस्पतालमा भर्ना गरिएको थियो । अति सघन कक्षमा उपचाररत रहे पनि उनले चैत २ गतेसम्म अनशन बसे । गृहमन्त्री रामबहादुर थापाले माग पूरा गराउने भन्दै रेशमलाई अनशन तोडाउनुभएको थियो ।
नगरप्रमुखमाथि आक्रमण 
कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि फागुन २८ गते गोली र खुकुरी प्रहार भयो । सुख्खड बजारस्थित घरमै उनीमाथि अज्ञात समूहले आक्रमण गरेको थियो । उनी घाइते भए । उनको उपचार शिक्षण अस्पताल काठमाडौँमा जारी छ । कैलालीमा राधा चौधरीलाई बोक्सीको आरोपमा कुटपिट गर्नेलाई नगरप्रमुख चौधरीले जोगाउन खोजेको आरोपमा उहाँमाथि आक्रमण भएको आशङ्का गरिएको थियो । तर, पछि प्रहरीको अनुसन्धानबाट चन्दा नदिएपछि आक्रमण गरेको कुरा बाहिर आयो । आक्रमणको आरोपमा विप्लव माओवादीका कार्यकर्ता पक्राउ परेका छन् । उनीहरूमाथि प्रहरीले छानबिन गरिरहेको छ । थप छाबिनपछि सत्य तथ्य बाहिर आउने नै छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना