जडीबुटीको चोरी निकासी

jadibuti_2खलङ्गा, चैत्र १६ गते । जिल्लाको उच्च लेकाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटीको अवैध चोरी निकासी हुने गरेको छ । सम्बन्धित निकायको उदासीनताका कारण चोरी निकासी तीव्ररूपमा बढेको हो । सप्लायर्सले राजस्व छल्न अवैध तरिकाले निकासी गर्ने गरेका छन् तर नियामक निकायले बेवास्ता गर्दा लाखौँको राजस्वमा घाटा लागेको हो । 

जिल्लाकोे उत्तरी क्षेत्र चाखुरे, देउराली, साइकुवारी, सागबारी, बुराउसे, ठाकुरजी, रोल्पापाटन तथा जिल्लाका उच्च क्षेत्रमा पाइने कुरिलो, काउलो, पाखनबेद, सुगन्धवाल, तितेपाती, जटामसी, चिराइतो, गुच्छी च्याउ, लौठ सल्ल्ला, पाँचऔँले, सेतकचिनी जरा, बुकी फूल, कटुको, पाँचऔँले, समयो, गुच्चीच्याउ, पदमचाल, लटेचुक, भुत्ले, सतुवा, अतिस, सुनजरीलगायत बहुमूल्य जडीबुटीको अवैध चोरी पैठारी बढेको बारेकोट ३ का महेन्द्र बोहोराले जानकारी दिनुभयो ।
खुला सिमानाका कारण तस्करहरूले लाखौँ मूल्यको जडीबुटी अबैध रूपमा निकासी गर्दै आएका छन् । चोरी निकासी बढ्न थालेपछि बारेकोटवासीले रोकथामका लागि पहल गरिदिन माग गरेका छन् । जथाभावी चोरी निकासी बढ्न थालेपछि मूल्यवान् जडीबुटी मासिँदै जाने खतरा रहेको छ । कति चोरी निकासी हुन्छ एकिन तथ्याङ्क नभए पनि बर्सेनि लाखौँको जडीबुटी अवैध रूपमा निकासी भइरहेको बारेकोट गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष श्रीजना बस्नेतले बताउनुभयो ।
जिल्ला वन कार्यालयले गरेको एक अध्ययन अनुसार प्रत्येक वर्ष जाजरकोटमा १७ लाख ६५ हजार ५५३ केजी जडीबुटी सङ्कलन गर्नसकिने उल्लेख छ तर गत आवमा दुई लाख ६९ हजार ७४३ केजी विभिन्न प्रजातिका जडीबुटी निकासी गरी १९ लाख ६७ हजार रुपियाँ मात्र राजस्व सङ्कलन भएको थियो ।
सरकारले प्रतिबन्धित जडीबुटीको सूचीमा सूचीकृत जडीबुटीसमेत निकासी भइरहेको स्थानीयको भनाइ छ । चोरी निकासी रोकथामतर्फ कसैको चासो नदिएको स्थानीयको भनाइ छ । जडीबुटीको उचित संरक्षण नहुँदा पाटन नै रित्तिँदै गएका छन् । चाखुरे नाकामा सरकारी उपस्थिति भएपछि मात्र बहुमूल्य जडीबुटीको चोरी निकासी रोकिने र संरक्षण हुने वडाध्यक्ष बस्नेतले बताउनुभयो ।
खुला सिमानाका कारण चोरी निकासी रोक्न समस्या भएको हो तर अब चोरी निकासी रोक्नेतर्फ स्थानीय सरकारसँग सहकार्य गरेर आवश्यक पहल गर्ने जिल्ला वन अधिकृत उपेन्द्रप्रसाद पटेलले बताउनुभयो । अवैध जडीबुटी निकासी रोक्न रेन्जपोस्टहरूलाई निर्देशन दिएको छु वन अधिकृत पटेलले भन्न्ुभयो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना