प्रमको भारत भ्रमणपछि एमाले–माओवादी एकीकरण

काठमाडौँ, चैत १८ गते । नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणअघि एमाले र नेकपा (माओवादी) बीच हुने भएको एकीकरण त्यसअघि नहुने भएको छ ।  भारत भ्रमणअघि नै एकीकरण गर्ने भनी प्रधानमन्त्री ओली र माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमति भएको थियो । तयारी नपुगेका कारण भ्रमणअघि एकीकरण नहुने बताइएको छ । 

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले एकीकरणका लागि गठन भएको दुईटा कार्यदलले आफ्नो प्रतिवेदन बुझाए पनि त्यसको अध्ययन गर्ने कार्य नसकेकाले भ्रमणअघि एकीकरण सम्भव नरहेको बताउनुभयो ।
सङ्गठनात्मक कार्यदलमा एमालेबाट ईश्वर पोखरेल, वेदुराम भुसाल, रघुवीर महासेठ, सुरेन्द्र पाण्डे तथा माओवादीबाट रामबहादुर थापा बादल, गिरिराजमणि पोखरेल, मातृका यादव, वर्षमान पुन र जनार्दन शर्मा हुनुहुन्छ । त्यस्तै विधान निर्माण कार्यदलमा एमालेबाट माधव नेपाल, भीम रावल, प्रदीप ज्ञवाली तथा रघुजी पन्त तथा माओवादीबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत, पम्फा भुसाल र देवेन्द्र पौडेल रहनुभएको छ ।
यी दुई कार्यदलले आआफ्ना प्रतिवेदन एकता संयोजन समितिमा बुझाइसकेको छ । एमालेका उपाध्यक्ष भीम रावलका अनुसार कार्यदलले बुझाएको प्रतिवेदन अध्ययन गरेर एकता संयोजन समितिले पारित गरेपछि त्यसमाथी दुवै दलमा छलफल भएपछि मात्र एकता प्रक्रिया अगाडि बढ्नेछ । दुवै पार्टीको आआफ्नो बैठक बसेर प्रतिवेदनमाथि छलफल गरेर त्यसलाई पास गरे मात्र एकीकरण हुने उहाँले बताउनुभयो ।
प्रक्रिया लम्बिने भएकाले प्रधानमन्त्री ओली भारत भ्रमण जानुअघि एकीकरण हुने सम्भावना नरहेको उहाँले बताउनुभयो । भ्रमणअघि एकीकरण हुनुपर्छ भनी कुनै औपचारिक निर्णय थिएन, छलफल र चर्चा मात्र भएको थियो, उहाँले भन्नुभयो, वैशाखमा एकीकरण घोषणा गर्ने गरी कार्य भइरहेको छ । ’ bam
एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहनेछ भने २९९ सदस्यीय कार्यसमिति रहने विधान मस्यौदा तयारी कार्यदलले बुझाएको प्रतिवेदनमा उल्लेख छ । १६ अध्याय र ७८ दफा रहेको विधान अनुसार पार्टीको स्थायी समिति ३३ सदस्यीय र पोलिटब्युरो ९९ सदस्यीय रहनेछ ।
राजनीतिक प्रतिवेदन लेखन कार्यदलले बुझाएको प्रतिवेदन अनुसार पार्टीको मुख्य कार्यदिशा समाजवाद रहनेछ । मार्गदर्शक सिद्धान्तमा हाललाई माक्र्सवाद–लेलिनवाद राखिएको छ । एमालेले अवलम्बन गरिएको जनताको बहुदलीय जनवाद र माओवादी केन्द्रले अवलम्बन गरेको माओवाद र एक्काइसौँ शताब्दीको जनवाद महाधिवेशनबाट टुङ्गो लगाइने प्रतिवेदनमा उल्लेख छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना