नबाझौँ, मन माझौँ

 Narayan p paudelनारायणप्रसाद पौडेल

युरोपियन युनियन(ईयु)ले नेपालीको नाडी छाम्न निर्वाचन पर्यवेक्षण प्रतिवेदनमार्फत एउटा सानो तीर सोझ्याउँदा वित्तिकै यत्रो तहल्का मच्चिएला भन्ने सोचेको थियो वा थिएन, उसैले जानोस्, तर मच्चियो मज्जैले । नेपालका प्रधानमन्त्रीले समेत सार्वजनिक मञ्चमा पुगेर बोल्नपर्ने अवस्था आउनु राम्रो लागेन । त्यति सानो तीरले यति धेरै तरङ्गित हुनु जरुरी थिएन, छैन ।
भनेजति युरो र डलर पाए÷दिए, सत्तामा पनि पु¥याइदिए, सिङ्गै नेपाललाई क्रिश्चियन बनाइदिने र निसाना उत्तरतिर सोझ्याइदिने कसम खाएर सत्तामा पुगेका नेता हाम्रो देशमा जति पनि छन् । खोजीको विषय भएन । नेपालको संविधानबाट फलानाको आरक्षण हटाउ र फलानाको राख भन्ने आधार तिनै दाना खाएर गाना गाउने नेताले नै दिएको देखियो । स्वदेशी सहयात्रीभन्दा विदेशी बैरीलाई काँध थाप्ने यो देशमा रहुञ्जेल शान्ति र समृद्धि त हुँदैन नै, द्वन्द्व पनि जारी रहने निधो भयो । समृद्धिको यात्रामा आरोप लगाएर अवरोध गर्ने अधिकार अरूलाई दिँदा पराधीन हुन स्वीकार गरेको ठहरिने विषय बिर्सन मिल्दैन । १२ बुँदे शान्ति सम्झौताले त्यही सन्देश दिएको स्मरण गरे पुग्छ ।
‘हिन्दूराष्ट्र’ नबनाएको बदलामा भारतले नाकाबन्दी ग¥यो हिजो, बदनामी कमायो पनि । पछुताउन परेको छ र काठमाडौँमा लस्कर लिएर धाउने दिन आएको छ । आज ईयुले फेरि अर्को बखेडा झिकेर निहुँ खोज्दैछ ? हाम्रो आँत राम्ररी नछामीकन तीर सोझ्याउने आँट गरेको छैन । डलर र युरोका लोभको दलदलमा फँसेका दल, नेता, प्रशासक र जनजातिबाट काम फत्ते हुन्छ भन्ने बुझेको होला । दलालको दम दाम पाउन्जेलसम्म मात्र रहन्छ । अप्ठ्यारो परे, अलि धेरै दाम दिने अर्को दाता पाए, उतैतिर लाग्छन्, दगुर्छन् । इमान भएको दल र व्यक्ति दलाल बन्दैन, बैमानको भर हुँदैन । भर नभएकालाई लगानी गर्दा भारतलेजस्तै पुनः मूल्याङ्कन गर्ने र नेपालप्रतिको हेपाहा दृष्टिकोण फेर्ने दिन आउनेछ, अवश्य नेपालीले आन्तरिक व्यवस्थापन सुदृढ पार्दा वित्तिकै । साथैका सहयात्रीसँग भएको आपसी मनमुटावलाई मेट्न र सबक सिकाउन सात समुद्रपारीका शत्रुको साथ लिँदा गुलाम बन्नपर्नेछ भन्ने कुरा किन नसोचेको होला ? डलर र युरोको मोहमा फँसेर घर झगडा मञ्चाउँदा मिलाउन आउनेले झन् धेरै हेप्ने र चेप्ने मौका पाउँछ नै । द्वन्द्व व्यवस्थापन, निर्वाचन, लोकतन्त्रको सुदृढीकरण, सवलीकरण, अधिकारको रक्षा र सशक्तीकरण, शिक्षा, स्वास्थ्य, सुरक्षा, सञ्चार, न्यायमा पहुँच, भौतिक निर्माण आदिका लागि लिइएको सहयोगले उसको आँट उचालिएको हो । सरकारी तथा गैरसरकारी दुवै तहबाट आएको सहयोगको दुरूपयोग बढ्नाले हाम्रो अवस्था सुध्रेन । बिग्रेको अवस्थामा दान दिनेले हेप्नु र लिनेले हेपिनु सामान्य हुन्छ । यहाँ भएको पनि त्यही हो । ईयुलाई सघाउने काम युरो र डलरबाट पालित पोषित संस्थाले नै गरेका छन् । तिनलाई तत्कालै हटाउन र बाहिर पठाउन अलि बुद्धि पु¥याउन पर्छ । आवेगमा आएर र आत्तिएर हुँदैन । यसरी हल्ला गरेर त झन् हुँदै हुँदैन ।
डलर र युरोद्वारा सञ्चालित राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था त सबै कुना काप्चामा छिरेका छन् । तुरुन्तै निकाल्न त्यति सजिलो नहोला । तिनले ल्याएका युरो र डलरका डोकाले हाम्रा भोका नेपालीलाई कुजा बनाएका छन्, कजाएका छन्, कङ्गाल नेपालीको उद्दार गरेको भनेर भजाएका छन् विश्वभरि । हाम्रा धेरै नेताका तन र मन पनि खरिदेका छन् तिनैले । राज्यका कुनै अङ्ग चोखा छैनन् डलर र युरोले । प्रोजेक्टविना पाइला नचाल्ने प्रशासक र न्यायमूर्तिको कमी छैन । युरोप भ्रमणमा जान पाए सदनमा बस्दैनन् सांसदहरू । डिभी र पिआरका लागि दाम्लो चुडाल्ने सचिव र मन्त्री भएको देश हो यो । अरुको त के कुरा गर्नु ? लाजको मर्नु !
कर्णाली प्रदेशका मुख्यमन्त्री र ५ नं. प्रदेशका सामाजिक विकासमन्त्रीले गैरसरकारी संस्था (एनजिओ)लाई नियन्त्रण गर्ने जुन विचार राखेका छन्, जायज हो त्यो । तर लागु गर्न धेरै कठिन छ । बार एशोसिएसन, पत्रकार महासङ्घ, मानव अधिकारवादी सङ्गठन मात्र हैन, पेशागत सङ्गठन सबै गैरसरकारी संस्था अर्थात् एनजीओकरण भइसकेका छन् । राष्ट्रपति र प्रधानमन्त्री कार्यालयमा अरूको भन्दा बढी तिनैको पहुँच छ । इयु र अमेरिकाद्वारा पालित पोषित गैरसरकारी संस्थाको शक्ति सानो छैन । जताततै फैलिएका छन् जरा र हाँगाहरू । त्यस्ता राष्ट्रिय र अन्तर्राष्ट्रिय माफियाको जालो तोड्न योजनाबद्ध तरिकाले विस्तारै पाइला चाल्नुपर्छ । व्यापक जनताको साथ लिएर मात्र काम थाल्नुपर्छ । हतारिनु हुँदैन । लक्षित जनताबाटै विरोध हुने आधार तयार पारिदिने हो भने सजिलो पर्छ बरु ।
संविधानमा सङ्घीयता र धर्मनिरपेक्षता छिराइसकेपछि बल्ल खसआर्यको आरक्षण बन्द गर्न उर्दी जारी गरिएको छ । सङ्घीयता कार्यान्वयनका लागि उनैसँग कर्जा लिनपर्ने बाध्यता छ । धर्मनिरपेक्षताको करामत त देखिसक्यौँ, भोगीसक्यौँ । चर्च नभएको गाउँ भेट्टाउन गाह्रो हुने स्थिति आइसक्यो । युरो र डलरको त्यो करामत वा प्रगति उनीहरूले सोचेको समयभन्दा पनि धेरै छिटो भएको हुनुपर्छ । नत्र, यतिछिट्टै त्यस्तो आदेश नआउनुपर्ने हो, तर आयो । योजनाबद्ध तरिकाले अगाडि बढ्ने गर्छन्, युरोप र अमेरिकी । हामीजस्तो ‘जस्तो पर्ला, उस्तै टर्ला’ भनेर हाम्फाल्दैनन् । लगानी गर्दा पनि भोलि उठ्ने आम्दानीको पूरै हिसाब किताब गरेर गर्छन् । अक्षर र शब्दका अर्थ र आकार तौलेर प्रतिवेदन लेख्छन् । परिणाम कुर्छन्, हेर्छन् । त्यसैले सफल हुन्छन् तिनीहरू र असफल हुन्छौं हामी । हामी कराउँछौँ र हराउँछौँ । नबोलीकनै कागजी रूपमा सिध्याउँछन् र पराधीन बनाउँछन् उनीहरूले । जति सन्धि र सम्झौता भएका छन्, त्यतिमा ठगिनुपर्ने हाम्रो नियति बनेको पनि यसैले हो ।
आफ्नै घर र खेतबारीको मालिक बनेर, खनी खोस्री गरेर कमाउन र आफ्नैपनको पौरखमा रमाउनभन्दा अर्काको करिया र भरिया हुन रुचाउने बानी प¥यो, पारियो नेपालीलाई । गैरसरकारी संस्थाको करामतले कस्तोसम्म बनाएको छ भने खोलाको पानी खाँदा पखाला लाग्ने र झोलाको पानी खान पर्ने भए धेरै । विषादीविहीन परम्परागत उत्पादनमा आधारित आफ्नै खेतबारीमा फलेको कोदो, जौं, उवा, फापर, आटो, ढिडो, मकै, भटमास्, मही, सिन्की, साग, मस्यौरा, सुकाएका चाना आदि गाई भैँसीले खाने दाना बनाइएको छ भने आयातीत वर्णशङ्कर विषाक्त खाद्यान्न नेपालीका भान्सामा पाक्न थाले । आधुनिक बन्दा वा बन्न खोज्दा टुप्पीदेखि पैतालासम्म डुबेर पूरै परनिर्भर भएको पत्तै नपाएकाका फुक्ला फूर्ति सूर्तिझैँ माडिएका छन् । त्यसैले मनपरी बोल्छन्, कार्यान्वयन हुन्नन्, हुनसक्दैनन् । आफँै परनिर्भर भएकाले केही गर्न पनि सक्दैनन् । आदेश, ऊर्जा वा बेट्रीका भरमा चल्ने यन्त्रमानवजस्तै भएका छन् हाम्रा कतिपय मन्त्री, शक्ति, व्यक्ति र संस्थाहरू । यन्त्रमानवमा त बरु इमानदारी छ, बैमान बन्ने बाटो सिकिसकेको छैन, बटन (स्वीच) बनेपछि भन्न सकिँदैन । तर मान्छेको भर पर्न गाह्रो हुँदै गएको छ । त्यो कुरा बुझेको छ ईयुले । त्यसैले आफूले गरेको लगानी अनुसारको प्रगति नाप्न र तरङ्ग ल्याउन तीर सोझ्याउँछ बीचबीचमा । अहिले पनि त्यही गरेको हो । सरकारले प्रतिवाद र ईयुका कथित नेपाली हनुमानले समर्थन गरेका छन् । नेपाली आपसमा बाझेको हेरेर मक्ख परेको होला ऊ ।
ईयुले फालेको कलो खाएपछि आफ्नो भलो हुने देखेकाहरूले जे गरे त्यो उनीहरूको मालिक भक्तिप्रतिको इमानदारी र सरकारले जे गरेको छ त्यो देश, जनता र संविधानप्रतिको कर्तव्य होला । तर अरूका कुरामा लागेर नेपाली आपसमा बाझ्नु शोभनीय छैन । कलो खानेहरू भुक्ने र देशभक्त नेपालीले थुक्ने गर्दा विवाद झन् बढ्छ । ईयुले खोजेको पनि त्यही हो । त्यसैले दुश्मनले सोझ्याएको एउटा तीरको तरङ्गमा परेर आपसमा बाझ्नुभन्दा मन माझ्नु वेश हुनेछ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना