विद्यार्थीमा सिकाइ उपलब्धि

narayan koiralaनारायण कोइराला

 

राम्रो शिक्षा प्रणाली र त्यसको सही कार्यान्वयन कुनै पनि देशको समग्र विकासको आधारशीला हो । विश्वका सबै देशको अर्थतन्त्र र भविष्यको निर्माणको मुख्य आधार भनेको शिक्षा नै हो । शिक्षामा सही तरिकाले लगानी भइरहेको छैन भने वा भई राखेको लगानी सही ढङ्गले परिचालित छैन भने त्यसबाट आउने परिणामले सकारात्मक उपलब्धि पटक्कै दिँदैन । कार्ययोजना बनेका त छन् तर कार्ययोजना र कार्यान्वयनबीच तालमेल छैन भने त्यसबाट पनि राम्रो परिणामको आशा गर्न सकिँदैन । नेपालकै सन्दर्भमा कुरा गर्ने हो भने पनि केटाकेटीहरू विद्यालय भर्ना भइराखेका छन्, विद्यालय गई पनि राखेका छन् । र, भर्ना प्रतिशतले तोकेको प्रतिशत अङ्कको नजिकै पुग्न पनि लागेको छ, तथापि विद्यार्थीको सिकाइ अनुपात न्यून देखिन्छ । सिकाइ उपलब्धिलाई अलग्गै राखेर भर्ना उपलब्धिलाई मात्र हेर्ने हो भने नेपालको भर्ना अनुपात र विकसित मुलुकको भर्ना अनुपातको बीचको दूरी कम हुँदै गएको पाइन्छ तर भर्ना उपलब्धि र सिकाइ उपलब्धिको बीचमा रहेको दूरीको कुरा गर्नु पर्दा त्यो दूरी पूरा गर्न नेपाललाई अझै धेरै वर्ष लाग्छ सक्छ ।
विश्व बैङ्कको एक प्रतिवेदनमा समेत विकसित देश र विकासोन्मुख देशका विद्यार्थीको सिकाइ उपलब्धिको बीचमा निकै ठूलो खाडल रहिरहेको उल्लेख छ ।
अत्यधिक मात्रामा विद्यार्थी नियमित विद्यालय गई राखेता पनि उनीहरूको सिकाइ स्तर ज्यादै न्यून छ । यो अवस्था नेपालको मात्र नभएर अन्य विकासोन्मुख देशमा पनि उस्तै–उस्तै छ खास भिन्न छैन ।
यसै सम्बन्धमा गरिएको एक अनुसन्धानमा के देखिन्छ भने विश्वमा ६१७ मिलियन विद्यार्थीले न्यूनतम सिकाइ उपलब्धि पनि हासिल गर्न सकेका छैनन् । उक्त अध्ययनअनुसार खासगरी भाषा, गणित र विज्ञानमा त लाज मान्नुपर्ने स्थिति छ । १० कक्षाको विद्यार्थीले पाँच कक्षाको गणित एवं सात कक्षाको अङ्ग्रेजी पनि जान्दैन र बुझ्दैन । केटाकेटीले कक्षा उत्तीर्ण गरे, विद्यालय पनि गइराखेका छन् तर विद्यार्थीमा सही शिक्षण प्राप्त नभएका कारण सिकाइ उपलब्धि नकारात्मक सूचकाङ्कतिर बढेको प्रस्ट देखिन्छ ।
अफ्रिकन देशमा त विद्यालय जाने विद्यार्थीमध्ये ८८ प्रतिशत विद्यार्थीको सिकाइ उपलब्धि करिब–करिब शून्य बराबर छ । दक्षिण र मध्ये एसियामा यस्तो विद्यार्थीको सङ्ख्या ८१ प्रतिशत छ । दक्षिण र मध्ये एसियामा कुल १९ प्रतिशत अथात् १०० मध्ये १९ जना विद्यार्थीको मात्र सिकाइ उपलब्धि सन्तोषजनक रहेको युआइएस को एउटा सोधर अनुसन्धानले देखाउँछ । सिकाइ उपलब्धिमा नेपालको अवस्था पनि यही हो । नेपालमा हरेक १०० मध्ये १९ जना विद्यार्थीले मात्र उपयुक्त शिक्षा लिन सकिरहेका छन् । बाँकी ८१ विद्यार्थीमा भएको लगानी बालुवामा पानी हालेभन्दा भिन्न देखिँदैन । यसलाई सुधार्न खोज्ने हो भने विद्यालयको प्रिन्सिपल वा शिक्षकले मात्र चाहे पनि केही हदसम्म सुधार हुन सक्छ तर त्यसका लागि विद्यालय नेतृत्व तथा शिक्षक स्वयं तत्पर हुनुपर्छ । सिकाइ उपलब्धि जाँच्न कक्षा शिक्षकले विद्यार्थीको पढ्ने, लेख्ने, बोल्ने र पढेको, लेखेको, बोलेको कुरालाई बुझ्ने क्षमतामा बृद्धि भएको छ÷छैन नियमित परीक्षण गर्ने हो भने यसमा केही हदसम्म सुधार तत्काल भइहाल्छ ।
नेपालको अवस्थालाई हेर्ने हो भने कक्षा पाँच का केवल ४५ प्रतिशतभन्दा कम विद्यार्थीले मात्र कक्षा दुई को टेक्स्ट बुक पढ्न सक्छन् भने कक्षा आठका केवल ३३.९ प्रतिशत विद्यार्थीले मात्र कक्षा पाँचको गणितको समाधान निकाल्न सक्छन् । युआइएसको प्रतिवेदनअनुसार यस्तो समस्या खासगरी न्यून आयस्रोत भएका देश र तरल राजनीतिको चपेटामा फसेका देशमा बढी देखिएको छ । नेपाल भने यस मामिलामा भारतकै हाराहारीमा देखिन्छ । भारतले भर्ना प्रतिशतमा चामत्कारिक उपलब्धि हाँसिल गरे पनि सिकाइ उपलब्धि भने उत्साहजनक देखिँदैन । हाम्रा जस्ता विकासोन्मुख देशमा विद्यार्थी भर्ना अनुपात बढ्दै जाने र अर्कोतिर विभिन्न अन्तर्राष्ट्रिय सङ्घ–संस्थाले सिकाइ उपलब्धिलाई सङ्कटको रूपमा प्रक्षेपण गर्दै लैजानु, शिक्षाका लागि राम्रो सङ्केत होइन ।
हामीले अक्सर गरी शिक्षामा अत्यधिक महŒव पहुँचलाइ दियौँ । जुन ठीक पनि हो तर गुणस्तरको विषयलाई भने पहुँच सँगसँगै लिएर जानुपर्नेमा त्यसो गर्न सकिएन । शिक्षण उपलब्धि हासिल गर्न नेपालजस्ता आर्थिक, भौगोलिक र सामाजिक परिवेशका केही देश सफल पनि भएका छन् । त्यसका लागि विद्यार्थी, शिक्षक, विद्यालय प्रशासन र व्यवस्थापन र विद्यालयको पूर्वाधार विकासको अहं भूमिका रहेको पाइन्छ । उल्लेखित क्षेत्रमा विशेष ध्यान दिन सक्ने हो भने विकसित देशकै दाँजोमा नेपालले पनि सिकाइ उपलब्धि हासिल गर्न सक्ने प्रक्षेपण विश्व बैङ्कले आफ्नो प्रतिवेदनमा गरिएको छ ।
हामीले हाम्रा जीवन र पेसामा भोगी बुझी आएका र विश्व बैङ्कले समेत इङ्गित गरेका उल्लेखित निम्न चार कारण नै कारक हुन्, त्यस्ता देशको सकारात्मक सिकाइ उपलब्धिका लागि ।
विद्यार्थी ः यदि सिकाइ उपलब्धि हासिल गर्ने हो भने सर्वप्रथम शिक्षक, अभिभावक, शिक्षण संस्था र सरकार पूर्ण रूपमा विद्यार्थीमा केन्द्रीकृत हुन आवश्यक छ । विद्यार्थी कस्तो अवस्थामा विद्यालय आएको छ, भोको पेट विद्यार्थी कक्षा कोठामा छन्÷छैनन् वा कतै सन्चो नभएका विद्यार्थी पनि विद्यालय आएका त छैनन् भन्ने जस्तो कुरामा प्रत्यक्ष सरोकार राख्नेहरू सतर्क रहन जरुरी छ । साथै अभिभावकद्वारा उपेक्षित विद्यार्थीबाट समेत सिकाइको अपेक्षा गर्नु ठीक हुन्न । त्यसैले त्यस्ता विद्यार्थीको पहिचान गरी तिनलाई सही ढङ्गले व्यवस्था गर्न सक्नुपर्छ ।
शिक्षक ः शिक्षक अर्को पाटो हो सिकाइ उपलब्धिका लागि । शिक्षक–विद्यार्थी अनुपात मिलेको छ÷छैन । कक्षा कोठाको वातावरण शिक्षण र सिकाइका लागि सहयोगी प्रकृतिको छ÷छैन शिक्षकको वृत्ति विकासमा विद्यालय र नियमक निकायले ध्यान दिएको छ÷छैन हेर्नुपर्छ । शिक्षक आफ्नो क्षेत्रमा विज्ञ छ÷छैन, शिक्षक र विद्यार्थीको बीचमा यथोचित समन्वय छ÷छैन शिक्षकहरू राजनीतिक पार्टीमा लागेका छन्÷छैनन् आदि जस्ता कुरामा सधैँ सतर्क रहन जरुरी छ, किनकि सिकाइ शिक्षणमा यसको महŒव अत्यधिक छ । साथै शिक्षकको सीप, विकास र क्षमता अभिवृद्धिका सम्बन्धमा नयाँ सोचका साथ प्रगतिशील कार्यक्रम उत्तिकै जरुरी हुन्छन् । सिकाइ उपलब्धिका लागि समाजमा स्वयं शिक्षक र अन्यबाट शिक्षण पेसालाई हेर्ने नजर बदलेर पारिश्रमिकलगायत शिक्षकका सामाजिक सुरक्षामा सुविधा अभिवृद्धिका व्यवस्थालाई पद्धतिभित्र राखेर थप मजबुत बनाउँदै लैजानुपर्छ ।
विद्यालय प्रशासन र व्यवस्थापन ः सिकाइ उपलब्धिका लागि विद्यालय प्रशासन र व्यवस्थापनले सधैँ सजग रहनुपर्ने अर्को पाटो समग्र विद्यालयको समय तालिका, अनुशासन, विद्यार्थीको वृत्ति विकासका लागि गरिने विभिन्न क्रियाकलाप, सिकाइका लागि शैक्षिक भ्रमण, सिकाइ पिक्निक, अतिरिक्त क्रियाकलाप तथा विद्यार्थीको व्यक्तित्वको समग्र पक्ष उजागर गर्ने कार्यक्रम हुन् । यस्ता कार्यक्रमले विद्यार्थीमा नया ऊर्जा थप्नुका साथै सिकाइ र समकालीन सामाजप्रति सकारात्मक सोचको ऊर्जा दिइरहन्छ ।
विद्यालयको पूर्वाधार विकास ः जुन प्रकारको शिक्षण दिने हो, जुन प्रकारको सिकाइ उपलब्धि चाहिने हो, त्यसका लागि आवश्यक प्रविधि र उपयुक्त लगानीका साथै सो लगानो सही सदुपयोग हुनु बढी महŒवपूर्ण छ । पूर्वाधार विकासका सवालमा, मानव संशाधन विकासका साथै प्रयोगशाला विकास, कम्प्युटर एवं सूचना प्रविधिको क्षेत्रको विकास, स्रोतसाधन व्यवस्था एवं शिक्षण सिकाइका लागि प्रयोगमा ल्याउन सकिने साधनको सम्पन्नता आदि जस्ता क्षेत्रमा अठोटका साथ विकल्परहित भएर योजना कार्यान्वयनमा ल्याउनुपर्छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना