मृत्युपछिको प्रशंसाका पात्र खुमबहादुर

suresh acharyaडा. सुरेश आचार्य

 

नेपाली काँग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको निधन भएको छ । उनको मृत्युपछि उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्नेको लहर चलेको छ । यो स्वाभाविक हो । नचिनेका र नदेखेका मानिसको मृत्युमा त श्रद्धाञ्जली व्यक्त गर्न कञ्जुस्याइँ गरिँदैन भने खुमबहादुर नेपाली राजनीतिमा स्थापित नेता थिए । त्यसैले काँग्रेसजनले मात्र होइन, गैरकाँग्रेसले पनि उनको मृत्युमा श्रद्धासुमन व्यक्त गरे ।
मृत्यु शाश्वत हो । मानिस जन्मिएपछि कुनै समयमा मर्छ । मृत्युपछिको प्रशंसा पनि झण्डै शाश्वतजस्तै छ, नेपाली समाजमा । तर, त्यही प्रशंसा उसले जीवित हुँदै पाउँथ्यो भने ऊ कति ऊर्जाशील हुन्थ्यो होला । जीवनलाई अझ कति सार्थक बनाउँथ्यो होला । जीवनभरि विरोध गर्नेले पनि मृत्युपछि धेर–थोर प्रशंसा गरेकै पाइन्छ । मानिसको सायद यो स्वभाव पनि हो, शत्रुको मृत्युमा पनि ऊ देखिनेगरी खुसी व्यक्त गर्दैन । मृत्यु वास्तवमा जीवनको अन्त्य हो । यो अन्त्य अवश्यम्भावी छ भन्ने जान्दाजान्दै पनि मृत्युलाई हरेकले पीडाका रूपमा लिएका हुन्छन् ।
खुमबहादुर खड्का नेपाली राजनीतिको एउटा प्रवृत्तिको नाम थियो । कतिका लागि उनी प्रेरणाका स्रोत थिए भने कतिका लागि घृणाका पात्र । कतिले उनलाई चाहिनेभन्दा बढी बुझेर प्रशंसाको पुल बाँध्ने गरेका थिए । जसले उनले गरेको त्याग, तपस्या, योगदान र जुझारुपन आफ्नो प्रतिकूल हुने देखे, उनलाई बदनाम चरित्रका रूपमा प्रस्तुत गरे ।
स्कुल पढ्दापढ्दैको एउटा नवयुवकमाथि जिल्ला अदालत दाङ देउखुरीको भित्तामा टाँसिएको तत्कालीन राजा महेन्द्र र रानी रत्नको तस्बिरमा ढुङ्गा हानेको अभियोगमा राजद्रोहको मुद्दा लाग्यो । पद्मोदय पब्लिक माध्यमिक विद्यालय दाङमा पढ्दै गरेको त्यो युवक अचानक वनारस निर्वासनमा पुग्न बाध्य भयो । उसका बाबु मुलुकभित्र काँग्रेसको जिल्ला तहका नेता थिए । स्वाभाविक रूपमा उसको सङ्गत काँग्रेसका नेताहरूसँग हुने नै भयो । त्यही नवयुवक २०३३ पुस १६ गते बीपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर निर्वासनबाट स्वदेश फर्कंदा भारतबाटसँगै आएका पाँचजनामध्येको एक लक्का जवान थियो । र, काँग्रेसको त्यो तरुण नेता खुमबहादुर खड्का थियो ।
राजासँग मेलमिलापको नीति लिएर फर्कंदा बीपीलाई मृत्युदण्ड हुन सक्थ्यो । अदालतमा उनीविरुद्ध राज्यद्रोहका मुद्दा थुप्रै थिए । आफ्नो नेता मृत्युलाई चुनौती दिएर मुलुक फर्कंदा साथ दिने एकमात्र युवक खुमबहादुर नै थिए । निर्वासनबाट बीपीसँग गणेशमान सिंह, शैलजा आचार्य, नीलाम्वर पन्थी र रामबाबु प्रसाईं आएका थिए । ०३३ सालमा यी सबै पक्राउ परे । ०३६ सालको जनमतसङ्ग्रहको घोषणापछि मात्र उनीहरू जेलमुक्त भए । यस अर्थमा खुमबहादुरमा जीवनको उत्सर्ग गौण र नेताप्रतिको श्रद्धा उत्कर्ष थियो । पञ्चायत शासनविरुद्ध युवामा उत्साह भर्ने एउटा विम्ब थियो ।
प्रजातन्त्र पुनःस्थापनाका लागि गरेको योगदानको कदर उनलाई पार्टीले राम्रैसँग ग¥यो । उनी महाराज ज्ञानेन्द्रको शासन सुरु हुनुअघिका कुनै चुनाव हारेनन् । न त कुनै मन्त्रिपरिषद्बाट बाहिर रहे । ०४८ मा दाङ २, ०५१ मा दाङ ४, ०५६ मा दाङ १ बाट संसदीय निर्वाचनमा विजयी भए । ०४८ मा गिरिजाप्रसाद कोइरालाको सरकारमा निर्माण तथा यातायात र ०५२ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा स्थानीय विकासमन्त्री भएका थिए । ०५२ कै असोजमा मन्त्रालय हेरफेर हुँदा उनी गृहमन्त्री बने । ०५४ मा सूर्यबहादुर थापा नेतृत्वको सरकारमा खड्का पनि गृहमन्त्री नै थिए । ०५५ वैशाखमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा वन तथा भू–संरक्षण र आपूर्तिमन्त्री भए । ०५६ मा काँग्रेसले बहुमत पाएपछि कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा सुरुमा आवास तथा भौतिक योजना र स्थानीय विकास तथा हेरफेर हुँदा निर्माण तथा यातायातमन्त्री भए । भट्टराईपछि गिरिजाप्रसाद कोइराला ०५६ चैतमा प्रधानमन्त्री बन्दा खड्का जलस्रोत र निर्माण तथा यातायातमन्त्री भए । ०५८ साउनमा देउवा प्रधानमन्त्री हुँदा खड्का गृह र स्थानीय विकासमन्त्री भए ।
निरन्तर १२ वर्षसम्म मन्त्री रहँदा उनले काँग्रेस पार्टीमा आफ्नो राम्रै प्रभाव जमाए । कुनैबेला शेरबहादुर देउवा र खुमबहादुर खड्का– गिरिजाप्रसाद कोइरालाका दाहिने र देब्रे हात थिए । तर, कोइरालाको महŒवाकाङ्क्षी र अरूमाथि शासन गर्ने चरित्रका कारण यी उदीयमान युवा नेताको महŒवाकाङ्क्षाले कोइराला क्याम्पमा टिकिरहन दिएन । पार्टीबाट प्रधानमन्त्री भएको व्यक्तिलाई स्पष्टीकरणको मौकासमेत नदिई साधारण सदस्यताबाट बर्खास्त गर्ने कोइरालाको निर्णयविरुद्ध खुमबहादुरले शेरबहादुरलाई साथ दिए । ०५९ मा काँग्रेस फुट्दा शेरबहादुर देउवा नेतृत्वको काँग्रेस (प्रजातान्त्रिक) को महामन्त्री भए । तर, देउवालाई पनि उनले निरन्तर सहयोग गरेनन् । देउवासँगको उनको चित्त दुखाइ एउटै थियो– महाराज ज्ञानेन्द्रले उनलाई भ्रष्टाचारको मुद्दा लगाएर थुनामा राख्दा देउवा एक दिन पनि भेट्न गएनन् । महाराजले लगाएको मुद्दामा अदालतलाई चुनौती दिने गिरिजाप्रसाद कोइरालाबाट आफ्नो संरक्षण हुने ठानेर देउवासँगको ११ महिनाको सहकार्य छाडेर उनी संस्थापनतिर फर्किए ।
यसपछिको पार्टीको पहिलो निर्वाचनमा उनले कोइराला क्याम्पका सुशील कोइरालालाई सघाए । तर, उनका माग पूरा गर्ने कुरामा सुशीलले ध्यान दिएनन् । त्यसपछिको अर्को निर्वाचनमा उनले देउवालाई खुलेर सहयोगमात्र गरेनन्, निर्वाचनमा विजयी बनाउने अभियानको नेतृत्व गरे । काँग्रेसमा कसैको विजय र पराजयमा आफूलाई निर्णायक बनाउन सक्नु खुमबहादुरको पछिल्लो हैसियत बनेको थियो । देउवालाई विजयी बनाएर पनि उनी पछिल्ला समय देउवासँग धेरै सन्तुष्ट थिएनन् । तर, निर्वाचनका समयमा आफ्ना पक्षमा उभिने कार्यकर्तालाई टिकट दिलाउन उनी सफल बने ।
महाराजले भ्रष्टाचारको मुद्दामा तानेपछि भने सरकारी लाभको राजनीतिबाट उनी सदाका लागि टाढिए । यद्यपि, राजाले लगाएको भ्रष्टाचारको मुद्दामा उनले विशेष अदालतबाट सफाइ पाएका थिए । त्यसकारण २०६४ सालमा उनले संविधानसभाको निर्वाचनमा उम्मेदवारबाट वञ्चित हुनुपरेन । तर, पहिलोपटक चुनावको राजनीतिमा पराजित भए । उनले मन्त्री हुदा पार्टी कार्यकर्तामात्र बनाएनन्, प्रहरी र प्रशासनमा पनि राम्रो पकड बनाएको चर्चा अहिले पनि हुने गर्छ ।
खड्का प्रस्ट विचार र अडान राख्ने निडर र हठी स्वभावका थिए । त्यसैले उनी काँग्रेस राजनीतिमा केन्द्रदेखि तल्लो तहसम्म शक्तिशाली र लोकप्रिय बनिरहे । २०५९ सालमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा परेपछि पनि उनको लोकप्रियता घटेन । २०६३ सालमा विशेष अदालतले सफाइ दियो । खुमबहादुरविरुद्धको मुद्दा सर्वोच्चमा पुग्यो । सर्वोच्चले विशेष अदालतको फैसला त्रुटीपूर्ण रहेको ठहर गर्दै खड्कालाई डेढ वर्ष जेल सजाय सुनायो । उनी डिल्लीबजार कारागारबाट रिहा हुँदा उनका सयौँ समर्थकले ¥याली नै निकालेका थिए । त्यसपछि काँग्रेस नेता खड्का न सरकारमा रहे, न पार्टीको शक्तिशाली पदमा । तर, उनको ओज भने घटेन । काँग्रेसमा उनी लोकप्रिय मतका साथ केन्द्रीय सदस्य जितिरहे । मन्त्री चयन गर्दा होस् या चुनावमा टिकट वितरण गर्दा होस्, खुमबहादुरको प्रभाव कायमै रह्यो ।
राजतन्त्रका बारेमा खुमबहादुरको बलियो धारणा देखिएन । काँग्रेसले आफूलाई संवैधानिक राजतन्त्रको हिमायतीका रूपमा उभ्याउँदै आउँदा काँग्रेसलाई कमजोर बनाउने खेलमा नेपालको राजतन्त्र नै रह्यो । काँग्रेसलाई भ्रष्टाचारी करार गर्ने दरबारको अभियानमा जयप्रकाश गुप्ता, चिरञ्जीवी वाग्ले र खुमबहादुर खड्का डामिए ।
काँग्रेसले कहिल्यै आफूलाई कुनै धर्मको पक्षमा उभ्याएन । पश्चिम नेपालको भ्रमणमा जाँदा खोलामा नुहाउन गएका बीपीलाई काशीनाथ गौतमले जनै लगाउन आग्रह गरेको प्रसङ्ग धेरै काँग्रेसको सम्झनामा अझै हुनुपर्छ । काँग्रेसले संवैधानिक राजतन्त्रको मान्यता हटाउँदा कृष्णप्रसाद भट्टराईले पार्टी परित्याग गरे । यद्यपि, भट्टराईले पार्टी परित्याग गर्नुपर्ने यो मात्र कारण थिएन । कतिपय काँग्रेस अहिले पनि आफूलाई संवैधानिक राजतन्त्रको हिमायती देखाउन तम्सिन्छन् । मुलुक नै दरबारविरुद्ध उभिएका बेला दरबारको षड्यन्त्रको सिकार बनेका खुमबहादुर खड्का केही नबोल्नु अस्वाभाविक थिएन । तर, पछिल्लो समय जब उनी राजनीतिक रूपमा सत्तासीन हुन नपाउनेगरी भ्रष्टाचारी करार गरिए, उनले आफूलाई हिन्दुवादीका रूपमा प्रस्तुत गरे । काँग्रेसले धर्मनिरपेक्षतामा समर्थन जनाएकोमा उनले विरोधमात्र गरेनन्, हिन्दु राज्य पुनःस्थापनाको अभियानसमेत चलाए ।
उनले प्रजातन्त्रका पक्षमा चलाएको युवा अभियानले मुलुकलाई गणतन्त्रमा पु¥याएको छ । उनको पछिल्लो अभियानलाई काँग्रेसले नबोक्ने निश्चित छ । आफू जतिसुकै प्रतिकूल अवस्थामा रहे पनि काँग्रेस र केवल काँग्रेसका पक्षमा उभ्याइराख्ने थोरै काँग्रेसमा खुमबहादुरले आफूलाई जीवित बनाएका छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना