क्रान्तिको सपना र विपना

rajendra kiratiराजेन्द्र किराती

 

मानव इतिहास नै सङ्घर्षको इतिहास हो । दुनियाँमा मानवमुक्तिको प्रमुख साधन नै सङ्घर्ष हो । यसकारण विश्वमानव समाजको चरित्र नै सङ्घर्षशील रहेको छ । परिवर्तन, न्याय र समानता सम्भव भएको छ । सङ्घर्षपछिको परिवर्तनले अवैज्ञानिक, अव्यावहारिक र परम्परागत सोच र चिन्तनको अन्त्य गर्ने हैसियत राख्छ । यसैको जगमा अन्याय र विभेदपूर्ण शासनसत्ता ढलेका छन् । हिंसात्मक तथा अहिंसात्मक सङ्घर्षको स्वरूपले जनताको राज्यव्यवस्था कायम भएको छ । यो मानवसमाज विकासको ऐतिहासिक भौतिकवादी प्रक्रियाअन्तर्गत सार्वभौम पद्धति हो ।
वास्तवमा सङ्घर्ष मानवसमाज विकासलाई गतिशील तथा जीवित राख्ने निरन्तर प्रक्रिया हो । यो समाज गतिशीलताको अकाट्य नियम हो । यद्यपि, पदावली एउटै भए पनि सङ्घर्ष पनि अन्याय र न्यायपूर्ण हुने गर्छ । मुठ्ठीभर शासक वर्गको हितमा गरिएको सङ्घर्ष अन्यायपूर्ण हुन्छ भने बहुसङ्ख्यक उत्पीडित जनताका पक्षमा छेडिएको सङ्घर्ष न्यायपूर्ण हुन्छ । यो सङ्घर्षको वर्गीय चरित्र हो । सम्भ्रान्त शासक वर्गले परिवर्तन र उन्मुक्तिका ढोका बन्द गर्न दमनपूर्ण सङ्घर्षको नीति अपनाउँछ । त्यसको विरुद्ध उत्पीडित जनताले परिवर्तन र समानताका लागि प्रतिरोध सङ्र्षको विधि अङ्गीकार गर्छ । यो सङ्घर्षको द्वन्द्ववाद हो ।
यही वर्ग चरित्रअनुरूप नै कम्युनिस्टले बहुसङ्ख्यक उत्पीडित वर्गको हितमा र बुर्जुवाले मुठ्ठीभर सभ्रान्त वर्गको हितमा सङ्घर्ष गर्दैआएको छ । अर्थात् सबै सङ्घर्ष अग्रगामी र न्यायिक हुँदैन । यही शाश्वत प्रक्रियाअन्तर्गत नेपालमा पनि माओवादीको नेतृत्वमा २०५२ सालबाट महान् जनयुद्ध प्रारम्भ गरियो । यसको मूलभूत लक्ष्य भनेको नेपाली समाजमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय र लिङ्गीयलगायतका अन्तरविरोधको समूल अन्त्य सर्दै समानता र न्यायमा आधारित जनवादी राज्यव्यवस्था स्थापना गर्नु थियो । उत्पीडित जनताको पूर्ण अधिनायकत्वसहितको जनवाद स्थापना यसको आधारभूत मिसन थियो । जनवादी राज्य रूपमा व्यापक रूपमा गरिएको राष्ट्रिय आत्मनिर्भर औद्योगिक अर्थतन्त्रमार्फत पुँजीको पूर्ण आकारमा विकास गर्दै समाजवादको आधार तयार गर्नु थियो । एवं तरिकाले समाजवाद हुँदै साम्यवादमा पुग्ने सङ्घर्षको ऐतिहासिक प्रक्रिया नै दशवर्षे जनयुद्ध थियो ।
यो उद्देश्य प्राप्तिका लागि देशीय दलाल शासक तथा साम्राज्यवादी एकाधिकारवादी पुँजीवादविरुद्ध योजनाबद्ध र सङ्गठित सङ्घर्ष अनिवार्य थियो । जनविरोधी दलाल तŒवलाई परास्त नगरी जनताको अधिनायकत्वसहितको राज्यरूप सम्भव थिएन । यसका लागि मूलभूत रूपमा मालेमावादी वैज्ञानिक दृष्टिकोणद्वारा निर्देशित वर्गसङ्घर्षको विधिलाई पकड्नु इतिहासको अपरिहार्य आवश्यकता थियो । अर्थात् बल प्रयोग र वार्ताको दुई कार्यनीति जरुरी थियो । आर्थिक रूपमा सर्वप्रथमतः दलाल वित्तीय पुँजीलाई विस्थापन गरी राष्ट्रिय औद्योगिक पुँजीलाई प्रोत्साहन गर्नु थियो । दोस्रो, चरम आत्मकेन्द्रित व्यक्तिवादी स्वार्थलाई विस्थापन गर्दै सामूहिक चिन्तन, चेत र मनोविज्ञानको विकास गर्नैपथ्र्यो । सांस्कृतिक रूपमा सभ्य, सुसंस्कृत र विवेकपूर्ण उन्नत चिन्तन प्रवृत्ति अनिवार्य थियो तर व्यवहारतः प्रगतिशील र रूपान्तरित चेत सङ्घर्षको निरन्तर प्रक्रियाबाट मात्र हासिल गर्न सकिन्छ किनभने मान्छेको सोच्ने तरिका र मनोविज्ञान स्वतःस्फूर्त रूपान्तरण हुँदैन । यसका लागि लामो प्रक्रियागत सङ्घर्ष अनिवार्य हुन्छ । वास्तवमा दशवर्षे जनयुद्ध भनेको पुरम्परागत सोच र चिन्तनलाई रूपान्तरण गर्ने सङ्गठित राजनीतिक अभियान नै थियो ।
क्रान्ति आफैँमा लामो र कष्टसाध्य प्रक्रिया हो । यसले ऐतिहासिक प्रक्रियामार्फत नेपाली समाजलाई जनवाद, वैज्ञानिक समाजवाद हुँदै साम्यवादसम्मको रणनीतिक गन्तव्यमा पु¥याउन चाहेको थियो । यो असाध्यै लामो, बलिदानीपूर्ण र कष्टसाध्य ऐतिहासिक प्रक्रिया हो । यो वर्ग सङ्घर्षको स्कूल अफ थटको गुरुत्वकेन्द्र वरिपरि सङ्केन्द्रित थियो । मालेमावादलाई मार्गदर्शक सिद्धान्त स्वीकार गर्दै बलप्रयोगको विधिबाट निर्देशित तथा प्रशिक्षित आन्दोलन थियो । राष्ट्रिय औद्योगिक अर्थतन्त्र निर्माण गर्दै सामूहिक चेत विकासको लामो निरन्तर अभियान थियो । सांस्कृतिक विकृति र विसङ्गतिविरुद्ध प्रगतिशील, सामूहिक र न्यायपूर्ण उन्नत चेतलाई स्थापित गर्ने सङ्गठित पहल थियो । आत्मकेन्द्रित उपभोक्तावादी स्वार्थको ठाउँमा सामूहिक त्याग, बलिदान र जुझारुपनमा मानव जीवनको क्रान्तिकारी मूल्य र गुणात्मक परिणाम खोज्ने योजनाबद्ध राजनीतिक प्रयास थियो । जनयुद्धकालीन स्कूलिङमा औसत गोलमटोल जनताभन्दा पनि विशेष गरेर बहुसङ्ख्यक उत्पीडितलाई प्राथमिकतामा राखिन्थ्यो । मालेमावादी सैद्धान्तिक तथा दार्शनिक ज्ञानको स्पष्टता नै मुख्य आधार हुन्थ्यो । राष्ट्रिय औद्योगिक अर्थतन्त्र निर्माणसँगै सामूहिक सोच र मनोविज्ञान विकासको राजनीतिक आन्दोलन थियो । छाडा, फजुलखर्ची र अराजक उपभोक्तावादी संस्कृतिलाई अन्त्य गर्दै उन्नत र सभ्य संस्कृति निर्माणको महाअभियान थियो ।
त्यतिमात्र होइन, व्यक्तिगत स्वार्थभन्दा राष्ट्रिय, सामाजिक र सामूहिक स्वार्थ स्थापित गर्ने प्रक्रिया थियो । जागिर, व्यापार–व्यावसाय, आफू, आफ्नो परिवार र नातागोताभन्दा पनि समग्रमा उत्पीडित जनता प्रधान थियो । नेता, कार्यकर्ता, पद, प्रतिष्ठा र शक्तिभन्दा संस्थागत र पार्टीगत विधि र प्रक्रिया मुख्य सवाल हुन्थ्यो । उत्पीडित जनताको राज्यसत्ता स्थापनाबाहेक अरू सबै भ्रम हुन् भन्ने मान्यता थियो । रक्षात्मकभन्दा आक्रामक, कायरभन्दा साहसी, अल्छीभन्दा जाँगरिलो, लोसे भन्दा फुर्तिलो, स्वार्थीभन्दा त्यागी अनि आत्मसुरक्षा भन्दा साहस र बलिदानी भावको उच्च कदर गरिन्थ्यो । सङ्घर्षको मैदानमा अरूभन्दा पहिला उन्मुक्तिको खातीर बलिदान दिन्छु भन्ने सौर्य र त्यागको भावमा जीवनको सम्मान र इज्जत हुन्थ्यो । व्यक्तिगत तथा पारिवारिक स्वार्थ नितान्त सहायक थिए । त्यस्ता कायर, स्वार्थी, र लोभी निकृष्ट मानिन्थे । उपहासरूपी नकारात्मक पात्र हुन्थे । आफ्नो बारेमा सोच्ने चिन्तनलाई जनविरोधी प्रवृत्ति भनेर परिभाषित गरिन्थ्यो । साहस, सौर्य र बलिदानसहितको उन्नत र विवेकपूर्ण ढङ्गले सोच्ने तरिकालाई कम्युनिस्ट चिन्तन भनिन्थ्यो, जसलाई जनदिशा वा जनशैली पनि भनिन्थ्यो ।
अझ मालेमावादी सिद्धान्त, विचार र व्यवहारको समानुपातिक समायोजन गरिन्थ्यो । मालेमावादी सैद्धान्तिक स्पष्टता सहितको व्यवहार, ज्ञान अनि पुनःव्यवहारको नीतिअन्तर्गत राजनीतिक, आर्थिक तथा सांस्कृतिक आयामलाई रूपान्तरण गर्ने निरन्तर आन्दोलन नै क्रान्ति थियो । सैद्धान्तिक तथा दार्शनिक दक्षतालाई सङ्घर्षको मानक मानिन्थ्यो । जुझारु, साहसी, निःस्वार्थी र बलिदानजस्ता आयामलाई सफलताको कुञ्जी ठानिन्थ्यो । असाध्यै क्रान्तिकारी, इमानदार, सुसंस्कृत, किफायती र विवेकशील पक्षहरू क्रान्ति सफलताको मूल आधार थियो । आफूबाट रूपान्तरण शुरु गरेर परिवार, समाज, राष्ट्र हुँदै विश्वलाई नै बदल्ने लम्बेयात्रा थियो यो । यसमा लामबद्ध हुँदा गौरव अनुभूति गरिन्थ्यो । आजको अन्याय र विभेदपूर्ण राज्यसत्तालाई ध्वस्त पारेर जनताको न्यायपूर्ण राज्यरूप स्थापना गर्ने महाअभियानमा होमिनु गौरवको विषय थियो । बढी त्याग–बलिदान र इमानदारी प्रदर्शन गर्दा अझ बढी महान् क्रान्तिकारी हुने स्कूलिङ थियो । तर, आज अकल्पनीय रूपमा यी सब खोक्रो आदर्श र सपना जस्तो हुनपुगेको छ । यस्तो राजनीतिक पीडा कसलाई पोख्ने ?
वर्ग सङ्घर्षको राजनीतिक कार्यदिशामा अपनाइएको विधि आज शान्ति प्रक्रिया हुँदै संसदीय कार्यदिशामा मेल नखानु स्वाभाविक हुन्छ । कार्यदिशाको चरित्रले आन्दोलनको स्वरूप पनि बदलिन पुग्छ । हिजो ट्रिगर वा वर्गसङ्घर्ष र आज टेवल वा वार्ताको समयमा अपनाइएको कार्यदिशाको चरित्र नितान्त फरक छ । ऐतिहासिक लामो प्रक्रियामा गरिएको आन्दोलन र औसत संसदीय राजनीतिमा अपनाइने सङ्घर्षको स्वरूप उस्तै हुँदैन । मूलतः संसद्वादमा कला मुख्य पक्ष हुन्छ तर क्रान्तिमा सिद्धान्त, दर्शन र विचार प्रधान हुन्छ । संसद्वादमा साम, दाम, दण्ड र भेदको नीतिअन्तर्गत लपनछपन, चोचोमोचो मिलान अनि टिपनटापनलाई प्रधान कार्यनीति बनाइन्छ । ठाकठुक, टाकटुक, षड्यन्त्र, जालझेल र चलखेलको कलात्मक्ता हाबी हुन्छ । पार्टीमा पनि वैचारिक बहसभन्दा गुटगत चलखेलबाट नेतृत्व स्थापित हुन्छ । किनकि क्रान्ति विज्ञान र विचारमा आधारित हु्न्छ भने संसद्वाद कलामा आधारित हुन्छ ।
यसमा सांस्कृतिक चरित्र उपभोक्तावादी हुन्छ । नागरिकहरूको मनोविज्ञान भाते, स्वादे र भोगविलाशी हुने गर्छ । यसमा वैचारिक रूपमा आदर्श, व्यावहारिक रूपमा इमानदार र त्यागी हुनुपर्दैन । बरु उल्टै इमानदार एकाएक पाखा लाग्दै जान्छन् किनभने संसदीय पद्धति असाध्यै आत्मकेन्द्रित हुन्छ । यसको प्राथमिकतामा आफू, परिवार, आफन्तजन र आफ्नो पार्टी प्रधान हुन्छ भने देश र जनता सहायक हुन्छ । सारभन्दा बाहिरी रङ्रोगनमा जोड गरिन्छ । आत्मकेन्द्रित स्वार्थ हाबी हुन्छ । स्वार्थी राजनीतिमा इमानदारीभन्दा जसरी र जे गरेर भए पनि अरूलाई जित्ने, लाभहानि वा अरूलेभन्दा बढी नाफा कमाउने केन्द्रीय रणनीति हुन्छ । यस्तो समाजमा न्यायपूर्ण समाजको परिकल्पना गर्नु वैचारिक दरिद्रता मात्र हुन्छ । न्याय र समानता केवल चुनाव जित्ने रणनीतिअन्तर्गत प्रेषित विज्ञप्ति, बोलिएको भाषण र जनतालाई ब्ल्याकमेलिङ गर्ने सुगरकोटेड नारा मात्र हुन्छ । संसद्वादमा आधारभूत रूपमै जसरी पनि कमाउने, चुनाव जित्ने, नाफा गर्ने अनि अरूलाई पछारेर माथि चढ्ने चरम स्वार्थी र महŒवाकाङ्क्षी प्रवृत्तिको एकल रणनीति अपनाइन्छ । यसले न्याय, समानता, भ्रष्टाचाररहित, सुन्दर र सुसंस्कृत राज्य व्यवस्थालाई सपनामै सीमित गरिदिन्छ ।
त्यसैले परिवर्तनशील र न्यायिक आँखाबाट हेर्दा आज नेपालको राष्ट्रिय राजनीतिमा विकृत र आडम्बरी पक्ष हाबी हुँदै गएको छ । हिजो गलत भनिएको पद्धति नै आज पुनः सतहमा आएका ेछ । यो राजनीतिक कार्यदिशाकै परिणाम हो । हिजो वर्ग सङ्घर्षको प्रक्रियाअन्तर्गत रूपान्तरण हुने अभियान आज अर्थहीन भएको छ । बरु उल्टै यसले संसदीय कला सम्पादनलाई कमजोर बनाइरहेको छ । क्रान्तिकारी स्कूलिङ र साम, दाम, दण्ड र भेदमा आधारित संसदीय स्कुलिङ धेरै भिन्नछ । दुर्भाग्यवश आज क्रान्तिकारी विज्ञानमा आधारित स्कुलिङ रक्षात्मक छ भने संसदीय कलात्मक पक्ष हाबी छ । परिणामस्वरूप हिजोको क्रान्तिकारी सुन्दर समाज निर्माणको ऐतिहासिक प्रक्रिया अलपत्र परेका छन् । आज गणतन्त्र चलखेल, छलछाम, कमिसन र भ्रष्टाचारलाई छिपाउने चटकेको खास्टो जस्तो हुँदैछ । यसले हिजो हामीले देखेको क्रान्तिको सुन्दर सपना र आज जीवन भोगाइमा रहेको विपनाबीच छिचोल्नै नसकिने पहाड खडा भएको छ । हामीले देखेको क्रान्तिको सपना र जीवन व्यवहारको राजनीतिले धेरै रूपरङ्ग फेरिसकेको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना