पुटिनको काँधमा रूसको भविष्य

Ram prashad Acharyaरामप्रसाद आचार्य

रूसमा चौथो कार्यकालका लागि निर्वाचित राष्ट्रपति भ्लादिमिर पुटिनको लोकप्रियता झन् बढेको छ । गएको मार्च १८ मा भएको राष्ट्रपतीय निर्वाचनमा उहाँ ७६ प्रतिशत मत ल्याई विजयी बन्नुभयो । उहाँका प्रतिस्पर्धी पावेल ग्रुडिनिनले मात्र १२ प्रतिशत मत पाउनुभएको छ । पुटिन सन् २०२४ सम्म पदमा रहनुहुनेछ । यो कार्यकालसँगै पुटिनको रूसमा २० वर्ष लामो राज पूरा हुनेछ ।
रूसमा राष्ट्रपतिको पदावधि छ वर्षको हुने व्यवस्था गरिएको छ । राष्ट्रपतिमा निर्वाचित भएपछि समर्थकहरूलाई सम्बोधन गर्दै यो जित कठिन परिस्थितिमा आफूले पाएको विश्वासको मत भएको बताउनुभयो । ‘यो एकता कायम राख्नु निकै महŒवपूर्ण छ, हामीले हाम्रो महान् मातृभूमिको भविष्यबारे सोच्नेछौँ,’ पुटिनले भन्नुभयो । ६५ वर्षीय पुटिन सन् २००० को मेमा पहिलोपटक रूसको राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । उहाँ सन् २००४ मा दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित हुनभयो । रूसको संविधानमा लगातार दुईपटकभन्दा धेरै राष्ट्रपति बन्न नपाउने प्रावधान छ । सन् २००८ मा आफ्नो दोस्रो कार्यकाल सकिएपछि उहाँले आफ्ना विश्वासपात्र दिमित्री मेदभेदेभलाई राष्ट्रपति बनाएर आफू प्रधानमन्त्री बन्नुभयो । मेदभेदेभ राष्ट्रपति बने पनि सत्ताको साँचो भने पुटिनको हातमा थियो । पार्टी र राज्यको सर्वशक्तिमान उहाँ नै हुनुभयो । मेदभेदेभको कार्यकालको अन्तिमतिर संविधान संशोधन गरी राष्ट्रपतिको कार्यकाल ४ वर्षबाट बढाएर छ वर्ष पु¥याइयो । त्यसपछि सन् २०१२ मा पुटिन तेस्रोपटक छ वर्षका लागि राष्ट्रपतिमा निर्वाचित हुनुभयो । यसपटक पनि राष्ट्रपतिमा झन् लोकप्रिय भई निर्वाचित उहाँ कहिलेसम्म रूसको राष्ट्रपति रहनुहुनेछ भन्ने अनुमान सुरु भएका छन् । दुईपटकभन्दा बढी राष्ट्रपति बन्न नपाउने चिनियाँ संविधानको प्रावधानलाई राष्ट्रपति सी जिनपिङले हालै संशोधन गरी लामो समयसम्म राष्ट्रपति हुन बाटो खोल्नुभएको छ । चीनमा जस्तै लामो समाजवादी इतिहास भएको रूसले पनि पुटिन आजीवन राष्ट्रपति बनाउने संविधान संशोधन गरी बाटो खुला गर्ने अनुमान गर्न थालिएको छ । तर, पुटिनले त्यसो नगर्ने सङ्केत गर्नुभएको छ ।
यसपटक उहाँलाई कडा टक्कर दिने प्रमुख विपक्षी नेता एलेक्सी नाभाल्नीलाई चुनावमा उठ्न रोक लगाइएको थियो । उहाँलाई फौजदारी अभियोग लगाइएको छ तर उहाँले आरोप अस्वीकार गर्दै आउनुभएको छ । तर पनि उहाँलाई चुनाव लड्न दिइएन, जसले गर्दा पुटिनलाई चुनाव जित्न सजिलो भएको हो ।
चुनाव जितेपछि सर्वशक्तिशाली बन्नुभएका पुटिनसँग युरोप र अमेरिकासितको सम्बन्ध कस्तो बन्ने हो, चासोको विषय बनेको छ । बेलायतमा रहेका रूसी जासुस प्रकरणलाई लिएर कूटनीतिक विवाद बढेको छ । सो प्रकरणमा बेलायतले २३ जना रूसी कूटनीतिज्ञलाई देशनिकाला गरेको छ भने त्यसको जवाफमा रूसले पनि २३ जना बेलायती कूटनीतिज्ञलाई देशनिकाला गरेको छ । कूटनीतिज्ञ विष प्रकरणलाई लिएर अहिले रूससँग युरोप र अमेरिकासितको सम्बन्ध चिसिएको छ । अमेरिकाले रूसी कूटनीतिज्ञलाई देशनिकाला गरेपछि रूसले युरोप र अमेरिकासहित २३ मुलुकका कूटनीतिज्ञलाई देशनिकाला गरी जस्तालाई त्यस्तै व्यवहार गरेको छ ।
संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को स्थायी राष्ट्र रूस सामरिक हिसाबले सबैभन्दा शक्तिशाली राष्ट्र हो । संसारका जुनसकै कुनामा पनि परमाणु आक्रमण गर्न सक्ने क्षमता रहेको रूसलाई अब आर्थिक रूपले पनि शक्तिशाली बनाउने अभियानमा लाग्नुभएका पुटिनको महŒवाकाङ्क्षाले कूटनीतिक तनाव बढ्ने सम्भावना छ । गत वर्ष सम्पन्न अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पलाई जिताउन भूमिका खेलेको आरोप पुटिनमाथि लागेको छ । यो विषयमा अमेरिकी संसद्ले चासो देखाएर छानबिन गरिरहेको छ । यस प्रकरणले रूस र अमेरिकाबीच चिसो बढेको छ ।
उता, सिरिया प्रकरणमा पनि पुटिनको आलोचना भएको छ । सिरियाली समकक्षी मित्र बसर अल असदको सहयोगमा रूसले सन् २०१५ देखि सैन्य सहयोग उपलब्ध गराएको छ । सिरियाको गृहयुद्धमा रूसको यो संलग्नताले परिस्थिति अरू जटिल बनेको छ । सिरिया सरकारलाई रूसी सेनाको सहयोग छ भने विपक्षी आन्दोलनकारीलाई अमेरिका र युरोपले सहयोग गरेका छन्, जसले गर्दा सिरिया गम्भीर सङ्कटमा छ । समस्या समधान हुने लक्षण देखिएको छैन ।
अन्तर्राष्ट्रिय क्षेत्रमा पुटिनको आलोचना भए पनि रूसी जनतामाझ उहाँको लोकप्रियता झन् बढेर गयो । सन् २०१२ को राष्ट्रपति निर्वाचनमा ६४ प्रतिशत मत पाउनुभएका पुटिनले यसपटक ७६ प्रतिशत मत पाउनुभयो । सन् २०१४ मा युक्रेनसँगको विवादमा युक्रेन अधिनस्थ क्रिमियालाई रूसमा विलय गराउन सफल भएपछि पुटिनको लोकप्रियता अरू बढेकोे हो । पुटिनकै कारण आर्थिक रूपले धराशयी अवस्थामा पुगेको रूसलाई फेरि सबल बनाउने काम भएकाले उहाँको लोकप्रियता रूसीमाझ स्वाभाविक बनेको छ ।
सन् १९१७ को अक्टोबर क्रान्तिसँगै ७४ वर्ष समाजवादी शासन चलाएको सोभियत सङ्घ १९९१ मा विघटन भएसँग रूस १५ टुक्रामा विभाजित भयो । यो घटनाले आर्थिक रूपले धराशयी बनेको रूसलाई सन् २०००देखि पुटिनको आगमनले नयाँ गति दियो । पुटिनकै कुशल नेतृत्वले रूसले फेरि महाशक्ति राष्ट्र बनेको हो । रूसलाई शक्तिशाली बनाउन महŒवपूर्ण भूमिका निर्वाह गर्नुभएका पुटिनले प्राकृतिक रूपले धनी तेल र ग्यासको उत्खनन तथा बिक्री वितरणलाई जोड दिनुभयो । युरोपलाई तेल र ग्यास बेचेर धनी बनेको रूसले फेरि आफ्नो शक्ति देखाउन थालेको छ ।
रूस संसारको सबैभन्दा ठूलो राष्ट्र हो । ११७ लाख वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो मुलुकको जनसङ्ख्या भनेमात्र १४ करोड ३० लाख रहेको छ । यहाँको मुख्य भाषा रूसी हो भने धर्म इसाई र मुस्लिम हो । पुरुषको औसत आयु ६३ र महिलाको ७७ वर्ष रहेको यो मुलुक ७४ वर्षसम्मको समाजवादी व्यवस्था ढलेपछि चरम आर्थिक सङ्कटमा फस्यो । पुटिनको आगमनसँगै पुनः गति लिएको रूस फेरि बलियो महाशक्ति राष्ट्रका रूपमा स्थापित भएको छ ।
सन् १९५२ को अक्टोबर ७ मा लेनिनग्रादमा पुटिनको जन्म भएको हो । कानुनको अध्ययनपछि रूसको सुरक्षा मामिला हेर्ने निकाय केजीबीमा संलग्न भई त्यसको प्रमुखसमेत बन्नुभएका उहाँ सन् १९९७ मा तत्कालीन राष्ट्रपति बोरिस यल्त्सिनको सरकारमा सहभागी हुुनुभयो । सन् १९९९ मा यल्त्सिनले राजीनामा दिएपछि कार्यवाहक राष्ट्रपति बन्नुभएका पुटिन सन् २००० को राष्ट्रपतीय निर्वाचनमा सहजै जित हासिल गर्नुभयो । त्यसपछि उहाँको राजनीतिक प्रभाव बढ्दै गयो । सन् २००४ मा दोस्रो कार्यकालका लागि निर्वाचित उहाँ सन् २००८ मा प्रधानमन्त्री बन्नुभयो । सन् २०१२ मा तेस्रो कार्यकालका लागि निर्वाचित उहाँ अहिले चौथो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।
पुटिनले रूसलाई युरोपेली सङ्घ र उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) को प्रभावबाट अलग गर्न पाउनुभएको सफलता नै उहाँको लोकप्रियताको कारक बनेको छ । उहाँले रूसको छुट्टै पहिचान स्थापित गर्दै सोभियत सङ्घ विघटनपछि तहसनहस अवस्थामा पुगेको रूसलाई पुनःजीवन दिने काम गर्नुभयो । सोभियत सङ्घको विघटनलाई बीसौँ शताब्दीको सबैभन्दा दुःखद घटना मान्नुहुने पुटिनले रूसलाई फेरि विश्वकै महाशक्तिशाली राष्ट्र बनाउने अभियानमा जुट्नुभएको छ । बाह्य आलोचनाबीच पनि रूसीहरूमाझ अत्यन्तै लोकप्रिय पुटिनले विश्वशान्ति र स्थायित्वका लागि रचनात्मक काम गर्नुहुने अपेक्षा गरिएको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना