बेचबिखनको जोखिमका कारण

 


bisnu lamichhaneविष्णुकुमारी लामिछाने


नेपालमा मानव बेचबिखन तथा ओसारपसारको समस्या झनै विकराल बन्दै गएको छ । आन्तरिक होस् वा बाह्य रूपमा नै किन नहोस् विभिन्न बहाना र प्रलोभनमा बढीजसो महिला र बालबालिका ओसारपसार र बेचबिखनमा पर्ने गरेका छन् । पारिवारिक समन्वय र हेरचाहमा कमी, घरेलु हिंसा, वैदेशिक रोजगार, विवाह गर्ने बहाना, आर्थिक अभाव, फरक जीवनशैली जिउने चाहना हुनुलगायतका विविध कारणले गर्दा बेचबिखन तथा ओसारपसारका घटना भइरहेका छन् । सरकारी साथै गैरसरकारी तवरबाट पनि बढीजसो निरोधात्मक भन्दा उपचारात्मक ढङ्गले विभिन्न पहल गरिएका हुन्छन्, जसको कारण उल्लेख्य मात्रामा बेचबिखन तथा ओसारपसार जस्ता आपराधिक क्रियाकलापको न्यूनीकरण हुन सकेको छैन ।
हाम्रो समाजमा शिक्षित वा अशिक्षित जस्तोसुकै परिवारमा घरेलु हिंसाका घटना भइरहेका हुन्छन् । दिनहुँजसो हुने घरेलु हिंसाको कारण पीडितलाई परिवारप्रति वितृष्णा जाग्दै जान्छ । पीडित वा प्रभावित केही महिला तथा बालबालिका परिवारबाट टाढिने उपाय खोजिरहेका हुन्छन् । यसको फाइदा उठाउँदै पीडित वा प्रभावितमध्ये कतिलाई रोजगारी लगाइदिने त कतिलाई विवाह गर्ने बहाना बनाई दलालले ओसारपसार गर्छन् । कतिपय महिला तथा बालिकालाई सामूहिक बलात्कारमा पर्ने, देह व्यापारमा लगाइने, जोखिमपूर्ण कार्यमा संलग्न गराइने, अङ्ग झिक्ने, लागूऔषध ओसारपसारमा प्रयोग गर्ने लगायतका निकृष्ट कार्यमा संलग्न गराउँछन् ।
ग्रामीण भेगमा रहेका बालिका जसले बाबु वा आमा वा दुवै गुमाएका छन्, उनीहरू बढी जोखिममा रहेका देखिन्छन् । पर्याप्त मात्रामा पारिवारिक माया, ममता, हेरचाह पुगेको हुँदैन । कतिपय यस्ता बालबालिका विद्यालय नै जान पाउँदैनन् भने कतिले विद्यालय शिक्षालाई निरन्तरता दिन सकिरहेका हुँदैनन् । पारिवारिक कठिनाइ र उचित रेखदेखको अभावमा हुर्र्किएका यस्ता बालबालिका अरूले देखाएको सामान्य प्रलोभनमा फसिइरहेका छन् । अपरिचित व्यक्तिको फोनको भरमा या पहिलो भेटमा मात्रै परिवारको सल्लाहविना घर छोडेर हिँड्ने गर्दछन् । यसरी घर छोडेर हिँड्ने बालबालिका बढी बेचबिखनको जोखिममा परिरहेका हुन्छन् ।
आर्थिक अवस्था कमजोर भएका अभिभावकले बालबालिकाको पठनपाठनलाई बढी महìव दिएका हुँदैनन् । उनीहरूले बालबालिकालाई आम्दानीको माध्यम बनाएका हुन्छन् । कसैले छोराछोरीलाई मासिक रूपमा तलब दिने गरी काममा लगाइदिन्छु भन्ने बित्तिकै अभिभावक सजिलै पठाउने गर्दछन् । विभिन्न निकाय वा सङ्घसंस्थाबाट उद्धार गरी परिवारमा पुनःस्थापना गरिए पनि पुनः बालबालिकालाई काममै फर्काएका उदाहरण पनि छन् । बालबालिकालाई विशेषगरी इट्टाभट्टा, गलैँचा कारखाना, होटेल, यातायात, घरेलु कार्य, बुटिक भर्ने लगायतका कार्यमा लगाइएको हुन्छ । यसरी अभिभावकले नै अरूको सजिलै विश्वास गरी आफ्ना बालबालिकालाई घरबाहिर कामदारको रूपमा बेचबिखन गरिरहेका छन्, जसले बालबालिका अझै जोखिममा पर्न जान्छन् ।
हिजोआज धेरैजसो मानिस सामाजिक सञ्जालमा आबद्ध भएका छन् । कतिपय मानिस आफ्नो महìवपूर्ण समय अनावश्यक रूपमा नयाँनयाँ साथी बनाउनका लागि व्यतित गरिरहेका हुन्छन् । परिचित वा अपरिचित व्यक्तिलाई आफ्नो साथी बनाई आफ्नो पारिवारिकलगायत सबै विषयमा जानकारी गराउँछन् । अपरिचित व्यक्तिले सम्पूर्ण जानकारी पाएपश्चात् सोहीअनुसार ओसारपसार वा बेचबिखन गर्ने योजना बुन्न पुग्छन् ।
कठिन परिस्थितिमा रहेका अनाथ, असहाय र बेसहारा बालबालिकालाई सहारा प्रदान गरी पठनपाठन गर्ने वातावरण प्रदान गर्न विभिन्न स्थानमा बालगृह स्थापना भएका छन् । कतिपय बालगृहहरू नियमसङ्गत रूपमा सञ्चालनमा रहे पनि कतिपय बालगृह नियमविपरीत कार्य गरिरहेका छन् । बालबालिकाको सङ्ख्या बढाउनका लागि बालगृहको मर्म विपरीत र नियम विपरीत बालबालिकालाई भर्ना गरिरहेका छन् । अभिभावक पनि आफ्ना छोराछोरीलाई निःशुल्क पढाउन पाइन्छ भनेर आफू हुँदाहुँदै पनि मृत्यु दर्ता बनाएर वा कठिन परिस्थितिमा रहेका बालबालिका भन्ने सिफारिस बनाएर छोराछोरीलाई बालगृहमा पु¥याउँछन् । कतिपय आमा वा बाबु मात्र गुमाएका बालबालिकालाई आवश्यक प्रक्रियाविना नै बालगृहमा लगेर राख्ने प्रचलन छ । यसरी राखिएका बालबालिकालाई बालगृहले विभिन्न बहानामा विदेश पु¥याएका उदाहरण पनि हामीसामु नभएका होइनन् ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्नका लागि नेपालमा थुप्रै प्रयास भइरहेका छन् । ऐन, नियम, कार्ययोजना, कार्यान्वयन कार्ययोजना लगायत निर्देशिका पनि कार्यान्वयनमा छन् । ऐन नियममा भएको व्यवस्थाबमोजिम उद्धार गरिएका वा बेचबिखनमा परी फर्केका पीडितलाई सेवा दिनसक्ने गरी हालसम्म झापा, काठमाडौँ, सिन्धुपाल्चोक, पर्सा, चितवन, रूपन्देही, कैलाली र बाँकेमा पुनःस्थापना गृह पनि सञ्चालन भइरहेका छन् । केही साविकका गाविसमा मानव बेचविखन तथा ओसारपसारविरुद्धको गाउँ कार्यसमिति पनि गठन भई सचेतनामूलक क्रियाकलाप सञ्चालन गर्दै आएका छन् तथापि बेचबिखनमा लाग्ने वास्तविक दलाललाई पक्राउ गरी कानुनी कठघरामा उभ्याउन सकिएको छैन । बेचबिखन तथा ओसारपसारमा फस्ने व्यक्तिको उद्धार र पुनःस्थापना भए पनि सो कार्य गराउनमा संलग्न हुनेलाई कारबाही हुन नसक्दा पुनः अरू व्यक्ति जोखिममा पर्न सक्ने सम्भावना रहिरहन्छ ।
नेपाल एक भूपरिवेष्ठित मुलुक हो । भारतसँगको सीमाना खुला हुनुले पनि आपराधिक क्रियाकलापले निरन्तरता पाइरहेका छन् । विभिन्न बहानामा मानिसलाई सीमापार लगी बेचबिखन गर्नुको साथै सो स्थानबाट पनि अन्य मुलुकमा पु¥याएका छन् । एक ठाउँको आपराधिक
क्रियाकलापमा संलग्न व्यक्ति अर्को मुलुकमा गएर लुक्ने गरेका छन् । एक मुलुकमा रहेर अर्को मुलुकका व्यक्तिको व्यापार गरिरहेका छन् । यस्ता व्यक्ति जटिल खालको सञ्जालमा आबद्ध भई आपराधिक गतिविधिमा संलग्न भएका हुन्छन् । जबसम्म यस्ता व्यक्तिको खोजी गरी सुपुर्दगी कार्यलाई प्रभावकारी बनाउन सकिँदैन तबसम्म मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण हुन सक्दैन ।
समाजमा हुने बेचबिखनका घटनाले पीडितलाई मात्र नभई बालबच्चा, घरपरिवार, समाज एवं राष्ट्र«का सम्पूर्ण मानव मस्तिष्कमा नै नकारात्मक असर पारिरहेका हुन्छन् । पछिल्लो समयमा यस्ता घटना भएका छन् जसको कारण जो कोहीको पनि विश्वास गर्न सक्ने अवस्था छैन । अपरिचित व्यक्तिले मात्र नभई एक महिलाले अर्को महिलालाई, एउटा बाबुले छोरीलाई, श्रीमान्ले श्रीमतीलाई, आफन्तले आफन्तलाई, साथीले साथीलाई नै नाटकीय तवरले बेचविखन गर्न पुगेका छन् । यसर्थ मानव बेचविखनका घटनालाई रोक्नका लागि एकातर्फ स्वयं व्यक्ति नै सजग हुनुपर्छ, अर्कोतर्फ सम्पूर्ण निकायको संलग्नता, समन्वय र सहकार्यमा बनेका ऐन नियम साथै कानुनको प्रभावकारी कर्यान्वयन गरी यस्ता क्रियाकलापमा संलग्न हुनेलाई कानुनमा उल्लेखित कडाभन्दा कडा सजाय गर्ने परिपाटीको सिर्जना हुनुपर्छ ।
समयको परिवर्तनसँगै मानव बेचबिखन तथा ओसारपसारको स्वरूपमा परिवर्तन आएका छन् तर समस्या कायमै छ । विज्ञान र प्रविधिको विकाससँगै मानिस सञ्चारका विभिन्न सञ्जालमा आबद्ध हुँदै गइरहेका छन् । यिनीहरूको गलत रूपमा प्रयोग नगरी सदुपयोगतर्फ सबैको ध्यान जानुपर्छ । सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न सञ्चालन गर्ने क्रियाकलाप पनि उपचारात्मक भन्दा बढी निरोधात्मक उपाय अवलम्बन गर्नु अपरिहार्य हुन्छ । बेचबिखनमा संलग्न हुने सञ्जालका सबैलाई खोजी खोजी कारबाही गर्नुको साथै यो समस्या अन्तर्देशीय हुने भएकाले अपराधीलाई सुपुर्दगी गर्ने कार्यलाई प्रभावकारी बनाउनु आवश्यक देखिन्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना