खेलै खेल


sarashoti dhunganaसरस्वती ढुङ्गाना

जाल, झेल, क्रीडा, लीला, चालबाजीलाई नै खेल भनिन्छ । यसैगरी भाग्यको खेल, दैवी खेल, विचित्र र अद्भूत कामलाई समेत खेल भनिन्छ । ती खेलभन्दा पृथक् खेलको यस लेखमा चर्चा गर्ने प्रयास गरिएको छ । खेल र ठाउँको मेलबाट बनेका थुप्रै ठाउँ रहेका छन् । ती सामाजिक, पौराणिक, धार्मिक, ऐतिहासिक आदि दृष्टिले महŒवपूर्ण मानिन्छन् । त्यस्ता खेलसँग जोडिएका केही स्थानको यहाँ चर्चा गर्ने प्रयास गरिएको छ ।
जावलाखेलः
ललितपुर जिल्लामा पर्ने महŒवपूर्ण स्थानमध्ये एक हो जावलाखेल । जावलाखेलको नामकरण सम्बन्धमा एउटा प्रसङ्ग चर्चित छ । ललितपुरको प्रमुख जात्रा मानिने मच्छिन्द्रनाथको रथ ललितपुरको जावलाखेलमा पुगेपछि गरिब तथा दुःखी जनतालाई जाउलो पकाएर भोज खुवाउने गरिन्थ्यो । धेरै पहिलेदेखि चलेको यो चलन अहिले पनि रहेको छ । यसरी जाउलो खुवाइएको ठाउँ भएर नै यस ठाउँको नाम जावलाखेल रहन गएको देखिन्छ । जावलाखेलमा देशको एकमात्र ठूलो चिडियाखाना रहेको छ ।
टुँडिखेलः
देशको राजधानीको केन्द्रमा रहेको विशाल चौर नै टुँडिखेल हो । यसलाई नेवारीमा तुनिख्यल भनिन्छ । काठमाडौँ रत्नपार्कदेखि तोपघरसम्मको खुला मैदान नै टुँडिखेल हो, जहाँ सैनिकहरू कवाज खेल्छन् । यस्तै विभिन्न अवसरमा जहाँ विभिन्न कार्य आयोजना गरिन्छ । यस स्थानको पौराणिक, ऐतिहासिक महŒव रहेको छ भने यस ठाउँको मिथकीय महŒव पनि छ । अठारौँ शताब्दीमा भीमसेन थापाको पालामा लेखिएको त्रिरत्न गाथा नामक ग्रन्थमा उल्लेख भएअनुसार प्रत्यांगिरा देवी र बज्रभैरवले बज्रतुण्डीदेवीलाई यस ठाउँ दाइजोका रूपमा दिएकाले नै यस ठाउँलाई तुण्डीक्षेत्र भनिएको हो । कालान्तरमा यस तुण्डीक्षेत्र नै टुँडिखेल नामले चिनिन पुगेको हो ।
प्रारम्भमा यस चौरमा पानी जम्ने भएका कारण यसलाई तुगुख्यो वा तुख्यो भनिन्थ्यो । पानीले भरिएको चउर तुगुख्योबाट नै यस ठाउँको नाम टुँडिखेल हुन गएको हो कि भन्ने लोकोक्ति पनि पाइन्छ । त्यस्तै अर्को कथनअनुसार प्रारम्भमा तुणी अर्थात् वाण हाल्ने खेल खेल्ने ठाउँ भएका कारण यस ठाउँको नाम तुणीखेल रहन गएको पाइन्छ । उक्त तुँडिखेलबाट नै टुँडिखेल नाम रहन गएको देखिन्छ । नेवारले अहिले पनि यस ठाउँलाई तुख्यो भन्ने गर्छन् । तर, प्राचीन बौद्ध ग्रन्थमा टुँडिखेललाई आगंचपा भनिन्छ । प्रचलित आख्यानअनुसार यहाँ गुरुमापा नामको राक्षस बस्ने गर्दथ्यो रे । गुरुमापाको बसोबास भएका कारण यस चौरमा कसैले आवाद नगरी त्यसै छाडिदिएका थिए । त्यसैले फागुपूर्णिमाको दिन चीर जलाएपछि गुरुमापालाई मध्यरातमा भोज खुवाउने गरिन्छ । जुन चलन अझै पनि चलेकै छ । इतिहासमा उल्लेख भएअनुसार भीमसेन थापाको पालादेखि यहाँ सैनिकहरूले कवाज खेल्न थालेका थिए । यसैगरी वि.सं. १९३५ मा रणोद्दीपले उनका भाइ धीर शमशेरलाई लगाएर टुँडिखेललाई सम्म पारेर ठूलो बनाएका थिए ।
टुँडिखेल एसियाको कवाज खेल्ने ठूलो चौर मध्येको एक मानिन्छ । राणाशासन पछि टुँडिखेलको बीचमा खरीको बोट थियो । जहाँ तत्कालीन राणाशासनको अवस्थामा विभिन्न घोषणा, सुनुवाइ, योजनालगायतका सरकारी निर्णय हुने गरेको कुरा इतिहासमा उल्लेख भएको पाइन्छ । विक्रम सम्बत् २०१८ मा त्यहाँ नेपाल स्मारक र बाटो बनाएपछि टुँडिखेलको क्षेत्रफल पनि घट्न पुगेको हो ।
भूतखेलः
काठमाडौँको उत्तरी भेगमा रहेको टोखा नगरीमा रहेको छ भूतखेल । मसानकालीको मन्दिर रहेको विशाल चौर नै भूतखेल हो । सिनेमा छायाँङ्कनका लागि यसलाई उपत्यकाको एउटा लोकप्रिय स्थान मानिन्छ । भूतखेलमा भूतको प्रभाव रहेको स्थानीयवासीको भनाइ छ । केही वर्षअगाडि यहाँ सिनेमा छायाँङ्कनका क्रममा भूतले प्रभाव पारेको कुरा चर्चामा आएको थियो । टोखा धार्मिक, ऐतिहासिक, सांस्कृतिक नगरीका रूपमा प्रसिद्ध छ ।
दुखेलः
काठमाडौँको पश्चिममा पर्ने गोलढुङ्गामा दुखेल नामको स्थान छ । धेरै पहिले यस ठाउँमा दुई परिवारको बास थियो । उनीहरू ज्यादै दुःखी थिए । तीनै दुःखी दुई परिवारको बसोबास भएका कारण यस ठाउँलाई दुखेल भनिएको हो । जुन तारकेश्वर नगरपालिका वडा नं. ४ मा रहेको छ । यस स्थान नजिकै ऐतिहासिक ढुङ्गेधारा रहेको छ भने लोलाङ नामको प्राचीन बस्तीसमेत रहेको छ । यस ठाउँको पूर्वतिर पुरानो गुह्येश्वरी देवीको मन्दिर रहेको छ भने दक्षिणमा शान्ति गुफा रहेको छ । स्थानीयहरू यसलाई ढिकीपाकु नामले पनि चिन्दछन् । नागार्जुन पर्वतको उत्तरी काखमा दुखेल रहेको छ ।
धापाखेलः
ललितपुर जिल्लामा पर्ने महŒवपूर्ण ठाउँ हो धापाखेल । जहाँ प्रसिद्ध नागपोखरी रहेको छ । नागपञ्चमीका दिन जहाँ ठूलो मेला लाग्ने पर्छ । जुन दिन यहाँ पूजाअर्चना गर्न उपत्यका वरपरबाट थुप्रै भक्तजन त्यहाँ पुग्ने गर्छन् । यो क्षेत्र धार्मिक एवं सांस्कृतिक दृष्टिकोणले ज्यादै महŒवपूर्ण मानिन्छ ।
धुलिखेल
काठमाडौँदेखि ३० कि.मि. पूर्वमा काभ्रेपलाञ्चोक जिल्लामा धुलिखेल पर्छ । यो नेपालको प्रमुख पर्यटकीय नगरी पनि हो । उपत्यकाका प्राचीन नगरमध्ये धुलिखेल पनि पर्छ, जुन नेवारहरूको प्राचीन बस्ती पनि हो । यहाँबाट पूर्व र पश्चिम दिशामा थुप्रै हिमशृङ्खलाको मनोरम दृश्य देख्न सकिन्छ । साथै, यहाँबाट गौरीशङ्कर हिमाल र अन्य पहाडी शृङ्खलाका साथै सुनकोशी र रोशी खोलाको संगमको सुन्दर दृश्य पनि देखिन्छ । यहाँ तिमाल नारायणको मन्दिर छ, जहाँ भगवान् विष्णुको मूर्ति स्थापित छ । यस ठाउँलाई अरनिको र बीपी मार्गको संगमस्थलका रूपमा लिइन्छ । जहाँ देशको महŒवपूर्ण मानिने काठमाडौँ विश्वविद्यालय छ । जहाँ विभिन्न देवीदेवताका मठमन्दिर, पार्क, रमणीय वनजङ्गलसमेत रहेका छन् ।
लगनखेलः
ललितपुर जिल्लाको अर्को प्रमुख स्थान हो लगनखेल । लगनखेलमा प्रसिद्ध अस्पताल छ । ललितपुरको बयान गरेर गीत पनि रेकर्ड गरिएको छ । जुन गीत रेडियो नेपालबाट बज्ने गरिएको पाइन्छ, ‘घर त लगनखेल, हाँसौँखेलौँ पातली दुई दिन बाँचुन्जेल । ’
चाँगुनारायण नजिकै रहेको एउटा लोकप्रिय स्थान हो अत्तरखेल । जहाँ मेडिकल कलेज र ख्वप इन्जिनियरिङ कलेज रहेको छ । भक्तपुर नगरीको बोडेमा रहेको छ सरस्वतीखेल । सरस्वतीको मूर्ति रहेको यस ठाउँ नै सरस्वती खेल हो । दक्षिणकाली मन्दिर जाने क्रममा एउटा स्थान छ चाल्नाखेल । जुन ठाउँ ज्यादै रमणीय र सुन्दर रहेको छ । नागार्जुन नगरपालिकामा रहेको ठाउँ हो टौखेल । टौखेल नागार्जुन पर्वतको काखमा रहेको सुरम्य स्थानका रूपमा लिन सकिन्छ ।
त्यस्तै, खेल जोडिएका अन्य स्थानमा काठमाडौँको चुनीखेल र ब्रह्मखेल, ललितपुरको बडिखेल, गोटीखेल, मनिखेल र बुखेल, भक्तपुरको झौखेल र नङ्खेल, मकवानपुरको फाखेल आदि स्थान छन् । खेलसँग जोडिएका अन्य स्थान देशको अन्य भू–भागमा रहेका हुन सक्छन् । ती स्थानका आ–आफ्नै विशेषता छन् । त्यस्ता कैयौँ स्थान आवश्यक प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन् ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना