‘काम गरेर देखाउने बेला आएको छ’

kpoliकाठमाडौंँ, चैत २७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सम्पूर्ण ध्यान आर्थिक विकासमा केन्द्रित भएको बताउनुभएको छ । सुशासनद्वारा आर्थिक विकासतर्फ अगाडि बढ्ने र देशभित्रै रोजगारी सिर्जना गर्ने तयारीको साथ सरकारले नीति र कार्यक्रम ल्याउने पनि उहाँले स्पष्ट गर्नुभयो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घको पाँचौ साधारणसभाको सोमबार उद्घाटनमा प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अब मुलुक गरिब र नेपाली जनता बेरोजगार रहने छुट हुँदैन उत्पादन बृद्धि गरी मुलुकमै पर्याप्तमात्रामा रोजगार बृद्धि गरिनेछ ।’
“केही गर्छु भन्दा आश्चर्य मान्ने, अविश्वास गर्ने प्रवृत्ति हाम्रो छ, तर अब त्यही आश्चर्यको काम गरेर देखाउने बेला आएको छ” प्रधानमन्त्री ओलीले भन्नुभयो । पानी जहाज चलाएर सस्तो दरमा सोही जहाजबाट सामान ओसार्ने कुरा गर्दा आफूलाई चङ्गाभन्दा बढी उडाएको टिप्पणी उहाँले गर्नुभयो । तर आफ्नै कार्यकालमा सो काम गरेर देखाउने प्रतिबद्धता उहाँले जनाउनुभयो ।
“म यो गर्छु, त्यो गर्छु भन्दा धेरैले मेरो भनाइको मजाक उडाए, त्यति त बच्चाहरूले हाम्रो आकाशमा चङ्गा उडाएका छैनन् होला” प्रधानमन्त्री ओलीले भन्नुभयो,‘अब कुरा हैन काम गरेर देखाउने बेला आएको छ । हिजो म प्रधानमन्त्री हुँदा धेरै काम गर्ने प्रयास गर्दा पनि छोटै समयमा पदबाट हटनुपरेकाले अब त्यो काम पूरा गर्ने बताउनुभयो ।
भारत भ्रमणको क्रममा पनि भारतीय समकक्षीसँग पानीजहाज सुचारु गर्ने विषयमा गम्भीर छलफल भएको बताउँदै प्रधानमन्त्री ओलीले भारतले नेपालसँग विकास साझेदारी गर्न चाहेको जानकारी गराउनुभयो । आफ्नो पछिल्लो भारतभ्रमण सम्बन्ध सुधार र आर्थिक समृद्धिमै केन्द्रित भएको उहाँले प्रष्ट पार्नुभयो ।
‘समृद्ध नेपाल र सुखी नेपाली’ सरकारको मुख्य लक्ष्य रहेको बताउँदै प्रधानमन्त्री ओलीले त्यसका लागि सरकारले दिनरात एक गरेर काम गर्ने बताउनुभयो । “न्यायोचित अधिकार, सुख र सम्मान जनताले चाहेका छन्, सरकारले त्यसलाई ध्यान दिंदै काम गरिरहेको छ” भन्दै प्रधानमन्त्री ओलीले विकास र सुशासनको पक्षमा सरकार रहेको बताउनुभयो ।
सबै किसिमको व्यवसायले रोजगारी र अवसर प्रदान गरिरहेको बताउँदै उहाँले सुनचाँदी व्यवसायले पनि लाखौं नेपालीलाई रोजगार प्रदान गरिरहेकोमा खुशी व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले व्यवसायीहरूको भौतिक सुरक्षा, विना डरत्रास व्यवसाय गर्ने वातावरणको निर्माण सरकारले गर्ने प्रतिवद्धता जनाउँदै सुनचाँदीको विषयलाई लिएर अपराध र तस्करी विगतमा भए पनि अब सरकारले त्यसमा पूर्णतः बन्देज गर्ने बताउनुभयो ।
सुनचाँदी व्यवसायलाई मर्यादित र त्रासरहित बनाउन आवश्यक ऐन र निर्देशिका तर्जुमा हुने क्रममा रहेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “ढुक्कसँग व्यवसाय गर्ने वातावरण निर्माण हुन्छ, तस्करी र अपराधजन्य कार्यको अन्त्य गर्छौं ।”
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मोहन सुनारले सुनचाँदी व्यवसाय निर्धक्कसाथ गर्न अझै सरकारले आवश्यक ऐन र निर्देशिका तर्जुमा नगर्दा व्यवसाय गर्न कठिन भएको बताउनुभयो । दैनिक बढीमा ४५ किलो सुनको माग रहेकाबेला सरकारले २० किलो मात्र सुन उपलब्ध गराइरहेको उहाँले बताउनुभयो । सुनचाँदी व्यवसायमार्फत थप रोजगारी सिर्जना गर्न मागअनुसारको सुन उपलब्ध गराउन अध्यक्ष सुनारले सरकारसँग माग गर्नुभयो ।
देशभर वार्षिक ५० अर्बभन्दा बढी रुपियाँको सुनचाँदी कारोबार भइरहेको बताउँदै अध्यक्ष सुनारले त्यसबाट लाखौंले रोजगारी पाएको दावी गर्नुभयो ।
त्यस अवसरमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले वार्षिक २७ अर्वको सुन विदेशबाट आयात भइरहेको जानकारी दिनुभयो । यस आर्थिक वर्षको ७ महिनामामात्रै १८ अर्ब रुपियाँको सुन आयात भइसकेको उहाँले जानकारी गराउनुभयो । सिवाकोटीले चाडपर्वका बेलामा दैनिक २५ केजीसम्म सुन सरकारले प्रदान गरिरहेको दावी गर्नुभयो ।
नेपालले गतवर्ष करिब ७३ अर्व रुपियाँको सामान निर्यात गरे पनि आयातको तुलनामा निकै न्यून भएको बताउँदै सिवाकोटीले भन्नुभयो, “सुनचाँदीमा मात्र आयात बढाउने हो भने बाँकी अति आवश्यक चिजवस्तु खरिदमा सन्तुलन बिग्रन्छ, त्यसैले घाँटी हेरी हाड निल्नुको विकल्प छैन ।” त्यस अवसरमा प्रधानमन्त्री ओलीले सुनचाँदी व्यवसायको प्रवद्र्धन गर्नेगरी मिडियाबाट भूमिका खेलेको भन्दै आर्थिक अभियानका पत्रकार दामोदर सत्याल र न्युज २४ का पत्रकार नवराज चालिसेलाई सम्मान गर्नुभयो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना