डढेलो रोक्न होशियारी

tilak kumalतिलकबहादुर कुमाल

पालुवाले प्रकृति हराभरा हँुदैछ । ऋतुको राजा वसन्त शुरु भएसँगै पुराना पात भुइँमा छरिएका छन् । गर्मीयाम शुरु भएपछि सुक्खा मौसमले छपक्कै छोपेको छ । खडेरीको कारण मध्यहिउँददेखि वनमा डढेलोको जोखिम बढ्न थालेको छ ।
सल्लीपिरल, पुराना सुक्खा पात पतिङ्गरमा परिणामको सोचविचार नगरी आगो झोँस्दा हाम्र्रै जीवन र भविष्यमा जोखिम आइपरेको छ । डढेलोको नकारात्मक असरप्रति विचार गरी विवेकशील काम गर्नु सचेत मानिसको कार्य हो । डढेलोको कारण माटोको सुक्खापन र पृथ्वीको तापक्रम बढ्दै गएकाले धर्तीमा प्राणीजगत्को दिनचर्यामा कठिनाइ बढिरहेको छ भने जीवन अस्तित्वमा प्रतिकूलता थपिएको यथार्थ सर्वविदितै छ ।
चैत, वैशाख, र जेठ महिना बढी आगलागी हुने, डढेलो लाग्ने र लगाउने समय हो । वनमा डढेलो लाग्ने÷लगाउने क्रम रोकिएको छैन । हिउँदमा पानी पर्न छोडेको कारण पछिल्ला वर्षमा मङ्सिर, पुस र माघमा पनि डढेलोको घटना हुनु राम्रो सङ्केत होइन । नेपालमा डढेलोको अनुसन्धान, तथ्याङ्क सङ्कलन र नियन्त्रणका लागि सरकारी वा गैरसरकारी सङ्घ–संस्थाबाट उल्लेख्य पहलकदमी कमै मात्रामा भएको पाइन्छ । डढेलोलाई सामान्य र स्वाभाविक ठान्ने नेपाली समाजको संस्कार अनि मानसिकता कायमै भएको महसुुस हुन्छ तर यसबाट उत्पन्न प्रतिकूल असरको भागीदार हामी नै हौँ । ती असर कुनै प्रत्यक्ष छन् भने कुनै अप्रत्यक्ष छन् । डढेलो र वनफँडानीबाट मौसमी प्रतिकूलता, जीवन दिने वन, औषधीय वनस्पति, जडीबुटी र सन्तुलन कायम गर्ने वन्यजन्तु भने गुमाउँदैछौँ । निर्दोष वन्यजन्तु जल्न बाध्य छन् भने मानव बस्ती र स्वास्थ्यमा समेत खतरा पैदा भएको छ । वनविनाश तीव्र गतिमा भएकाले पानीका मुहान सुकेर मानवजगत् काकाकुल छ । लामो दूरीसम्म उड्न÷हिँड्न र दौड्न नसक्ने पुतली, किटपतङ्ग र पशुपक्षीले जीवन रक्षा गर्न चाहेर पनि आगोको लप्कासँगै विलीन हुँदैछन् । कैयौँ जीवजनावर लोप भए भने कुनै लोपोन्मुख छन्, यसो हुनुको कारण डढेलो पनि एक हो । पहिले ‘हरियो वन, नेपालको धन’ भन्ने उखान अहिले ‘हरियो वन, यन्त्रले खन’ हुन गई वातावरणमाथि मानवीय हमला कायमै रहिरहेको छ ।
प्रकृतिको विनाशलीला न्यूनीकरण गर्न दिगो विकास प्रणाली अवलम्बन गर्नेतर्फ पर्याप्त ध्यान पुगेको छैन भने अर्कोतर्फ कार्ययोजना सही रूपमा कार्यान्वयन भएको पाइँदैन । तराई, पहाड र हिमाली भेगका वनजङ्गलमा डढेलो फैलिनु र फैलाइनु वर्तमान र भावी दिनका लागि सुखद लक्षण होइन । जसले जीवन वन, जन र धनमै डढेलो लाग्ने निश्चित छ । डढेलोले वन्यजन्तुदेखि मानव बस्तीसम्म खरानीमा परिणत भएका घटना प्रशस्त छन् । अहिले पनि यो खतरा आउने र निम्ताइरहेका छौँ । वन सखाप भएसँगै जनजीवनमा विभिन्न जोखिम उत्पन्न भएको पाइन्छ । जोखिमका लक्षण कुनै तत्काल देखिन्छन् त कुनै कालान्तरमा देखिएलान् । कार्बनडाइअक्साइड र कार्बनमोनोक्साइड, क्लोरोफ्लोरो कार्बन ग्यासबाट श्वासप्रश्वास, छाती, टाउको लगायत शरीरमा उत्पन्न गडबडीबाट स्वयं र सन्तति ग्रस्त हुनेछौँ । डढेलो वनस्पतिनाशक, प्रदूषण र जलवायु परिवर्तनको कारक बनेको छ । डढेलो निभाउने प्रयास गर्दागर्दै सुरक्षाकर्मी र सर्वसाधारणको ज्यान गएको घटना विगतमा भए । जन, धन, वन, पारिस्थितिक प्रणाली, जैविक विविधताको क्षति बढ्दै गएपछि वनक्षेत्रको विनाशसँगै भूक्ष्य, बाढी, पहिरो र डुबानजस्ता विपत्ति भोग्याँै । हामीले भावी पुस्ताको जीवनका निम्ति सङ्कट निम्ताएका छौँ ।
पृथ्वीमा जस्तो जीवजन्तुका लागि अनुकूल पर्यावरण अरू ग्रहमा पाइएको छैन । जीवजन्तु प्राकृतिक सन्तुलन कायम राख्ने अभिन्न प्राणी हुन् । जीवजन्तु र वातावरणको रक्षा गर्नुले सन्ततिलाई स्वच्छ वातावरणमा जीवनयापन गर्न सकौँ र सकून् भन्ने चाहना साकार हुनेछ । यो मनोकाङ्क्षा हामीमा छ तर हामीले कति चासो दियौँ र सोहीअनुसार वातावरणको रक्षार्थ हाम्रो भूमिका कस्तो छ ? वृक्षरोपणमा जागरुक हुनेभन्दा बढी वृक्षनाशमा ध्यान धेरै छ । वनफँडानी गर्दा वृक्षरोपण पनि गरियो भने स्वच्छ वातावरण कायम रहन्छ । तसर्थ, सरोकारवाला निकाय र समाजको सचेतता र क्रियाशीलता जरुरी रहेको छ ।
वनमा प्राकृतिक कारणले पनि डढेलो लाग्छ तर आगलागी वा डढेलो हुनुमा मानवीय क्रियाकलाप बढी जिम्मेवार छ । आगो लगाएपछि पालुवा बाक्लो हुने, दाउरा निकाल्न सजिलो हुने र भुइँघाँस पलाउने सोचको कारण मानिसले नै वनमा आगो झोँसेको पाइएको छ । त्यसले वातावरणीय र मानवीय क्षति भएको छ । नेपालको कुल क्षेत्रफलमध्ये करिब ४४ प्रतिशत भू–भाग बनले ढाकेको छ । वन संरक्षणका चुनौती थुप्रै छन् तर उपाय पनि छन् । सचेतना अपनाउने हो भने वन संरक्षण गर्न कुनै महाभारत छैन ।
जनशक्ति र स्रोत साधनको कमीले डढेलो नियन्त्रण कार्यक्रम प्रभावकारी हुन सकेको छैन । डढेलो लगाउनेलाई दण्ड सजाय गर्ने कानुनी व्यवस्था भए पनि कार्यान्वयन विरलै भएको छ । मुलुकी ऐन, २०२० मा आगो लगाउने कार्यलाई फौजदारी अभियोग मानेको छ । वन ऐन, २०४९ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को वनमा आगो लगाउने वा लाग्न सक्ने क्रियाकलापलाई अपराधको रूपमा लिएर कैद, सजाय र दण्ड जरिवाना गर्ने व्यवस्था पनि छ तर कार्यान्वयनमा कमी भएको पाइन्छ । सामुदायिक वन, सरकारद्वारा व्यवस्थित वन, कबुलियती वन र संरक्षित क्षेत्र, आरक्ष, निकुञ्ज क्षेत्रको संरक्षण र डढेलो व्यवस्थापनको योजनालाई बेवास्ता गरेको पाइन्छ । एउटा वनमा लागेको आगोले अरू क्षेत्रको वनलाई खाक बनाएको छ । वन समुदायलाई हस्तान्तरण गर्ने हो भने वन उपभोक्ताले आफ्नो सम्पत्ति ठानेर रक्षा गर्नु कर्तव्यबोध हुनेछ । राष्ट्रिय वनबाट लागेको डढेलोले सामुदायिक वन पनि विनाश गरेको पाइन्छ ।
वातावरण हाम्रै जीवनका लागि हो भन्ने भावना लिएर डढेलोको असरबारे जनचेतना फैलाउनु श्रेयष्कर हुन्छ । जङ्गलको बीचमा अग्निरेखा र पोखरी खन्ने, पतकर जम्मा गरी मल बनाउने, सलाई, लाइटर, आगो बालबालिकाले नभेटाउने ठाउँमा राख्ने, चुरोटको ठुटा जथाभावी नफ्याँक्ने, हावाहुरी चलेको बेला आगो नबाल्ने, सडक, बाटो र बस्ती छेउमा पातपतकर जम्मा गरी मल बनाउन सकिन्छ । आगलागी नियन्त्रण गर्ने जनशक्तिलाई सबल र साधन सम्पन्न बनाउनु अनिवार्य हुन्छ । काम सकिएपछि आगो राम्रोसँग निभाउन अल्छी गर्नु ठूलो भूल हुन्छ । आगलागी भएको थाहा पाउनासाथ प्रहरी, वन कार्यालय, सामुदायिक सङ्घ–संस्थालाई खबर गरी छिटोभन्दा छिटो निभाउन सबै सक्रिय हुनुपर्छ । वनबाट हामी लाभान्वित छौँ भन्ने कुरा हामीले बोध गर्नुप¥यो । संरक्षणका उपाय अवलम्बन गर्न विलम्ब नगरेमा पश्चात्तापमा परिने छैन । अर्कोतिर प्राणी अर्थात् मानवजीवनको भविष्य पनि जोखिममुक्त हुन्छ । डढेलो नियन्त्रणका लागि जनशक्ति, स्रोत र साधनको प्रबन्ध गर्नैपर्ने हुन्छ । वन मन्त्रालयले वन डढेलो व्यवस्थापन रणनीति २०६७ बाट वनको उत्पादकत्वमा टेवा पु¥याउने लक्ष्य व्यावहारिक छ तर भूमिका निर्वाह भने उल्लेख्य भएको पाइँदैन । डढेलोको असर र क्षतिबारे सरकारी निकायबाट विस्तृत अध्ययन कमै भएको छ ।
डढेलो नियन्त्रणका लागि बजेटको प्रबन्ध गरी सदुपयोग गर्नुका साथै डढेलोको असर, समाधानका निम्ति पहलकदमी लिएमा मानव जीवनमा पर्न गएको प्रतिकूल असर न्यूनीकरण हुनेछ । जीवजगत्मा अनुकूलता भई अस्तित्व जीवन्त हुनेछ । यसर्थ, पृथ्वी साझा घर हो तसर्थ, यसलाई अनुकूल राखी स्वस्थ, सभ्य र रम्य जीवन जिउँदै भावी सन्ततिलाई स्वच्छ प्रकृति सुम्पनु महापुण्य हो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना