पार्टी एकताको प्रसङ्ग र समृद्धि

khim lalखिमलाल देवकोटा

यतिबेला नेपाली राजनीतिमा फेरि अर्को चर्चाको विषय थपिएको छ । त्यो हो पार्टी एकताको प्रश्न । निर्वाचन अगाडि यो प्रश्नले चर्चा पाएको थियो । निर्वाचनपछि भने यो प्रसङ्ग विस्तारै सेलाउँदै तात्दै गर्दा यतिबेला उत्कर्षमा पुगेको छ । दुई ठूला कम्युनिस्ट पार्टी बीचको एकताले देश विदेश सबैतिर चासोका साथ ध्यानाकर्षण गराएको छ । यसका साथै समृद्धिको चर्चा पनि कम महìवको छैन । राजनैतिक वृत्तमा पार्टी एकताको प्रसङ्ग र जनताको स्तरमा समृद्धिको प्रसङ्ग यतिबेलाका चर्चाका विषय हुन् । दुवैको सम्बन्ध एकअर्कामा गहिरोसँग गाँसिएको छ । यिनै विषयलाई संक्षेपमा उजागर गर्ने यो आलेखको ध्येय रहेको छ ।
वामपन्थीको पार्टी एकताको राजनीति
२००६ सालमा काङ्ग्रेस र कम्युनिस्ट पार्टीहरू एकसाथ खुलेका भए पनि तिनले एक दशक मात्रै पनि राम्ररी अभ्यास गर्न पाएनन् । एक दशक मात्रै पनि अभ्यास गर्न पाउँदा नपाउँदै राजा महेन्द्रको फौजी काण्ड घट्यो । जसको परिणामस्वरूप नेपालमा दलमाथि प्रतिबन्ध लाग्यो । प्रतिबन्धित अवस्थामा पनि दलहरूले भूमिगत वा खुला आफ्ना गतिविधि भने गरी नै राखे । २०१७ सालदेखिको अनवरत सङ्घर्षले २०२८ सालमा हतियार उठाउने हदसम्म विकास ग¥यो । २०३६ मा पुग्दा यसले वैधानिक सङ्घर्षलाई प्राथमिकतामा राख्यो । २०४६ सालमा आइपुग्दा वैधानिक अवैधानिक आन्दोलनको परिणामस्वरूप दलमाथिको प्रतिबन्ध फुकुवा भयो तर गणतन्त्र आएन । दलमाथिको प्रतिबन्ध फुकुवापछि वैधानिक र अवैधानिक आन्दोलनलाई प्रधानता दिने गरी दुई धारमा राजनीति विभाजित भयो । तिनै दुई आवरणभित्र दर्जनौँको संख्यामा दल थपिए । काङ्ग्रेस र कम्युनिस्ट पार्टीका चिरा छँदै थिए, बहुदल आएपछि खोलिएका पूर्व पञ्चका पार्टीहरू पनि दर्जन पुग्न थाले । पार्टी विभाजनको यो राजनीतिले पार्टी एकताको राजनीतिको माग गरेको थियो । जनता र देशको परिस्थिति दुवैले यही माग गरेका थिए । देश र जनताको यो मागलाई पार्टीहरूले भने आत्मसात् गर्न सकिरहेका थिएनन् । यही परिवेशमा नयाँ संविधान जारी भएपछिको निर्वाचनमा दलहरूको चेत खुल्यो र पहिलोपटक पार्टी एकताको लक्षकासाथ निर्वाचनका लागि गठबन्धन बनाएन तयार भए । वाम र गैरवाम दुवैतर्फ यसले एक अर्कालाई उत्पे्ररित गर्ने काम ग¥यो । फलतः पहिलोपटक नेपालमा निर्वाचन अघिको गठबन्धन बन्यो । निर्वाचन अघिको गठबन्धन एजेण्डामा आधारित हुने र यो गठबन्धन दीर्घकालीन पनि हुने निश्चित थियो । त्यसैको दिशामा नेपालको राजनीति अघि बढ्यो । यस अघिका गठबन्धनहरू निर्वाचनपछि बन्ने र निर्वाचनपछिका गठबन्धन शक्ति र स्वार्थमा केन्द्रित हुने हँुदा तिनको आयु पनि स्वभाविक रूपमा अल्पकालीन हुन्थे, त्यसै भयो पनि । जे होस् नयाँ संविधान र नयाँ संविधानपछिको राजनीतिले पार्टी एकताको राजनीतिलाई बढावा दिएको छ । यसैको परिणाम स्वरूप दुई कम्युनिस्ट पार्टीको एकता छिटै हुँदैछ ।
गैर वामहरू चुनावी गठबन्धनमै सीमित
जब वामपन्थीहरू पार्टी एकताको लक्ष्यका साथ निर्वाचनको गठबन्धन बनाए तब गैर वामपार्टीहरूका लागि पनि दबाब पर्नु स्वाभाविक थियो । यसै दबाबको परिणाम नेपाली काङ्ग्रेस, राप्रपा, मधेशवादी दल लगायतका अन्य साना दल पनि काङ्ग्रेसको पुच्छर बनेर गठबन्धनमा सामेल भए । वाम गठबन्धनलाई चुनौती दिनकै लागि भए पनि गैर वामहरू पनि एक ठाउँमा उभिए । तर वामपन्थीको पार्टी एकताको लक्ष्य प्रस्ट थियो भने गैर वामहरूको गठबन्धन वामपन्थीहरूको सिको थियो, उनीहरूलाई रोक्नु थियो तर गैर वामहरूको पार्टी एकताको प्रसङ्ग थिएन । त्यसैले पार्टी एकताको ध्येय नराखिएको गठबन्धन चुनावी गठबन्धनमा नै सीमित भयो । चुनावी गठबन्धनमा मात्रै सीमित गठबन्धनले चुनावी हिसाबले पनि राम्रो परिणाम प्राप्त गर्न सकेन । चुनावी परिणामले वामपन्थीहरू सत्तामा र गैर वामहरूलाई प्रतिपक्षमा बस्ने जनादेश प्रमाणित गरिदियो ।
समृद्धिको सपनामा गठबन्धनहरू
वाम र गैर वाम दुवै गठबन्धनको साझा एजेण्डा थियो आर्थिक समृद्धि । दुवै गठबन्धनको निदान थियो–विगतमा राजनीतिक अस्थिरताका कारणले समृद्धि हासिल गर्न सकिएन । नयाँ संविधान जारी भएपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको छ । अबको राजनीति विकास र समृद्धिको हो भन्ने कुरामा पनि दुवै गठबन्धनको साझा अवधारणा थियो । यस हिसाबले समृद्धिको सपना जनताका थिए । यिनै सपनालाई गठबन्धनले आफ्नो बनाए । जनताको मन जित्ने कोसिस गरे । यसै प्रयत्नबाट समृद्धिको सपना नेपाली राजनीतिको स्थापित नारा बन्न सफल भयो । समृद्धिका सपना बाहेक राजनीतिक दलहरूका सामु अब कुनै राजनीतिक एजेण्डा बाँकी रहेन । व्यवस्था परिवर्तनको हदसम्म जनताले कुर्वानी गरे । अब जनताले कुर्वानी गरेको परिणामस्वरूप प्राप्त भएको राजनीतिक उपलब्धिलाई संस्थागत गर्ने हो भने जनताको जीवनस्तर नउठाई सुखै छैन । यस हदसम्म पनि सबैको सहमति वनेको छ । जे होस् यो अबधिको राजनीतिक एजेण्डा विकास र समृद्धि बन्नु सबैका निम्ति खुशीको कुरा हो । यसै राजनैतिक एजेण्डाका आधारमा सम्पन्न निर्वाचन एक ढंगको जनमत संग्रह जस्तै बन्न पुग्यो । एजेण्डा एउटै भए पनि जनताको विश्वास वामपन्थीहरूको पक्षमा गयो । झण्डै दुई तिहाई जनताको समर्थन वाम गठबन्धनले प्राप्त ग¥यो । दुई तिहाई जनमत प्राप्त वाम गठबन्धनका लागि समृद्धिको सपनालाई विपनामा उतार्ने चुनौती खडा भएको छ ।
अबको राजनीति विकास केन्द्रित
अबको राजनीति विकास केन्द्रित राजनीति हो भन्ने कुरामा थप भनी राख्नै परेन, निर्वाचनको परिणामले त्यही सन्देश दियो । अब निर्वाचनको परिणामलाई व्यवहारमा उतार्न पर्ने बेला भएको छ । यति नै बेला वामपार्टीहरूको एकताको प्रसङ्ग जोडिएको छ । वाम र गैर वाम दुवै थरीले विकास र समृद्धिलाई राजनीतिक एजेण्डा बनाए । जनताले भारी मतले वामपन्थीलाई जिताए । स्थिरता, विकास र समृद्धि वाम पार्टीहरूको प्रतिबद्धता नै थियो । त्यसका लागि स्थिर सरकार चाहिन्थ्यो । त्यो कुरा गठबन्धनले प्राप्त गरेको छ । गठबन्धनलाई पार्टी एकतामा पु¥याउन अनिवार्य छ । जो काम निकट भविष्यमा हँुदैछ । यसो हो भने अबको राजनीतिसँगै अबको पार्टी एकताको ध्येय पनि त्यही विकास र समृद्धिलाई बनाएन चुक्न हँुदैन । जनताको चाहना विकास र समृद्धि हुने राजनीतिक एजेण्डा पनि त्यही हुने, देश र देशको राजनीति हाक्ने राजनीतिक दलहरूको योजना तदनुकूल नहुने हो भने फेरि समस्या पर्नेछ । त्यसैले अबको पार्टी एकताको एजेण्डा पनि विकास र राजनीति नै बन्न जरुरी छ । तर राजनीति त्यति सहज छैन । सहज हुने भए धेरैले राजनीति नै गर्दथे । बडेबडे विद्वानहरू पनि राजनीतिमै रमाउँथे । तर त्यसो भएको छैन । राजनीति जटिल खेल हो । यसमा एजेण्डाले भन्दा स्वार्थले काम गर्दछ । त्यो स्वार्थ व्यक्ति, गुट, मेरो मान्छे अर्काको मान्छे, मेरो पार्टी, अर्काको पार्टी जस्ता कुराले राजनीतिलाई गाँजेको छ । देश र जनताको चाहना र राजनीतिको एजेण्डा सबै मिलेर पनि पार्टी एकतामा यदा कदा नकारात्मक संकेत पनि पाईने गरेको छ । निहित स्वार्थलाई सिरानी हालेर पार्टी एकतामा भाँजो हाल्न खोज्ने प्रवृत्ति पनि कियाशील छ । त्यसतर्फ यथोचित विचार पुग्न सकेन भने त्यसले फेरि अर्को समस्या ल्याउनेछ ।
बाह्य शक्तिको चलखेल
पार्टी एकताको प्रसङ्ग आन्तरिक रूपमा सबै तयार भएर पनि बाह्य शक्तिको चलखेलका कारण टर्ने खतरा पनि त्यतिकै छ । बाह्य शक्ति नेपालीको एकतामा भन्दा फुटमा आफ्नो भूमिका बढ्ने भएका कारण खुशी हुने गर्दछ । बाह्य शक्ति नेपालको समृद्धिमा भन्दा अभावमा रमाउने गरेको छ । समृद्धि देशको राजनीतिक एजेण्डा बन्दै गर्दा उसको भूमिका सीमित हुने भयका कारण उसले छुट्टै गोटी चलाउने सम्भावना पनि त्यतिकै होला । त्यही शक्तिले दलभित्र देशभित्र र व्यक्तिभित्र पनि खेल्न सक्ने सम्भावना प्रशस्तै छ । त्यसैले बाह्य शक्तिको यो अनपेक्षित हस्तक्षेपलाई इन्कार गरेर मात्रै पार्टी एकतालाई टुंगोमा पु¥याउन सकिएला । बाह्य शक्तिको चलखेलले व्यक्तिगत लाभ त होला तर देश र जनताका प्रति घात हुनेछ ।
पार्टी एकताको सैद्धान्तिक पाटो 
पार्टी एकताका बारेमा माओवाद र जनताको बहुदलीय जनवाद दुवैका बटमलाइन भनिएको थियो । यसै कारणले पार्टी एकता नहुने खतरा छ भनेर प्रचार पनि गरिएको थियो । तर सबैले बुझ्न जरुरी के छ भने माओवाद अर्ध सामन्ती तथा अर्ध औपनिवेशिक देशमा क्रान्ति गर्न दीर्घकालीन जनयुद्धको तरिका अबलम्वन गर्नपर्छ भन्ने माओवादी मान्यताका आधारमा माओवाद भनिएको थियो भने राजा सत्तामा रहेका बखत जनवादी क्रान्तिको वाटो शान्तिपूर्ण प्रक्रियामार्फत शक्ति सञ्चय गर्दै बल प्रयोग गर्न जनताको बहुदलीय जनवाद भनिएको थियो । आज दुवै परिस्थिति विद्यमान छैनन् । समयले ती दुवै पक्षलाई पछि पारिसकेको छ । यस्तो अवस्थामा मेरो माओवाद वा मेरो जवज छुट्यो भनेर वा यही बहानामा एकतामा भाँजो हाल्नु अन्ततः सैद्धान्तिक, वैचारिक भन्दा पनि एकता नभैदिओस् भनेर धूप हाल्नेहरूकै पक्षमा पक्षपोषण हुने बाहेक केही हुने छैन । त्यसैले अबको बाटो विकास र समृद्धिको माध्यमबाट समाजवादी बाटो तय गर्नु नै हुनेछ । त्यसका लागि बेरोजगारीको अन्त, भ्रष्टाचारको अन्त र उत्पादनमा वृद्धिमार्फत समाजवादी बाटो समात्न जरुरी छ ।
अन्तमा
राजनीति देश र जनताको सेवाको लागि गरेको हो भने पार्टी एकता हुँदा मलाई के गर्छ हैन देश र जनतालाई फाइदा गर्छ भन्ने निष्कर्षमा पुगिन्छ भने त्यहाँ बाधक बन्न हुँदैन । पार्टी एकताले वृहत्तर देश र जनताको चासोलाई सम्बोधन गर्छ भने म र मेरो पार्टीको केन्द्रमा संलग्नता कति छ भन्ने कुराको खासै अर्थ हुने छैन । पार्टी एकताको ध्येय जनताको समृद्धि हो र यसको ग्यारेण्टी गर्छ भने नाम, झण्डा र चुनावचिन्हले खासै फरक पार्ने छैन । वाम एकताले सार्थकता पाओस् । यसैगरी निर्वाचन पूर्वको वाम गठबन्धन पार्टी एकतामा पुग्दै गरेको यस घडीमा निर्वाचन पूर्व चुनावी गठबन्धनमै सीमित रहेको गैर वाम गठबन्धनलाई पनि पार्टी एकताका लागि सकारात्मक ढंगले उत्प्रेरित गरोस् । यसो गर्दा साझा ध्येय देश र जनताको समृद्धि हो भन्ने कुरालाई केन्द्रमा राख्ने आदतको विकास होओस् यही मेरो कामना छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना