एकै दिन ४२ मिटर सुरूङ


लक्ष्मीप्रसाद उपाध्याय

काठमाडौँ, चैत २८ गते । भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्न सुरु गरेको छ महिनामा कुल लम्बाइको २७ प्रतिशत काम सम्पन्न भएको छ । चीनबाट मगाइएको टनेल बोरिङ मेसिन (टीबीएम) ले अपेक्षा भन्दा राम्रो काम गर्न थालेपछि निर्धारित समयभित्रै सुरुङ निर्माण हुनसक्ने सम्भावना बढेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहत रहेको राष्ट्रिय गौरवका विभिन्न आयोजनामध्ये सबैभन्दा राम्रो काम यही आयोजनामा भएको छ । मन्त्रालयका अनुसार कार्य प्रगति राम्रो भएकाले आयोजनाले माग गरेअनुसारको रकम पनि अर्थ मन्त्रालयले व्यवस्थापन गर्ने गरेको छ । यो आयोजना सरकारले आफ्नै लगानीमा निर्माण गरिरहेको छ । bheri babai_1
आयोजना प्रमुख शिवकुमार बस्नेतले मङ्गलबार गोरखापत्रसँग कुरा गर्दै भन्नुभयो, “मङ्गलबारसम्म तीन हजार दुई सय मिटरभन्दा बढी सुरुङ खनिसकिएको छ । हिजो एकै दिनमा ४२ मिटर खन्न सफलता मिलेको छ । ”
हालसम्मको एक दिनमा सबैभन्दा बढी सुरुङ खनिएको रेकर्ड पनि यही हो । यसअघि टीबीएमले प्रतिदिन औसतमा ३० मिटर सुरुङ खन्ने काम गरिरहेको थियो । पराम्परागत प्रविधिमा दुई वर्षको अवधि लगाएर १५० मिटर सुरुङ खनिएको थियो । पराम्परागत प्रविधिबाट खन्दा मुश्किलले दैनिक औसतमा एकदेखि दुई मिटर मात्र सुरुङ खन्न सकिने गरेको थियो । त्यसैले हालसम्मको प्रगतिलाई निकै राम्रो भनेर विज्ञहरूले टिप्पणी गर्ने गरेका छन् । भौतिक पूर्वाधार मन्त्रालयका पूर्वसचिव तुलसीप्रसाद सिटौलाले भन्नुभयो, नेपालको विकास इतिहासमा यो मेसिन पहिलो पटक प्रयोग गरिएको हो । हालसम्म देखिएको कार्यप्रगतिलाई एकदमै राम्रो मान्नुपर्छ ।
आयोजनाको काम प्रभावकारी हुँदै जाँदा पछिल्लो पटक सिँचाइ मन्त्रालयको मागअनुसार हालसम्म थप दुई अर्ब ५० करोड रुपियाँ अर्थ मन्त्रालयले व्यवस्थापन गरिसकेको छ । चालू आर्थिक वर्षको बजेटमा यस आयोजनाका लागि जम्मा ८० करोड रुपियाँ मात्र विनियोजन गरिएको थियो ।
आयोजना प्रमुख बस्नेतले भन्नुभयो, एक हप्ताअघि मात्रै अर्थ मन्त्रालयले थप डेढ अर्ब रुपियाँको व्यवस्थापन गरेको छ । अब यो रकमले करिब डेढ÷दुई महिना काम गर्न पुग्छ होला ।
आयोजनाका लागि कुल १२ किलोमिटरको सुरुङ खन्नुपर्ने हुन्छ । आयोजना प्रमुख बस्नेतका अनुसार हालसम्म राम्रो उपलब्धि देखिएको भए पनि कम्तीमा छ किलोमिटर नखनुन्जेलसम्म चुनौती यथावत् छन् । सुरुङमा चिनियाँ निर्माण ठेकेदार कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडले काम गरिरहेको छ । सो कम्पनीले दक्ष प्राविधिकको समयतालिका मिलाएर चौबिसै घण्टा काम गर्ने गरेको छ ।
आयोजनाले सन् २०२० सम्ममा सुरुङ खनिसक्ने कार्ययोजना बनाएको छ । सुरुङको भौगर्भिक अध्ययनले छ किलोमिटर खण्ड निकै कडा चट्टान भएकाले खन्न निकै जोखिम भएको बताइएको छ । त्यसका लागि चिनियाँ ठेकेदार कम्पनीले टीबीएमको प्रयोग गरेको हो । आयोजनालाई सिँचाइ र जलविद्युत् सहितको बहुउद्देश्यीय बनाइएको छ । आयोजना सम्पन्न भएपछि बाँके र बर्दियाका करिब ५१ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ पुग्ने छ भने ४८ मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । यो कार्यका लागि २०७१ साल माघ १५ गते सरकारले यो कम्पनीसँग सम्झौता गरेको थियो । सो चिनियाँ कम्पनीले चार वर्ष १० महिनामा कार्य सम्पन्न गर्ने प्रतिबद्धता सम्झौतापत्रमा गरेको छ ।
सुरुङ निर्माण गर्नका लागि मात्र १० अर्ब ५६ करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ । यो आयोजनाको निर्माणपछि बिजुलीबाट वार्षिक रूपमा दुई अर्ब रुपियाँ र सिँचाइकोतर्फ वार्षिक अढाई अर्ब रुपियाँ फाइदा हुने सरकारी अनुमान रहेको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना