ऐतिहासिक भारत भ्रमण र नयाँ रणनीति

ram bhakta thakurडा. रामभक्त ठाकुर

सङ्घीय गणतान्त्रिक नेपालमा तीनै तहको चुनाव सम्पन्न भई बलियो रूपमा जितेर आएको वामपन्थी दलहरूको नेतृत्वमा प्रधानमन्त्री के.पी शर्मा ओली स्थापित हुनुभएको छ । उहाँले नेपालको नयाँ परिवेशमा हालै भारतको तीनदिने राजकीय भ्रमण गर्नुभएको छ । यो भ्रमण ऐतिहासिक तथा उपलब्धिमूलक साबित भएको छ । नेपाल भारत सम्बन्धमा सन् २०१५ मा नाकाबन्दी भएपछि दुवै देशको सम्बन्ध धेरै चिसिएको थियो । भारतले त्यसपछि स–समयमा सम्बन्ध सामान्य बनाउन धेरै प्रयत्न गरेता पनि नेपाल भारतको हार्दिक सम्बन्धले स्वाभाविकता लिन सकिरहेको थिएन ।
प्रधानमन्त्री ओलीको भारत भ्रमणले धेरै हदसम्म आपसी शंका र तिक्तता मेटाउन सफल भएको छ । यसो हुनु दुवै देशका बीचमा अत्यन्त आवश्यक थियो, किनभने तिक्ततापूर्ण सम्बन्धले दुवै देशलाई हानि नै पु¥याउँछ । नेपालीमाथि भएको अन्याय र दुःख सम्झेर नै होला शायद भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बन्ध चिस्सिएको नेतासँग गर्मजोशीका साथ नेपालीलाई बढी हित हुने सहयोग गरी नयाँ नेपाल र भारतको सम्बन्धमा नयाँ अध्याय शुरु गर्न खोज्नु भएको देखिन्छ । यता नेपालले पनि सम्बन्धको नयाँ परिभाषा गर्दै दीर्घकालीन प्रभाव पार्ने सहयोगको सुरुवात भारतसँग गर्न चाहेको छ । यो पक्का हो, भारत–नेपाल प्राकृतिक रूपले नै मित्र हुन्, जस्को हरेक स्वरूप वैदिक समयदेखि नै बनेको छ । जब कि अरु देशसँग सम्बन्ध बढाउँदा धेरै कुरा नयाँ रूपमा जोखिम लिएर गर्नुपर्ने हुन्छ ।
नेपालका प्रधानमन्त्री ओलीको यस भ्रमणमा नयाँ कुरा केही आएन, बरु पहिले गरेका वाचा, योजना र सहयोगलाई कार्यान्वयन गर्न ठोस पहल गर्नेतर्फ जोड रह्यो । भारतले पनि उदार मनले नेपालाई गर्ने सहयोगको ढोका खोलेको छ । कार्यान्वयन हुन लागेका दुईटा महìवपूर्ण पुराना परियोजना छानिएका छन् । प्रथम, वीरगन्जस्थित एकीकृत भन्सार जाँच चौकीको उद्घाटन र भारतको मोतीहारीबाट नेपालको अमलेखगन्ज सम्मको पेट्रोल पाइपलाइन परियोजना, दुवै परियोजनालाई प्रधानमन्त्रीले नयाँ दिल्लीबाट प्रारम्भ गर्नु भएको छ । यस पाइप लाइनको निर्माणपछि नेपाललाई इन्धन ढुवानी र प्रशासनिक झन्झटबाट मुक्ति प्राप्त हुनेछ र यसबाट रु. एक खर्बको बचत हुन जाने अनुमान गरिएको छ । यस बाहेक पनि दुईटा धेरै दूरगामी प्रभाव पार्ने परियोजनामा भारतले सक्रियता देखाएको छ, त्यो हो–रक्सौल–काठमाडौँ विद्युतीय रेलमार्ग र कोशी, कर्णाली, गण्डकी नदीबाट जल परिवहन र सागरसम्मको नेपालको जल सम्पर्क तथा पहुँच । यी दुवै परियोजना नेपालका लागि धेरै नै महìवपूर्ण सामरिक दृष्टिले पनि हुन् र सम्भवतः चीनको प्रभाव नेपालमा पर्नबाट बचाउन पनि भारतले यसो गरेको हुन सक्छ । नेपाल यसको कार्यान्वयनपछि भूमिबन्द देश नभई भूमि जोडिएको देश र जल मार्गसँग पनि जोडिएको देश हुनेछ । यसले नेपालको समृद्धिमा निकै महìवपूर्ण भूमिका खेल्न सक्छ । यद्यपि यी दुवै परियोजना सम्पन्न गर्न निकै समय लाग्न सक्छ तर भारतीय प्रधानमन्त्रीले अग्रसरता देखाई यसको प्रतिवेदन एक वर्षभित्र आउने जानकारी गराउनु भएछ र निर्माण कार्य यथाशीघ्र शुरु हुने बताउनु भएको स्मरणीय छ ।
प्रधानमन्त्री ओलीको भारत भ्रमण तीन दिनको मात्र भएता पनि धेरै महìवपूर्ण र उपलब्धिमूलक ठहरिएको छ । थोरै कुरा भए तर अति महìवपूर्ण भए । दुवै देशका नेताले आफ्नो पहिलेको अवस्थाबाट फरक किसिमले व्यावहारिक भएर समयानुकूल नीति लिँदै बिग्रिरहेको सम्बन्धलाई शंकाविहीन बनाई सहयोगको नयाँ दिशा पहिल्याई एक अर्कामा निर्भर हुने नीति लिनु महìवको पक्ष बनेको छ । भारतलाई नेपालको खाँचो छ भने नेपाललाई सजिलो पार्नु भारतको आवश्यकता पनि हो । नाकाबन्दीपछि भारतले लिएको नेपालसम्बन्धी विदेश नीति अनुपयुक्त रहेको ठहर भएको छ । चीनको कठिन भौगोलिक अवस्था भएता पनि अप्ठ्यारो विकल्प खोज्न नेपाल बाध्य भएको थियो भने भारत चीनको आक्रामक विदेश नीतिको प्रभाव कम गर्न विवशताको नीति अनुरूप नै रेल र जल मार्ग विस्तारमा सक्रिय बनेको अनुभव गरिएको छ । प्रधानमन्त्रीको यो विदेश नीतिको शैली विवशतायुक्त भए तापनि दबाबमूलक ठहरियो, जसको अगाडि भारतको अडान नेपालको संविधान संशोधन आदिमा अड्न सकेन र भारतीय प्रधानमन्त्रीले नेपाली जनताले तीन तहको चुनाव गरी सङ्घीयतामा प्रवेश गर्नु ठूलो सफलता भएको भनी प्रशंसा गर्न बाध्य बन्नुभएको पाइयो । यो सामाजिक प्रशंसा पनि हुन सक्छ जुन समयले बताउनेछ । चीनको भ्रमण नगरी प्रधानमन्त्री ओलीले भारतको आफ्नो विदेशयात्रा शुरु गर्नु पनि सफल कूटनीतिक रणनीति हो । यसले चीनसँग पछि गर्ने कुराकानीमा निर्णयात्मक नीति बनाउन सजिलो हुन सक्छ र तार्किक दृष्टिकोणले पनि यो सही ठहर हुन जान्छ । नेपालले अख्तियार गरेको यो नीति सहुलियत या फैशनमा लिएको होइन, बरु गृहको आवश्यकताको हुन गएको हो, जस्मा ओलीको गहन दृष्टि र नेतृत्वले विशिष्ट भूमिका खेल्यो ।
भारतको नयाँ दिल्ली पुग्नासाथ स्वागतमा भारतीय कैविनेटका मोदीपछिका गृहमन्त्री श्री राजनाथले स्वागत गर्नु, राष्ट्रपति भवनमा अतिथि बनाएर राख्नु र ठूलो राजकीय सम्मान दिनु र दुवै प्रधानमन्त्रीले करिब एक घण्टा एक्लै वार्ता गर्नुले आपसी समझदारी र विश्वासको धरातल पहिले जस्तै बलियो बनेको बुझ्न सकिन्छ । दुवै प्रधानमन्त्री यस भ्रमणबाट निकै प्रसन्न हुनु र मित्रतालाई नै सन्धि र सहयोगको आधार बताउनु नयाँ नेपालको परिवर्तित तौरतरिका भनी बुझ्नु ठीक हुनेछ ।
अहिले भएको के हो भने जुन शंका या दूरी सम्बन्धमा थियो, सो ओली र मोदी दुवै प्रधामन्त्रीले आफ्नो देशको हित ख्याल गरेर दूर गर्न सफल हुनुभएको छ र नयाँ सम्बन्धको नयाँ तरिकाबाट प्रारम्भ गर्नुभएको छ, यो ठूलो कुरो हो । प्रधानमन्त्री ओलीले भारतसँग गम्भीर भएर फेरि वार्ता गर्नुपर्छ भन्नुको यथार्थ नै यही हो कि जुन समस्याबाट नेपाल आक्रोशित छ, त्यो समाधान हुनुपर्छ । अब जनता धेरै सचेत भएका छन् र समस्या समाधान नभई हट्ने स्थिति छैन । यसको प्रभाव दुवै देशको सम्बन्धमा पर्नेछ । त्यसैले सीमा विवाद, बाढी नियन्त्रण, सुरक्षा, आन्तरिक मामिलामा हस्तक्षेप, राजमार्ग, पञ्चेश्वर परियोजना महाकाली एकीकृत परियोजना, कालापानी, लिपुलेक, व्यापारमा बढ्दो कहालीलाग्दो घाटा, जलविद्युत्, कृषि, पर्यटन सबैमा समय सीमा राखी काम गरे मात्र पुनः विश्वासको आधारशिला बलियो हँुदै जानेछ । सम्बन्ध बिग्रन धेरै बेर लाग्ने छैन यदि हाम्रा सम्बन्ध सहयोगका वाचा फलदायी भएनन् भने । त्यसैले बिर्सनु हुँदैन, जनताले यसलाई गम्भीरता साथ निगरानी गरिरहेका छन् ।
अहिलेको सरकारलाई पाँच वर्षसम्म सरकार चलाउन जन–अधिकार पनि प्राप्त छ । नेपाल भारतसँगको आधार अति पुरानो भएको र सामाजिक, धार्मिक सांस्कृतिक सबै क्षेत्रबाट पनि पोषित भएको हुनाले आर्थिक विकासमा समेत एक अर्काको पूरकका रूपमा अघि बढ्नुपर्छ । सम्बन्धलाई संवेदनशील तरिकाले चलाउन जानिएन भने नेपालले भारतको सुरक्षाको संवेदनशीलतालाई ध्यानमा नराख्ने हो र भारतले नेपालको स्वाभिमानलाई बेवास्ता गर्ने तथा जनतालाई दाउपेच र मोलतोलको विन्दु बनाउने हो भने प्रतिकूल असर पनि हुन सक्छ ।
समयानुसार नेपालको विदेश नीतिमा आएको परिवर्तनलाई स्पष्ट देख्न सकिन्छ । नेपाल अब दुई ढुंगाको तरुल रहेन, यो दुई ढुंगाबीच एक बहुमूल्य रत्न भएको छ, जसले दुवै देशको समृद्धि र मित्रतामा एक पुलको काम गर्नेछ र ट्रान्जिट स्टेटको भूमिकामा आफ्नो अस्तित्व बचाउँदै समृद्धिको मार्ग तय गर्नेछ । दोस्रो नेपालले बदलिँदो परिस्थितिमा भारत र चीनबीच समदूरी राख्न जरुरी छैन, अतः नेपालले दुवै देशबीच राष्ट्रको हित अनुरूप सन्तुलित सम्बन्ध बनाई समयसुहाउँदो भूमिका खेल्नुपर्छ ।
अन्त्यमा आशा गरौँ, प्रधानमन्त्री ओलीको यो राजकीय भ्रमण अत्यन्त फलदायी हुनेछ र यसको दीर्घकालीन राम्रो प्रभाव दुवै देशको जनतामा पर्नेछ । जति चाँडो हुन्छ, त्यति चाँडो परियोजनाहरूलाई कार्यान्वयन गरी यसको फलदायी प्रभाव जनताले अनुभव गर्नसक्ने हुनुपर्छ । नेपालको सर्वोत्तम हितलाई ख्याल गरी चीनलाई उचित महìव दिँदै भारत र चीनबीच सन्तुलित भई हिँड्नु नै नेपालका लागि सर्वोत्तम रणनीति हुनेछ ।
(लेखक पूर्व राजदूत हुनुहुन्छ । )

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना