प्राकृतिक स्रोतको बहुउपयोगले अर्थतन्त्र बलियो हुन्छ : बस्नेत

लक्ष्मीप्रसाद उपाध्याय

काठमाडौँ, चैत ३० गते । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले नेपालको प्राकृतिक स्रोतलाई धनको रूपमा परिणत गरेर नेपालको कुल ग्राहस्थ उत्पादनमा वन क्षेत्रको योगदान बढाउने कार्यक्रम ल्याउन थालिएको बताउनुभएको छ ।
बिहीबार मन्त्रालयमा गोरखापत्र अनलाइनसँग विशेष कुरा गर्दै मन्त्री बस्नेतले संरक्षणका पक्षमा नेपालले उत्कृष्ट काम गरेको भए पनि प्राकृतिक सम्पदाको रणनैतिक ढङ्गले बहुउपयोग हुन नसकेको बताउँदै वनलाई राष्ट्रको धनको रूपमा परिणत गर्नु अबको आवश्यकता भएको धारणा प्रस्तुत गर्नुभयो । Shakti-Basnet
विद्यमान स्रोतको कसरी बहुसदुपयोग गर्नसकिन्छ त भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, “वनलाई राष्ट्रिय धन बनाउन सकिने प्रशस्त आधार छन् । वनको सदुपयोग भन्ने बित्तिकै काठ, दाउरातिर मात्र हाम्रो ध्यान जाने गरेको छ तर यथार्थता त्यसो होइन, यसबाट स्वेदशमा लाखौँको सङ्ख्यामा हरित रोजगारी सिर्जना गरेर राष्ट्रिय अर्थतन्त्रमा वन क्षेत्रको महìवपूर्ण योगदान सावित गर्न सकिन्छ । ”
वन राज्यले लगानी गर्नुपर्ने क्षेत्र नभएको बताउँदै मन्त्री बस्नेतले भन्नुभयो, “थोरै लगानीमा वनले राष्ट्रलाई धेरै गुणा योगदान दिन सक्छ । त्यसका लागि ठोस योजना र त्यसको प्रभावकारी कार्यान्वयनको आवश्यकता छ । ”
संरक्षित क्षेत्र वरीपरी खुलेको होटलले नेपाल भित्रिने अधिकांश पर्यटकको बसाइलाई आनन्ददायी बनाएको प्रसङ्ग उल्लेख गर्दै मन्त्री बस्नेतले भन्नुभयो, “नेपालको पर्यटन व्यवसाय हाम्रा राष्ट्रिय निकुञ्ज, दुर्लभ वन्यजन्तु, वनस्पतिमा आधारित छ । अब संरक्षण मात्र भनेर हुँदैन, नेपालका विद्यमान यी चिजलाई देखाएर पर्यटन व्यवसायको थप विकास गर्न सक्नुपर्छ । ”
पर्यटन व्यवसायसँग सम्बन्धित विभिन्न निकायले गरेका धेरै अध्ययनले काठमाडौँ उपत्यका बाहिरका अधिकांश होटल व्यवसायको लगानी संरक्षित क्षेत्र र सिमसार क्षेत्रमा आधारित भएको देखाएको छ ।
मन्त्री बस्नेतले भन्नुभयो, “पराम्परागत ढङ्गले संरक्षण र बहुउपयोगको योजना बनाएर मात्र हुँदैन । हाम्रा योजना, कार्यक्रम परिवर्तन हुनुपर्छ । त्यसका लागि मन्त्रालयले गृहकार्य गरिरहेको छ । ”
बाह्य र आन्तरिक पर्यटकका लागि गन्तव्य मानिएका पोखरा, चितवन, बर्दिया, पर्सा सिमरा, कोसी टप्पु, रारा, शुक्लाफाँटा, लाङटाङ, सगरमाथा, से फोक्सुण्डो, अन्नपूर्ण क्षेत्रलगायतका स्थानमा सञ्चालित होटल व्यवसायको लगानी राष्ट्रिय निकुञ्ज तथा सिमसार क्षेत्रलाई आधारित छ ।
होटल एसोसिएसन अफ नेपाल (हान) का अनुसार नेपालका होटल व्यवसायमा कुल लगानी कम्तीमा छ खर्ब रुपियाँ रहेको छ । उपत्यका पछि पोखरा, सगरमाथा, अन्नपूर्ण र चितवनलगायतका पर्यापर्यटन गन्तव्य मानिएका क्षेत्रमा ठूलो लगानी भएको छ । हानका सल्लाहकार तथा अनुसन्धादाता काशीराज भण्डारीका अनुसार नेपालका होटल व्यवसायको कुल लगानीको ४० प्रतिशत काठमाडौँ उपत्यकामा भए पनि बाँकी ६० प्रतिशत उपत्यका बाहिरका पर्यापर्यटनलाई केन्द्रमा राखेर लगानी गरिएको छ ।
मन्त्री बस्नेतले भन्नुभयो, “यहाँको जैविक विविधताको संरक्षणका साथै पर्यापर्यटनको विकास गर्दै स्थानीय बासिन्दाको जीविकोपार्जनमा थप सुधार गर्न आवश्यक छ । अन्य सरोकारवाला निकायले पनि यो कार्यमा सहयोग र समन्वय गर्नुपर्ने देखिन्छ ।
पर्यापर्यटनको विकासलाई केन्द्रमा राखेर मन्त्रालयले गतवर्ष मात्रै पर्सा वन्यजन्तु आरक्ष र शुक्लाफाँटा वन्यजन्तु आरक्षलाई राष्ट्रिय निकुञ्जको रूपमा घोषणा गरेको छ । राष्ट्रिय निकुञ्ज घोषणासँगै पर्यटक आउने सङ्ख्यामा वृद्धि हुनुको साथै त्यस वरीपरीका क्षेत्रमा ठूला होटल बन्ने क्रम जारी रहेको छ । नेपाल पर्यटन बोर्डका अनुसार हरेक वर्ष नेपाल भित्रिने बाह्य पर्यटकको कम्तीमा ८० प्रतिशत पर्यटकले नेपालका निकुञ्ज तथा तालतलैया, हिमालको दृश्यावलोकन गर्ने गरेका छन् । गतवर्ष नेपाल भित्रिएका १० लाख बाह्य पर्यटकमध्ये आठ लाख पर्यटकको रोजाइमा नेपालका संरक्षित क्षेत्रका अवलोकन गरेका छन् ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना