सहिष्णु थारु समुदाय

nira bhagatनिरा भगत थारु


एक नेपाली कविले लाक्षणिक भावमा भनेका छन् कि सोझा जति काठ सब काटिन्छन्, बाङ्गा जति काठ सब छोडिन्छन् ।
मानवीय आचरण, विचार र स्वभाव यस्तै छ– बाङ्गा–टिङ्गा, टाठा–बाठा प्रयोगमा ल्याइँदैनन्, सिधासादा र सरल व्यक्ति नै सबैको प्रयोगको तारो हुन्छ । सोझो काठ हँसिया, कुटो, कोदालाको बिँडदेखि घर–चोक जताततै प्रयोग हुन्छ तर बाङ्गो काठ जङ्गलमै जीवित रहन्छ । कसैको तारो बन्नु पर्दैन । यही अवस्था नेपालका थारू समुदायको राजनीतिक छायाँचित्रमा देखिन्छ । नेपालका थारू समुदाय सङ्घीयताका बारेमा के चाहन्छन् ? भन्ने स्वयं थारू नेताहरू, थारूका नामबाट स्थापित गैरसरकारी संस्थासमेतले थारू समुदायको मनोभावना बुझेको पाइँदैन । थारू समुदायको मनोभावना थारू नेताहरूको भाषण हो कि ? थारू समुदायको नामबाट खुलेका गैरसरकारी संस्थाको वक्तव्य हो कि ? यसबारेमा वास्तविकता बुझ्ने चेष्टा कसैबाट भए–गरिएको देखिएन ।
थारू समुदायको धारणा बुझ्नुअघि उसको प्राकृतिक स्वभाव, रहनसहन, पेसा व्यवसाय आदि बुझ्नु जरुरी हुन्छ । साथै थारू समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक एवं राजनीतिक अवस्थाका बारेमा पनि विश्लेषण गर्नु जरुरी हुन्छ । थारू जातिको स्वभाव सरल, उपकारी, गुणी, स्वभिमानी भएकै कारण अन्य जुनसुकै जातिसँग पनि यो जाति स्वाभाविक रूपले घुलमिल भएको हुन्छ । प्रकृतिपूजक थारू जातिले यस वर्षको जनगणनाताका विवरण टिपाउँदा बौद्धधर्म लेखाउन आमा थारू समुदायलाई थारू कल्याणकारीसभा लगायतका संस्थाले सार्वजनिक आह्वान नै गरेका थिए तर जनगणनाका बेला अधिकतम थारू परिवारले आफूहरू सनातनी हिन्दु नै भएको विवरण लेखाएको पाइयो । यसरी हिन्दु धर्म–संस्कृतिप्रति आस्थावान् पनि थारू जातिले अन्य धर्मावलम्बीप्रति जहिले पनि आदरभाव राखेका हुन्छन् । थारू जातिका मानिस पहाडी समुदायका व्यक्तिसँग जसरी घुलमिल र भातृत्वको भावनासहित सन्निकट हुन सफल छन्, त्यसरी नै उनीहरूले मधेशी समुदायका अन्य जातिको पनि मन र विश्वास जितेको पाइन्छ । कतिपय अवस्था र स्थानमा मधेशी समुदाय र पहाडी समुदाय, हिन्दु समुदाय र मुस्लिम एवं बौद्ध धर्मका बीच यसले पुलको काम गरेको पाइन्छ ।
विद्यालय व्यवस्थापन समितिदेखि सिँचाइ उपभोक्ता समितिसम्मको गठन प्रक्रियामा अन्य जाति, समुदायबीच सहमति हुन नसक्दा थारू समुदायका व्यक्तिको हकमा सर्वसम्मत वा बहुमत भएको घटनाक्रमले थारू समुदाय स्थानीय स्तरका आफ्ना गाउँबस्तीमा रहेका सबै जातिका छिमेकीसँग असल सम्बन्ध राख्न सकेको कुरा स्थापित हुन्छ । यो जाति सोझोसिधा हुनको साथै अशिक्षा, गरिबी, एवं चेतनाको कमीका कारण पिछडिएको जाति एवं समुदायभित्र पर्छ । मूलतः तराईमा बस्ने यो जाति समुदायका मानिससँग दुई दशक अघिसम्म पनि निकै जग्गाजमिन भएको देखिन्थ्यो तर कालान्तरमा यिनीहरूको सोझोपनको फाइदा उठाएर अन्य जातिका मानिसले क्रमशः थारूहरूको जग्गा आफ्नो पार्दै लगे । सोझोपनका कारणले हुने ठगीबाट जोगाउन पञ्चायतकालसम्म पनि ४० वर्ष नकटेका थारूले जग्गा रजिष्ट्रेशन गर्दा मालपोत कार्यालयले भरपर्दो साक्षी ल्याउन लगाउँथ्यो भनिन्छ । जमिनमा स्वामित्व घट्दै गए पनि थारू जातिको मूल पेसा कृषि नै हो । त्यसमा पनि परम्परागत कृषि व्यवसायमा लागेका कारण आर्थिक उन्नतिमा सबल हुन सकेका छैनन् । आफ्ना उत्पादनहरू अथवा कृषि उपजका रूपमा रहेका तरकारी, फलफूल र खाद्यान्न गाउँबाट शहरसम्म ल्याई बेचेर नुन, तेल, लत्ताकपडा किनी पुनः घर फर्कनेबाहेक ठूला व्यापारमा थारू समुदायको हालसम्म पहुँच हुन सकेको छैन । व्यपारमा ज्ञान–सीपको अभाव, पुँजीको कमी र न्यून सङ्ख्यामा मात्र शहरमा कम बसी अत्यधिक व्यक्ति गाउँमै रहने हुँदा पनि स्वाभाविक रूपमा व्यापारमा थारू समुदायको पकड हुन सकेको छैन । प्राविधिक शिक्षा र उच्चशिक्षा लिई विद्यालयहरू शिक्षक÷शिक्षिका हुनेको सानो सङ्ख्या हाल देखिन थालेको पाइन्छ । अपवादबाहेक थारू समुदायबाट निजामती क्षेत्रको उच्च पदमा पुग्न सकेका छैनन् ।
यो जातिको राजनीतिमा प्रभाव र अन्य जातिसँग उसले गरेको प्रतिस्पर्धा पनि उल्लेख्य छ । भनिन्छ, राजनीतिमा साम, दाम, दण्ड, भेद गरी चार कुरा अपरिहार्य हुन्छ । नेपालमा हालैका दिनमा देखिने गरेको राजनीतिक ताण्डव नाच हेर्दा अरू दुई कुरा पनि थपिएको छ । त्यो हो– मनी र मसल । यस परिस्थितिमा सिधासाधा तर गरिब र मिहिनेती थारू समुदायका व्यक्ति अन्य जातिका चतुर, टाठाबाठा र छट्टु व्यक्तिका हुलमा हराउँछन् । उनीहरूलाई भोट बैङ्कका रूपमा नेता, गैरसरकारी संस्थाका सञ्चालक, भोट बैङ्कका ठेकेदारले उपयोग गरेको पाइन्छ । गाउँमा अन्य जाति वा समुदायका व्यक्तिले मितेरी साइनो जोडेर पनि थारू भोेट तानेका हुन्छन् तर थारू स्वयंले मेरो समुदायलाई यो कुराले हित गर्छ भनी आफ्नो भनाइ र वर्चस्व अन्य जाति, समुदायसम्म पु¥याइ आफ्नो हितमा ध्यान केन्द्रित गराउन सकेको देखिँदैन । थारू समुदायको आवाज राज्यशक्तिसम्म पु¥याउन सकेको पाइँदैन । त्यसकारण पनि थारू समुदाय अन्य जातिका व्यक्तिसँग राजनीतिक प्रतिस्पर्धामा कमजोर देखिँदै आएको छ । अतिथि देवो भवः लाई मूलमन्त्र र धर्म मान्ने थारू समुदायको कुनै गरिब परिवारमा बास बस्न अन्य समुदायको व्यक्ति पुगेमा उनीहरू आफूले ओछ्याएको सुकुल र एउटा कम्बल पनि पाहुनालाई दिन्छन् । आफू भुइँमा सुत्ने, आफू भोको भएर पनि अरूलाई भोजन गराउने थारू समुदायको सामान्य धर्म हो । अर्को कुनै जाति, समुदायप्रति यति त्याग गर्ने संस्कृति अरू कुनै जातिमा छ ? मैले हालसम्म अर्को समुदायमा त्यत्रो उदार भावना भएको देखेको छैन । यत्रो विशाल छाती र उदार हृदय भएका थारू समुदाय साम्प्रदायिक हुनै सक्दैनन् ।
चाहे सङ्घीयताको कुरामा होस् वा संविधान निर्माणमा थारू समुदायले हामीलाई यो नामको राज्य चाहियो भनेर अरूलेजस्तो हलो अड्काएर गोरु चुट्ने काम गरेका छैनन् । एकल पहिचानको वकालतभित्र थारू समुदायको अस्तित्व हराउनुभएन । सबै समुदायको उन्नतिमा थारू समुदायलाई पछि नपारियोस् । अरू समुदायका बच्चा स्कुल जाँदा यो समुदायको बच्चा गोठालो जान नपरोस् । अरू समुदायका व्यक्ति बिरामी भई विशेषज्ञ चिकित्सकको सेवा लिइरहँदा थारू समुदायको व्यक्ति बिरामी हुँदा धामीको घर जाने बाटो सोध्दै हिँड्न नपरोस् । अरूले दिनहुँ रोस्ट चपाइरहँदा थारू समुदायका मानिसले पेटभरि खान दशैँ, माघी वा सिरुवा पर्व पर्खनु नपरोस् । अनि अन्याय पर्दा आँसु पिएर आफ्नै भाग्यलाई दोष दिनु नपरोस् भन्ने थारू समुदायको माग हो । के यति कुराको माग र आशा राज्यसँग राख्दा थारू समुदाय साम्प्रदायिक हुन्छ ? अन्य जातिको अधिकार खोस्न लागेको वा खोसिएको हुन्छ ? थारू समुदायले कहिल्यै अरूलाई नदेऊ, हामीलाई मात्र देऊ भनेको
छ ? अरूलाई दिए जति नै हामीलाई पनि देऊभन्दा थारूले अरू जातिप्रति विभेद र अन्याय गरेको हुँदैन ।
थारू समुदाय जन्मजात वा वंशज रूपमा उसको गुण मात्र होइन, हरेक नेपालीको मन मस्तिष्कमा अटाएको र छरिएको पाइन्छ । त्यसैगरी हरेक समुदायका नेपालीलाई थारू समुदायका हृदय, मन मस्तिष्कमा सजाएको पाइन्छ । यस अवस्थामा थारू समुदायले केवल समुच्चा नेपाल र नेपालीको हित हुँदा आफ्नो पनि हित हुनुप¥यो भन्ने माग राखेकाले सङ्घीयताको मामिलामा यिनीहरू बहुपहिचानका पक्षमा उभिएको प्रस्ट हुन्छ । वर्तमान नेपालको राष्ट्रगानमा परेका शब्द सय थुङ्गा फूलका हामी एउटै माला नेपालीले थारू समुदायको भावना समेटेजस्तो लाग्छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना