सफल भारत भ्रमण

Shreemanश्रीमननारायण


प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न भारत भ्रमणलाई सफल एवं उपलब्धिमूलक मान्न सकिन्छ । यस भ्रमणले दुई देशबीचको परस्पर सम्बन्धलाई प्रगाढ बनाउनुका साथै आपसी विश्वासलाई पनि सुदृढ बनाउने काम गरेको छ । दुई देशका प्रधानमन्त्रीबीच भएको छलफलपश्चात् जारी गरिएको १२ बुँदे संयुक्त विज्ञप्तिलाई ऐतिहासिक एवं दूरगामी महŒवको मान्न सकिन्छ । नेपालको आर्थिक विकासमा पनि यसबाट ठूलो मद्दत मिल्ने निश्चित छ । कृषि क्षेत्रमा नयाँ साझेदारी, रक्सौलदेखि काठमाडौँसम्म रेलमार्ग विस्तार तथा नेपाल–भारतबीच जलमार्गको सञ्चालन गर्ने बुँदालाई भ्रमणको ठूलो उपलब्धिका रूपमा लिन सकिन्छ । यी विषय सफल भ्रमणका कतिपय आयाम हुन् ।
प्रधानमन्त्री ओली स्वयंले पनि आफ्नो भ्रमणलाई पूर्ण सफल बताउनुभएको छ र भ्रमणबाट उत्साही पनि देखिनुहुन्छ । पारस्परिक लाभमा आधारित मित्रतापूर्ण सम्बन्ध अगाडि बढ्ने तथा यसले आपसी विश्वासलाई पनि अभिव्यक्त गरेको भन्ने उहाँको टिप्पणीले पनि भ्रमणको महŒवलार्ई दर्शाउँछ । संयुक्त विज्ञप्तिमा दुई मुलुकबीचका बहुआयामिक सम्बन्धमाथि बृहत् समीक्षा हुनुका साथै दुई देशका सरकार, निजी क्षेत्र र जनस्तरमा बढ्दो समझदारीको स्वागत गरिएको छ । साथै समानता, आपसी विश्वास, सम्मान र लाभका आधारमा दुईपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन मिलेर काम गर्ने विषयमा पनि दुवै देशबीच सहमति भएको उल्लेख छ । प्रधानमन्त्री ओलीद्वारा भारतको प्रगति र समृद्धिबाट लाभ लिन सक्ने गरी दुईपक्षीय सम्बन्धलाई विकास गर्ने चाहना व्यक्त भएकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल सरकारको प्राथमिकताका आधारमा साझेदारी गर्दै सम्बन्धलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । दुवै देशका प्रधानमन्त्रीद्वारा आफूहरूले राष्ट्रको विकासका निम्ति लिएको लक्ष्य ‘समृद्ध नेपाल र सुखी नेपाली’ र ‘सबका साथ सबका विकास’ बीच समानता रहेको कुरा पनि संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
भारतीय प्रधानमन्त्री मोदीले स्थानीय तह, प्रदेश र सङ्घीय संसद्को निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा नेपाली जनता र नेपाल सरकारलाई बधाई दिनुका साथै नेपालले स्थायित्व र विकासको लक्ष्य लिएकोमा प्रशंसा पनि व्यक्त गर्नुभएको छ । भारतका प्रधानमन्त्री मोदीले आफ्नो सम्बोधनमा पनि भारत, नेपालको विकासका लागि इतिहासदेखि नै भागिदार रहेको तथा नेपालको आर्थिक विकास र समृद्धि प्रयासमा आउँदा दिनमा भारतले पूरै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल सरकारद्वारा निर्धारित प्राथमिकता तथा आवश्यकतामा आधारित रहेर भारतले नेपाललाई सहयोग गर्नेछ । मोदीले सहयोगको क्षेत्रलाई फराकिलो पार्दै अब जलमार्गबाट पनि नेपाललाई सहजै जोडिने तथा रेलमार्ग पनि आवश्यक भएकाले यसलाई अघि बढाइने विचार व्यक्त गर्नुभएको छ । अहिलेसम्म नेपाललाई ल्यान्डलक्ड देश भन्दै आइरहेकोमा उहाँले नेपाललाई ल्यान्डलक्ड नभई ल्यान्डलिङ्कड देशको संज्ञा दिनुभयो ।
प्रधानमन्त्री ओलीको भारत भ्रमणका दौरान विगतमा दुई देशबीच भएका सम्झौताको कार्यान्वयनमा तीव्रता ल्याउने विषय पनि संयुक्त विज्ञप्तिमा उल्लेख भएको पाइन्छ । जसअनुसार नेपालमा रहेका दुईपक्षीय नयाँ तथा पुराना परियोजनाको कार्यान्वयनलाई तीव्रता दिन र विविध क्षेत्रका साझा एजेन्डा प्रवद्र्धन गर्न दुईपक्षीय संयन्त्रलाई सक्रिय बनाउने कुरामा जोड दिइने प्रतिबद्धता व्यक्त भएको छ । प्रधानमन्त्री ओलीको भारत भ्रमणका दौरान दुवै देशका प्रधानमन्त्रीले वीरगञ्जस्थित एकीकृत भन्सार जाँचचौकीको उद्घाटन तथा मोतिहारी–अमलेखगञ्ज अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको पनि शिलान्यास संयुक्त रूपमा गर्नुभएको छ । वीरगञ्जका अतिरिक्त नेपालका अन्य चार ठाउँमा पनि भन्सार जाँचचौकीको निर्माण कार्य प्रगतिमा रहेको छ । पाइपलाइनको निर्माण भएबाट अब पेट्रोलियम पदार्थको आपूर्तिमा सहजता हुनेछ । बन्द, हडताल, चक्काजाम तथा चुहावटको समस्या अब देखापर्ने छैन, साथै ढुवानी खर्चमा पनि कमी आउनेछ ।
नेपाल एउटा कृषिप्रधान देश हो तर पनि यहाँका किसानको अवस्था दयनीय छ । कृषि क्षेत्रबाट नेपाली किसान विमुख हुन थालेका छन् । यस्तो अवस्थामा भारतसित हालै भएको कृषि क्षेत्रमा नयाँ साझेदारीसम्बन्धी सम्झौताले देशको कृषि क्षेत्रलाई नयाँ ऊर्जा प्रदान गर्ने अपेक्षा गर्न सकिन्छ । नेपाली किसानले विभिन्न किसिमका चुनौतीको सामना गरिराख्नुपर्ने अवस्था छ, जब कि सीमावर्ती भारतीय क्षेत्रका किसान विभिन्नखाले आधुनिक कृषि उपकरण, मल, बीउको सहज उपलब्धता तथा सरकारी सहायता लगायतका कारण अपेक्षकृत निकै सुदृढ अवस्थामा छन् । अब नेपाली किसान पनि यसबाट केही अर्थमा लाभान्वित हुने अपेक्षा गर्न सकिन्छ ।
त्यसैगरी सामुद्रिक पहुँचको विषयलाई पनि भ्रमणको महŒवपूर्ण उपलब्धिका रूपमा लिन सकिन्छ । अब नेपालले पनि जलमार्ग भएर नेपाली झण्डावाहक जहाजमार्फत सामान ओसारपसार गर्न पाउनेछ । नेपालका तीन ठूला नदी कोशी, गण्डकी र कर्णालीमार्फत जल यातायात सम्भव छ ।
अहिलेसम्म जनकपुर जयनगरमा मात्रै सीमित रेलसेवालाई अब ब्रोडगेजमा पनि परिणत गरिएको छ, साथै भारतका सीमावर्ती रेलवे स्टेशनबाट नेपाली भू–भागसम्म पनि रेलसेवाको विस्तार गरिने अभ्यास चर्चामा छन् । प्रधानमन्त्री ओलीको भारत भ्रमणका दौरान भएको रेलवेसम्बन्धी सम्झौतालाई ऐतिहासिक मानिने गरिन्छ किनभने आजभन्दा पाँच दशक अघिसम्म रक्सौललाई नै काठमाडौँ प्रवेश गर्ने मुख्य बिन्दु मानिन्थ्यो । विगत केही दशक अघिसम्म रक्सौलदेखि अमलेखगञ्जसम्म रेल मार्ग पनि सञ्चालनमा थियो तर यो बन्द भएको पनि दशकौँ भइसकेको छ । भारतको रक्सौलदेखि हाम्रो राजधानी काठमाडौँसम्म रेलसेवा विस्तार गर्ने सम्झौतालाई ठूलो उपलब्धिका रूपमा लिन सकिन्छ । यसले नेपालको यातायातको क्षेत्रमा महŒवपूर्ण भूमिका निर्वाह गर्न सक्छ । रेलसेवा सस्तो, भरपर्दो तथा सुविधाजनक पनि हुने गर्छ । चीनको सिगात्सेबाट काठमाडौँसम्म रेलमार्गको पहुँच पु¥याउन बहस चलिरहेको छ तर भौगोलिक विकटता तथा नागरिक आवतजावतको सम्भावना त्यतापट्टि कमै रहने देखिएकाले सिगात्से–काठमाडौँ रेलमार्गको निर्माणमा अपेक्षाकृति बढी समय लाग्न सक्छ । लाखौँ नेपाली तीर्थाटनका निम्ति र निजी प्रयोजनका लागि पनि भारतमा आवतजावत गर्नु सामान्य कुरा भएको तथा लाखौँ भारतीयले पनि काठमाडांँ आवतजावत गर्नु सामान्य नै भएकाले रक्सौल–काठमाडौँ रेलमार्गको आवश्यकता, औचित्य र महŒव बढी छ । यस रेल मार्गको निर्माण भएमा भारतबाट हुने मालसामानको ढुवानीमा पनि कम लागत हुनुका साथै अपेक्षाकृत बढी सुरक्षित रूपमा काठमाडौँसम्म पहुँच सहज हुनेछ ।
रेलमार्ग तथा जलमार्ग नेपालको निम्ति असम्भव त होइन तर कठिन अवश्य पनि मानिन्थ्यो । उपरोक्त सम्झौतालाई कार्यान्वयनमा ल्याउन दुवै देश सक्रिय हुनु आवश्यक छ । सगरमाथादेखि सागरसम्म नेपालको पहुँच हुनु ऐतिहासिक हो भने भारतीय प्रधानमन्त्री मोदीको टिप्पणी तथा नेपाल र भारतबीचको सम्बन्ध सहमति तथा सम्झौताभन्दा पनि माथि हो भने हाम्रा प्रधानमन्त्री ओलीको टिप्पणीले नै दुवै देशबीचको सम्बन्धमा आएको प्रगाढतालाई अभिव्यक्त गर्छ । रेलमार्ग तथा जलमार्गको कार्यान्वयनपश्चात् नेपालको आर्थिक विकासमा महŒवपूर्ण सहयोग प्राप्त हुनेछ । नेपालले अब विभिन्न व्यापार गर्नका लागि आफ्नो पानीजहाज सञ्चालन गर्ने व्यवस्थालाई मूर्तरूप दिने अवस्थामा पुग्न लागेको छ । दुवै छिमेकीबीचको सुमधुर सम्बन्धले विकासका नयाँ–नयाँ अवसलाई पनि सिर्जना गरिरहने छ । भारत र चीनजस्तो विश्वका उदाउँदा महाशक्ति राष्ट्रबीच अवस्थित नेपालको कूटनीति सधैँ नै दूरदर्शी र परिपक्व हुनुपर्छ । दुई देशबीचको परम्परागत बहुआयामिक सम्बन्धको सदुपयोग दुवै देशको हितमा हुनुपर्छ । नेपालले दुई विशाल छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध कायम राख्दै समृद्धिको सपनालाई साकार गर्नुपर्ने चुनौती छ । प्रधानमन्त्री ओलीको समृद्ध नेपाल र सुखी नेपालीको नारालाई यथार्थमा परिणत गर्न अथक प्रयत्न, समर्पण, त्याग एवं दृढ इच्छाशक्तिको आवश्यकता छ । यसमा सबै नेपालीको सहयोग महŒवपूर्ण साबित हुनेछ । प्रधानमन्त्रीको सफल भ्रमणले परस्पर विश्वासलाई पनि बढाएको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना