नयाँ वर्षको स्वागतमा सलहेस


kamal rijalकमल रिजाल


विक्रम संवत्अनुसार हरेक वर्ष वैशाख १ गतेबाट नयाँ वर्ष शुरु भएको मानिन्छ । यसको आधारमा हाम्रो यहाँ आजदेखि नयाँ वर्ष शुरु भएको छ । २०७४ साल बिदा भई २०७५ सालको प्रवेश भएको छ । विश्वमा विक्रम संवत्लाई राष्ट्रिय संवत् मान्ने मुलुक नेपाल मात्र हो । त्यसैले यो संवत् नेपालका लागि आफ्नै विशिष्टतम मौलिक संवत् हुन पुगेको छ । यसो त अङ्ग्रेजहरूको उपनिवेश पूर्व भारतवर्षमा यसलाई राष्ट्रिय संवत् मान्ने मुलुक अरू पनि थिए तर उपनिवेशसँगै उनीहरू सबै उतैको संवत् (इस्वीय सन्) अपनाउन बाध्य बने, बनाइए । उनीहरूले नेपाललाई पनि आफ्नो नियन्त्रण रेखाभित्र ल्याउने प्रयास नगरेका होइनन् तर सकेनन् । त्यसैको एउटा प्रतिफल विक्रम संवत्को निरन्तरता पनि हो । हाल यसैका आधारमा यहाँको संवत्सर बदलिने गर्छ । यहाँको सरकारी कामकाजी संवत् पनि यही नै हो ।
यसो त संसारमा नयाँ भन्ने केही पनि हुँदैन । जे जति छन् सबै पूर्व अवस्थाकै निरन्तरता हुन् । मानिस तथा पशुपक्षी, कीटपतङलगायत रुख, बिरुवा, वनस्पति सबैका सबै एउटा पुस्ता मर्दै अर्को पुस्तामा सर्दै आएका छन् । वेद भन्छ– ‘द्यावा, भूमि तथा सूर्य, चन्द्रलगायत समग्र सृष्टिप्रक्रिया नै पूर्व सृष्टिकै निरन्तरता हो । ’
(सूर्यचन्द्रमसौ धाता यथापूर्वमकल्पयत । दिवं च पृथिवी चान्तरिक्षमथो स्वः । ऋग्वेद १०।१९०।३) त्यसमा पनि समय त झन् नयाँ हुनै सक्दैन । महाकाल न कहिल्यै मर्छ न सर्न नै सक्छ । संवत् जुनसुकै नै किन नहोस् त्यसअनुसार नयाँ वर्ष शुरु भयो भन्नुको अर्थ समय नै नयाँ शुरु हुने होइन । संवत्को सङ्ख्या मात्र बदलिने हो, जुन हामीले सजिलाका लागि अपनाउँदै आएका थियौँ । यसको उद्देश्य भनेकै तिथिमिति तथा घटना विवरण उल्लेख गरी इतिहास लेखनमा सहयोग पु¥याउनु हो । होइन नयाँ वर्ष नै भन्ने हो भने त प्रत्येक क्षण नयाँ हुने गर्छ । आँखा झिमिक्क गर्न भ्याएको हुन्न एउटा समय गएर त्यस स्थानमा अर्को समय आइसकेको हुन्छ ।
खासगरी विक्रम संवत् सौरमानमा आधारित संवत् हो । यसअनुसार सूर्यले मेष राशिबाट शुरु गरेको एकवर्षे यात्रा पूरा गरी पुनः मेष राशिमै प्रवेश गरेपछि संवत्सर बदलिएको मानिन्छ । यसबीच सूर्यले मेषदेखि मीनसम्मको १२ राशि भोग गरिसकेको हुन्छ । तथापि, यसले चान्द्रमाण र तत्जन्य विशेषतालाई पनि राम्रैसँग आत्मसात् गरेको छ । हाम्रो यहाँका अपवादमा आएका एकाधबाहेक प्रायः सबै चाडपर्व चान्द्रमाणमै आधारित छन् । तिथिहरू ३० वटा हुन्छन् । यीमध्ये शुक्लपक्षमा पूर्णिमासहित १५ र कृष्णपक्षमा औँसीसहित १५ वटा पर्छन् । हाम्रा जति पनि चाडवाड छन् यसैका आधारमा व्यवस्थित भएका छन् । यिनका गणना चन्द्रमाको कला घट्नु र बढ्नुसित सम्बन्धित रहेर हुने गर्छ, त्यसैले यसलाई चान्द्रमाण भनिएको हो । यसबाहेक देवकार्य र पितृकार्यसमेत यसैका आधारमा तय हुने गर्छन् । विक्रम संवत्ले यी तमाम पक्षलाई समेटेको छ । यिनै विशेषताले गर्दा यो संवत् बढी लोकप्रिय हुन पुगेको हो ।
भनिन्छ, विक्रम संवत् विक्रमादित्यले चलाएको संवत् हो । विक्रमादित्य धारा नरेश भोजका पूर्ववर्ती प्रशासक मानिन्छन् । यो स्थान भारत मध्यप्रदेशको राजधानी भोपाल निकट पर्छ, जहाँ राजा भोजलाई विक्रमादित्यको भूगर्भमा स्थित सिंहासन मिलेको थियो । (कल्याण नीतिसार अङ्क पृष्ठ ४९२) यसको आधारमा उनी भारतीय जस्ता देखिन्छन् । कतिले उनलाई उज्जैन नरेशको रूपमा प्रस्तुत गरी भारतीय नै हुन् भनेका पनि छन् । तथापि, उनको नेपाल र नेपालीसँगको सांस्कृतिक सम्बन्ध पनि कम्ती घनिष्ट छैन । अहिले पनि साँखुको बज्रयोगिनी मन्दिरमा रहेको विशाल शिरलाई उनै विक्रमादित्यको शिर मान्ने गरिएको छ । (मधुपर्क सम्पादकीय, वैशाख अङ्क २०७५) यसै पनि कुन व्यक्तिको जन्म कहाँ भएको थियो भन्नुभन्दा पनि कसले के गरे भन्ने कुराले बढी महŒव राख्छ । थाहा छैन उनी कहाँका हुन् तर उनले नेपाल र नेपालीको मन जित्ने काम भने पक्कै गरेका छन् ।
विक्रम संवत् बढी लोकप्रिय हुनुको पछाडि धेरै कारण छन् । तिनमा पहिलो कुरो त यो यहाँको धर्म, संस्कृति, संस्कार अर्थात् हावा, पानी, माटो सुहाउँदो हुनु नै हो । अर्को कारण बढी व्यावहारिक र वैज्ञानिक हुनु पनि हो । हाम्रो यहाँ सन्, शाके आदि अन्य संवत् पनि छन् । पछिल्लो समयमा आएर शङ्खधर साख्वको नाममा चलेको नेपाल संवत्समेत प्रलनमा आएको छ । सबै आ–आफ्नो स्थानमा त्यत्तिकै महŒवका पनि छन् । तथापि, बढी व्यावहारिक वैज्ञानिक भने विक्रम संवत् नै हुन पुगेको छ । यसले धार्मिक, सामाजिकदेखि प्रशासनिक आदि सबै क्षेत्रलाई समेटेको छ । तेस्रो कारणमा यसको समय मापन पद्धतिलाई लिन सकिन्छ । समय मापनको क्षेत्रमा यसको आफ्नै मापदण्ड छ । यसको आधारमा गरिएको मापन संसारको जुनसुकै कुनामा पनि मेल खाने गरेको छ । जस्तो एक वर्षमा १२ महिना र ३६५ दिन हुन्छ भन्ने कुरा विश्वको प्रायः सबै मुलुकले स्वीकारेका छन् । यस संवत्ले स्वीकारेको तथ्य पनि यही नै हो ।
चौथो कारण यो ज्योतिर्विज्ञानसित समेत सम्बन्धित देखिन्छ । ज्योतिर्विज्ञानले यसैको नजिक रहेर काम गरेको छ । विक्रम संवत्अनुसार १२ महिनालाई क्रमशः वैशाख, जेठ, असार, साउन, भदौ, असोज, कात्तिक, मङ्सिर, पुस, माघ, फागुन र चैत भनिन्छ । यी नामहरू ज्योतिषशास्त्रको मूलभूत आधार मानिएको २७ नक्षेत्रमध्येकै नामहरूसित जोडिन पुगेका छन् । उदाहरणका लागि वैशाख महिनालाई नै लिन सकिन्छ । यस महिनामा पर्ने पूर्णिमा तिथि कु्नै न कुनै रूपले विशाखा नक्षेत्र वा त्यसकै आसपासमा पर्ने गर्छ । यसैको आधारमा यस महिनाको नाम वैशाख रहन गएको हो । यसैगरी अन्य महिनालाई पनि केलाउँदै जान सकिन्छ । जस्तै जेठ महिनाको पूर्णिमा तिथि जेष्ठा नक्षत्रमा वा त्यसैको आसपासमा पर्छ भने त्यसैको आधारमा यस महिनाको नाम जेठ रहन गएको देखिन्छ । त्यस्तै असार माहिनाको पूर्णिमा तिथि उत्तरषाढा नक्षत्र वा त्यसैको आसपासमा पर्छ भने त्यसैको आधारमा यस महिनालाई असार भन्ने गरिएको छ । यसैगरी श्रवण, उत्तरभाद्र, अश्विनि, कृतिका, मृगशिरा, पुष्य, मघा, उत्तराफाल्गुनी तथा चित्रा नक्षत्रमा पूर्णिमा तिथि पर्ने भएकाले त्यसैको आधारमा ती महिनालाई क्रमशः साउन, भदौ, असोज, कात्तिक, मङ्सिर, पुुस, माघ, फागुन र चैत भन्ने
गरिएको छ ।
विक्रम संवत्को अर्को विशेषता भनेको यसको सम्बन्ध प्रकृतिसित पनि नजिक रहनु पनि हो । सलहेस नामक फुलको नाम हामीमध्ये धेरेले सुनेको हुनुपर्छ । सलहेस हरेक वर्ष वैशाख १ गते अर्थात् नयाँ वर्षको दिन फुल्ने गर्छ । यस्तो चमत्कार सम्भवतः संसारको कुनै पनि मुलुकमा छैन । प्रकृतितर्फ नफर्की वा प्रकृति सङ्गत नभई जीवन बन्न पनि सक्दैन र चल्न पनि सक्दैन । नयाँ जीवन दिने पनि प्रकृतिले नै हो, जीवनलाई नयाँ गति दिने पनि प्रकृतिले नै हो । नयाँ वर्षको अर्थ पनि कुनै न कुनै रूपमा नयाँ हुनु वा बन्नुसितै सम्बन्धित छ । नयाँ वर्षको दिन मात्र फुल्ने सलहेसको फूललाई यही अर्थमा लिन सकिन्छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना