होमियोप्याथिक उपचार


prem narayan sribastavडा. प्रेमनारायण श्रीवास्तव

म्रो देशमा धेरै किसिमका उपचार सेवा उपलब्ध छन् जस्तै एलोप्याथिक, आयुर्वेदिक, प्राकृतिक चिकित्सा, कुनफेन, एकुपंचर, एकुप्रेसर आदि । यीमध्ये होमियोप्याथिक चिकित्साको छुट्टै विशेषता र आवश्यकता छ । यो संसारका धेरै देशमा प्रचलित चिकित्सा प्रणालीमध्ये पर्दछ । इमर्जेन्सी बाहेक सबै किसिमका रोगमा प्रभावकारी चिकित्सा हो । सरकारी स्तरमा सञ्चालित मुख्य धाराको चिकित्सा सेवामध्ये यो पनि पर्दछ ।
२०१० सालमा राजा त्रिभुवनको बेलामा सञ्चालित रहेको यो चिकित्सा सेवा पशुपति क्षेत्रमा थियो । पञ्चायतकालमा यसलाई ललितपुरको पुल्चोक हरिहरभवनमा आफ्नै भवनबाट सेवा सञ्चालन भइरहेको छ । दैनिक २५० देखि ३०० को हाराहारीमा बिरामीले सेवा लिइरहेका छन् । काठमाडौँ उपत्यका बाहेकका अरु जिल्लाबाट समेत बिरामीले सेवा लिइरहेका छन् । यहाँ औषधि पनि निःशुल्क वितरण हुन्छ जसले गर्दा गरीब, असहाय वृद्धवृद्धा, अपाङ्गता भएकालाई धेरै राहत पुगेको छ ।
वर्षौंदेखि सीमित दायरामा रहेको होमियोप्याथिक चिकित्सालयको सेवा विस्तार देशका अन्य भागमा पनि खाँचो रहेको छ । यो चिकित्सा सेवाबाट कम खर्चमा धेरै व्यक्तिले लाभ लिन सक्छन् । यसबाट साइड इफेक्टको सम्भावना कम हुने, औषधि सेवनले अर्को रोग उत्पन्न हुने सम्भावना रहँदैन । कम खर्चको पूर्वाधारमा यसको व्यवस्थापन गर्न सकिन्छ । औषधिको एक्सपायरी डेट बढी हुने भएकाले औषधिको बर्बादी कम हुन्छ । होमियोप्याथी चिकित्साको लागि जनशक्तिको कमी छैन । प्रत्येक वर्ष पढेर आउनेको संख्या बढ्दै गइरहेको छ । आफ्नै देशमा स्नातक स्तरको योग्यता बी.एच.एम.एस.को पढाइ विराटनगरमा सञ्चालन भएको थियो । पाँचवटा ब्याच पढेर निस्किएपछि बन्द हुनपुग्यो । केही चिकित्सक निजीस्तरबाट चिकित्सा सेवा दिइरहेका छन् भने केही विदेश पलायन भएका छन् । सरकारले होमियोप्याथिक चिकित्सा सेवा विस्तार गर्ने हो भने दक्ष जनशक्ति देशभित्रै उपलब्ध छ । देशभित्र अरु पनि चिकित्सा सेवा हुँदाहुँदै होमियोप्याथिक चिकित्साको आफ्नो छुट्टै विशेषता रहेको हुनाले यसलाई विकास र विस्तार गरेर आम जनमानसको पहुँचमा ल्याउनु आवश्यक रहेको छ ।
छालासम्बधी रोगहरू– मुसा, खिल, ठेला, डण्डिफोर, चिलाउने दाद, सोराइसिस, डाबर आउने, पिलो, सेतो दुबीको उपचारमा यो चिकित्सा प्रभावकारी मानिन्छ । कतिपय छाला सम्बन्धी रोगको उपचार गर्न बिरामी रिफर भएर पनि आउने गर्दछन् ।
सेतो दुवी, सोराइसिस, अर्टिफेरिया, लिचेन प्लानस आदि रोगको उपचारमा समय बढी लाग्ने भए पनि होमियोप्याथिक उपचारबाट सफलतापूर्वक उपचार गर्न सकिन्छ । छालासम्बन्धी रोगहरूमा होमियोप्याथिक उपचार राम्रो हुन्छ भन्ने भावना आम जनमानसमा पनि परिसकेको छ । मलद्वारमा लाग्ने रोगमा एनल फिसर, पाइल्स, फिस्टुला आदि प्रमुख रोग हुन् । कब्जियत हुने मानिसलाई पाइल्स हुने रगत आउने, दुख्ने, पोल्ने समस्या मलद्वारमा भइरहन्छ । जसको लागि होमियोप्याथिक उपचार धेरै राम्रो हुन्छ । पाइल्स पनि तीन ग्रेडको हुन्छ त्यस बाहेक रगत, आउने र नआउने किसिमको उपचार होमियोप्याथिक उपचारबाट गर्न सकिन्छ । फिस्टुला र फिसर जस्ता दुःखदायी समस्या मलद्वारमा हुने गर्दछ । यो सर्जिकल समस्या भए पनि होमियोप्याथिक उपचारबाट धेरै विरामी निको हुने गर्दछन् । होमियोप्याथिक अस्पतालमा आउने गरीब बिरामीमा जिउमा भएको गाँठागँुठी, जोर्नी दुखाई, बाथ, युरिक एसिड, प्रोस्टेट, पत्थरी, डण्डिफोर, मोलस्फम, पाठेघरको ट्युमर, सेतो पानी बग्ने, महिनावारीको गडबडी, माइग्रेन, महिलाको ब्रेष्टमा हुने फाइब्रोएडिनोमा जस्तो गिर्खाको उपचारको लागि धेरै हुन्छन् । कतिपय सर्जरी गर्नुपर्ने अवस्थामा गरीब रोगीहरू यहिँको औषधि सेवन गरेर निको हुने गरेका छन् । साना बच्चालाई पटक–पटक टन्सिल भइरहने बच्चाहरू अपरेसन गर्नबाट जोगिएका पनि छन् ।
इमर्जेन्सी उपचार होमियोप्याथिकबाट हुन नसक्नु यसको कमजोरी हुन सक्छ तर पनि अरु चिकित्साबाट उपचार गर्दागर्दै सफलता नपाएका बिरामीको लागि आशाको किरण होमियोप्याथिक उपचार हो ।
कम खर्चिलो चिकित्सा भएको हुनाले २०७२÷७३ को वार्षिक बजेटमा लगभग ८० हजार बिरामीको उपचार गर्न प्रतिव्यक्ति तीन रुपियाँको खर्च आएको थियो । यसैबाट कम लागतका अस्पताल सञ्चालन र निःशुल्क औषधि वितरण होमियोप्याथिक उपचार सेवा बाहेक अरु चिकित्सा सेवाबाट सम्भव देखिँदैन ।
होमियोप्याथिक चिकित्साको आविष्कार डा. क्रिस्चियन फ्रेडरिक श्यमुएल हनिम्यानले गरेका थिए । उनको जन्म सन् १७५५ को १० अप्रिलमा जर्मनीमा भएको थियो । संसारभरिका होमियोप्याथिक फार्मेसी र चिकित्सकहरूले मिलेर यस दिन विश्व होमियोप्याथिक दिवसको रूपमा मनाउने गरिन्छ ।
देश सङ्घीयतामा गएको हुनाले एउटा मात्र सरकारी स्तरमा भएको चिकित्सा सेवालाई देशका अन्य भागमा पनि पु¥याउने आवश्यकता छ । यसको लागि होमियोप्याथिक चिकित्सालयले पहल गरिरहेको छ । एउटै चिकित्साले सबै किसिमको स्वास्थ्य सेवा दिन नसक्ने हुनाले एकिकृत स्वास्थ्य सेवाको अवधारणा विकास गर्नुपर्ने देखिन्छ । आम जनमानसले आफूलाई चाहिएको चिकित्सा सेवा लिएर स्वास्थ्य लाभ लिनेछन् । तराईको सीमाक्षेत्रका बासिन्दाले होमियोप्याथिक चिकित्सा सेवा लिन भारतको सीमावर्ती क्षेत्रमा जाने गर्दछन् । आफ्नै देशमा उपलब्ध भए सजिलो हुने र जनताको पैसा विदेशिने थिएन । देश सङ्घीयतामा गएको हुनाले देशको अरु भागबाट यसको विकास विस्तार गर्नुपर्ने माग आइरहेको छ । आशा छ वर्तमान सरकारले मागको सम्बोधन गर्नेछ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना