आफन्त कि बैरी ?


Yamuna aryalयमुना अर्याल (काफ्ले)

चैतको दोस्रो साता सार्वजनिक भएको विराटनगरको एउटा अप्रिय समाचारले आफ्नै आमासमेत सन्तानका लागि प्रिय हुन नसकेको सबुत प्रमाण देखायो । विराटनगर– ३ कमलामार्गकी सरला काफ्लेले श्रीमान्को रिस आफ्नो ५ वर्षीय अबोध छोरामाथि खन्याइन् । पटकपटक तातो आइरनले शरीरभरि डामेर यातना दिएको भिडियो सार्वजनिक भएपछि बाबुआमासँग काठमाडौँमा बस्दै आएका सरिताका श्रीमान्ले मुख खोले । बाबुआमालाई सहन नसकेपछि आफू बाध्य भएर काठमाडौँ बस्नुपरेको, छोडपत्रका लागि कानुनी प्रक्रिया अगाडि बढाएको तर छोरामाथि निर्मम यातना दिइएपछि छोरा आफ्नो निगरानीमा हुनुपर्ने उनले माग गरे । छिमेकी र स्कुल प्रशासनले समेत पटकपटक बच्चालाई कुटपिट नगर्न सचेत गराउँदा गराउँदै पनि अटेर गर्दै यातना दिँदै आएकी सरिता उच्च शिक्षा अध्ययनरत सचेत महिला हुन् । आफ्नै सन्तानलाई परिवारको रिसका कारण जीवनमरणको दोसाँधमा पु¥याउने सरिताउपर ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको छ । अरूको लाखभन्दा आमाको काख प्यारो भनिन्छ सन्तानको हकमा तर त्यही लाख मानिएको काख यातनाको कारखाना भइदिएपछि बालबच्चा कसरी सुरक्षित हुन्छन् ? आफ्नै आमा अपराधी जस्तो बनेपछि त्यो अबोध शिशुले मातृवात्सल्यको अनुभव कसरी गर्न सक्ला ?
फागुन २८ गते आफ्नी १९ वर्षीया छोरीको हत्या गर्ने बाउ पक्राउ आमा फरार भन्ने समाचारले हरेक सचेत नागरिकको मथिङ्गल नराम्रोसँग झस्काएको हुनुपर्छ । काठमाडौँको नासा कलेजमा कक्षा १२ मा अध्ययनरत जनकपुरकी १९ वर्षीया स्नेहाकुमारी यादवलाई चरम यातना दिएर आफ्नै बाउआमाले हत्या गरेको आशङ्कामा बाउ पक्राउ परे पनि आमा फरार रहिन् । धेरै दिनको केरकारपछि बाबुले मुख खोले चरित्रको कारण देखाउँदै कलेज प्रशासनले गुनासो गरेपछि योजनाबद्ध रूपमै छोरीको हत्या गरिएको हो । सन्तानका लागि सबैभन्दा प्रिय आफ्नै जन्मदाता मानिन्छन्, आफ्नै बाउआमा त सन्तानका लागि आफ्नो हुन सक्दैनन्, रगतको नाता सन्तानका लागि प्रिय बन्न सक्दैन भने हरेक दिन समाचारमा आइरहने तीता खबरहरू जस्तो छिमेकीले अबोध बालिकामाथि अपराध गरे, सवारी साधनभित्र महिलामाथि हिंसा भयो, सडक महिलाका लागि असुरक्षित भयो, स्कुल कलेज छात्राका लागि असुरक्षित भए भनेर टाउको दुखाउनुको कुनै तुक देखिएन ।
सानोतिनो विवादमा जे पनि गर्न तयार हुने बाउआमालाई आफन्त भन्ने कि अपराधी ? आपसी विवाद सल्टाउनुको साटो छोरीको हत्या गरी छिमेकी देशमा उपचारको बहानामा लगेर छोरीको मृत्यु भएको जानकारी गराउने बाउ, बाउछोरी सीमापारि लागेपछि फरार हुने आमा कुनै पनि अर्थमा जन्मदाता हुन सक्दैनन् उनीहरू बैरी हुन्, छोरीको लागि रक्षक होइन भक्षक, अपराधी हुन् । जन्म दिँदैमा कोही पनि बाउआमा बन्न सक्दैन, बाउआमाले सन्तानप्रति निर्वाह गर्नुपर्र्ने भूमिका जबसम्म निर्वाह गर्न सक्दैन । स्नेहाको हकमा यस्तै देखियो । जन्म त बाउआमाले दिए तर अल्पायुमै तिनै बाउआमाले प्राणपखेरु उडाइदिए । यस्ता अपराधी बाउआमालाई स्नेहाको आत्माले सदैव धिक्कार्नेछ ।
गत असोजमा रौतहटका हुलासराय यादवले आफ्नै तीन वर्षीया छोरीको हत्या गरे । वृन्दावन नगरपालिका– ५ मा भइरहेको खानेपानीको विवादमा आक्रोशित बनेका हुलासले आफ्नी छोरीलाई भुइँमा बजारेर हत्या गरेका थिए । वडा अध्यक्ष सुबोध चौधरीको भनाइअनुसार छिमेकीको घर नजिकै रहेको सार्वजनिक धारामा हुलास यादव पानी लिन गएको बेला भएको विवादले राजनीतिक रूप लिएपछि आक्रोशित हुलासले छिमेकीलाई फसाउनका लागि आफ्नै छोरी घाइते बनाउन अपनाएको रका अन्ततः अपराधमा परिणत हुन पुग्यो । तीन वर्षीया अबोध बालिकाको आफ्नै बाबुको हातबाट ज्यान गयो ।
गत मङ्सिर ८ गते जनकपुरको कृष्णा नर्सिङ इन्स्टिच्युटमा तेस्रो वर्षमा नर्सिङ पढ्दै गरेकी सिराहा नगरपालिका–१८ लक्ष्मीनियाकी रञ्जना शर्माकोे रहस्यमय मृत्यु भयो । आफ्नै परिवारका श्रीमान्, सासू, ससुरा, जेठाजुलगायतको मिलोमतोमा रञ्जनाको हत्या गरियो । विवाहको सुरुवाती समयदेखि नै रञ्जनाको वैवाहिक सम्बन्ध त्यति सुमधुर नभएको, रञ्जनाका श्रीमान् र रञ्जनाकी जेठानी अर्थात् देवर भाउजूको बीचमा भइरहेको अनैतिक सम्बन्धका बारेमा रञ्जनाले सुइँको पाएपछि सम्बन्ध हत्यासम्म पुग्यो । महिलाविरुद्ध हुने हिंसाका घटनालाई केलाउँदा महिला सबैभन्दा बढी आफ्नै श्रीमान् र घरपरिवारका आफन्तबाटै असुरक्षित देखिएका छन् । जसलाई महिलाहरू आफ्नो रक्षक ठान्छन् पछिल्लो समयमा रक्षक नै हिंसक बन्दै गइरहेका छन् । यसकै शृङ्खला हो रञ्जनामाथिको दमन, अत्याचार र हत्या । कुनै श्रीमतीले आफ्नो श्रीमान्को अनैतिक सम्बन्धका बारेमा क्षमा गर्न सक्दैनन्, श्रीमान्को हकमा पनि यही कुरा लागू हुन्छ । आफ्नै भाउजूसँगको अनैतिक सम्बन्ध र आफूले भोग्दै आएको यातनाबारे रञ्जनाले वैदेशिक रोजगारीमा रहेका आफ्ना बुवालाई सुनाएपश्चात् बुवा विदेशबाट फर्किएपछि बाउछोरीको सल्लाहमा रञ्जनाले सम्बन्ध विच्छेद गर्ने निधो गरिन् । सम्बन्ध विच्छेद गर्ने कुराको सुइँको पाएदेखि नै रञ्जनाका सासू ससुराले बुहारीको हत्याको योजना बुनेको माइती पक्षको दाबी छ । सम्बन्ध विच्छेदको प्रक्रिया अगाडि बढाउँदा दाइजोमा लिएको १५ लाख रुपियाँ, ७ तोला सुन तथा सम्पत्तिबाट पनि अंश दिनुपर्ने कुराले रञ्जनाका सासूससुराको मथिङ्गल तिर्मिरायो । छात्रवृत्तिमा होस्टेलमा बसेर बिएससी तेस्रो वर्षमा नर्सिङ पढ्दै गरेकी रञ्जनालाई श्रीमान्ले दिनुपर्ने खर्चसमेत रञ्जनाका बुवाले दिँदै आएका थिए । सासू ससुराले होस्टेलमा बस्दै आएकी रञ्जनालाई दबाब दिएर घरमा बोलाए । आफ्नो अभीष्ट पूरा गराउनकै लागि मङ्सिर ८ गते शुक्रवारका दिन उनको जीवनलीला समाप्त पारिदिए । रञ्जनाकी आमाले पत्रकार सम्मेलन गरी प्रहरीले पैसा खाएर बाँकी दोषीलाई उन्मुक्ति दिन खोजेको आरोप लगाइन् । बिहे गरेर पराईको घर पठाएकी छोरीको निर्मम हत्याको आलो घाउ कुन आमाका लागि पीडादायी नहोला र ? रञ्जनाकी आमाले धनुषा जिल्ला अदालतको आदेशलाई चुनौती दिन उच्च अदालत जनकपुरमा जाने जानकारी दिइन् ।
केही दिनअघि मात्र गुल्मीमा एक १९ वर्षीया किशोरीले झुन्डिएर आत्महत्या गरिन् । एक युवाले ती युवतीसँगै रहेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि युवतीले गलामा पासो लगाएर देहत्याग गरिन् । अहिले यस्ता घटना दिनदिनैजसो सुनिन्छन्, मानिसमा चेतनाको विस्तार भएको छ, सञ्चारको पहुँच जहाँतहीँ पुगेको छ, शिक्षाको ज्योति फैलिएको छ तैपनि आफ्नै प्रेमिबाट प्रेमिका सुरक्षित छैन, श्रीमान्बाट श्रीमती सुरक्षित छैनन्, सासू ससुराबाट बुहारी सुरक्षित छैन, आफन्तबाट साना अबोध बालिका सुरक्षित छैनन् । बोक्सीको नाममा महिला सार्वजनिक स्थलमै कुटिएका छन्, जनमानस रमिते बनेर ताली बजाउँछ तर कुप्रथाको विरोध गर्दैन ।
सञ्चारमाध्यममा आएका घटना त पछिल्लो प्रतिनिधि पात्र हुन् यस्ता सयौँ हजारौँ पात्रका हत्या, यातना र पीडाका समाचार बाहिर आउँदैनन्, आए पनि गुपचुपमा मिलोमतोमा थामथुम पारिन्छ । आफन्त नै बैरी भएपछि अरूको भर कसरी पर्ने ? आफूले देखेको अन्याय अत्याचारको बारेमा मुख खोलेकै कारण रञ्जना जस्ता चेलीले प्राण त्याग्नुपर्छ । दाइजोको निहुँमा दिनदिनै छोरी प्रताडित बन्नुपर्छ तैपनि लोकतान्त्रिक देश, कानुनको शासन भएको देश, महिलामैत्री कानुन भएको देश भन्न पछि पर्दैनौँ । पहिले घर शान्ति हुनुपर्छ, घरभित्रै असुरक्षा भएपछि बाहिरको शान्ति कसरी कल्पना गर्ने ?

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना