शिकार गन्तव्य सम्भावना धेरै


लक्ष्मीप्रसाद उपाध्याय

काठमाडौँ, वैशाख ३ गते । नेपालमा थप शिकार गन्तव्यको विकास गरी पर्यापर्यटनको विकास गर्न सकिने प्रशस्त सम्भावना भए पनि सरकारले त्यसतर्फ ध्यान दिनसकेको छैन । नेपालका दर्जनौँ सामुदायिक वनभित्र प्रशस्त वन्यजन्तु पाउन थालेकाले ती क्षेत्रमा थप वन्यजन्तु पालेर सङ्ख्या वृद्धि गरी शिकार गन्तव्यका रूपमा विकास गर्न सकिने विज्ञहरूले बताइरहेका बेला सरकारले भने त्यसतर्फ खासै योजना बनाउन सकेको छैन ।
हाल नेपालमा एक मात्र ढोरपाटन शिकार आरक्षमा वर्षको दुई पटक शिकार गर्नका लागि खुला गरिने गरेको छ । समुदायमा आधारित संरक्षित क्षेत्रका रूपमा कञ्चनजङ्घालाई घोषणा गरेपछि त्यो क्षेत्रलाई पनि शिकार गर्नका लागि खुला गर्नुपर्ने स्थानीय समुदायले माग राख्दै आएका छन् । झण्डै चार वर्षअघि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका पूर्व महानिर्देशक श्याम बजिमयको संयोजकत्वमा गठित एक समितिको अध्ययनले कञ्चनजङ्घा क्षेत्रमा नाउरका लागि शिकार गन्तव्यका रूपमा विकसित गर्न सकिने उल्लेख गरेको छ । यद्यपि हालसम्म सो क्षेत्रमा शिकार खेल्नका लागि खुला गरिएको छैन । hunting
कञ्चनजङ्घा विश्वमै दुर्लभ मानिने हिउँचितुवाको प्रमुख बासस्थान मानिन्छ । नाउर हिउँचितुवाको प्रमुख आहारा हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले भन्नुभयो, त्यो अध्ययन प्रतिवेदन पुरानो भइसक्यो । अब हिउँचितुवा र त्यसको आहारा प्रजाति नाउरको सङ्ख्या कति छ ? नाउरको शिकार गर्दा हिउँचितुवालाई आहारा पुग्छ कि पुग्दैन ? शिकारका लागि खुला गर्दा हिउँचितुवाको प्राकृतिक बासस्थानमा आहारा नपुगेपछि बस्तीमा आउने र मानव– वन्यजन्तुको द्धन्द्ध बढ्न सक्छ कि सक्दैन भन्ने कुराको विस्तृत अध्ययन नभएसम्म नाउरको शिकार खुला गर्न सकिने अवस्था छैन ।
विभागका अनुसार ढोरपाटनमा खुला गरिएको शिकार अनुमतिले नेपालको राजस्वमा वृद्धि भएको र नेपालमा शिकारी पर्यटकको आउने क्रम बढ्दै गएको छ । ढोरपाटनमा शिकार खेल्ने आउने विदेशी शिकारी पर्यटकले शुल्क बढाबढका आधारमा शिकार खेल्ने अनुमति पाउने गरेका छन् ।
वन तथा वातावरण मन्त्रालय जैविक विविधता तथा वातावरण महाशाखा प्रमुख डा. महेश्वर ढकालका भनाइमा संरक्षित क्षेत्रमा मात्र नभई प्रशस्त वन्यजन्तुको सङ्ख्या भएका सामुदायिक वनभित्र शिकार गर्न मिल्ने वन्यजन्तुको पालेर (फार्मिङ गरेर) शिकार गन्तव्यको विकास गर्न सकिन्छ ।
उहाँले भन्नुभयो, तराईदेखि उच्च हिमाली क्षेत्रमा शिकार गन्तव्य विकास गर्न सकिने थुप्रै स्थान छन् । ती क्षेत्रको गहन अध्ययन, विश्लेषण गरेर शिकार गन्तव्यका रूपमा खुला गर्न सकिन्छ ।
सम्भावना भएका क्षेत्रलाई तत्काल शिकार गन्तव्यका रूपमा घोषणा गर्न कानुनी जटिलता अझै रहेका छन् । डा. ढकालले भन्नुभयो, केही नयाँ ऐन, कानुन ल्याउनुपर्ने हुनसक्छ, विद्यमान नीतिमा सुधार पनि गर्न आवश्यक छ र यसका लागि कार्यविधि निर्माण गर्न जरुरी छ ।
हाल मध्यतराईका बारा, पर्सा, रौतहट जिल्लामा निलगाई गाउँबस्तीमा पसेर खेतीबाली नोक्सानी गर्ने क्रम बढेको छ । पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार पर्सा राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा निलगाईको सङ्ख्या निकै वृद्धि भएको छ । निलगाई त्यो क्षेत्रका लागि समस्याग्रस्त वन्यजन्तु भएपछि वन तथा वातावरण मन्त्रालयले निलगाईको सङ्ख्या, समस्या समाधानका उपायका बारे अध्ययन गर्न एक समिति गठन गरेको छ । सो समितिले प्रतिवेदन बुझाउन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।
विभागका महानिर्देशक खड्काले भन्नुभयो, प्रतिवेदनले दिएको सुझावको आधारमा निलगाईको व्यवस्थापन गरिने र छलफल गरेर शिकार गर्न सकिने पनि सम्भावना रहे त्यतातिर पनि योजना बनाउन सकिनेछ ।
त्यसैगरी बर्दिया राष्ट्रिय निकुञ्जमा हजारौँको सङ्ख्यामा चित्तल, हरिण रहेका छन् । बाह्रसिंगाको शुक्लाफाँटामा एसियाकै ठूलो झुण्ड रहेको छ । नेपालका वन जङ्गलमा पाइने बाख्रा प्रजातिका वन्यजन्तुको उत्पादन दर, विद्यमान सङ्ख्या, वन्यजन्तुको अवस्था अद्यावधिक गरेर शिकारका लागि खुला गर्नुपर्नेमा विज्ञले जोड दिँदै आएका छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना