राराको सन्देश

Hari prashad bhattraiहरिप्रसाद भट्टराई


हामी यतिबेला नयाँ वर्ष २०७५ लाई स्वागत गर्दै आफ्नो परिवार, समाज, टोल हुँदै मुलुकको विकास निर्माणको कार्यदिशामा नयाँ उमङ्गका साथ अगाडि बढ्दै छौँ । नवीन सोच, जाँगर, आशा तथा भरोसाका साथ काम गर्ने वाचा गर्दै छौँ । खासगरी मुलुक निर्माणको अभियानमा हाम्रा पाइला गतिला हुन सकून्, यो अबको हाम्रो मूल चाहना हो । परिवारको भविष्य उज्यालो पार्ने दायित्व हाम्रो व्यक्तिगत प्रयासमा निहित हुन्छ । तर, समाज बदल्ने तथा मुलुक निर्माणको अभियानमा जुट्ने सामूहिक कार्य हो । यसका लागि सम्बद्ध सबैको प्रयास र त्यसमाथि सामूहिक प्रतिबद्धताको खाँचो अपेक्षित हुन्छ । त्यसैले होला यतिखेर मुलुक समृद्धिका लागि सबैले हातेमालो गर्न मुलुकको उक्त दुर्गम भू–भाग, रारा लेकबाट मुलुक निर्माणको सन्देशसहित उद्घोष नै भएको छ ।
राज्यको तर्फबाट उद्घोष गरिएको यस अभियानमा सम्बद्ध सबैले इमानदारीसाथ सकारात्मक रूपमा लिएमा मुलुकको विकासले सकारात्मक गन्तव्य पक्रिनेमा कुनै शङ्का छैन । मात्र के हो भने बोली र काम गराइमा एकरूपतासँगै इमानदार प्रयास हुन्छ कि हुँदैन भन्ने मूल प्रश्न हो । यो कुराको विश्वसनीय आधार र कार्यान्वयनको आधारशिला खडा हुनु जरुरी छ, त्यो हुने आशा गरिएको छ । सायद यसका लागि प्रधानमन्त्री स्वयम्ले राज्यका तर्फबाट नयाँ वर्षको थालनीसँगै राष्ट्रका नाममा विकासको प्रतिबद्धतासहित सम्बद्ध सबै मुलुक निर्माणमा जुट्न उद्घोष गर्नुभएको छ । जसलाई सकारात्मक रूपमा लिन सकिन्छ लिनुपर्दछ । किनकि मुलुक निर्माण गर्नेजस्तो कुरा कुनै एक पक्ष वा सरकारको प्रतिबद्धताले मात्र पूरा गर्न सकिँदैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका अन्य ठाउँभन्दा विकासका दृष्टिकोणले पछि परेको दूरदराजको ठाउँ मुगु जिल्लाको रारालेक (रारा ताल) बाट यही २०७५ सालको वैशाख १ गते नयाँ वर्षको थालनीकै दिन मुलुक समृद्धिका लागि प्रतिबद्धताका साथ काम गर्न सम्बद्ध सबैमा उद्घोष गर्नुभएको छ । विश्वकै ध्यान आकर्षित गर्नेगरी कर्णालीप्रदेशबाट त्यहाँको क्याबिनेटसहित सोही स्थानमा उहाँले रारा लेक महोत्सव उद्घाटनको भरपूर फाइदा उठाउँदै मुलुक निर्माणमा एकताबद्ध भएर लाग्न सबैमा हार्दिक अपिल नै गर्नुभयो । जसलाई सकारात्मक मान्न करै लाग्छ । विश्वकै उच्च भागमा अवस्थित सबैभन्दा त्यस तालमा विश्वकै आँखा पुग्छ, पुगेको छ । त्यहाँ गरिएको प्रधानमन्त्रीको सम्बोधनले स्वदेशमा मात्र नभएर विदेशका कैयौँ मुलुकमा समेत मुलुक समृद्धिको एजेन्डा सुन्ने र सुनाउने अवसर नै जुटेको छ ।
पर्यटकीय दृष्टिले निकै महŒवपूर्ण मानिने त्यस रारा लेक र त्यस कर्णालीप्रदेशकै अर्को परिचय हो । कर्णाली भू–भाग विकासका दृष्टिले पछि परे पनि पर्यटकीय महŒवपूर्ण स्थानका साथै अर्गानिक खेती, जडीबुटी, फलफूल, ऊर्जा, प्राकृतिक खानी र पशुपालनका हिसाबले समेत अरू भू–भागभन्दा अब्बल मानिन्छ । मात्र के हो भने यी विविध कुराको उपयोग गर्न नजानेका तथा नसकेका कारण त्यो क्षेत्रमात्रै नभएर सम्पूर्ण मुलुक नै पछि परेको कुरा घामझैँ छर्लङ्ग छ । प्रधानमन्त्री ओलीले यी कुरालाई उपयोगमा ल्याउने प्रतिबद्धता जाहेर गराउँदै अब सबै क्षेत्रमा आमूल परिवर्तन गर्नेगरी नयाँ सोचका साथ मुलुक निर्माणको अभियानमा जुट्न त्यही क्षेत्र वा ठाउँबाट सम्बद्ध सबैमा आह्वान गरेसँगै मुलुक समृद्धिका लागि हातमालो गर्न उद्घोष नै गर्नुभएको छ, जसमा सम्बद्ध सबैको साथ, सहयोग अपेक्षित रहन्छ ।
तर, यहाँ भन्नैपर्ने हुन्छ कि विभिन्न आन्दोलन तथा राजनीतिक परिवर्तनको समय पूरा भएकाले अब राजनीतिक स्थायित्वको फाइदा उठाउँदै जनताको जीवनस्तर उकास्नेतर्फ विकास निर्माणमा नै सर्वथा जोड दिनुपर्छ । प्रधानमन्त्री ओलीले मुलुकको समृद्धिका लागि यस अभियानमा सबै जुट्न प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै विशेष जोड दिँदै आउनुभएको छ र अहिले पनि नयाँ वर्षको सुरुवातसँगै रारा लेकबाट त्यस किसिमको उद्घोष गर्नुभएको छ । भ्रष्टाचाररहित सुशासन र समृद्धिका लागि उहाँले सुरुदेखि नै सार्वजनिक प्रतिबद्धता व्यक्त गर्दै आउनुभएको हो । यदि राज्यका सम्पूर्ण संयन्त्र र सहयोगीको मुलुक निर्माणका लागि साथ, सहयोग रह्यो भने त्यो समृद्धिको लक्ष्य सन्निकट छ । कुरा के हो भने यी विचार र भनाइअनुसार वर्तमान सरकार कडाइका साथ अगाडि बढ्नु जरुरी छ । राज्यका सम्पूर्ण संयन्त्रले तदनुरूपको कार्यान्वयनमा विशेष जोड दिनु आवश्यक छ ।
यसअघि प्रजातन्त्रका लागि आफ्नो जीवन आन्दोलनमा व्यतीत गरेका नेताबाटै सिष्टमलाई मिच्ने र भ्रष्टाचार गर्ने परिपाटी बसेको कुरालाई मनन गर्दै अब त्यस्ता कुरालाई निमिट्यान्न पार्नेगरी सरकारमा रहेका सबै मन्त्रीदेखि सम्बद्ध सबैले काम गरेमा मुलुकको समृद्धि त्यति टाढा छैन । अबको मुलुकको राजनीतिक परिवर्तनबाट पनि त्यही परिपाटीले निरन्तरता पाउने हो कि भन्ने शङ्का आमनागरिकमा अझै छ, जुन शङ्का हटाउनु जरुरी छ । यो शङ्का मेटाउन विशेषगरी सरकार तथा राजनीतिक दलसम्बद्ध नेतृत्वबाट त्यसप्रकारको पहलकदमी लिनुपर्ने खाँचो छ ।
सुशासन र भ्रष्टाचार नियन्त्रणसँगै स्थायी राजनीतिको पनि फाइदा उठाउनेगरी काम गर्ने हो भने अब विकास निर्माणले गति नलिने कुरै छैन । बोल्ने तथा भाषणमा व्यक्त गरेका प्रतिबद्धसाथ काम–कारबाही अगाडि बढाइयो भने समृद्धिको लक्ष्य त्यति टाढा छैन । तर, प्रधानमन्त्रीको एक्लो प्रयासले मात्र, यो सबै सम्भव छैन । बोली र व्यवहार सम्बद्ध सबै नेताहरूबाट एउटै भयो भने विकासको सकारात्मक दिशा नजिकै छ । राज्यका सम्बद्ध निकाय एवम् संयन्त्रमा रहने पदाधिकारी तथा राष्ट्रसेवकले पनि नयाँ अभियानको साथ तदनुरूपको कार्यशैलीले काम गर्दा मुलुक समृद्धितर्फ उन्मुख हुन सकिन्छ । किनकि राष्ट्रनिर्माणका लागि सरकार एक्लै वा कुनै एक पक्षले मात्र त्यसअनुसार काम गरेरमात्र पुग्दैन । यसका लागि सम्बद्ध सबैको इमानदारी र पहलकदमी आवश्यक छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना