अरूको लाख, आमाको काख

gita adhikariगीता अधिकारी


प्रेम त आमाले गरिन बाँकी सबले नाटक गरे गत हप्ता सामाजिक सञ्जालमा यस्तै केही पोष्टले मेरो मन तरङ्गीत बनाइरहेका थिए । ‘मलाई शिक्षित आमा देऊ म तिमीलाई आदर्श राज्य दिन्छु’ नेपोलियन । त्यस्तै ‘आमा शिक्षित भए समाज शिक्षित बन्छ । ’ जे–जे खोज सबै चिज धर्तीमै छ थरिथरि, जन्म दिने आमा अर्को पाइँदैन कसैगरी ! भनिन्छ, भगवान्ले आफ्नो प्रतिनिधिका रूपमा सबै घरमा आमा पठाएका हुन् । ‘मातृभाषा’, ‘मातृधर्म’, ‘मातृभूमि’ जस्ता शब्दले उद्गमको अर्थ लगाउँछ । प्राणीको उत्पत्तिको स्रोतको अर्को नाम नै ‘मातृ’ हो । समग्र मानव सभ्यतामा मातृ पक्षको अहं स्थान रहेको हुन्छ ।
आज आमाको मुख हेर्ने दिन अर्थात मातृ औँसी । वैशाख महिनाको कृष्णपक्षको औँसी तिथि मातृ औँसीका रूपमा मनाइन्छ । आमा भएकाहरूले आफ्नो सामाथ्र्यअनुसार आमालाई खुसी पार्ने काम गर्छन् । काम अर्थात् विभिन्न कारणवश घरदेखि टाढा हुनेले सम्पर्र्कका विभिन्न माध्यमबाट आजको दिनमा आमालाई सम्झिन्छन् । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमालाई सम्झिने कार्य गर्छन् । कसैले यस दिनमा आफ्नी दिवङ्गत आमाको सम्झनामा विभिन्न सामाजिक कार्य गर्ने गरेको पाइन्छ ।
काठमाडौँ उपत्यकाको पश्चिम थानकोट जाने बाटोमा पर्ने गुर्जुधारादेखि माथि पाहाडको फेदीमा रहेको मातातीर्थमा आजको दिनमा आफ्नी आमाको मुक्तिको कामना गर्दै तर्पण दिने कार्य गर्ने गर्छन् । यस्तै देशका अन्य धार्मिक स्थानमा पनि आजको दिनमा आफ्नी आमाप्रति श्रद्धा भाव व्यक्त गर्ने गरिन्छ । अरूको लाख, आमाको काख । आमाको ममताको अगाडि जुनसुकै मूल्य पनि कम हुन्छ । अर्थात् त्यो ममता किनेर पाइँदैन । भनिन्छ, मानव जातिका लागि धर्तीले जति बोझ थामेकी हुन्छिन्, सन्तान र परिवारका लागि आमाले त्यत्तिकै कष्ट सहेकी हुन्छिन् । शान्ति, क्षमा, करुणा, वात्सल्य, दान र दयाको स्रोत मानिन्छ आमालाई । गर्भकालदेखि नै आफ्ना सन्तानप्रति आमाको आत्मिक सम्बन्ध हुन्छ तर केही आमा भएर पनि आमाको महŒव नबुझ्ने मानवरूपी पशु पनि छन् हाम्रो समाजमा । सामाजिक सञ्जालमा ठूला–ठूला कुरा गर्ने, बाहिर गफ लगाउने केही व्यक्ति घरभित्र भने आमाको महŒव नबुझेर आमालाई वृद्धाश्रम जान बाध्य बनाएका घटना तपाईं हाम्रो अगाडि विद्यमान छन् । आमालाई एक दिन भेटेर खुसी पार्ने होइन कि आमालाई सधैँ सम्झनु जरुरी छ, खुसी पार्नु जरुरी छ । फेरि हाम्रो समाजमा पछिल्लो समयमा जसलाई जन्म दियो, त्यहीबाट पीडित भएका छन् आमाहरू । अर्थात् आफ्नै सन्तानबाट पीडा भोग्नुपरिरहेको छ आमाहरूले । महिला हिंसाका घटना बढ्दो छन् । यस्ता हिंसाका घटनालाई न्यूनीकरण गर्ने प्रतिबद्धता गरौँ आजैदेखि । तबमात्र आमाको महŒवले सार्थकता पाउनेछ । आमाका आँखामा आँसु आउन नदिने प्रण गर्नु नै सच्चा सन्तानको कर्तव्य हुन्छ ।
आमालाई माता, जननी, महतारी, मुमा, मुवाँ, मामु, मा, अम्मी, माई, माय, ममी, मदर आदि शब्दले पनि चिन्छि । हामी कुनै दुःख, कष्ट आइपर्दा सबैभन्दा पहिला आमालाई नै सम्झन्छौँ । यसरी हामीले आमाबाट जन्मदेखि ठूलो हुन्जेलसम्म माया, ममता पाइरहेका हुन्छौँ, जसको मायामा कुनै स्वार्थ हुँदैन । यसैले त आमा जननी हुन देवी हुन् । आमाको जस्तो निष्कलङ्क, स्वच्छ माया अरू कसैले दिन सक्दैन । तिनै आमालाई कष्ट पु¥याएर, तिनै आमालाई हिंसा गरेर कसलाई खुसी पार्न उद्यत् छौँ हामी ? त्यस्तै आज नेपाल आमा गरिबी, विदेशीको दासत्वबाट मुक्त पार्ने सन्तानको खोजीमा हुनुहुन्छ । हामी नेपाल आमाका सन्तानहरू जिम्मेवार हुन जरुरी छ । दैनिक करिब पन्ध्र सय नेपाल आमाका सन्तान विदेशिन बाध्य छन् । यस्तो बाध्यात्मक अवस्थाको अन्त्य गरौँ । नेपालमा नै बसेर नेपाल आमाको सेवा गरौँ । विदेशमा गएर पसिना बगाउनुको साटो नेपाल आमाको मुहार हसिलो पर्ने काममा जुटौँ । हरेक आमाले आफ्ना सन्तानहरू मिलेर बसेको, प्रगतिपथमा लम्केको हेर्न चाहन्छिन् । आमालाई सबैभन्दा ठूलो पीडा सन्तान एकआपसमा लड्दा हुन्छ । त्यसैले आमालाई खुसी पार्ने काममा लागौँ । आमा र सन्तानबीचको सम्बन्ध प्रगाढ बनाई नेपाल आमालाई समृद्ध र खुसी बनाऔँ । ज्यो. पं. भरतमणी मरासिनिकाअनुसार संस्कृतमा उक्ति पनि छ, ‘कुपत्रो जायते क्वचिदपि कुमाता नभवितु । ’
‘जननी जन्मभूमि स्वर्गादपी गरियसी’ अर्थात् आमा र जन्मभूति स्वर्गभन्दा पनि ठूला हुन् भनेर शास्त्रमा लेखिएको छ । हरेक प्राणीका लागि आमाको स्थान सर्वथा पुजनीय हुन्छ । प्रकृतिमा हरेक प्राणीले आमाद्वारा नै जीवन पाएका हुन्छन् । माँ, आमा, जननी र महतारी मदर जे भने नि आमा शब्द बृहत् छ । संसारभरि नै विभिन्न दिनमा आमालाई सम्झिने गरिन्छ । बेलायतमा मदरिङ् सन्डे वा ग्रीसमा यशु मन्दिरमा परम्परागत उत्सव मनाउने गरिन्छ । निकै नै लोकप्रिय रूपमा चीनमा मातृ दिवस मनाइन्छ । त्यस्तै बोलिभियामा मे २८ लाई मातृत्व दिवसका रूपमा मनाइन्छ । रोमानियामा मातृ दिवसलाई महिला दिवसका रूपमा मनाइन्छ । संयुक्त राज्य अमेरिका र क्यानाडा मे को दोस्रो आइतबारलाई मातृ दिवसको रूपमा मनाइन्छ । अन्य देशमा आ–आफ्नै प्रचलनअनुसार फरक फरक मितिमा आमालाई सम्झिने गरिन्छ ।
आमाको मुहार हसाउन सके मात्र हामी बाँचेको र हाम्रो जीवन सार्थक हुनेछ । कहिलेकाहीँ मात्र आमालाई सम्झेर, आमालाई एक छाक मीठो खुवाएर मात्र हुँदैन । जन्म दिने आमा र नेपाल आमालाई हामीले सधैँ खुसी र सुखी राख्न सक्नुपर्छ । आज आमाको मुख हेर्ने दिन अर्थात् मातृ औँसीका दिन यही प्रण गरौँ । मातृ देवो भव । आज आमाको मुख हेर्ने दिन ‘माथातीर्थ औँसी’ को पावन अवसरमा सम्पूर्ण आमाप्रति धेरै–धेरै माया, सम्झना र दीर्घायुको कामना ।

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना