नागरिक शिक्षा जीवनको यथार्थ पाटो

Ramesh p gautamरमेशप्रसाद गौतम

 

नागरिक शिक्षाले राजनीतिक चेतनाको प्रशिक्षण गराउँदै आपसी मेलमिलाप र मित्रवत् व्यवहार गर्न सिकाउँछ । समाजमा सहयोगी भावना मानवतावादी चिन्तन नागरिक शिक्षाका व्यावहारिक अभ्यास हुन् । समाजमा विद्यमान जात, जाति, धर्म, संस्कृति, धनी, गरिब, लोग्ने मान्छे, स्वास्नी मान्छे, बिरामी स्वस्थ्य, अपाङ्गता, सपाङ्गता आदि सबैको सम्मानजनक बाँच्न पाउने अधिकारको संरक्षण गर्न नागरिक शिक्षाको महŒवपूर्ण भूमिका हुन्छ । त्यसैले नागरिक शिक्षा असल, सभ्य, शालिन र लोकतान्त्रिक समाज निर्माणको आधार स्तम्भ हो । यसले मानिसलाई राजनीतिक चेतना जगाउँदै देश विकासमा संलग्न गराउन ठूलो मद्दत गरेको हुन्छ तर हाम्रो जस्तो समाजमा नागरिक शिक्षाको आधारभूत ज्ञानबाट वञ्चित रहनुपरेको अवस्था छ । यहाँ सबै किसिमका विभेद व्याप्त छन् । राजनीतिक दलहरू आत्मकेन्द्रित छन्, अलोकतान्त्रिक क्रियाकलापले समाज नराम्रोसँग गाजिएको छ । यहाँको राजनीतिक परिवर्तनले समाजमा विद्यमान विभेद, द्वन्द्व, असमानता र उत्पीडन ज्यूँका त्यूँ नै छ । यो परिस्थितिमा सामाजिक मेलमिलाप कायम राखी लोकतान्त्रिक आचरणको परिपालना गराउन नागरिक शिक्षालाई नै माध्यम बनाएर अघि बढाउनु जरुरी छ ।
आज देशमा खुलेआम भ्रष्टाचार छ । यो हाम्रो देशकै पुरानो रोग हो । राणाकालदेखि लोकतान्त्रिक व्यवस्थापश्चात् पनि झनै लुटतन्त्र बढ्दै आएको छ । भष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलको अध्ययनले पनि व्याप्त भष्ट्राचार भएका कुरा सार्वजनिक गरेको छ । यहाँका मालपोत, नापी, यातायातजस्ता सरकारी कार्यालयलगायतमा घुस ढिलासुस्ती, लापरबाही र बिचौलिया प्रवृत्ति निक्कै मौलाएको व्यापक गुनासो छ । जनताका निम्ति आएका ठूला–ठूला राजनीतिक परिवर्तनले झनै जनता नै प्रताडित हुनु ठूलो विडम्बना हो । जनताका लागि जनताद्वारा जनताकै माध्यमबाट गरिने शासन व्यवस्थामा जनता नै पीडित हुनु तिनले अपनत्व महसुस गर्न नपाउनु भनेको लोकतान्त्रिक व्यवस्थाप्रतिको वितृष्णा बढाउनु हो । यसर्थ, शासन प्रणाली मात्र परिवर्तन गरेर केही हँुदोरहेनछ । यसका लागि मूलतः राज्य सञ्चालकको आचरण र चरित्रमा सुधार आउनु पर्दोरहेछ । राजनीतिलाई दूषित हुनबाट जोगाउने काम नागरिक शिक्षाको नै हो । यसले शताब्दीयौँ पुरानो राजनीतिक अशुद्धीकरणलाई क्रमैसँग शुद्धीकरण गर्दै नयाँ पुस्तालाई हिँड्ने बाटो फराकिलो र स्वतन्त्र बनाउन सक्छ ।
तर, हाम्रो मुलुकमा देखिएको सत्ता सङ्घर्ष भागबण्डाको राजनीतिले युवा पुस्तामा निराशा र कुण्ठा बाहेक केही छैन । युवा पुस्ताले बुझेको लोकतन्त्र विकास र राज्यको समृद्धि हो । त्यहाँ रेलमार्ग, भव्य सडक, चुस्त सेवा प्रवाह, स्मार्ट सिटी, ठूला–ठूला पूर्वाधार, उन्नत रोजगारी, स्वस्थ जीवन आदिको सपना देख्ने युवा पुस्ता बढ्दो महँगी, बेरोजगार, अस्वस्थकर वातावरण र शहरी प्रदूषणलगायतका सङ्कटको दुष्चक्रमा फसिरहेका छन् । यस किसिमको अत्यासलाग्दो छटपटीमा जेलिएका युवाबाट नयाँ सोच र जाँगरको के अपेक्षा गर्ने खेतमा काम गर्ने किसान, शहरीया मजदुर, सुकुम्बासी आदिका लागि दुई छाक खाना, नास्ता र ओतको खोजीमा दिनरात भौतारिरहेका छन् । यो सवाल नेपाली जनमानसमा ठूलो चुनौतीका रूपमा खडा भएको छ ।
समाजका अगुवा भन्नेहरू यस विषयमा चिन्तित छैनन । भष्ट्राचारविरुद्ध बोल्ने क्षमता समेत कमजोर हँुदै गएको छ । नागरिक समाजको ऊर्जा सकिसकेको छ । समाजमा विवेकको अभाव छ । आफूलाई असल भनाउन चाहने नेताहरू त्यसै मौन छन् । मुलुकका प्रध्यापक, शिक्षक, विद्यार्थी, कर्मचारीसमेत कुनै न कुनै राजनीतिक दलका सहयोगी बन्दै आफ्नो डम्फू बजाएर हिँड्न विवश छन् । यसले गर्दा सुशासन र लोकतान्त्रिक पद्धतिप्रतिकै मोह भङ्ग हुँदै गएको छ ।
लोकतन्त्रमा आस्था राख्ने शासन पद्धतिमा नागरिकले राजनीतिक रूपले समान व्यवहार विवेकसङ्गत रूपले पाउँछन् । त्यहाँ शासन प्रक्रियाका लागि आवश्यक पर्ने अधिकार सबै नागरिकले समान रूपले पाउनुपर्छ । इटालीका प्रसिद्ध चिन्तक म्याकी भेलीले समाजमा असमानतालाई सबै किसिमका विभाजनमा रेखाहरू कोरिने विचार राख्दै यस्ता कुरालाई समयमै निराकरण हुनुपर्ने धारणा राख्छन् । सन् १७७६ मा अमेरिकी स्वतन्त्रताको घोषणापत्रमा लेखिएको छ, हामी यी आदर्शलाई स्वयंसिद्ध सत्यको रूपमा स्वीकार गर्छौ, ती के हुन् भने सम्पूर्ण मानव सृष्टिका सामु बराबर छन्, सृष्टिकर्ताले उनीहरूलाई निश्चित अधिकार दिएका छन्, जो कसैबाट खोसिनुहुन्न, यस्ता अधिकारमध्ये बाँच्न पाउने, स्वतन्त्रताको उपयोग गर्ने र आफूलाई आनन्द लाग्ने बाटोलिनु पाउने कुरा रहेका छन् तर व्यवहारमा अमेरिकामा पनि प्रशस्त असमानता देखिन्छ । त्यहाँको असमानता अन्य मुलुकमाझैँ असन्तुष्टि नदेखिनुमा त्यहाँको विकास समानुपातिक छ । त्यहाँ राजधानी वासिङ्टन डीसी.मा भएको विकासझैँ दुर्गम बस्ती वोजम्यान (मनटोना) पनि त्यत्तिकै विकास र सुविधा पुगेको छ । यो नै अमेरिकी शासकहरूको बुद्धिमानी हो । त्यहाँको समाजमा विद्यमान विविधतालाई समन्वयात्मक ढङ्गले व्यवहार ल्याउन र सबैमा सम्मान गर्न सिकाउने परिपाटी त्याहाँको एकीकृत नागरिक शिक्षाले पनि मद्दत पु¥याएको छ ।
विगतका विभिन्न शासनशैलीका कारणले पनि सामाजिक विभेद जिवन्त भइरहेका छन् । जब मुलुकमा प्रजातन्त्र र समानताको मूल्यमान्यता स्वीकार गरियो, त्यसपश्चात् सबै किसिमका विभेदको सशक्त आवाज उठन थालेका हुन् । समाजमा रहेका विभेद हटाउन सकिएन भने पछि गएर समाजले अझ ठूलो जोखिम मोल्नुपर्ने हुन्छ । तसर्थ, यस सम्बन्धमा समाजका सबै सदस्य सजग बन्नुपर्छ । लोकतन्त्रमा एकलेअर्काको सम्मान दिन जान्नुपर्छ । यस्तो व्यवस्थामा सबैलाई सहभागिता हुने अवसर मिल्छ तर सहभागिता हुन पाउँदा चुपचाप सहने वा स्वीकानुभन्दा समालोचनात्मक दृष्टिले प्रस्तुत हुन पनि नागरिक शिक्षाले सिकाउँछ । हुन त लोकतन्त्र वा प्रजातन्त्रमा बहुमतको शासन चल्ने हो तर बहुमतको शासन चल्दैमा अल्पसङ्ख्यक वा अल्पमतलाई बेवास्ता गर्न पाइँदैन । यसर्थ, लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्ष उत्तिकै दायित्व हुन्छ भन्ने कुराले मान्यता पाएको हुन्छ । यसैले नै लोकतन्त्रमा सबै नागरिकको मूल्यमान्यता रहन्छ । व्यक्तिको स्वतन्त्रताको सुनिश्चिता हुन्छ । लोकतन्त्रमा अल्पसङ्ख्यकको पनि सुनवाइ हुन्छ र हरेकको उपस्थिति सार्थक ठानिन्छ । यस्ता पक्षलाई नागरिक शिक्षाको चेतनाबाट उजागर गरिन्छ । नागरिक शिक्षाले लोकतन्त्रको आदर्शमा साथै जीवनको यथार्थताको पनि पहिचान गराउँछ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना