नबुझिने अक्षर, महँगा औषधि

 

Pabitaपविता मुडभरी पुडासैनी

 

केही समय अघि थापाथलीस्थित नर्भिक अस्पतालमा एक महिलाको एउटा घुँडाको शल्यक्रिया गर्नुपर्नेमा अर्को घुँडाको गरेको खबर बाहिर आयो । त्यस्तै एक महिनाअघि काठमाडाँैको एक निजी अस्पतालमा पाठेघरको अप्रेसन गर्दा महिलाको गोडाको नसा काटिएका कारण गोडा चल्न नसकेको समाचार बाहिरिएको छ । सुत्केरी गराउने क्रममा स्वास्थकर्मीकै लापरबाहीले महिलाका मृत्यु भएका घटना बारम्बार भइरहेछन् । स्वास्थोपचारमा लापरबाहीका कारण बिरामीको मृत्यु भएको अङ्गभङ्ग भएका घटना बारम्बार सार्वजनिक भइरहँदा यसप्रति सरकारको सचेतता, निगरानी र संवेदनशीलता बढेको देखिँदैन । बिरामीलाई न्यायिक उपचार दिन र चिकित्सा सेवा व्यवस्थित र विश्वसनीय बनाउन नेपाल मेडिकल काउन्सिलको व्यवस्था भए पनि स्वास्थ सेवामा लापरबाहीका कारण बिरामीले भोग्नु परेका थप शारीरिक जटिलता र मानसिक तनावका विरुद्ध अधिकांश उजुरी नै नआइपुग्ने गरेको बताउँछन् काउन्सिलका पदाधिकारी । मेडिकल शिक्षामा योग्यता क्षमताभन्दा पनि आर्थिक सक्षमताका आधारमा विद्यार्थी भर्ना हुने र डाक्टरको प्रमाणपत्र लिने प्रवृत्ति बढेको छ । स्वास्थ सेवामा कमिसनको जालो फैलिएसँगै महँगो र अव्यवस्थित मेडिकल शिक्षाको दुष्परिणाम विरामीको व्यथामाथि बेइमानीका घटना दोहोरिइरहेका छन् । स्वीकृति विना सञ्चालन भएका स्वास्थ संस्था र मेडिकल काउन्सिलको स्वीकृतिविना काम गरिरहेका चिकित्सकबाट गुणस्तरहीन स्वास्थ सेवा प्रदान भएका तथ्य सार्वजनिक भइरहन्छन् । स्वास्थोपचारजस्तो संवेदनशील क्षेत्रमा कमिसनकै लागि बिरामीलाई आफ्नो स्वार्थमा प्रयोग गर्नु र स्वास्थकर्मीले लाइसेन्सविना उपचारमा संलग्न हुनु बिरामीको स्वास्थमाथि चरम खेलबाड गर्नु हो ।
चिकित्सा पेशालाई मर्यादित सम्मानित र विश्वसनीय बनाउन सर्वप्रथम चिकित्सा शिक्षा र चिकित्सालयको व्यवस्थापन सुधार हुनु जरुरी छ । स्वास्थ संस्थामा आवश्यक उपकरण औजार, तालिम तथा यथेष्ट भौतिक सुविधा नभई स्वास्थकर्मीले गुणस्तरीय स्वास्थ सेवा दिन सक्दैनन् । हाम्रा सरकारी अस्पतालमा सरसफाइ तथा शौचालय र पानीको राम्रो व्यवस्थापन छैन । पुराना सरकारी अस्पतालमा त फोहोर परिसर तथा दुर्गन्धित शौचालयका कारण बिरामी तथा तिनका कुरुवालाई एक रात बिताउनै मुस्किल छ । बिरामीले दिसापिसाब परीक्षणकै क्रममा शौचालय पस्दा त्यहीबाटै अर्को रोग सङ्क्रमण हुने खतरा उत्तिकै छ । स्वास्थोपचारमा विविध सेवा सुविधा थपिरहेको वीर अस्पतालको शौचालय बिरामीले प्रयोग गर्न नसक्ने खालका छन् । नेता सामान्य उपचारका लागि पनि सरकारी ढुकुटीबाट करोडौँ कुम्ल्याएर विदेश जाने तर नेपाली जनता स्वास्थोपचार सुविधा नपाएर र कमसल स्वास्थ उपचारका कारण मृत्युवरण गर्न बाध्य भएका छन् । स्वास्थोपचारमा गुणस्तरीय सेवा पाउने जनताको मौलिक हक कुण्ठित गर्दै नेताहरू करोडौँ खर्च गरी विदेशमा उपचार गराउने गलत प्रवृत्ति बढ्दै जाँदा देशमा पूर्वाधार सम्पन्न अस्पताल र गुणस्तरीय स्वास्थसेवा पाउनबाट जनता वन्चित छन् ।
हाल ग्रामीण क्षेत्रका केही गाउँपालिकाले मान्यताप्राप्त स्वास्थ संस्थामा प्रसूति गराएवापत आमालाई प्रोत्साहन स्वरूप पाँच हजार सुत्केरी भत्ता उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा ल्याइरहेका छन् । ग्रामीण क्षेत्रका सबैको आर्थिक अवस्था राम्रो नहुने भएकाले अस्पतालसम्म सुत्केरी गराउन लैजान नसकेकै कारण घरमै वा बाटाघाटामा जोखिमपूर्ण अवस्थाबाट प्रसूति गराउने अवस्थाको अन्त्य गर्न प्रोत्साहन भत्ताको व्यवस्था गरिएको हो । स्वास्थसेवा विस्तार एवं प्रभावकारी बनाएर महिलालाई सुरक्षित सुत्केरी सेवा उपलब्ध गराउन सुरक्षित प्रजनन केन्द्र अर्थात् बर्थिङ सेन्टर निर्माण गर्ने कार्यलाई सरकारले प्राथमिकता दिए पनि दक्ष स्वास्थ्यकर्मी तथा आवश्यक औषधि र उपकरणका अभावमा उपयुक्त सेवा नपाएर गर्भवती जाँच तथा प्रसूति सेवाका लागि ग्रामीण बस्तीका महिला शहर बजार तथा राजधानी नै धाउनुपर्नै अवस्था छ । महँगो स्वास्थ शुल्कका कारण कतिपय बिरामीले उपचारकै क्रममा शुल्क तिर्न नसक्दा आत्महत्या गरेका, डिस्चार्ज भएर पनि घर फर्कन नसकेका र राम्रो स्वास्थसेवा पाउन नसकी मृत्युको मुखमा पुगेका घटना सार्वजनिक भइरहेछन् । हाल सरकारले स्वास्थ बीमा कार्यक्रम लागू गरी सबैलाई स्वास्थसेवाको पहुँचमा ल्याउने राम्रो योजना अघि सार्दै गर्दा स्वास्थसेवा लिएर त्यसको शुल्क तिर्न नसकी अस्पतालमै थुनिएर बस्ने बिरामी धेरै छन् । ग्रामीण क्षेत्रमा स्वास्थचौकीको अभावमा सामान्य औषधि लिन विरामीले टाढा टाढा पुग्नुपर्ने अवस्था छ भने सरकारले निशुल्क दिने औषधिमा पनि ग्रामीण क्षेत्रका सबैको पहुँच छैन । सरकारले हाल वडास्तरमा स्वास्थचौकी र गाउँपालिका स्तरमा प्राथमिक अस्पताल निर्माण गर्ने नीति लिएअनुरूप तदारुकताका साथ पूर्वाधारयुक्त भौतिक संरचना निर्माण गरी दरबन्दी अनुरूप आवश्यक योग्य दक्ष चिकित्सकको व्यवस्थापन गर्नु आवश्यक छ ।
ग्रामीण क्षेत्रमा चिकित्सक नहुँदा स्वास्थसेवा लिन पुगेका बिरामी फर्कनु पर्ने अवस्था छ । राम्रो स्वास्थ सेवा नपाएकै कारण सुत्केरी हुने क्रममा महिलाको मृत्यु भएका घटना बढिरहेको छ । चिकित्सकको लापरबाहीले सुत्केरीको मुत्यु भएको भन्दै बिरामीका आफन्तले चिकित्सकमाथि हातपात गरेका अस्पताल तोडफोड गरेका र प्रसस्तै रकम माग गरेका जस्ता अराजग गतिविधि पनि स्वास्थसेवासँग जोडिएर भइरहेका छन् । स्वास्थकर्मीको लापरबाहीकै कारण बिरामीको मृत्यु हुनु वा अङ्गभङ्ग हुनु परिवार तथा आफन्तका लागि सह्य कुरा हुन सक्दैन । बहुसङ्ख्यक व्यक्तिको स्वास्थोपचारका क्रममा शल्यक्रियापछि थपिने जटिल शारीरिक समस्याबाट थलिने बिरामीको सङ्ख्या झन् झन् बढ्नाले स्वास्थ सेवाप्रतिको जनविश्वास गुम्दै गएको छ । गम्भीर घटना नभई अस्पतालका लापरबाहीका कुरा बाहिर नआउने र लापरबाहीकै कारण बिरामीको अवस्था गम्भीर भए पनि आर्थिक लेनदेनमा कुरा मिलाई घटना बाहिर नल्याउने प्रवृत्तिले नै बिरामीको व्यथामाथि बदमासी गर्ने कार्य बारम्बार खुलेआम दोहोरिइरहेको छ । स्वास्थोपचारका क्रममा लापरबाहीकै कारण पुरुषभन्दा बढी महिलाले मृत्युवरण गरेका घटना भइरहेका छन् । चिकित्सकको हठ, व्यस्तता र लापरबाहीका कारण अस्पतालमा बिरामीले दिनहँुजसो थप शारीरिक मानसिक पीडा भोगिरहेका हुन्छन् । आफ्नो रोग र शारीरिक अशक्तताबारे बिरामीले बुझ्न खोज्दा पूरा बताउन नचाहने, झर्कने, रिसाउने र आफू व्यस्त रहेको बताउँदै बिरामीलाई औषधि लेखिदिएर पन्छाउन खोज्ने प्रवृत्तिले बिरामीलाई थप अशक्ति बनाएको देखिन्छ । अझ आफूलाई अनुभवी तथा विशेषज्ञ डाक्टर भन्नेले त बिरामीलाई धेरै समय दिन नसकिने भन्दै बिरामीको स्वास्थ्य समस्या तथा उपचार प्रक्रियाबारे पूर्ण जानकारी नै नगराई गुणस्तरीय उपचारको साटो मानसिक द्विविधात्मक रोग थपिदिन्छन् ।
स्वास्थ शुल्कका नाउँमा बिरामीमाथि चर्को आर्थिक शोषण त छदैछ गुणस्तरहीन उपचारसँगै थपिने शारीरिक अशक्तता र मानसिक अन्योलले स्वास्थसेवा अविश्वसनीय बन्दैछ । बिरामीका माग धान्ने र चाप थेग्ने गरी सरकारी अस्पतालको सङ्ख्या र सुविधा नहुँदा जनताले महँगो शुल्क तिरेर निजी स्वास्थसंस्थामा उपचार गराइरहेका छन् । डाक्टरले आफ्नो रोगबारे स्पष्ट जानकारी दिई उपचार प्रक्रिया सहज र छिटो छरिटो गरोस् भन्ने बिरामीको चाहानाको विपरीत विरामीले आफ्नो निर्देश पालन गरे भैगो किन अरू धेरै जान्न बुझ्न खोज्ने भन्ने डाक्टरको सङ्कुचित र हतास मनोवृत्तिले स्वास्थ सेवाको गुणस्तरमा आशङ्काको अग्लो पर्खाल खडा गरेको छ ।
स्वास्थ परीक्षणपछि हतार हतार नबुझ्ने अक्षरमा बिरामीका कागजात भरी भारी मूल्यका औषधीका विल बिरामीलाई थमाउनुभन्दा स्वास्थोपचारसँगै बिरामीले बुझ्नेगरी स्वास्थ परामर्श सेवा उपलब्ध गराएर शारीरिक रोगलाई मानसिक उपचारबाट समेत कम गराउनु बुद्धिमत्तापुर्ण ठहर्छ । बिरामी र स्वास्थकर्मी बढी बढेको अविश्वासको खाडलको दुष्परिणाम नै हो यो ।

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना