विकास र समृद्धिका लागि प्रतिस्पर्धा

 

GOPAL SHOWAKOTI प्रा.डा. गोपाल शिवाकोटी


यो नयाँ वर्ष वि.सं.२०७५ लाई विकास र समृद्धिको वर्षको रूपमा सम्पन्न गर्ने प्रतिबद्धताको रूपमा राष्ट्रिय प्रतिबद्धता मात्र होइन सबै क्षेत्रबाट प्रतिबद्धता अभिव्यक्त भएका छन् । विकास र समृद्धिका लागि प्रदेश प्रदेशबीच र सुविधाको स्थानमा प्रतिस्पर्धा हुनुपर्ने दृष्टिकोणसमेत आएको छ । यसैले २०७५ को वर्ष कुरामा मात्र होइन काम गर्ने वर्षको रूपमा रूपान्तरण गरिनुपर्ने र यसअघिका प्रवृत्तिलाई त्यागेर मुलकको समृद्धि र विकासमा सबै क्षेत्र लागि पर्नुपर्ने विचारप्रति सबै राजनीतिक दल तथा अन्य विकासका साझेदार इमानदारीपूर्वक हृदयदेखि नै अठोट गरी लागू गर्नुपर्ने बेला आएको महसुस गरिएको छ । अहिले गरिएका प्रतिबद्धतालाई इमानदारीपूर्वक कार्यमा सम्बोधन गरिएमा यसले मुलुकको मुहार फेर्ने र जनतामा पनि परिवर्तन हुने आशा जगाएको छ । यसैले नयाँ वर्ष २०७५ साल उत्साहको सञ्चारसमेत देखिएको छ । यो उत्साहलाई कतैबाट पनि खण्डित नगरियोस् भन्ने जनतामो अपेक्षासमेत देखिएको छ । मुलुकमा विकास र समृद्धिका लागि राजनीतिक क्षेत्रमा देखिएका अराजगतालाई अन्त्य गर्नुपर्ने र आर्थिक क्षेत्रमा देखिएका बेथितिका कार्यमाथि नियन्त्रण तथा भ्रष्टचार अनियमितताजस्ता कुरालाई बलपूर्वक अन्त्य गरिनेछ भन्ने आशा जगाएको छ । यही विकास र समृद्धिमा नेतृत्वको पनि अग्निपरिक्षा हुनेछ । साझा एजेण्डाका रूपमा विकास, स्थिरता र समृद्धिलाई कार्यरूपमा कसरी उतारिने हो र जनतामा कसरी परिवर्तन महसुस गराइने हो भन्ने कुराले नै समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना पूरा हुन सक्नेछ । नयाँ वर्ष २०७५ को पहिलो दिन प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशको रारा तालको किनारबाट देशवासीको नाममा सम्बोधनमा समृद्ध नेपाल र सुखी नेपाली बनाउने सङ्कल्पको प्रतिबद्धता व्यक्त गर्नुका साथै पाँच वर्षभित्रै देशको मुहार फेरिनेछ भन्ने प्रतिज्ञासमेत गर्नु भएकोलाई विशेष महìवका साथ हेरिएको छ । प्रम ओलीबाट आएको जनताको नाममा प्रतिबद्धता कार्यान्वयन भएमा निश्चय नै मुलुकको कायापलट हुने आशा जनतामा जगाएको छ तर यसअघि प्रधानमन्त्री हुँदा माधव नेपालले कालापत्थरमा मन्त्रीपरिषद्को बैठक गरी जलवायु परिवर्तनलाई सम्बोधन गर्ने भनी गरिएको सम्बोधनजस्तै यो ओलीको सम्बोधन पनि खाली सम्बोधनका लागि जनतालाई उपदेश दिन मात्र प्रयोग भयो भने यो पनि पहिलाकै जस्तै हुन सक्ने आशङ्का समेत चारैतिर व्यक्त भएका देखिन्छन् । यसैले सम्बोधनलाई कार्यमा सम्बोधन गरिएमा मात्र यसको सार्थकता पुष्टि हुनेछ ।
२०७४ वर्ष चुनाव वर्षको रूपमा मात्र नभएर स्थायित्व र समृद्धिको आधार वर्ष बन्न पुगेको छ । यसले राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि आधार वर्षको रूपमा सबै किसिमको उल्झन समाप्त गरी नयाँ परिवेशमा सिर्जना गरिदिएकोले यो २०७५ को वर्ष स्थिरता, विकास र समृद्धिको वर्ष हुनेछ भन्ने आशासमेत जगाइदिएको छ । सन् २०७४ ले मुलुकलाई युगान्तकारी मोडमा ल्याइदिएको छ र नयाँ युगको प्रारम्भ गरेको छ । साथै मुलुकमा शासनमा सङ्घीयताको माध्यमबाट तल्लो तहसम्म पुगेर संरचनाका निर्माण गर्ने कार्य पूरा भएको छ । नेपालको राजनीतिक इतिहासमा २०७४ ले अनेकौँ युगान्तकारी कार्य सम्पन्न गरेको छ । वि.सं. २०७४ मा नै संविधानको संविधान कार्यान्वयनको साथै अभ्यास पनि प्रारम्भ भएको छ । २०७४ मा नै तीन तहका निर्वाचन सम्पन्न भई मुलुकमा पुर्नसंरचना व्यवहारमा नै कार्यान्वयन भएको छ र केन्द्रिकृत राज्यव्यवस्थाको पुर्नसंरचनाको कार्य सम्पन्न भएको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रतिनिधिसभा, राष्ट्रियसभाको समेत निर्वाचन भई झण्डै दुई तिहाइको शक्तिशाली सरकारको निर्माण भएको छ । नेपालमा पहिलो चोटी वामपन्थीको पूर्ण बहुमतको सरकार निर्माण भएकोले यसअघिको राजनीतिको क्रमको निरन्तरतालाई भङ्ग गरिदिएको छ । यसले स्थिरता र विकास र समृद्धिको पुँजीवादी कार्यक्रमलाई नै अगाडि बढाएकोले यसप्रति उत्पन्न भएको भ्रमले कतिपय निजीक्षेत्र त्रसित भएको जस्तो देखिएको छ तर प्रधानमन्त्री ओलीले राराबाट गरेको सम्बोधनले सरकारी, सार्वजनिक, निजी र सहकारीको माध्यमबाट मुलुकलाई समृद्ध गर्ने भनी सबैलाई राष्ट्रिय निर्माण र समृद्धिका लागि आह्वान गरेर सबै पक्षलाई आश्वास्त गर्न खोजेको जस्तो देखिन्छ । बिदा भएको वर्षमा सम्पन्न भएको निर्वाचन शान्तिपूर्ण सम्पन्न भए । बन्द, हड्तालजस्ता कार्य भएनन्, लोडसेडिङको अन्त्य भई मुलुकले राहत अनुभव गरे भने मेलम्चीको खानेपानीको सुरुङ ब्रेक थ्रु भएर काकाकुल भएका राजधानीवासीमा आशा पलाउने कामसमेत गरेको छ भने यस वर्षबाट नै अपर तामाकोशी सम्पन्न हुने स्थितिमा गएकोले सधैँका लागि लोडसेडिङको त्रासबाट समेत जनतालाई मुक्त गरी अँध्यारो विगतबाट उज्यालो भविष्यतिरको यात्रा प्रारम्भको सङ्केत दिएको छ ।
विगतको वर्षमा भारतसँगको सम्बन्धमा सुधार भएर भारत नेपाललाई सहयोग गर्न आतुर देखिएको छ भने रक्सौल काठमाडौँको रेलवेको थालनी हुने भएको छ भने चीनतर्फको कोदारी राजमार्ग खुल्ने र रसुवागढी मार्गलाई दुई सडकमार्गबाट जोडेर चार घण्टामा काठमाडौँ पुग्ने सक्ने स्थिति उत्पन्न भएकोले नेपालको समृद्धिमा छिमेकीका सहकार्यको बाटो चौडा गरिदिएको छ ।
यसअघि विरोधी पक्षले सधैँ नै सरकारलाई अप्ठ्यारोमा पार्ने र सत्ता राजनीति गर्दै आएकोमा नयाँ वर्षको उपलक्ष्यमा रचनात्मक सहयोग गर्ने भनी प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले समेत प्रतिबद्धता देखाएको छ । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले वामपक्षले बहुमत ल्यायो भने अधिनायकत्व लाद्छ भन्ने त्रसित रहेकोमा वामगठबन्धनको सरकारले समृद्धिका लागि पाइला चालेको र लोकतान्त्रिक पद्धतिलाई संस्थागत गर्न आश्वास्त भएपछि काँग्रेसले समृद्धिका लागि रचनात्मक सहयोग गर्न तत्पर देखिएको हो । विकास र समृद्धिका लागि स्थिरता अनिवार्य शर्त हो । विगत ७० वर्षदेखि अस्थिरताले गर्दा मुलुकको विकास हुन सकेको थिएन तर २०७४ स्थिरताको प्रस्थान विन्दु भएको छ । यसैले स्थायित्व र समृद्धिका लागि २०७४ आधार वर्ष बनेको र यो वर्ष यसै आधारलाई टेकेर समृद्धतिर छलाङ मार्न सक्ने विश्वास गरिएको छ । त्यसैले २०७४ को स्थिरता र समृद्धिको आधारलाई टेकेर समृद्धिको शिखरको वर्षको यात्रा बन्न सकेमा यो सुखद सपनामा परिणत हुन सक्नेछ । २०७४ ले सबै खालका राजनीतिक उल्झनहरू समाप्त गरेकोले यो वर्ष इतिहासलाई बदल्ने बेला आएको तर्फ सङ्केत दिएको छ । नेपालमा गर्भभित्र अपार सम्भावना रहेका छन् । यसैले सहकारिता, समन्वय र एकताको आधारमा सङ्घ, प्रदेश र स्थानीय तहको सर्वाङ्गिण विकास गरिने ओलीको रारा प्रतिबद्धताले नेपालको समृद्धिको प्रारूप पनि प्रष्ट भएको छ । नेपाललाई समृद्ध गरिने भनिए पनि कुन ढाँचामा विकास गरिने भन्ने कुरामा आशङ्का रहेको थियो । यसले पुँजी बजारमा समेत प्रभाव पारेको थियो जसलाई यो सम्बोधनले प्रष्ट गरिदिएको छ । वाम सरकार कता ? सिंहदरबार गाउँगाउँमा, रूपान्तरणको बाटो, जमिन कसको, जोत्नेको भनी अलमलमा रहेकोलाई स्पष्ट गर्न आवश्यक छ । अहिले मुलुकमा आर्थिक अनुशासनहीनता चरम स्थितिमा रहेको छ । अनियमितता जताततै रहेको छ । बेथितिको साम्राज्य रहेको छ । जताततै भ्रष्टचार भएको छ । विकासको विरोधी संस्कृति बनेको छ । काम नगरी लाभ लिने कार्य भएका छन् । दल र सरकारी संरक्षणमा नै सबै बेथितिको जरो भएको छ । अहिले भ्रष्टाचार मुलुकका लागि पिलोजस्तै भएको छ, यसलाई सुम्सुम्याएर नभएर चिरेर खिल निकाल्नुपर्छ । अहिले पनि ओलीलाई बुद्धिजीवी भन्ने तथा अरू साइकोफेन्टले घेरेर उनमा देवत्व प्रदान गरी दिग्भ्रमित गर्ने काम भएका छन् । यसैले भ्रष्ट मुलुकलाई जबरजस्ती कसरी अन्त्य गर्ने हुन्, साइकोफेन्टको घेराउबाट कसरी उम्किने हुन् । आफूलाई देवत्व हुनबाट कसरी बचाउने हुन् भनी प्रम ओलीको क्षमताको परीक्षणको पनि बेला भएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना