पुनःनिर्माणको पर्खाइमा नेपालका सम्पदा

राधा चालिसे

काठमाडौंँ, वैशाख ५ गते । अप्रिल १८ तारिख अर्थात् वैशाख ५ गते विश्वभर सम्पदा दिवस मनाइरहँदा भूकम्पबाट क्षति पुगेका नेपालका सम्पदा भने पुनःनिर्माणकोे पर्खाइमा छन् । विश्व सम्पदा सूचीमै परेका कतिपय सम्पदासमेत विवादका कारण खण्डहरमा परिणत हुँदै छन् । काठमाडौँको हनुमानढोका क्षेत्रका सम्पदामध्ये गद्दी बैठक अमेरिकी सहयोगमा प्रबलीकरण भइरहेको छ भने नौ तले दरबार चीन सरकारको सहयोगमा पुनःनिर्माण हुँदैछ तर यी दुई दरबारबीचको सङ्ग्रहालय रहेको भाग भने खण्डहर भएर गिज्याइरहेको छ । उक्त भाग कहिले बन्छ, अत्तोपत्तो छैन ।
त्यस्तै, बल्लतल्ल पुनःर्निमाणको काम सुरु भएको दशअवतार मन्दिर विवादका कारण स्थगित भएको छ । काष्ठमण्डपका बारेमा पटक पटक गम्भीर अन्वेषण त गरियो तर पुनःनिर्माणको कार्य भने विवादकै भुमरीमा फस्यो । वसन्तपुर क्षेत्रकै सबैभन्दा अग्लो मन्दिरको रूपमा रहेको माजुदेवल अब कहिले बन्ने हो, कुनै अत्तोपत्तो छैन । ऐतिहासिक सम्पदा धरहरालाई जस्ताको तस्तै ठड्याउने प्रतिबद्धता भइरहे पनि कहिलेसम्म ठडिएला भन्ने उत्तर सरोकारवाला निकायले अभैm दिन सकेका छैनन् ।  hanumandhoka
ऐतिहासिक रानीपोखरीको बालगोपालेश्वर मन्दिर, पोखरी वरपरको पर्खाल निर्माणको कार्य महानगरपालिका र पुरातत्व विभागबीचको मतभेदका कारण अगाडि बढ्न सकेको छैन । पटक पटक म्याद थप हुँदा पनि यहाँको काम सम्पन्न हुन सकेको छैन । गलत प्रक्रिया र तरिकाबाट पुनःनिर्माण गरिएको भन्दै रोकिएको यहाँको कामका लागि हालसम्म दुई करोड तीन लाख रुपियाँ खर्च भइसकेको छ । महालेखापरीक्षकको हालैको प्रतिवेदनले अहिलेसम्म खर्च भएको उक्त रकम उपलब्धिविहीन भएको जनाएको छ ।
ललितपुर बुङ्मतीमा रहेको रातोमच्छिन्द्रनाथको मन्दिर श्रीलङ्कन सरकारको सहयोगमा पुनःनिर्माण भए पनि तोकिएको समयमा सम्पन्न हुने लक्षण अहिलेसम्म देखिएको छैन । उपत्यका बाहिरका नुवाकोट दरबार र गोरखा दरबार पनि पुनःनिर्माणका क्रममा रहेको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले बताउनुभयो ।
पाटन दरबार स्क्वायर क्षेत्रका र भक्तपुरका केही सम्पदाको भने पुनःनिर्माण कार्य भइरहेको छ । विश्वसम्पदा सूचीमा रहेको बौद्धनाथ मन्दिरको पुनःनिर्माण भइसकेको छ भने चाँगुनारायणको मन्दिरको पनि जिर्णोद्धार भइसकेको पुरातत्व विभागले जनाएको छ ।
भूकम्पले भत्काएका कतिपय ऐतिहासिक राणाकालीन दरबार भत्काउन नहुने र प्रबलीकरण गरेर जोगाउनुपर्ने भनेर विज्ञले सुझाव दिँदा पनि भत्काइएको छ । सिंहदरबारको क्षतिग्रस्त भागलाई भने प्रबलीकरण गरेर जोगाउने प्रयास राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गरिरहेको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना