चौँरीसँग रमाए पर्यटक

chauriफिदिम, वैशाख ५ गते । पाँचथरको फालेलुङमा हालै चौँरी महोत्सव सम्पन्न भएको छ । भारतको पश्चिम बङ्गालसँगको सीमावर्ती गाउँमा नयाँ वर्षको अवसरमा आयोजित महोत्सवमा विभिन्न देशका पर्यटकको आगमन सम्पन्न भएको हो । 

गत वर्षदेखि चौँरीपालन विकास र पर्यापर्यटनको प्रवद्र्धनका लागि आयोजना हुन थालेको महोत्सवमा यसपाली विदेशी पर्यटक धेरै आए । पोहोर महोत्सवमा एक÷दुईजना मात्र विदेशी पर्यटक आएकोमा यसपाली बढेको स्थानीय सुनिल वान्तवा राईले बताउनुभयो ।
यसपालि युरोपेली मुलुक, भुटान, बङ्गलादेश, चीन, भारतलगायतका पर्यटकले महोत्सवको अवलोकन गरेका थिए । भारतबाट मात्र दर्जन बढी गाडीमा पर्यटक आएका थिए । विभिन्न देशको धेरै ठाउँमा विभिन्न प्रकारका महोत्सव देखे पनि चौँरी महोत्सवबारे कहिल्यै नसुनेको अनुभव धेरै पर्यटकले रोमाञ्चित हँुदै सुनाए ।
भारत कर्णाटककी निवेदिका सिंले चौँरी महोत्सवबारे फेसबुकबाट थाहा पाएर आएको बताउनुभयो । उहाँले जीवनमा पहिलो पटक चौँरीको हुल मात्र देख्नुभएन, फम्जो चढेर आनन्द पनि लिनुभयो । अस्ट्रेलियाकी जेरिमी पाउलले पनि यस प्रकारको महोत्सव जीवनमा पहिलो पटक देखेकोले आनन्द लागेको बताउनुभयो । महोत्सवको माध्यमबाट विभिन्न देशका पर्यटक आकर्षित गर्न सफल हुदाँ आयोजक उत्साहित बनेका छन् । पर्यटकले चौँरीसँग जिस्किएर, सेल्फी खिचेर चौँरीको दूध निर्मित परिकार खाएर रमाएका थिए ।
महोत्सवले पर्यटन विकासमा ठूलो सहयोग पुग्ने विश्वास रहेको आयोजक संस्था फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन प्रवद्र्धन संस्थाका अध्यक्ष डिल्ली केरुङले बताउनुभयो । महोत्सवमा तीन सय चौँरी देखाइनुको साथै याक चढ्ने (याक राइडर), गोठालाका परम्परागत खेल, गोठमा प्रयोग हुने सामग्री, जडीबुटी प्रदर्शनी गरियो ।
पाँचथरको फालेलुङ गाउँपालिकाको साविक गाविस सिदिन, प्राङबुङ, मेमेङ र याङ्वरक गाउँपालिकाको च्याङथापु र फलैचा क्षेत्रमा चौँरीपालन गर्ने गरिएको छ । यी क्षेत्रमा ५० भन्दा बढी चौँरी गोठ एक हजार पाँच सयदेखि दुई हजारको हाराहारीमा चौँरी रहेको फालेलुङ–४ का चौँरीपालक राजेन्द्र राईले बताउनुभयो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना