उपभोक्तावादी आडम्बर

rajendra kiratiराजेन्द्र किराती

हिजोआज नेपालमा गन्यमान्यका रवाफपूर्ण सवारी चलाइदा आमरूपमा विभिन्न प्रश्नहरू सिर्जना हुन थालेका छन् । उपभोक्तावादी समाजमा अंश अंशमा खोज्दै जाँदा प्रत्येक व्यक्ति, समूह, समुदाय, दल र समाजको समग्र उठबस नै आडम्बरी संस्कृतिद्वारा निर्देशित हुन्छ । सिङ्गो समाजको मनोवैज्ञानिक प्रारूप नै उपभोक्तावादी आडम्बरमा आधारित हुन्छ । यस्तो सामाजिक धरातलमा औपचारिकता, शिष्टता, श्रद्धावाद र सम्मानवाद हावी हुन्छ । शक्ति, श्रेष्ठता र कनिष्ठताको सीमारेखा कोरिन्छन् । यही श्रेष्ठताको लक्षमण रेखालाई रक्षा गर्न तडक–भडक र रवाफिलो शैली अनिवार्यजस्तै हुन जान्छ ।
वास्तवमा आडम्बरी प्रवृत्ति वर्गीय राजनीतिको सांस्कृतिक अभिव्यक्ति हो । औसत नागरिकभन्दा विशिष्ट ठान्ने मनोविज्ञानको सग्लो र सपाट अभिव्यक्ति नै मानसम्मान र आडम्बरी प्रवृत्ति हुन् । मूलतः वर्गीय रूपमा श्रेष्ठले आफ्नो शक्ति, श्रेष्ठता र सम्पन्नतालाई रक्षा गर्ने सिलसिलामा नै औपचारिकतावाद, सम्मानवाद र आडम्बरवादको जन्म भएको देखिन्छ । यसले उँचो र निचो बीचको मनोवैज्ञानिक कित्ताकाट गराउँदै आएको छ अर्थात् शासक वर्गले आफ्नो शासकीय हैकम र प्रभुत्वलाई रक्षा गर्नेक्रममा आडम्बरी र भड्किलो संस्कृति अपनाएको देखिन्छ । यो श्रेष्ठता र निचताको दरारलाई कायम राख्ने चिन्तन अन्तर्गत संस्थागत गरिएको शासकीय परम्परा हो । वास्तवमा आडम्बरी र भड्किलो संस्कृति वर्ग समाजको उत्पत्तिसँगै शासक र दास मानसिकतासँगै विकास भएको देखिन्छ ।
यो तथ्यबाट के प्रष्ट हुन्छ भने, आज पनि हामीसँग सामन्तवादी चिन्तन विद्यमान रहेको छ । शासक वर्गीय श्रेष्ठता र सोच्ने मनोवैज्ञानिक तरिका पुरानै देखिन्छ । दूर्भाग्यपूर्ण विडम्बना हो । शासन प्रणालीको रूप परिवर्तन भयो । शासक परिवर्तन भए । नाम र अनुहार बदलिए । रूप, वर्ण र पात्र फेरिए । दलीय राजनीतिक रणनीति र स्वार्थ परिवर्तनका साथै नयाँ–नयाँ लोकप्रिय नारा र भाषण धेरै लगाइए तर राजनीतिक वर्ग चरित्र, प्रवृत्ति, चिन्तन र मनोविज्ञान परिवर्तन हुन सकेको छैन अर्थात् रूपमा राजनीतिक रङ्ग फेरिए पनि सार वा अन्तरवस्तुमा जाँदा ताìिवक अन्तर छैन । राजनीतिको गुणात्मक रूपान्तरण विना प्रवृत्तिमा परिवर्तन सम्भव छैन । प्रवृत्ति वा मनोविज्ञान रूपान्तरण नगरी आडम्बरको अन्त्य हुँदैन । यसकारण पटक–पटकको परिवर्तनकारी आन्दोलन भए पनि औसत जनताले साँचो परिवर्तनको अनुभूति गर्न सकेका छैनन् । यो विडम्बनापूर्ण यथार्थता हो ।
विगतको सामन्तवादी चिन्तन र आचरणको तुलनामा वर्तमान सोचाइमा केही सूधार भने नभएका होइनन् तथापि यो चिन्तन प्रणालीले पनि युगसापेक्ष आफ्नो चातुर्यपूर्ण रणनीति तय गर्दै आएको छ । परिणामस्वरूप सामन्तवादी प्रवृत्तिलाई पातलो पर्दाले छोपेर उही पुरानै परम्परामा रमाउने चलन बढेको छ । यही रणनीति अन्तर्गत विभिन्न रूपमा शृङ्गारिक लेपन लगाइएको छ भने अन्तरवस्तु वा सार परम्परागत नै रहेको छ । सार्वभौमतः अन्तरवस्तु परिवर्तन नगरी रूपान्तरण सम्भव हुँदैन । नेपालमा थुप्र्रै परिवर्तनकारी राजनीतिक आन्दोलन भए । तर यसले राजनीतिको मूल अन्तरवस्तु वा चरित्रलाई रूपान्तरण गर्न सकेको देखिन्न । शाहकालीन र राणाकालीन औपचारिकता र आडम्बर गणतन्त्रमा पनि अझै कायमै छ । यो राष्ट्रिय राजनीतिद्वारा निर्देशित प्रवृत्ति र मनोविज्ञान हो । यसकारण व्यक्तिगत र अंशगत रूपमा कोही कसैको विरोध गर्नु वा प्रश्न उठाउनुले निर्णायक अर्थ राख्दैन किनकी मुहान स्वच्छ भएमात्र खोला सफा हुन्छ । यो अकाट्य वा निर्विवाद नियम हो ।
पछिल्लो समय नेपाली समाजमा उपभोक्तावादी आडम्बरले डरलाग्दो गरी गाँजेको छ । यो कुनै व्यक्ति, समूह, दल, समुदाय, जाति, क्षेत्र, लिङ्ग र वर्ग विशेषमा मात्र सीमित सवाल होइन । यो आम गम्भीर समस्या हो । यो असाध्यै खर्चीलो, भड्किलो, भाते, स्वादे, भोगविलासी र बोइलरी संस्कृति हो । यसले सिर्जनशील, जागरुक र जिम्मेवार बन्न प्रेरित गर्दैन । यसमा हरेक क्रियाकलाप आडम्बरी, औपचारिक र भड्किलो हुने गर्छ । सानो उदाहरणका लागि चुनावी प्रक्रियालाई लिन सकिन्छ । यसमा चुनावको टिकट पाउँदा, उम्मेदवार बन्दा, विजयी बन्दा अनि विजय पछिको जिम्मेवारी सम्हाल्दा गरिने समग्र आडम्बरी हर्कत यसको तितो नमुना हुन् । यसरी टिकट पाउँदा, उम्मेदवार बन्दा, विजयी हुँदा दिइने अत्यधिक औपचारिक बधाई, सम्मान र सफलताको शुभकामना कार्यक्रम उपभोक्तावादी आडम्बरको अभिव्यक्ति हो । त्यति मात्र होइन, पुष्प गुच्छा, खादा र फुलमाला लगाइ माग्ने र लगाउने दुवैले आडम्बरी संस्कृतिलाई प्रश्रय दिइरहेको हुन्छ । यस्तो आडम्बरमा जो कमजोर हुन्छ वा जो कलात्मक हुन सक्दैन उ मूल पर्वाहबाट किनार लाग्दै जान्छ किनकी आडम्बरी समाजमा कुनै व्यक्ति, समूह, समुदाय, दल र वर्गको अस्तित्व र सफलता कलात्मक आडम्बरमा अन्तरनिहित हुन्छ । यसमा विचार, सिद्धान्त र कामभन्दा पनि आडम्बरी भावना र प्राविधिक प्रवृत्ति वा कुञ्जीहरू हावी हुन्छ । यो नितान्त गैरकम्युनिष्ट संस्कृति हो तथापि कम्युनिष्ट यसमा झनै अब्बल सावित भइरहेका छन् । यो लज्जा, पीडा र विडम्बनाको विषय हो । यसरी कम्युनिष्टले नै कम्युनिष्ट आचरणलाई भ्रष्टीकरण गरिरहेको परिवेशमा कम्युनिष्ट हुनुमा गर्व होइन उल्टै अपराध बोध गराइरहेको छ भन्दा अतियुक्ति नहोला ।
यसरी उपभोक्तावादी आडम्बरमा फसेको समाजमा सम्पूर्ण गतिविधि काम र परिणाम कम हल्ला–खल्ला, तड्क–भड्क र भाषण, प्रतिबद्धता वा वाचा–कसम धेरै हुन्छ । कतिपय क्रियाकलाप त प्रचारकै लागि मात्र सेट गरिन्छ । यसमा साम, दाम, दण्ड र भेदको कलात्मक प्रयोगको रणनीति हुन्छ । समग्र चुनावी प्रक्रिया, कार्यक्रम, अधिवेशन, सम्मेलन, बैठक, गोष्ठी, सभा–समारोह र भोज–भत्तेर लगायतका सबै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा धार्मिक कर्मकाण्ड तड्क–भड्क र आडम्बरपूर्ण हुने गर्छ । भ्रमण र सवारीहरू पनि आडम्बरी र रवाफिलो हुन्छ । हुँदा–हुँदा आज उपभोक्तावादी आडम्बर यति धेरै व्याप्त भएको छ कि सबैभन्दा धेरै वा ठूलो माला, खादा र पुष्पगुच्छाद्वारा सम्मान र स्वागत गर्ने परम्परा मौलाएको छ । यसलाई गौरव र सन्तुष्टि मात्र होइन उसको लोकप्रियता, काम र सफलता मापन गर्ने प्रवृत्ति संस्थागत हुँदैछ । यो समानता र न्यायसहितको समृद्ध नेपालको सपना देख्नेका लागि अभिशाप सिद्ध हुन्छ भन्दा दुई मत हुने छैन ।
तसर्थ, गणतन्त्रमा राष्ट्रपतिलगायत ठूलाबडा गन्यमाण्यको राजा–महाराजा शैलीको भड्किलो सवारीले आम नागरिकलाई झस्काउनु स्वाभाविकै हो । तर यो अंशगत एवं सहायक पक्ष मात्र हो । मूल पक्ष भनेको हाम्रो गणतन्त्रको वर्गचरित्र, पद्धति र विधि सारतः विगतको राज्यव्यवस्था भन्दा कति प्रगतिशील र न्यायिक छ भन्ने हो । यता हामी जनतालाई उन्मुक्त ग¥यौँ भनेर फाँइफुट्टी लगाइरहेका छौँ तर आज पुरानै औपचारिकता, आडम्बर र भड्किलो जीवन व्यवहार नियाल्दा राजनीतिमा मात्रात्मक परिवर्तन मात्र भएको छ । यसले सार, अन्तरवस्तु र चरित्रलाई बदल्न सकेका छैनौँ भन्ने पुष्टि भएको छ । त्यसैले मूल राजनीतिक चरित्रको गुणात्मक रूपान्तरण विना आडम्बरी प्रवृत्ति वा मनोविज्ञानको अन्त्य हुनसक्दैन । आमूल राजनीतिक रूपान्तरण विना कसैले समाधन देख्छ भने त्यो सरासर बनावटी चाहना मात्र हुनेछ । यसमा सबै स्पष्ट हुन जरुरी छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना