लुभुमा महालक्ष्मी महाभैरव जात्रा सुरु

lubhu jatra2ललितपुर, वैशाख ६ गते । ललितपुरको लुभुमा महालक्ष्मी महाभैरव जात्रा बुधबारदेखि सुरुभएको छ । अक्षय तृतीयाको दिनदेखि एक सातासम्म मनाइने जात्रामा महालक्ष्मी, महाभैरव, आकाशभैरव, कुमारी, कुमारलगायतलाई बाजागाजासहित टोलटोलमा खट बिसाउँदै नगरपरिक्रमा गराउने चलन छ ।
महालक्ष्मी कुमारी, कुमारलाई एउटा खट र महाभैरव कुमारकुमारीलाई अर्को खटमा राखेर नगर परिक्रमा गराइन्छ । भगवती लाछी टोल, पिङ टोल, देवीस्थान चौर, बसपार्क, नासल टोल क्वलाछी, नारायण देवल र घसी टोल घुमाइन्छ ।
रातो मत्स्येन्द्रनाथको रथ जात्रासँगै लुभुको महालक्ष्मी महाभैरवको जात्रा पनि सुरु हुने गर्दछ । रातो मत्स्येन्द्रनाथको रथमा भैरवको प्रतीकका रूपमा चारमध्ये अगाडिको दायाँ पांग्रालाई लुभुको भैरवका रूपमा पुजिन्छ । त्यसैले रातो मत्स्येन्द्रनाथको जस्तै लुभुमा खटयात्रा गरी जात्रा मनाउने परम्परा छ ।
रातो मत्स्येन्द्रनाथको रथारोहणसँगै सुरु हुने यो जात्रा आठ दिन चल्छ । सोही क्रममा आफन्त, साथीभाइ, छोरीचेलीलाई निमन्त्रणा गरी भोज खुवाउने चलन छ । जात्रा सकिएलगत्तै महालक्ष्मी र महाभैरवको खटबाट लक्ष्मी, कुमार, कुमारी र भैरवलाई महालक्ष्मी मन्दिर प्रवेश गराइन्छ ।
आकाश भैरवलाई कोतपूजापछि सेलाउन लाने भन्दै नगरबाहिर लगेर फाल्न लाने पनि परम्परा छ । स्थानीय समुदायमा महालक्ष्मी र महाभैरव सिन्दुरे जात्राका रूपमा समेत परिचित छ ।
ललितपुर लामाटार, टीकाथली, चाँगाथली, लुभुवासीले अक्षय तृतीयाका दिनदेखि एक सातासम्म जात्रा मनाउने गर्छन् । अष्टमीका दिन जात्रा मनाउनेले लुभुमा विराजमान गराइएको महालक्ष्मी र गणेशको भव्य पूजा गर्ने गर्दछन् यसलाई स्थानियले ‘सरकार पुजा’ पनि भन्ने चलन छ । यसदिन गणेशलाई बोका बली दिने प्रचलन पनि छ ।
जात्रा सुरु भएपछि जात्रा सम्पन्न नभएसम्म यस क्षेत्रका जात्रा मान्ने बासिन्दाले खेतबारी तथा निर्माण कार्य गर्न नहुने परम्परा रहेको स्थानीय रामकुमार श्रेष्ठले जनाकारी दिनुभयो ।
तत्कालीन राजा सिद्धिनरिसंह मल्लका पालादेखि लुभुमा यो जात्रा प्रारम्भ भएको मान्यता रहेको भाषा तथा संस्कृतिविद् बुद्धिरत्न श्रेष्ठले जनाकारी दिनुभयो ।
उहाँले भन्नुभयो, स्थानीय भाषामा ‘लुँ’ भनेको सुन र ‘भु’ भनेको थाल हो । भक्तपुरका राजा शिवसिंह मल्लको मृत्युपछि उहाँका महारानी गंगाले सुनको थाल बेचेर हालको बस्ती बसाएकाले लुभु अर्थात् सुनको थाल भन्न थालिएको किंवदन्ती छ ।
जात्राको पहिलो दिन भगवती लाछी, दोस्रा दिन देवीस्थान, तेस्रो दिन गोभ्रटारेश्वर महादेव प्रांगण, चौथो दिन नासल तगटु, पाँचौं दिन सरकारी पूजाआजाका लागि कोयलाछी, छैटौं दिन इँटाटोल नारायण देवल मन्दिर, सातौं दिन महालक्ष्मी मन्दिर अगाडि र आठौं दिन भगवती मन्दिरअगाडि पूजा गरी भोलिपल्ट बाजागाजासहित देवी देवतालाई भित्र्याउने परम्परा रहेको छ ।
मल्ल राजाले सन्तान रक्षाका हेतुले लुभुको लाछीमा महालक्ष्मी र महाभैरव मूर्ति स्थापना गरी जात्रा चलाएको भनाइ चल्दै आएको छ । लुभु र लामाटार गाविस सिमानामा पर्ने ठूलो चौरमा रहेको मन्दिरलाई महालक्ष्मी र भैरवकी आमाका रूपमा पुजिन्छ । यो उपत्यकाकै सबैभन्दा पुरानो शक्तिपीठ हो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना