तरकारीको भाउ अकासियो


सीता शर्मा

काठमाडौँ, वैशाख ७ गते । अघिल्लो वर्ष वैशाख पहिलो साताको तुलनामा यस वर्षको वैशाखको पहिलो सातामा तरकारीको भाउ १६० प्रतिशतसम्म वृद्धि भएको छ । उपत्यकावासीको मागअनुसार तरकारीको आपूर्ति हुन नसकेका कारण
महँगिएको हो । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्कअनुसार गत वर्षभन्दा यस वर्ष रायो, पालुङ्गो, चम्सुर, तोरी, मेथी र जिरीलगायतको सागको भाउ अझै आकासिएको छ ।
कालिमाटीका खुद्रा व्यापारी विना कार्कीले हरिया साग अफ सिजन भएकाले सागको मूल्य महँगो भएको बताउनुभयो । सागको सिजन सुरु भइसकेको छैन, बजारमा अलिअलि आइरहेको छ, त्यसैले पनि महँगो छ, उहाँले थप्नुभयो ।
अर्का खुद्रा व्यापारी रमेश सापकोटाले माग अनुसारको सामान नआउँदा महँगो हुनु स्वाभाविक हो भन्नुभयो । उहाँले भन्नुभयो, मागअनुसार आयात भएन भने साग मात्रै होइन, सबै महँगो हुन्छ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका वरिष्ठ योजना अधिकृत विजय श्रेष्ठले गत वर्षभन्दा साग मात्रै होइन, अन्य तरकारी पनि महँगिएको बताउनुभयो । गत वर्षको तुलनामा तरकारी महँगो हुनुमा आपूर्तिमा कमीले भन्दा तरकारीको माग बढेकाले महँगो भएको उहाँले बताउनुभयो । उहाँका अनुसार गत वर्ष यो बेलामा दैनिक छ सय टनको हारहारीमा तरकारीको भित्रिएको थियो अहिले पनि त्यत्तिकै परिणाममा आइरहेको छ तर मूल्य महँगो छ ।
अघिल्लो वर्ष वैशाख पहिलो सातामा प्रतिकेजी २७ रुपियाँमा कारोबार भएको हरियो प्याज यो वैशाखको पहिलो साता प्रतिकेजी ७२ रुपियाँमा कारोबार भइरहेको छ । जुन मूल्य गत वर्षभन्दा यो वर्ष १६० प्रतिशतसम्म भाउ बढेको छ ।
यस्तै सोही अवधिमा रायो, चम्सुर, मेथीको साग प्रतिकेजी ४२ रुपियाँमा कारोबार भएकोमा यस वर्ष ९३ रुपियाँ थोकमै कारोबार भएको छ । जुन गत वर्षभन्दा यस वर्ष ११७ प्रतिशत बढी हो । यस्तै अघिल्लो वर्षको वैशाख पहिलो साता प्रतिकेजी १२ रुपियाँमा कारोबार भएको बन्दा यो वर्षको वैशाखको पहिलो सातामा प्रतिकेजी २९ रुपियाँ थोक मूल्यमा कारोबार भइरहेको छ ।
सो अवधिमा स्थानीय काउलीको ३२ रुपियाँ थोकमा किनबेच भइरहेकोमा यस वर्षको सो अवधिमा ६८ प्रतिशतसम्म बढेर प्रतिकेजी ५४ रुपियाँमा कारोबार भइरहेको छ । त्यसैगरी यस अवधिमा सेता मुला, गान्टेमुला, हरियो फर्सी, पाकेको फर्सी, घिउसिमी, मोटरकोसा, ब्रोकाउली र च्याउको पनि मूल्यवृद्धि भएको छ भने भान्टा, गाजर, तिते करेलाको सामान्य ५ देखि १५ प्रतिशतसम्म भाउ घटेको समितिले जनाएको छ ।
त्यस्तै गत वर्ष प्रतिकेजी १६० प्रतिकेजीमा किनबेच भएको च्याउको मूल्य यस वर्ष भने प्रतिकेजी २१५ रुपियाँ बढेको छ ।
यस अवधिमा अधिकांश फलफूलको मूल्य समेत बढेको छ । यसमा कागतीको मूल्यमा १८२ प्रतिशतको वृद्धि भएको छ । प्रतिएक सय गोटा कागतीको मूल्य ५७५ बाट बढेर एक हजार ६२५ रुपियाँ पुगेको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना