कर्णालीको हिम्मत, सङ्घीयताको सार

pradip nepalप्रदीप नेपाल

नयाँ वर्ष २०७५ का दिन मैले कर्णालीका एक प्रतिनिधि लिलराज रोकायाले बोलेको कुरो समाचारमा पढेँ– राज्यले ध्यान दिने हो भने कर्णालीसँग नेपाल पाल्ने क्षमता छ । ’ असाध्यै खुशी लाग्यो मलाई । आजभन्दा दश वर्ष अघि फिनल्याण्डको भ्रमणमा, नेपाललाई चिन्ने र माया गर्ने एकजना महिलाले मलाई भनेकी थिइन्– नेपालका नेता र मन्त्रीसँग कुनै भिजन छैन । हुन्थ्यो भने तिनले कर्णाली अञ्चललाई यति हेला होचो गर्ने थिएनन् । कर्णालीसँग आधा नेपाल पाल्ने क्षमता छ ।
म त्यतिबेला नेता थिएँ । मन्त्री पनि थिएँ । तर उनको गाली मलाई मिठो लाग्यो । उनले भनेकी थिइन्, ‘अरु केही गर्न नसके पनि कर्णालीका जनतालाई सबैखाले जडीबुटीको खेती गर्न देऊ अनि उनीहरूको आफ्नो परम्परागत उत्पादन चिनोलाई मुख्य खाना बनाउने काम त गर । दाताले राम्रो चामल दिन्छ भन्ने नठान । सबैले दिने भनेको उभ्रिएको र कुहिएको चामल हो । त्यस्तो चामल बाँडेर कर्णालीलाई नमार । ’
फिनल्याण्डबाट फर्किएपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग मैले ती महिलाले दिएको जानकारी र सुझावको कुरा सुनाएँ । प्रधानमन्त्रीको प्रतिक्रिया सकारात्मक रह्यो । त्यसको लगतै क्याम्पस भवनको उद्घाटन गर्न म सिधै जुम्ला गएँ । शिक्षामन्त्री थिएँ त्यतिबेला । स्वागत सम्मान हुने नै भयो । मैले भने, ‘म चामलको भात खान्न, मलाई चिनोको भात बनाउन लगाइदिनु होला । ’
तर चिनो त तिनले पनि बिर्सिसकेका रहेछन् । स्व. डिल्ली महतले भन्नुभयो, ‘कमरेड चिनो त यता पाउन छोडियो । उता सिँजातिर पुग्नु पर्छ । ’ दिक्क लाग्यो । मैले उहाँलाई पनि फिनल्याण्डको अनुभव सुनाएँ । उहाँले हाँस्दै भन्नुभयो, ‘तपाईं मन्त्री, कर्मचारीलाई अप्ठ्यारो पार्नु हुँदैन । गहुँ राम्रै पाइन्छ । आज बेलुका गहुँको रोटी खाऊँन । ’ मैले गहुँको रोटीसँग सम्झौता गरे ।
चिनोलाई कर्णालीको अज्ञानताले मार्दै लगेको रहेछ । त्यहाँका जान्ने बुझ्नेले प्रयत्न गर्ने हो भने चिनो कर्णालीको प्रमुख खाद्यान्न हुन सक्छ । लिलराज रोकायो टिप्पणी पढेपछि मैले कर्णालीको उज्यालो अनुहार देख्न थालेको छु ।
किनभने उहाँले भनेको कुरो सत्य हो । सङ्घीय वा प्रादेशिक सरकारले बिक्री वितरणको व्यवस्थापन गर्ने हो भने कर्णाली आपूm बाँच्ने मात्र होइन, सिङ्गो नेपाल नभए पनि आधा नेपाल पाल्ने क्षमता राख्दछ । त्यति मात्र होइन, कर्णालीलगायत कुहिएको चामल बाँडेर जनताको आयु घटाउने क्षेत्रमा चिनो खेती गर्ने काममा
स्थानीय सरकारले जनतालाई परिचालन गर्ने हो भने कर्णाली समृद्ध प्रदेशको अंग हुनेछ । के छैन कर्णालीसँग ? नेपालको सबैभन्दा पुरानो बस्ती हो कर्णाली । आजभन्दा छ हजार वर्ष अगाडि मानसरोबरबाट दक्षिण लागेका खसहरू नै नेपालका मूल आदिवासी हुन् । ती आदिवासी खस त्यसको साढे दुई हजार वर्षपछि पश्चिम दक्षिणबाट आएका वैदिक सभ्यतासँग एकाकार भएको हुनाले नेपालको खस पहिचान अन्योलमा परेको हो । तर पनि पछि इरानबाट आएका वैदिक आर्यसँग समागम भएका खसहरूले नेपालको संस्कृति निर्माणमा ठूलो भूमिका निर्वाह गरेका छन् । शक्तिशाली किराँत शिवलाई तिनले नै नेपालको सिमाना कटाएर भारतसम्म पु¥याएका हुन् । ती खस हुँदैनथे भने हाम्रा किराँत सरदार ‘देवाधिदेव महादेव’ हुन सक्दैनथे ।
मैले सुनेको कुरो ००७ सालको राजनीतिक परिवर्तनको छर्को एक वर्षपछि जुम्ला पुगेको थियो रे । तर अहिले काठमाडौँ, झापा र जुम्लामा एकै समयमा समाचार सार्वजनिक हुन्छन् । त्यसैले कतिपय प्रदेश नाम र राजधानीको रनाहामा परिरहँदा कर्णाली प्रदेशले त्यो झमेला पार गरेर आफ्नो क्षेत्रको समृद्धिको रेखा समेत खिचिसकेको छ ।
आफ्नो काम आफैँले गर्ने हो । अर्काले त उसको स्वार्थ सहितको सहयोग गर्छ । सरकारी र गैरसरकारी जे जस्ता संस्था भए पनि तिनले व्यापार गर्ने हो । चिनो, कमै नेपालीलाई थाहा भएको अत्यन्तै पौष्टिक खाना हो । चामल उसै पनि चिनोको बराबरी आउन सक्दैन । उसमाथि कुहिएको चामल । कर्णालीको कुपोषणको कारण त्यही चामल हुन पनि बेर छैन । अध्ययन अनुसन्धान नगरी निष्कर्षमा पुग्नु हुँदैन । तर शंका गर्न सकिन्छ । किनभने पुँजीवाद आम जनताको स्वास्थ्यसँग सकारात्मक सोच राख्ने प्रणाली होइन ।
कर्णालीसँग के छैन ? सबथोक छ ।
स्वास्थ्यकर स्याउ छ । चिनो छ । फापर र जुनेलो पनि होला । मकै पक्कै छ । बोक्रा नछोडाइ खान मिल्ने आलु छ । भैंसीदेखि बोकासम्मका जनाबर छन् । मासु र दूधमा कर्णाली आत्मनिर्भर हुने सबै सम्भावना छन् । आफ्ना परम्परागत खाद्यान्नलाई सम्मान गर्ने हो भने कर्णालीले खाद्यान्नमा पनि आत्मनिर्भर हुने क्षमता बोकेको छ ।
छ त केवल प्रतिबद्धताको अभाव ।
गाउँपालिका, नगरपालिका र प्रदेश सरकारको प्रतिबद्धता चाहियो । काठमाडाँै धाइरहनुको कुनै आवश्यकता छैन । सङ्घीयताको सुन्दरता भनेको यही हो । यहाँनेर ती फिनिस महिलाले भनेको अर्को सन्दर्भ पनि सम्झनामा आयो मेरो । उनले भनेकी थिइन्, ‘तिमी शिक्षा मन्त्री । तर तिमीहरूको शिक्षा प्रणाली नै काम नलाग्ने छ । प्रवेशिका परीक्षा पास गरेका केटाकेटीलाई गोबर छुन घिन लाग्छ । स्नातक भएका युवा युवतीका लागि गाउँको बसाइ मन नपर्ने
बाध्यता हुन्छ । काम गरेर खाने मान्छे बाटोको किनारमा क्यारेम खेलेर बस्छन् । नेपालमा काम गर्न लाज मान्नेहरू विदेशमा ट्वाइलेट सफा गर्छन् । अर्काले खाएका जुठा भाँडा माझ्छन् । ’
पहिलो पल्ट गाउँ विकास समितिमा सिधै बजेट पठाउँदा नेकपा एमालेको सरकारले एउटा नारा पनि सँगै पठाएको थियो– आफ्नो गाउँ आफैँ बनाउँ । आजको सङ्घीय सरकारले दिने नारा पनि यही हो– बजेट पाउनुहुन्छ, तर आफ्नो गाउँको विकास आफैँ गर्नुपर्छ ।
हिउँ पर्ने मुलुक हो फिनल्याण्ड । तर त्यो विश्वको धनी मुलुक मध्यमा माथिल्लै श्रेणीमा पर्छ । ती फिनिश महिलाले मलाई यसो पनि भनेकी थिइन्, ‘तिमीहरूको मुलुकमा जन्मिएको भए हामी संसारको सबैभन्दा धनी मानिस हुन्थ्यौँ । तिमीहरूको जस्तो सुन्दर मनोरम हावापानी र प्रकृति अन्त पाउन सकिन्छ जस्तो मलाई लाग्दैन । हिमाल तिमीहरूको पर्यटनको आधार हो । पहाडमा तिमीहरू जडीबुटी र कन्दमूलको खेती गर्न सक्छौँ । तराई त उसै पनि राम्रो चामल र गहुँ उत्पादन गर्ने जमिन हो ।
नगरी खान पाइँदैन । यो अन्तिम सत्य हो । प्रत्येक व्यक्तिमा आफैँ कमाएर खान्छु भन्ने अठोट हुनुपर्छ । एम.ए. पास गरेकाहरूले अमेरिकामा दिनभरि उभिइरहनु पर्ने ‘वान डलर शप’ मा काम गरेको भेटेको छु मैले । उनीहरूको कुनै इज्जत पनि हुँदैन त्यहाँ । तर नेपालको कुनै पनि भूभागमा बसेर ‘वान डलर शप’ को भन्दा आधा मात्रै मिहिनेत गरे पनि नेपालीले अमेरिकामा कमाउने भन्दा बढी
कमाउँछ । त्यो पनि सम्मान सहित ।
तर काम गर्न लजाउनु भएन । अहिलेको हाम्रो शिक्षा नोकर बनाउने शिक्षा प्रणाली हो । यसलाई पूरै खारेज गरेर विद्यार्थीलाई मालिक
बनाउने शिक्षा प्रणाली निर्माण गर्नुपर्छ । त्यो भनेको प्राविधिक शिक्षा हो । चिटिक्क परेका सेता ‘ड्रेस’ लाएका प्राविधिक विद्यार्थीले भेटेनरी पढे पनि गोबर छुन मान्दैनन् । यो हाम्रो हाइफाईवाला समाजको दुःख लाग्दो तस्वीर हो ।
गाउँपालिका र नगरपालिकाहरू प्रविधि मैत्री होऊन् । कृषिमा आजभोलि साना ठूला ट्य्राक्टरले खेतबारी जोत्ने चलन आएको छ । विदेशबाट फर्किएर आएका नेपालीले गाई, कुखुरा पालन गरेर आय आर्जन गरेको देखिएकै छ । त्यसैले प्रण गरौँ – हामी आफ्नै उत्पादन खाएर बाँच्छौँ । हामी हाम्रो प्रदेशलाई आत्मनिर्भर मात्र होइन, सम्पन्न बनाएर केन्द्रीय सरकारलाई लेभी पनि बुझाउँछौँ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना