अण्डाको मूल्यमा उच्च वृद्धि

वसन्त पराजुली

भरतपुर, वैशाख ८ गते । नेपाल अण्डा व्यवसायी सङ्घले अण्डाको मूल्य बढाएको छ । अण्डा उत्पादन गर्ने व्यवसायीको संस्था सङ्घले प्रतिक्रेट २५ रुपियाँका दरले अण्डाको मूल्यवृद्धि गरेको हो । नेपाल कुखुरा व्यवसायी मञ्चका कार्यकारी अधिकृत शिवप्रसाद बरालले सङ्घको बैठकले अण्डाको मूल्यवृद्धि गरेको जनाउँदै नयाँ कायम भएको मूल्य अनुसार बिक्री वितरण गर्न सबैमा अनुरोध गर्नुभयो ।
नयाँ मूल्य अनुसार फर्ममा प्रतिक्रेट ठूलो अण्डा ३१५ रुपियाँ र मिडियम अण्डाको २८५ रुपियाँ पर्छ । यसलाई व्यापारीले लगेर ठूलो अण्डा ३२० रुपियाँमा र २९० रुपियाँमा बिक्री गर्न पाउँछ, बरालले भन्नुभयो, यसअघि फर्ममा ठूलो अण्डा प्रतिक्रेट २८५ र मझौला अण्डा २६० रुपियाँ थियो । यसलाई व्यवसायीले प्रतिक्रेट ठूलो अण्डाको २९० र मझौला अण्डा २६५ रुपियाँमा बिक्री गर्ने गर्दथे ।
एक क्रेटमा ३० वटा अण्डा हुन्छ । नयाँ मूल्य अनुसार अब ग्राहकले एउटा अण्डा खरिद गर्न चितवनमा साढे दस रुपियाँ तिर्नुपर्छ । चितवनको अण्डाको मूल्यलाई हेरेर नै काठमाडौँ, पोखरालगायतका सहरमा पनि अण्डाको मूल्य तय गरिन्छ । सङ्घले चितवनको मूल्यभन्दा प्रतिक्रेट काठमाडौँमा १५ रुपियाँ र पोखरामा १० रुपियाँ अण्डाको मूल्य बढी तय हुन्छ ।
नेपालमा अण्डा उत्पादनका लागि ४० लाख लेयर्स कुखुरा पालिएका छन् । जसबाट २५ लाख गोटा अण्डा दैनिक उत्पादन हुने अण्डा व्यवसायी सङ्घले जनाएको छ । चितवनमा लेयर्सको सङ्ख्या १४ लाख र अण्डा उत्पादनको अवस्था दैनिक साढे दस लाख रहेको तथ्याङ्क पाइन्छ । kukhura
यो तथ्यलाई हेर्ने हो भने अहिले नेपालमा दैनिक ८३ हजार ३३३ क्रेट अण्डा उत्पादन भइरहेको छ । नेपालमा उत्पादित अण्डा नेपालमै खपत भइरहेको छ । अहिले बढेको प्रतिक्रेट २५ रुपियाँ मूल्यले मात्रै पनि उपभोक्ताले दिनमै २० लाख ८३ हजार ३२५ र वर्षमा ७६ करोड चार लाख १३ हजार ६२५ रुपियाँ बढी तिर्नुपर्ने हुन्छ ।
नेपाल अण्डा व्यवसायी मञ्चका अध्यक्ष तिलोचन कँडेल पछिल्लो समय अण्डाको माग बढेकाले मूल्य वृद्धि गर्नुपरेको बताउनुभयो । कुखुरा पालनमा बढ्दै गएको लगानीकै कारण पनि अण्डाको मूल्यवृद्धि गर्नुपरेको हो, उहाँले भन्नुभयो, अहिले सामान्य अवस्थाभन्दा अण्डाको माग पनि बढेर जाँदा यसको मूल्य बढ्न गयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना