माओवादी केन्द्रीय कार्यालयको बैठक बस्दै

maobadi-kendra.काठमाडौँ, वैशाख ९ गते । नेकपा (एमाले)सँग भइरहेको एकता प्रक्रियाबारे छलफल गर्न नेकपा माओवादी (केन्द्र)ले आइतबार बिहान पार्टी कार्यालयको बैठक बोलाएको छ । एकताका विषयमा छलफल गर्न बैठक बोलाइएको माअ‍ोवादी केन्द्रका प्रवक्ता पम्फा भूसालले जानकारी गराउनुभयो । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा बस्ने बैठकमा पार्टी एकीकरणका विषयमा भएको प्रगतिको समीक्षा हुनेछ । एकता संयोजन समितिको वैशाख ४ गते बसेको बैठकले विवादित विषयको टुङ्गो लगाउने जिम्मेवारी एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई दिएको थियो । त्यसपछि लगातार छलफल गर्दै आउनुभएका दुई अध्यक्षबीच तीन दिनदेखि नियमित छलफल भइरहेको छ । माओवादी केन्द्रले एकीकृत पार्टीमा आधा–आधा सहभागिताको कुरा उठाएको छ भने एमालेले चुनाव चिह्न सूर्य हुनुपर्ने अडान राखेको छ । त्यस्तै, माओवादी केन्द्रले एकीकृत पार्टीको विधान तथा राजनीतिक दस्तावेजमा जनयुद्ध शब्द व्याख्यासहित राख्नुपर्ने अडान लिएको छ ।
दुई अध्यक्षबीचको वार्तामा भएका विषयलाई अध्यक्ष प्रचण्डले बैठकमा जानकारी दिने प्रवक्ता भुसालले बताउनुभयो । वैशाखभित्रै एकता घोषणा हुने सन्देश दिन एकता संयोजन समितिले आइतबार कार्यक्रमको आयोजना समेत गरेको छ । कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर आयोजना हुन लागेको कार्यक्रममा प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष अ‍ोली र अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रवक्ता भुसालले जानकारी दिनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना