कम्युनिष्ट आन्दोलनको अबको कार्यदिशा

Premal kumar khanalप्रेमलकुमार खनाल

 

अप्रिल २२ लेनीनको जन्म जयन्तीको दिन हो । लेनीनको जन्म दिन पारेर नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको हो । आजभन्दा ६८ वर्ष अगाडि निरङ्कुश राणा शासनको दबदबा भएको बखत पुष्पलालको अगुवाइमा वि.सं. २००६ वैशाख १० गते भारतको कलकत्तास्थित श्याम बजारमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको हो । पार्टी स्थापना गर्दा पुष्पलाल, नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द बैध, नारायणविलास जोशी र मोतीदेवी हुनुहुन्थ्यो ।
पार्टी स्थापनाको ४ महिनापछि २००६ भाद्र ३० (१५ सेप्टेम्बर १९४९) मा पार्टीको केन्द्रीय सङ्गठन कमिटी गठन भएको थियो । जसमा महासचिवमा पुष्पलाल, र सदस्यमा मनमोहन अधिकारी, तुल्सीलाल अमात्य, शैलेन्द्रकुमार उपाध्याय, डी.पी अधिकारी र अयोध्याप्रसाद सिंह रहेका थिए । तर केन्द्रीय सङ्गठन कमिटीका अन्य ४ जना संस्थापक सदस्य किन समावेश हुन सकेनन् ? अनुत्तरीत नै रहेको छ । केन्द्रीय सङ्गठन कमिटीको घोषणासँगै पार्टीको प्रथम घोषाणपत्र जारी भएको थियो । घोषणा पत्रमा नेपाली क्रान्तिको भावी दिशा १२ बुँदामा उल्लेख गरिएको थियो ।
जसमा सामन्तवाद एवं साम्राज्यवाद विरोधी नयाँ जनवादी क्रान्ति, किसान र मजुदरको नेतृत्वमा निर्वाचित सरकार, संविधान सभाबाट संविधान निर्माण, क्रान्तिकारी भूमिसुधार, श्रमिक एवं किसानको अधिकारको सुनिश्चितता, स्वाधीन अर्थतन्त्रको निर्माण र सर्वसुलभ शिक्षाजस्ता आधारभूत विषय उल्लेख गरिएको थियो ।
वि.सं. २०१० माघ १३–१७ गतेसम्म प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न भएको थियो । तर पहिलो महाधिवेशन अगावै नै संस्थापक महासचिव पुष्पलाललाई महासचिवबाट हटाइएका कारण महाधिवेशनमा महासचिवको हैसियतले मनमोहन अधिकारीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । तर प्रथम सम्मेलनबाट पारित कार्य दिशा अनुरूप प्रथम महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत नभएका कारण नयाँ जनवादी क्रान्तिको लक्ष्य तय हुन सकेन । कम्युनिष्ट पार्टीको इतिहासलाई नियाल्दा पहिलो महाधिवेशन देखि नै नेतृत्व र कार्य दिशामा विवाद र मतभेदहरू उत्पन्न हुन थालेको पाइन्छ । पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशन २०१४ ज्येष्ठ १४, (२८ मे, १९५७) मा काठमाडाँैमा सम्पन्न भयो । प्रथम महाधिवेशनबाट निर्वाचित महासचिव मनमोहन अधिकारी स्वास्थ्य उपचारका लागि चिन जानु भएपछि दोस्रो महाविधेशनमा केशरजङ्ग रायमाझीले कार्यवाहक महासचिवको हैसियतले “पार्टी कार्यक्रममा परिवर्तन किन” ? भन्ने प्रतिवेदन पेश गरेका थिए । रायमाझीले प्रस्तुत गरेको संवैधानिक राजतन्त्र परस्त कार्यक्रमलाई महाधिवेशनले परास्त गरी पुष्पलालले प्रस्तुत गरेको गणतन्त्र र संविधान सभाको नारालाई बहुमतले पारित ग¥यो । तर महासचिव भने केशरजङ्ग रायमाझी बने । यसले गर्दा कम्युनिष्ट पार्टीमा नीति र नेतृत्वमा तालमेल भएन ।
वि.संं २०१५ मा तत्कालीन राजा महेन्द्रले जारी गरेको संविधान र सो अन्तर्गत गरिने आम निर्वाचनको विषयमा पार्टीभित्र विवाद भयो । संविधानसभा र गणतन्त्रको नारा बोकेको पार्टीका सामु निर्वाचनको विषयले उत्पन्न गरेको विवादलाई तेस्रो महाविधेशनमा लगेर छलफल गर्ने गरि विवाद टुङ्गियो र पार्टीले चुनावमा भाग लिने निर्णय ग¥यो ।
वि.सं. २०१७ मा राजा महेन्द्रले बहुदलीय प्रजातान्त्रिक व्यवस्था र जननिर्वाचित सरकारलाई “कु” गरी निर्दलिय पञ्चायती व्यवस्था लागू गरे र दलहरू माथि प्रतिबन्ध लगाइयो । दलहरू प्रतिबन्धित भएपछि पार्टीका गतिविधि भूमिगत ढङ्गले सञ्चालन भए । राजाको प्रतिगामी कदम र पार्टीको भावी दिशाका बारेमा विस्तारित बैठक भारतको दरभङ्गामा आयोजना भयो । बैठकमा केशरजङ्ग रायमाझीले राजाका गतिविधिलाई समर्थन गरेपछि पार्टी वैचारिक अन्योलताको भुँमरीमा पुग्यो । त्यसपछि पाटी केन्द्र मातहतका पाँच प्रान्तीय समितिका प्रतिनिधिको वि.सं. २०१८ पौष ९–१० गते भारतमा भएको भेलाले तुल्सीलाल अमात्यलाई सचिवमा चयन ग¥यो । वि.सं. २०१९ वैशाख ४–१५ मा पार्टीको तेस्रो राष्ट्रिय महाविधेशन आयोजना भयो ।
तेस्रो महाधिवेशनबाट पारित कार्यक्रमले पार्टी स्थापनाको घोषणापत्रको लक्ष्य र उद्देश्य नयाँ जनवादी कार्यक्रमलाई विस्थापित गर्ने काम गरेको थियो । एकातिर रायमाझीले दरबार परस्त नीति लिनु अर्को तिर तुल्सीलालले प्रस्तुत गरेको राष्ट्रिय प्रजातन्त्र कार्यक्रमले पार्टीका घोषित उद्देश्यलाई पूरा नगरेकोे ठहर गर्दै वि.सं. २०२५ जेठमा पुष्पलालको अगुवाइमा तेस्रो महाधिवेशन भयो र महासचिवमा पुष्पलाललाई निर्वाचित ग¥यो । तर पुष्पलालले पुर्नगठन गरेको पार्टी र नेतृत्वप्रति असहमति व्यक्त गर्दै पुष्पलाललाई “गद्धार” को घोषणा गरियो र मोहन विक्रम सिंहको नेतृत्वमा केन्द्रीय न्यूक्लियस गठन भयो । २०३१ भाद्र ३१ असोज ७ मा चौथौ महाधिवेशन सम्पन्न भयो । उता पुष्पलाल र मोहनविक्रम सिंहले नेतृत्व गरेको पार्टीबाट असन्तुष्ट भएका झापाका युवाबाट भारतको नक्सलवादी आन्दोलनबाट प्रभावित भएर झापामा शसस्त्र सङ्घर्षको शुरुवात भयो । यसै सन्दर्भमा झापा र मोरङमा छरिएर रहेको युवाहरूको सक्रियतामा २०३२ जेठ २५ मा अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कोअर्डिनेशन कमिटी गठन भयो र यस कमिटीको आयोजनामा २०३५ पौष ११ गते भएको सम्मेलनले नेकपा
(माले) गठन गरी महासचिवमा चन्द्र प्रकाश
(सि.पी.) मैनालीलाई निर्वाचित ग¥यो । तर सिपी मैनालीले पार्टी महासचिवको जिम्मेवारी राम्रोसँग पुरा नगरेपछि बीचमा झलनाथ खनाल पार्टीको महासचिव निर्वाचित हुनुभयो त्यसपछि २०४६ भाद्रमा चौथो महाधिवेशन सम्पन्न भयो । महाधिवेशनले निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्ध शान्तिपूर्ण संयुक्त जनआन्दोलन सञ्चालन गर्ने झलनाथ खनालद्वारा प्रस्तुत राजनीतिक कार्यनीतिक कार्यदिशा पारित गर्दै मदन भण्डारीलाई महासचिव पदमा निर्वाचित ग¥यो । २०४६ सालमा नेकपा मालेको अगुवाइमा बनेको वाममोर्चा र नेपाली काँग्रेसको संयुक्त आह्वानमा भएको जन आन्दोलनबाट पञ्चायतको अन्त्य भई बहुदलीय व्यवस्थाको पुर्नस्थापना भयो । २०४७ पौषमा नेकपा (माले) र मनमोहन अधिकारीले नेतृत्व गरेको नेकपा (माक्र्सवादी) पार्टीबीच पार्टी एकीकरण भई नेकपा (एमाले) गठन भयो । वि.सं. २०४९ मा सम्पन्न नेकपा एमालेको पाँचौं महाधिवेशनमा जननेता मदन भण्डारीले अगाडि सार्नु भएको जनताको बहुदलीय जनवादको कार्यक्रम र कार्यनीतिलाई पारित ग¥यो ।
बहुदलीय व्यवस्थाको पुनःस्थापन भएपछि २०४८ मा भएको आम निर्वाचनमा नेकपा एमालेले मात्र ६८ सिट र अन्य वामदलबाट ११ सिटमा विजयी हासिल गरेको थियो । उता हिजो चौथौं महाधिवेशन हुँदै पुर्नगठित नेकपा माओवादी केन्द्रले २०५२ देखि मुलुकमा ससस्त्र सङ्घर्षको शुरुवात ग¥यो । झण्डै १ दशकसम्म शसस्त्र सङ्घर्ष सञ्चालन भयो ।
समाजवादको आधार निर्माणका लागि दिशाबोध भएको संविधान निर्माणजस्तो ऐतिहासिक कार्य पनि वामपन्थीकै सहकार्य र नेतृत्वबाट सम्भव भएको छ । नेपालमा वामपन्थीको नेतृत्वमा शान्तिपूर्ण तवरले सम्पन्न भएको राजनीतिक क्रान्तिको सफलताबाट विश्वका अन्य देशका वामपन्थी एवं समाजवादी आन्दोलनका लागि अनुकरणीय बन्न पुगेको छ ।
कम्युनिष्ट पार्टी स्थापना भएको ६८ वर्षमा आइपुग्दा नेपाली समाजमा विकास भएको चेतनाको जगले द्वन्द्वात्मक भौतिकवादी एवं माक्र्सवादी विचारले बहुसङ्ख्यक मानिसलाई लैस गराउँदै लगेको छ । कुल जनसङ्ख्याको झण्डै ६० प्रतिशत सङ्ख्याका बालिगहरूले कम्युनिष्ट पार्टीका नीति, विचार, कार्यक्रमबाट आकर्षित भएर निर्वाचनमा वामपन्थी उम्मेदवारलाई मत प्रकट गरेका छन् ।
पुष्पलालको अगुवाइमा स्थापना भएको कम्युनिष्ट पार्टीमा पहिलो महाधिवेशनदेखि दक्षिणपन्थी रुझानहरू नेतृत्वमा देखा परेको थियो । दोस्रो महाधिवेशनमा राजा परस्त रायमाझीले नेतृत्व नै हत्याउन सफल भए । त्यसपछि कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी, आत्मसमर्पण वादी चिन्तन एवं प्रवृत्ति बढ्दै गए ।
पार्टी पुर्नगठनको प्रक्रियाले यस्ता प्रवृत्तिलाई परास्त गरे पनि २०६२÷०६३ को आन्दोलनमा गणतन्त्रको कार्य दिशाका विरुद्ध दक्षिणपन्थी, यथास्थिति वादी साेंच चिन्तनहरू र विचार प्रकट नभएका होइनन् तर आन्दोलनको राप र तापले यस्ता प्रवृत्तिलाई परास्त ग¥यो र आन्दोलन सफल भयो ।
नेपालको कम्युनिष्ट आन्दोलन अब नयाँ कार्य दिशाका साथ अगाडि बढ्दै छ । नेपाली अर्थ राजनीतिमा हावी हँुदै गएको दलाल पुँजीवादलाई नियन्त्रण र अन्त्य गरेर राष्ट्रिय पुँजीको निर्माण, उत्पादन र रोजगारी वृद्धि हुने क्षेत्रमा व्यापक लगानी, औद्योगिकीकरणको थालनीसँगै स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माण गरेर मुलुकलाई समाजवादी बाटोमा अगाडि बढाउनु पर्ने ऐतिहासिक दायित्व वामपन्थीका सामु आएको छ । यस सन्दर्भमा नेकपा एमाले र माओवादी केन्द्रको औपचारिक एकताको अब छिट्टै हुने घोषणाले नेपालको वाम आन्दोलन एवं राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिमा नयाँ प्रभाव पर्ने देखिन्छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना