महिला हिंसा न्यूनीकरणका उपाय

hemraj bhusalहेमराज भुसाल

महिला हिंसाविरुद्ध विभिन्न अभियान चलाइए पनि महिला हिंसाका घटना कम होइन बढी नै सुनिँदै छन् । धेरैजसो बुद्धिजीवी र जिम्मेवार व्यक्तिबाट समेत यसको कारण हिंसा बढेर होइन महिला सचेत भएर हो भन्ने भनाइ सुनिएका छन् । तर केही घरेलु हिंसाको हकमा यो भनाइ लागु भए पनि दिनप्रतिदिन महिलामाथि बढ्दै गएका जघन्य हत्या र हिंसाका घटनाको बारेमा यस्ता भनाइप्रति सहमत हुन सकिँदैन । समाजमा महिलामाथि हिंसा पुरुषबाट मात्र भएको छ भन्ने मान्यता बढी पाइन्छ । तर महिलाबाटै महिलामाथि धेरै हिंसा भएका छन् । यसैगरी, महिलामाथि हाम्रै धर्म, संस्कृति, परम्परा र राज्यव्यवस्था समेतले हिंसा गरेको छ । यी सबै प्रकारका हिंसाको मूल कारण हो– विवाहमा दुलही भित्र्याउने प्रथा । यो प्रथामा छोरी माग्ने, ल्याउने र भित्र्याउने मान्यताले राम्ररी जरा गाडेको छ ।
दुलही भित्र्याउने प्रथा नै मूलकारण
दुलही भित्र्याउने प्रथा नै पुरुष प्रधान समाजको मूल कारण हो । जब छोरी अर्काको छोरोलाई दिने भन्नासाथ त्यहीँबाट महिला वस्तुको रूपमा कायम भई उनीहरूको मानवीय अस्तित्व गुम्छ । आप्mनो सन्तानको सुरक्षा र सुख शान्तिको निम्ति दुलाहा पक्षलाई सधैँ खुसी पार्नु दुलही पक्षको बाध्यात्मक कर्तव्य हुन आउँछ । यही अवस्थाले केटीपक्ष सम्मानमा तल र केटो पक्षमाथि हुन गएको हो । त्यसैले केटो पक्षलाई खुशी पार्नको लागि केटी पक्षले जतिसक्दो धेरै र राम्रा महँगा उपहार दिने चलन चल्यो । यही नै दाइजो हो । श्रद्धाले दिइने गरेको दाइजो पछि आएर बाध्यतामा परिणत हुन पुग्यो । यो नै महिलाको हिंसा, हत्याको कारण बन्न गएको छ ।
त्यसैगरी, केटो पक्षका पनि केही कर्तव्य धर्म र राज्य व्यवस्थाले कायम गरिदिएको छ । नवदम्पतीबीच असल सम्बन्ध बन्न सकोस् भनी नाता कुटुम्ब तथा छिमेक जम्मा भइ साक्षी बस्ने परम्परा जन्तीमा परिणत भयो । दुलहालाई प्रतिबद्धता कायम गराउन त्यसै किसिमको वैवाहिक विधि तय गरियो । विवाह विधिमा दुलहीको शिरदेखि पाउसम्म छँुदै सधैँ जीवनसाथीको रूपमा सम्मान गर्दै माया र ममता गर्नेछु भनी प्रतिबद्धता जाहेर गराइएको हुन्छ भने दुलहीलाई अनुशासित र मर्यादित किसिमले व्यवहार गर्दै पतिप्रति समर्पित हुन सिकाएको हुन्छ ।
यसरी धार्मिक रूपमा महिलालाई सुरक्षा व्यवस्था गरिएको छ भने राज्यको तर्पmबाट सुरक्षा गरिएको छ । पतिको सम्पत्तिमा आधा अधिकार पत्नीको हुने पतिले जिम्मेवारी नलिए र अंश नदिएमा पालनपोषणको अनिवार्य जिम्मेवारी स्वरूप खर्च भर्ने मानाचामलको कानुनी व्यवस्था आदि महिला सुरक्षाका लागि स्वभाविक र आवश्यक पनि थिए । तर आज आएर महिलाको संरक्षण निम्ति गरिएका यिनै व्यवस्था नै महिला हिंसाका कारण बन्न पुगेका छन् ।
समयले कोल्टो फेर्दै गयो । परिवेश र पस्थिति बदलिँदै गयो । एकातिर समाज वास्तविकता र आवश्यकताभन्दा फेसन र लोभलालचमा रङ्गिन थाल्यो । श्रद्धाले दिइने उपहार दाइजोको रूपमा तोकेर मागिन थालियो । दाइजो कम भएकै कारण महिलामाथि हिंसा र हत्यासम्म हुन थाले । यसले महिलामा विकल्पको खोजी हुन थाल्यो । अधिकारका कुरा आए । अंश मुद्दा, माना चामल मुद्दा, छुट्टी भिन्न आदि । पहिले पहिले समाजले पाप धर्मको आधार लिएर दुवै पक्षलाई अनुशासन, कर्तव्य र मर्यादाका कुरा सिकाएर पारिवारिक मेल र समाजमा शान्ति कायम गराउँथ्यो । अहिलेको समाजमा अनुशासन, कर्तव्य र मर्यादाका कुराभन्दा महिला अधिकारका कुरा मात्र सिकाउँदै पुरुषलाई कार्वाही र महिलालाई अधिकार दिलाउने कामतिर बढी ध्यान छ । यो अवस्थाले शान्ति र मेलमिलापभन्दा अशान्ति र परिवारिक बेमेल तथा बिछोडको अवस्था मौलाएको छ । यसको प्रत्यक्ष असर बालबालिकामा परेको छ । बाबुआमाको बेमेलबाट बालबालिकाको भविष्य अन्धकार भइरहेको छ ।
दुलही भित्र्याउने प्रथाले सुरुमा महिलालाई वस्तु सरह बनायो, त्यसपछि पुरुषको दास बनायो, अनि अधिकार स्वरूप पुरुषबाट अंश पाउने कानुनी व्यवस्थाले महिलालाई पुरुषप्रति आश्रित बनायो । अहिले अधिकारको अर्धज्ञानले गर्दा अधिकारकर्मी महिलाले नै अब दुलाहालाई दुलहीको घरमा भित्र्याउन पर्छ भन्न थालेका छन् । यो अर्ध र अल्पज्ञानको नमुना तथा उग्र नारीवाद र प्रतिशोधको पराकाष्टा हो । यसले समाजमा शान्ति हैन, महिला र पुरुषबीच झन् ठूलो युद्ध निम्त्याउँछ । त्यसैले विवाहपछि कोही कसैको घरमा भित्रिने होइन, दुवै पक्षले नयाँ घर बनाउने वातावरणको व्यवस्था राज्यले कानुनमै गर्नुपर्छ ।
अतः महिलाहिंसाको अन्त्य गर्न राज्यले सर्वप्रथम दुलही भित्राउने प्रथाको अन्त्य गर्नुपर्छ । राज्यले कानुनी व्यवस्था सच्चाउनु आवश्यक छ । अभिभावकले छोराछोरी दुवैलाई समान रूपले लालनपालन र शिक्षादीक्षा गराउने, विवाहपश्चात् नवदम्पती एकअर्काको घरमा भित्रिने होइन, अलग्गै तेस्रो स्थानमा बस्नुपर्ने व्यवस्था गरिनुपर्छ । श्रीमतीले श्रीमानबाट अंश पाउने हकको व्यवस्थालाई हटाउनुपर्छ । सन्तान नजन्मदासम्म पति पत्नीको बेमेल भएमा अलग हुन पाउने सन्तान जन्मिइ सकेपछि दम्पती अलग हुन नपाउने तथा जबर्जस्ती कसैले अर्को बिहे गरे वा भागे छोडेमा उसलाई कडा कारबाही हुने र सम्पत्ति केही नपाउने व्यवस्था गरिनुपर्छ । छुट्टी भिन्न हुनुपर्दा विवाह पूर्वको सम्पत्ति आआप्mनो हुने र विवाहपछिको सम्पत्ति बराबरी भाग लाग्ने गरिनुपर्छ । सन्तानको पालनपोषणलगायत सम्पूर्ण जिम्मेवारीमा बाबुआमा दुबैको समान दायित्व हुने र उनीहरूको चाहनाले अलग हुन चाहेको अवस्थामा बाहेक अशक्त र अपाङ्गता भएका सन्तानलाई भने अभिभावक तथा राज्यले आजीवन पालनपोषण, शिक्षा दीक्षा र रेखदेखसहित सम्पूर्ण जिम्मेवारी पूरा गर्नुपर्ने व्यवस्था कानुनी रूपमै गरिनुपर्छ ।
यसो गर्दा दुलही भित्र्याउने र दाइजो दुवै प्रथाको अन्त्य हुन्छ । अभिभावकलाई छोराले कुन जातकी कुन वर्गकी कस्ती बुहारी भित्र्याउला भन्ने टन्टै हराउँछ । सासु, नन्द, आमाजु लगायतबाट हुने पारिवारिक हिंसा र यिनको कारणले पतिबाट हुने हिंसासमेत अन्त्य हुन्छन् । अन्य महिला हिंसाको पनि धेरै हदसम्म अन्त्य हुन्छ । त्यसै गरी धर्म, संस्कृति र परम्परा एवं व्यवहार र सोचमा सुधार गर्नुपर्छ । विवाह विधिमा पति पूजा वा पत्नीपूजा नगराई दुवैलाई एकआपसमा मेलमिलापको प्रतिबद्धता गराउनुपर्छ । एकले अर्कोलाई सम्मान, सहयोग, सेवा, सद्भाव, कदर र माया प्रेम गर्नुपर्छ भन्ने कुराको ज्ञान प्रदान गर्नुपर्छ । पति र पत्नीमा पाल्ने र पालिने सोचको अन्त्य गरी दुवैले परिवारको समान जिम्मेवारी र दायित्व बोध गर्ने अवस्था सिर्जना गर्नुपर्छ । आफू आफ्ना खुट्टामा उभिनुपर्छ भन्ने भावनाको विकास गर्नुपर्छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना