पृथ्वीलाई हानि नपु¥याऔँ (सम्पादकीय)

अप्रिल २२ तारिखलाई विश्वभरि पृथ्वी दिवसका रूपमा मनाइन्छ । ४७ वर्षअघि पहिलोपटक अमेरिकाबाट मनाउन सुरु गरे पनि सन् २००९ मा संयुक्त राष्ट्रसङ्घको ६३औँ महासभाले यस दिनलाई विश्वभरि पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेपछि विश्वव्यापी बनेको हो । यस वर्षको पृथ्वी दिवसको नारा प्लास्टिकबाट हुने प्रदूषण निर्मूल गरौँ भन्ने छ । प्लास्टिक प्रयोगले पृथ्वीमा मानव र वनस्पतिलाई हानि पु¥याइरहेकाले यसको प्रयोग नगर्न जोड दिइएको हो । यस दिवसकै अवसरमा आइतवार नेपालमा पनि चेतनामूलक कार्यक्रम गरी विश्व पृथ्वी दिवस मनाइयो । प्रदूषण, वनविनाश र प्राकृतिक स्रोतको अत्यधिक प्रयोगका कारण सिर्जित समस्या न्यूनीकरणतर्फ अभिप्रेरणा जगाउन यो दिवसको सान्दर्भिकता छ । वातावरण संरक्षण गर्दै जीवजन्तु, वनस्पति र समग्र पृथ्वी जगत्कै संरक्षण यसको मूल उद्देश्य हो ।
विश्व पृथ्वी दिवसको मूल मर्म भनेकै वनस्पति र प्राणीको साझा घर पृथ्वीको संरक्षण गर्नु हो । मानिस, वनस्पति, जीवजन्तु र प्रकृतिको अस्तित्व र सम्बन्ध अन्योन्याश्रित छ । तर, बढ्दो जनसङ्ख्या र मानव गतिविधिका कारण प्रकृतिमाथि अतिक्रमण हुने गरेको छ र तिनको आवश्यकता परिपूर्ति गर्दा प्राकृतिक स्रोत–साधनमाथि भार परेको छ । यसबाट वातावरणीय असन्तुलन बढ्न गई मानव जातिकै अस्तित्व सङ्कटमा पर्ने देखिएको छ । प्रकृति र वातावरणसँगको असन्तुलनले गर्दा महामारी, रोगव्याधि, अनावृष्टि, अतिवृष्टि, जलवायु परिवर्तनलगायतका प्राकृतिक प्रकोपबाट मानवजीवन प्रभावित बनेको छ । मानव जातिले विज्ञान र प्रविधिका क्षेत्रमा गरेको प्रगतिसँगै वृद्धि गराएको खनिज इन्धनको प्रयोग, वनविनाश, उद्योग, कृषि, यातायात र बढ्दो सहरीकरणजस्ता कारणले हरितगृह ग्यास उत्सर्जन बढेको छ, जसकारण पृथ्वीको तापक्रम निरन्तर बढिरहेको छ । बढेको तापक्रमले ध्रुवीय क्षेत्रमा भएका हिमपहाड पग्लिँदै गएका छन् र हिमाली क्षेत्र काला पहाडमा रूपान्तरण हुँदै गएका छन् । हिउँ पग्लिनेक्रम तीव्र रहेकाले समुद्रको सतह बढेर धेरै मुलुक र मानवबस्ती जोखिममा परेका छन् । समग्रमा मानव जातिले प्रकृतिमाथि गरिरहेको अविवेकपूर्ण दोहनले आफू र आफ्ना
सन्ततिलाई मात्रै सङ्कटमा पारिरहेको छैन, समग्र जीव, वनस्पति र पृथ्वीलाई नै विनाशतर्फ धकेलिरहेको छ ।
पृथ्वी समग्र प्राणी र वनस्पति जगत्कै साझा घर भएकाले यसको संरक्षणमा हामीले अहिलेदेखि जुट्न आवश्यक छ । यसका लागि प्राकृतिक स्रोतको समुचित उपयोग र संरक्षणमा सबैको ध्यान जानुपर्छ । यो सबैको साझा समस्या र दायित्व हो । यद्यपि, विश्वको कुल हरितगृह ग्यास उत्सर्जनमा नेपालको भूमिका ज्यादै न्यून अर्थात् करिब ०.२५ प्रतिशतमात्रै छ तर यसकारण परेको प्रतिकूल प्रभावबाट भने नेपाल मुक्त छैन । जलवायु परिवर्तनका कारण असर परेको देखिएको छ । प्रत्येक वर्ष असारमा नेपाल प्रवेश गर्ने मनसुनमा ढिलाइ हुन थालेको छ, बाढीपहिरोको नोक्सानी बढेको छ, हिउँदमा तराईमा बाक्लो हुस्सु लाग्ने, अधिकतम र न्यूनतम तापक्रमको अन्तर बढेको, हिमाल र हिमनदी पग्लिनेक्रम बढेको छ । हामीकहाँ पनि प्राकृतिक स्रोतमाथिको अत्यधिक चापका कारण वातावरणमा प्रतिकूल समस्या पर्दै आएको छ । नेपालमा अव्यवस्थित सहरीकरण, खोलाजन्य वस्तुको उत्खनन, वनविनाश तथा वातावरणमैत्री दिगो विकास निर्माणमा काम हुन सक्दा पर्यावरणीय ह्रास आइरहेको छ । बिरुवा रोप्ने, हरियाली बढाउने, वातावरण प्रदूषण कम गर्ने ऊर्जाको प्रयोग र प्लास्टिकजन्य वस्तुको उपयोग नगर्नु नै पृथ्वी जोगाउने उपाय हुन् । त्यसैले विनाशमा जो जिम्मेवार भए पनि यसबाट सिर्जित चुनौतीलाई समयमै सम्बोधन गरी पृथ्वीको अस्तित्व जोगाउनु सबैको कर्तव्य हो । यो हाम्रो धर्म संस्कारसँग पनि जोडिएको विषय
हो । हिन्दु र बौद्ध धर्म दर्शनले वातावरणीय नैतिकताप्रति उत्प्रेरित गरेको छ । हिन्दु धर्मशास्त्रका वेद, पुराण, उपनिषद्मा मानव र प्रकृतिको अन्योन्याश्रित सम्बन्ध र प्रकृति संरक्षणलाई जोड दिइएको छ । पृथ्वीलाई आमा मानिएको छ । यजुर्वेदमा उल्लेख छ, ‘पृथिवीमातर्मा हिंसी मा अहं त्वाम्’ अर्थात् पृथ्वीलाई हानि नपु¥याऔँ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना