गोरखापत्र राष्ट्रिय पत्रकारिता पुरस्कार रिसाललाई

bhairab-risalकाठमाडौँ, वैशाख ११ गते । यस वर्षको गोरखापत्र राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार भैरव रिसाललाई प्रदान गर्ने निर्णय गरिएको छ । गोरखापत्र संस्थानमा सोमबार बसेको पुरस्कार छनोट उपसमितिको बैठकले यो निर्णय गरेको हो । 

नेपाली पत्रकारितामा छ दशकभन्दा बढी क्रियाशील रिसाललाई उहाँको अनवरत योगदानको कदर गर्दै २०७५ सालको गोरखापत्र राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छनोट उपसमितिका सदस्यसचिव एवम् गोरखापत्र दैनिकका प्रधानसम्पादक निर्मलकुमार आचार्यले जानकारी दिनुभयो ।
‘यो निर्णयले खुसी लागेको छ । मलाई माया गर्नेहरूप्रति कृतज्ञ छु,’ पुरस्कार प्रदान गर्ने निर्णय थाहा पाएपछि वरिष्ठ पत्रकार भैरव रिसालले गोरखापत्रलाई बताउनुभयो । विसं १९८५ साउनमा भक्तपुरको दधिकोटमा जन्मनुभएका रिसाल २०१३ सालमा हालखबर दैनिकमा समाचारदाता भएर पत्रकारितमा प्रवेश गरेपछि अनवरत क्रियाशील हुनुहुन्छ ।
हालखबरपछि तत्कालीन सगरमाथा संवाद समिति र पछि झन्डै २२ वर्ष राष्ट्रिय समाचार समितिमा आबद्ध भई पत्रकारिता गर्नुभएका रिसाल पछिल्लो समय रेडियो पत्रकारितामा क्रियाशील हुनुहुन्छ । सामुदायिक प्रसारण रेडियो सगरमाथामा स्थापना (२०५४) कालदेखि नै क्रियाशील रिसाल ९० वर्षको उमेरमा पनि कार्यक्रम चलाइरहनुभएको छ ।
उहाँ हरेक मङ्गलबार ‘कुरोकन्थो’ भन्ने संवादमूलक कार्यक्रम सञ्चालन गरिरहनुभएको छ । उहाँ हुम्लामा उज्यालो लगायत समाजसेवाका विविध आयाममा पनि सक्रिय हुनुहुन्छ । गोरखापत्र राष्ट्रिय पत्रकारिता पुरस्कार पाउने उहाँ तेस्रो व्यक्तित्व हुनुहुन्छ । यसअघि प्राध्यापक पी खरेल र वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले क्रमशः २०७३ र २०७४ सालमा पुरस्कृत भइसक्नुभएको छ ।
पुरस्कार छनोटका लागि गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायको संयोजकत्वमा, यसअघि पुरस्कृत वरिष्ठ पत्रकार पी खरेल र नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्य सदस्य तथा गोरखापत्र दैनिकका प्रधान सम्पादक निर्मलकुमार आचार्य सदस्यसचिव रहेको उपसमिति गठन गरिएको थियो । पुरस्कारको राशि ५५ हजार ५५५ रुपियाँ छ । गोरखापत्र दैनिकको ११८ औँ वर्ष प्रवेश एवम् तेस्रो राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा यही वैशाख २४ गते विशेष समारोहमा यो पुरस्कार प्रदान गरिनेछ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना