सङ्घीयतामा घरेलु उद्योग

pradipप्रदीप न्यौपाने

 

साना र कुटीर उद्योगले आर्थिक विकासमा महŒवपूर्ण योगदान दिँदै आएका छन् । साना उद्योग सञ्चालन गर्न लगानीभन्दा पनि काम गर्ने इच्छा शक्ति आवश्यक हुन्छ । यस्तो इच्छा शक्ति उद्यमीलाई निर्माण गर्ने कार्यमा घरेलु तथा साना उद्योग विकास समिति तथा विभागले आवश्यक वातावरण सिर्जना गर्दै  आएको पाइन्छ । मुलुक सङ्घीयतामा गइसकेको छ । सङ्घीयतामा लघु, घरेलु तथा साना उद्योगको भूमिका खोजी गर्दै दिगो आर्थिक विकासतर्फ अगाडि बढ्नुपर्छ । उद्यमी निर्माण गर्ने, उद्योग सञ्चालनका लागि आवश्यक वातावरण तयार गर्ने र आवश्यकता पहिचानका आधारमा सीप सिकाउँदै उपयुक्त प्रविधि हस्तान्तरणजस्ता महŒवपूर्ण कार्यलाई घरेलु विकास समितिले अगाडि बढाउँदै आएको पाइन्छ । मुलुकका दुर्गम, पहाडी तथा हिमाली जिल्लाका दूरदराजमा रहेका उद्यमीलाई सीप सिकाउने र उनीहरूको जीवन स्तरमा सुधार गर्ने कार्यमा निरन्तर रूपमा लागिरहेको घरेलु विकास समितिको भूमिका र महŒवको खोजी नगर्ने हो भने मुलुक सङ्घीयतामा प्रवेश गरेको अवस्थामा साना र कुटीर उद्यमी उत्पादन हुने क्रमको पनि अन्त्य हुन सक्छ ।  
घरेलु उद्योगको विकासका लागि सरकार र स्वयं स्थानीय स्तरमा उद्यमीहरूले देखाएको भूमिका निकै सकारात्मक छ । त्यसको योगदानले गर्दा आज आर्थिक विकासमा यस क्षेत्रले खेलेको योगदानको राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा हुने गरेको छ । जसले नेपालले औद्योगिक विकासमा गरेको प्रगतिका साथै स्वदेशमा स्थापित उद्यमीले उत्पादन गरेका उत्पादित वस्तु, सेवाको बारेमा नेपाली जनताले सहज रूपमा जानकारी पाउने गरेका छन् । यतिमात्र होइन, नेपाली उद्यमीले उत्पादन गरेका सामानले अन्तर्राष्ट्रिय स्तरमा राम्रो बजार सहज रूपमा लिँदै आएका छन् । अबका दिनमा सात प्रदेशमा घरेलु तथा साना उद्योगको संरक्षण, प्रवद्र्धन, नयाँ उद्यमी सिर्जना र उद्यमीले उत्पादन गरेका सामानलाई बजारीकरण गर्ने गरी एक औद्योगिक ग्रामसहितको परिकल्पना गर्नु आवश्यक छ । प्रदेश सरकार र स्थानीय सरकारलाई आर्थिक रूपमा बलियो बनाउने एक मात्र माध्यम भनेको लघु, घरेलु तथा साना उद्योग नै हुन् ।
साना उद्योगीले खेलेको भूमिका र घरेलु तथा साना उद्योग विकास समितिले झण्डै साढे दुई दशकदेखि गर्दै आएको कामको पहिचानको विषयमा केन्द्रीय सरकार र प्रदेश सरकारले यतिबेला ध्यान दिन आवश्यक देखिन्छ । दूरदराजसम्म पुगेर समुदायको मागका आधारमा सीप दिने सरकारी कार्यालयको भूमिका, औचित्यलाई यतिबेला हेर्ने हो भने आगामी दिनमा नयाँ उद्यमी सिर्जना गर्दै प्रत्येक घरमा स्वरोजगार बनाउने कार्यमा सहजता मिल्ने देखिन्छ ।
कम लगानीमा सञ्चालन भएका साना तथा कुटीर उद्योगका माध्यमबाट मुलुकमा सञ्चालन भएका ठूला उद्योगको विकास भएको पाइन्छ । ठूला उद्योगका लागि आवश्यक पर्ने कच्चापदार्थ, जनशक्तिलगायतका क्षेत्रमा लघु, घरेलु तथा साना उद्यमीले खेलेकोे भूमिकालाई अतुलनीय मान्नै पर्छ । उद्यमीले उत्पादन गरेका कच्चापदार्थ वा उत्पादन गरेका सामानले ठूलो बजार लिन नसके पनि त्यस्ता सामानले ठूला उद्योग सञ्चालन गर्न महŒवपूर्ण योगदान पुयाएका छन् । उद्योग सञ्चालन गर्नु मात्र ठूलो कुरा होइन । उद्योगलाई जीवन्त दिनु ठूलो कुरा हो ।
लघु, घरेलु तथा साना उद्योग सञ्चालन गर्न कम पुँजी भए पनि प्रयाप्तता हुनेछ । थोरै लगानीमा राम्रो उद्योग सञ्चालन गर्दै धेरै आम्दानी गर्न सकिने भएकाले गर्दा यस क्षेत्रको विकास हुने क्रम पछिल्लो समय बढ्दो छ । मुलुकभर साना तथा घरेलु उद्यमीको सङ्ख्या तीन लाखभन्दा बढी रहेको घरेलु तथा साना उद्योग विकास समितिको तथ्याङ्कले देखाएको छ । ठूलो सङ्ख्यामा मुलुकभर रहेका उद्यमीको सरक्षण, संवद्र्धन गर्ने यस समिति र समितिमा कार्यरत दक्ष, अनुभवी कर्मचारीको भूमिकालाई प्रादेशिक सरकार, स्थानीय सरकारमा प्रस्ट पारिनु आवश्यक छ ।
उद्योग सञ्चालन गर्दै कसरी आत्मनिर्भर तथा स्वावलम्बी बन्न सकिन्छ भन्नेतर्फ नेपालीहरू अगाडि बढेका छन् । अहिले हामी आत्मनिर्भर होइन, परनिर्भर भएका रहेछौँ । अब, परनिर्भर होइन, आत्मनिर्भर हुनेतर्फ अगाडि बढ्नु बाहेक अर्को विकल्प छैन् भन्ने चेतना विकास पनि नेपाली जनतामा बढेको पाइन्छ । यतिबेला स्थानीय उत्पादनको आधारमा उद्योग सञ्चालन हुने क्रम बढेको छ । यसको वातावरण नेपाल सरकार उद्योग मन्त्रालय घरेलु तथा साना उद्योग विकास समिति र विभागले जिल्ला स्तरमा अभियानकै क्रममा सञ्चालन गर्दा र उद्यमीको इच्छा शक्ति भएकाले पनि हो । आत्मनिर्भर बन्दै घरघरमा रोजगारी सिर्जना गर्न प्रत्येक नेपालीले घरघरमा कुटीर (साना) उद्योग सञ्चालन गर्न आवश्यक छ । साना उद्योगको माध्यमबाट एकातर्फ राम्रो आम्दानी गर्न सकिन्छ भने अर्कोतर्फ रोजगारीको अवसर प्रयाप्त हुने छ । पढ्न सकिन अब के गर्ने भनेर चिन्ता लिन पर्दैन । लाखौँ रुपियाँ लगानी गरेर वैदेशिक रोजगारीमा जान पर्दैन । वैदेशिक लगानीमा जाने रकमले निःशुल्क रूपमा सीप सिकेर स्वदेशमा उद्योग सञ्चालन गर्दा सहज रूपमा लाखौँ रुपियाँ आम्दानी गर्न सकिन्छ । उद्योग सञ्चालन गर्ने उद्यमीलाई सरकारले निःशुल्क रूपमा एक लाख रुपियाँसम्मको उपयुक्त प्रविधि हस्तान्तरण गर्दै आएको छ भने महिलाले सञ्चालन गरेका उद्योगका लागि पाँच लाख रुपियाँसम्म विनाधितो छ प्रतिशत ब्याजमा ऋण दिँदै आएको पाइन्छ । यसरी उद्यमी बन्नेका लागि पढाईभन्दा पनि सीप, लगनशीलता, धैयता, सिर्जनशीलताको आश्यक पर्छ । यतिबेला सरकारले सञ्चालन गर्दै आएका उद्यमी लक्षित कार्यक्रम प्रादेशिक सरकार र स्थानीय सरकारले जीवन्त दिन आवश्यक देखिन्छ । यस्तो अवस्थामा आवश्यक ऐन, कानुन भने केन्द्रीय सरकारले नै ठोस रूपमा तयार गर्नैपर्छ, जसका माध्यमबाट लघु, घरेलु तथा साना उद्योगको विकासले तीव्रता पाउने निश्चित हुन्छ ।
साना तथा कुटीर उद्योग सञ्चालन गर्ने उद्यमीको जीवनमा धेरै परिवर्तन भएका उदाहरण प्रशस्त छन् । केही वर्षअघिसम्म ताप्लेजुङकी ढाका उद्यमी गोमादेवी मगरलाई दैनिक घरायसी गर्जो टार्न निकै धौधौ थियो । न घर जग्गा, न कुनै पेसा, व्यवसाय न त रोजगारी नै । यस्तो अवस्थामा परिवार चलाउन उहाँलाई समस्या भएको अवस्थामा सीप विकास तालिम लिएर व्यवसाय सञ्चालन गरेपछि अहिले राम्रो आम्दानी गर्न सफल हुनुभएको मात्रै छैन जिल्लामा उदारणीय उद्यमी बन्नुभएको छ । तनहुँमा मसौरा उद्योग सञ्चालन गर्नुभएकी तुलसी शाहले उद्योग सञ्चालन गरेको डेढ दशकमा राम्रै आम्दानी गरिसक्नुभएको छ । आत्मनिर्भर बन्ने उद्देश्यले उहाँले अपनाएको मसौरा उद्यमले जीवनमा नै यतिखेर आर्थिक हिसाबले ढकमक्क बनाएको छ ।
यसरी उद्योग सञ्चालनका लागि आवश्यक सबै चाँजोपाँजो घरेलु तथा साना उद्योग विकास समितिले मिलाइदिएको हो । यस्ता उदाहरण देशभर धेरै सङ्ख्यामा रहेको घरेलु कार्यालयको तथ्याङ्कले देखाएको छ । लघु, घरेलु तथा साना उद्योग सञ्चालन गरी ठूला उद्योगमा रूपान्तरण गर्ने उद्यमीको सङ्ख्या देशभर पाँच हजारभन्दा बढी छन् । त्यसकारण उद्योग गरौँ, आत्मनिर्भर बनाँै भन्ने अभियानलाई एकपटक अगाडि बढाउन आवश्यक छ । अबका दिनमा मुलुक परिवर्तनसँगै लघु, घरेलु तथा साना उद्योगको भूमिकामा पनि परिवर्तन गर्दै यसमा सुधार गर्न आवश्यक देखिन्छ । उद्यमीको सङ्ख्या बढ्नुलाई मात्र ठूलो मान्नुभन्दा गुणात्मक रूपमा रोजगारीको अवस्था सिर्जना गर्ने र आयआर्जनमा सुधार गर्ने कार्यमा सरकारले आफ्ना कार्यक्रम निर्माण गर्नु आवश्यक छ । उद्यमशीलताका माध्यमबाट उद्योग सञ्चालन गर्ने वातावरण तयार गर्दा बजारको पहिचाहन, उद्योगको भूमिका प्रस्ट रूपमा उद्यमीले जानकारी पाउने छन् ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना