सिन्धुपाल्चोकमा भूकम्पप्रतिरोधी घर बनाइँदै

राधा चालिसे

ठूलो सिरुबारी (सिन्धुपाल्चोक)  वैशाख १३ गते  । एक लिटर पानीको दुई रुपियाँ तिरेरै भए पनि सिन्धुपाल्चोक ठूलो सिरुबारी ३ बोजिनीका भूकम्पपीडित धमाधम घर ठड्याउँदै छन् । एकै कुलका ४७ परिवार अर्मपर्म गर्दै घर बनाउन खटिएका छन् ।
सरकारले उपलब्ध गराएको पहिलो किस्ता बापतको ५० हजार रुपियाँ बुझेका उनीहरूले सरकारले असार समान्तभित्रै दोस्रो किस्ता बुझिसक्नु पर्ने दबाब दिएपछि घर बनाउने चटारो परेको धनबहादुर श्रेष्ठ बताउनुहुन्छ ।
टोलमा कसैले एकतले, कसैले दुईतले भूकम्प प्रतिरोधी घर बनाइरहेका छन्, कोही जमिन खार्दै छन् कोही छानो छाउँदै छन् । चारकोठाको दुईतले घरको चोटा छाउन व्यस्त धनबहादुर श्रेष्ठको अनुहारका केही सन्तोष झल्कन्छ ।
सरकारले दिएको तीन लाख रुपियाँ ऋण खोजेरै भए पनि तीन लाख थपेपछि यतिको घर बनाउनु सकियो, उहाँ भन्नुहुन्छ । सिमेन्ट र इँटाको जोडाइमा इन्जिनियर र प्राविधिकले दिएको सल्लाहअनुसार घर बनाएकाले भूकम्पप्रतिरोधी भएकोमा श्रेष्ठ विश्वस्त पनि हुनुहुन्छ । एकीकृत बस्ती विकास गर्ने योजना बनाएर थालिएको घर बनाउन केही सहज भएको उहाँको भनाइ छ । सामूहिक रूपमा निर्माण सामग्री ल्याउँदा ढुवानी खर्च कम भएको र धेरै परिवारका लागि सामान ल्याउँदा थोक मूल्यमै पाएको पनि उहाँको अनुभव छ । house
गाउँमा पानी अभाव छ । निकै तलको खोल्साबाट पानी तानिएको छ । आलोपालो गरेर काम गर्नुपरेको छ । नपुगेको पानी ट्याङ्करबाट ल्याउँदा प्रतिलिटर दुई रुपियाँ नै तिर्नुपरेको पञ्चमाया श्रेष्ठको गुनासो छ ।
जसोतसो दुई कोठाको घर बनाइएको छ । छानो छाउन बाँकी छ । उहाँ छानो छाउन तेस्रो किस्ताको रकमको पर्खाइमा हुुनुहुन्छ । धेरैको घर एकै पटक बनाउँदा दक्ष कामदारको अभाव छ । सुर्खेत, कञ्चनपुर, उदयपुरका तालिमप्राप्त डकर्मीले गाउँमै बसेर काम गरिरहेका छन् ।
सिरुबारीमा घर बनाउन पुनःनिर्माण प्राधिकरणले रकम उपलब्ध गराएको छ । छिटो घर बनाउन घच्घचाउने र इन्जिनियर र प्राविधिक सहयोग उपलब्ध गराउने जिम्मा जापान अन्तरर्राष्ट्रिय सहयोग नियोग
(जाइका)ले गर्दै आएको छ । जाइकाले सिन्धुपाल्चोका साबिकका ३१ गाविसका ४० हजार ९६ भूकम्प लाभग्राहीका निजी आवास पुनःनिर्माणका लागि सामाजिक परिचालनक, इन्जिनियर, प्राविधिक र तालिम प्राप्त मोबाइल डकर्मी उपलब्ध गराउँदै आएको जाइकाका ‘टेक्निकल म्यान्जमेन्ट एक्पर्ट’ भूपेन्द्रबहादुर बस्नेतले बताउनुभयो ।
निजी आवास निर्माणमा एक वर्षअघि सम्म २० प्रतिशतमात्र घर बनेकोमा अहिले ९० प्रतिशत प्रगति भइसकेको उहाँको दाबी छ । जाइकाका जिल्ला परियोजना म्यानेजर मधुसुदन बरालका अनुसार ठूलो सिरुबारीमा भूकम्पले भत्काएका एक हजार ७८८ घर छन् । तीमध्ये हालसम्म ९४ प्रतिशत घरले पुनःनिर्माण थालिसकेका छन् । अहिलेसम्म उक्त सिरुबारीमा ८२७ घर बनिसकेका छन् ।
कृषिमा सहयोग
सिन्धुपाल्चोकमा जाइकाले जिल्ला कृषि विकासको कार्यालय भवन निर्माण गरेर हस्तान्तरण गरिसकेको छ । जिल्लामा सञ्चालित शीघ्र प्रभाव परियोजनाअन्तर्गत किसानका लागि विभिन्न पाँच स्थानमा गुणस्तरीय बीउ उत्पादन र भण्डारण गर्ने प्रविधि, सीप र भौतिक सङ्कलन केन्द्र तथा तालिम घर बनाइदिएको छ ।
छोटो समयका लागि चलेको उक्त परियोजनाले सिन्धुपाल्चोकको खाद्य असुरक्षमा कमी ल्याउन ठूलो सहयोग पुगेको जिल्ला कृषि कार्यालयका वरिष्ठ कृषि अधिकृत हिक्मत श्रेष्ठको दाबी छ । जिल्लामा कुल ५४ हजार मेट्रिक टन खाद्यान्न आवश्यक भएको र अझै नौ हजार मेट्रिक टन अपुग देखिन्छ ।

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना