अर्थतन्त्र ३० खर्बको नेपालीको बचत र आम्दानी दुवै बढ्यो


विश्वास रेग्मी

काठमाडौँ, वैशाख १३ गते । अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आव २०७४÷७५ मा नेपालको अर्थतन्त्रको आकार तीन खर्ब ६४ अर्ब ६५ करोडले बढेर ३० खर्ब सात अर्ब २४ करोड पुग्ने प्रक्षेपण गरिएको छ । बुधबार चालू आवको राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै केन्द्रिय तथ्याङ्क विभागले अर्थतन्त्रको आकार ५.८९ प्रतिशतले वृद्धि हुने अनुमान प्रस्तुत गरेको हो । अर्थतन्त्रका विभिन्न १५ वटा अवयवको अध्ययन गरी समग्र अर्थतन्त्रको आकार प्रक्षेपण गरिएको विभागका महानिर्देशक सुमन अर्यालले जानकारी दिनुभयो ।
भूकम्पपछिको पुनर्निमाणको कामले चालु आवमा गति लिँदा आर्थिक वृद्धिमा महìवपूर्ण सहयोग पुगेको विभागको निष्कर्ष छ । यस वर्ष निर्माण क्षेत्रमा भएको वृद्धिले अर्थतन्त्रको आकार बढेको छ, अर्यालले भन्नुभयो । यसबाहेक अर्थतन्त्रका बाँकी अवयवमा समेत वृद्धि भएकोले आर्थिक वृद्धिदर तुलनात्मक रूपमा सकारात्मक देखिएको उहाँले जानकारी दिनुभयो । eco
विभागले अर्थतन्त्र प्रक्षेपणका क्रममा औद्योगिक क्षेत्रलाई गरेको वर्गीकरणमा कृषि तथा वन, मत्स्य र खानी तथा उत्खनन् जस्ता क्षेत्र समेटिएको प्राथमिक क्षेत्रको वृद्धिदर २.९२ प्रतिशत हुने अनुमान गरेको छ । चालू आवमा मौसम अनुकुल नहुँदा कृषि क्षेत्रमा अपेक्षित वृद्धिदर हुन नसक्ने देखिएको विभागले जनाएको छ । विभागका अनुसार प्राथमिक क्षेत्रको योगदान कुल गार्हस्थ उत्पादन (जीडीपी)मा २८.२१ प्रतिशत रहेको छ ।
निर्माण, उद्योग र विद्युत्, ग्याँस तथा पानी जस्ता क्षेत्र समेटिएको द्वितीय क्षेत्रको वृद्धिदर ८.७७ प्रतिशत हुने विभागको अनुमान छ । यस क्षेत्रको जीडीपीमा कुल योगदान १४.१८ प्रतिशत पुग्ने अनुमान गरिएको छ । चालू आवमा थोक तथा खुद्रा व्यापार, होटेल तथा रेस्टुरेन्ट, यातायात तथा सञ्चार, रियल स्टेट जस्ता क्षेत्र समेटिएको सेवा क्षेत्रको वृद्धिदर ६.६२ पुग्ने विभागको प्रक्षेपण छ । सेवा क्षेत्रको कुल योगदान ५७.६१ प्रतिशत पुग्ने अनुमान पनि गरिएको छ ।

६ अङ्कमा प्रतिव्यक्ति आम्दानी
नेपालीको आम्दानी पहिलोपटक छ अङ्क पुगेको छ । विभागको तथ्याङ्क अनुसार प्रतिव्यक्ति वार्षिक आम्दानी अघिल्लो आवको तुलनामा करिब १५ हजार रुपियाँले बढेर एक लाख ६ हजार रुपियाँ (एक हजार ४ डलर) पुगेको हो । यस हिसाबले नेपालीको मासिक आम्दानी आठ हजार ६६६ रुपियाँ पुगेको छ । प्रतिव्यक्ति आम्दानीको गणना गर्दा विभागले नेपालको जनसङ्ख्या दुई करोड ९१ लाखलाई आधार मानेको छ ।

बचत पनि बढ्ने
जीडीपीको महìवपूर्ण हिस्सा उपभोगमा खर्च हुने विगतको प्रवृत्ति कम भएर नेपालीमा बचतको प्रवृत्ति बढेको छ । विभागका अनुसार गत आवमा जीडीपीको अनुपातमा ११.९५ प्रतिशतमात्र बचत रहेकोमा चालू आवमा १५.०१ पुग्ने अनुमान छ ।

निर्माणले बढायो आर्थिक गतिविधि
क्षेत्रगत हिसाबमा चालू आवमा निर्माण क्षेत्रको वृद्धिदर अन्य अवयवका तुलनामा सबैभन्दा बढी रहने विभागको अनुमान छ । निर्माण तथा पुनर्निर्माणका काममा भएको बढोत्तरीले चालू आवमा यस क्षेत्रको वृद्धिदर १०.६४ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । जीडीपीमा २७.१० प्रतिशत योगदान रहेको कृषि तथा वन क्षेत्रको वृद्धिदरमा भने मौसम अनुकुल नहुँदा वृद्धिदर २.७२ प्रतिशत पुग्ने विभागले जनाएको छ । त्यस्तै मतस्यपालनको वार्षिक वृद्धिदर ७.४२ प्रतिशत, खानी तथा उत्खनन क्षेत्रको १०.४६ प्रतिशत र उद्योग क्षेत्रको वृद्धिदर ८.०४ प्रतिशत पुग्ने अनुमान छ । उद्योगको जीडीपीमा योगदान ५.३९ प्रतिशत रहने पनि विभागले जनाएको छ ।
विद्युत् ग्याँस तथा पानीको वृद्धिदर ५.८२ प्रतिशत, थोक तथा खुद्रा व्यापारको वृद्धिदर ९.०६, होटेल तथा रेस्टुरेन्टको ९.७७ प्रतिशत, यातायात सञ्चार तथा भण्डारणको ५.४१ प्रतिशत, वित्तीय मध्यस्थताको ६.३८ प्रतिशत र रियल स्टेट तथा व्यावसायिक सेवाको ५.२४ प्रतिशत रहने अनुमान छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना