नेपालको राजनीतिक अवस्था


pradip nepalप्रदीप नेपाल

 

केही विद्वान मित्रहरूले नेपालमा पुँजीवादी क्रान्ति सम्पन्न भैसकेकोे र अब समाजवाद निर्माणमा लाग्ने समय भयो भनेर लेख्नु भएको पढेँ मैले । नेताहरूको भाषण भएको भए यो टिप्पणी आवश्यक पर्ने थिएन किनभने भाषणमा नेपालका नेताहरू हुने नहुने जे पनि बोल्छन् । लेख्नेहरूले भने आफ्नो कलमलाई अलिक अध्ययनशील बनाउनै पर्छ किनभने लेख्नेहरूमाथि अहिले पनि पाठकको विश्वास छ ।
गल्ती जोबाट पनि हुन्छ । यो सामान्य कुरा हो । नेपालका विशिष्ट चिन्तक बीपी कोइरालाको एउटा उक्ति पुस्तिका मेरा हातमा परेको थियो । त्यसमा उहाँको लेखाइ यस्तो थियो – समाजवादमा अधिनायकवाद थपिदियो भने त्यो साम्यवाद हुन्छ, अधिनायकवादमा प्रजातन्त्र थपिदियो भने त्यो समाजवाद हुन्छ । समाज विकासको नियमको आधारमा हेर्ने हो भने यो उक्ति सही होइन । पुँजीवादपछि समाजवाद आउँछ । समाजवादपछि साम्यवाद आउँछ । यो समाज विज्ञानको नियम हो ।
त्यस्तै मेरा एक आदरणीय मित्रबाट पनि गल्ती भएकै छ । के हामीले पुँजीवादी क्रान्ति सम्पन्न गरिसक्यौँ ? अहँ सकेका छैनौँ । हामी पुँजीवादी युगमा प्रवेश गरेका छौँ । पुँजीवादमा आधारभूत रुपमा राष्ट्रिय पुँजीवाद र दलाल पुँजीवादका बीचमा प्रधान अन्तरविरोध हुन्छ । पुँजीवादी सरकार र समाजले समाजवादी कार्यक्रम लिने हो भने राष्ट्रिय पुँजीवादलाई संरक्षण दिनु पर्छ र दलाल पुँजीवादलाई राष्ट्रिय हित अनुकूलको काम गराउने कानुन बनाउनु पर्छ । पुँजीवादमा राष्ट्रिय हित विपरीत काम गर्ने प्रथा हुन्छ तर समाजवादमा राष्ट्रिय हित विपरीत कसैले काम गर्न पाउँदैन ।
चेतना र व्यवहार
राजनीतिमा चेतना र व्यवहारबीच अन्योन्याश्रित सम्बन्ध हुन्छ । चेतनाको निर्माण भौतिक जगत्को आधारमा हुन्छ भन्ने विश्वास माक्र्सवादीहरूमा हुन्छ । हाम्रो देशमा चेतना र व्यवहारबीच कस्तो सम्बन्ध छ ? हाम्रो नेपाल सङ्घीय लोकतान्त्रिक मुलुक हो तर यहाँ राष्ट्रपति महोदय घरबाट बाहिर निस्कँदा सडक बन्द गर्नुपर्छ । प्रधानमन्त्रीको औकात पनि त्यस्तै छ । रक्षा तथा गृहमन्त्री अघिपछि सुरक्षा अंगको लर्को हुन्छ । उनीहरूका लागि सडक सफा गर्न विचरा ट्राफिक प्रहरी असिनपसिन हुन्छ । अहिले पूर्वप्रधानमन्त्रीहरूले पछुवा सुरक्षा लिइरहेका छन् । मन्त्रीहरू पिएसओसँग झुण्डिएर हिँडिरहेका छन् । यो चेतना के समाजवादी हो ? होइन । यो त पुँजीवादी चेतना पनि होइन । यो हो शुद्ध सामन्ती चेतना । चेतना सामन्तवाद अनि व्यवहार समाजवाद ! कुन दर्शनले, कुन सिद्धान्तले यस्तो उट्पटाङ व्यवहारलाई समाजवाद निर्माण भन्छ ?
पुँजीवादको नेता अमेरिका हो अहिले । तर अमेरिकामा राष्ट्रपतिलाई महामहिम भनिँदैन । त्यहाँ भनिन्छ– श्रीमान् राष्ट्रपतिजी । तर नेपालमा राष्ट्रपति महोदय कसैले भन्न पाउँदैन । राष्ट्रपति महोदय भन्नेलाई नेपालमा संस्कारहीन मान्छे मानिन्छ । सम्माननीय भनेको के हो ? सम माननीय अर्थात् माननीय बराबरको । तर नेपालमा प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखलाई सम्माननीय भनिन्छ । मन्त्री, न्यायाधीश र सांसदहरूलाई माननीय । अति चाकरीबाट जन्मिएको यो शब्दले सम्माननीयलाई व्यंगको सम्बोधन बनाएको छ । यो चाहिँ अज्ञानता हो ।
यहाँ एउटा कुरो गर्न मन लाग्यो । दुई वर्ष पहिले एउटा प्रतिनिधि मण्डलसँग म पनि राष्ट्रपति विद्या भण्डारीलाई भेट्न शीतल निवास पुगेको थिएँ । प्रतिनिधिमण्डलका प्रमुखले मलाई नै राष्ट्रपति समक्ष आफ्नो समस्या राखिदिन अनुरोध गर्नुभयो । मैले आफ्नो बुझाइको हिसाबले ‘राष्ट्रपति महोदया’, भनेर कुरा थाले । अरुको त कुरै नगरौँ स्वयं उहाँले पनि राष्ट्रपतिको मान हनन गरेको ठान्नु भएछ । यो हो सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राजनीतिक चेतना !
सङ्घीयताको अध्ययन गर्न नेपालबाट सांसद, नागरिक समाजका बौद्धिकहरूको लर्को सफल सङ्घीय राष्ट्र मानिएको स्वीट्जरल्याण्ड गएको थियो । उनीहरूले भन्थे, ‘स्वीट्जरल्याण्डमा राष्ट्रपतिसँग ‘ग्रोसरी शप’ मा सँगै बसेर कफी खान पाइन्छ । यो हो सङ्घीयता ! अहिले नेपालका राष्ट्रपतिका बारेमा उनीहरूको प्रतिक्रिया के छ कुन्नि ! राम्रोको प्रशंसा गर्नु एउटा सजिलो काम हो । आफैं राम्रोे हुनु धेरै अप्ठ्यारो काम हो ।
नेपाली नेताको मात्र होइन, आम नागरिकमा पनि ठूलाको विरोध गर्नु हुँदैन भन्ने मानिसकता व्याप्त छ । नेपाली नागरिकलाई कर तिर्नेहरू ठूला हुन्छन्, कर खानेहरू साना हुन्छन् भन्ने सामान्य ज्ञान पनि छैैन । नेताहरू भोट माग्न जाँदा जदौ गर्दै हिँड्छन् मानौ ती जनताका सेवक हुन् तर चुनाव जितेपछि तिनको व्यवहार यस्तो हुन्छ, मानौं तिनीहरू जनताका मालिक हुन् र हिजो आपूmले गरेको नमस्कार ब्याजसहित फिर्ता पाउनु पर्छ । यस्तो समाजमा सबै मानिसको सम्मान बराबर हुन्छ भन्ने चेतना बोल्ने बित्तिकै स्वाट्टै शक्तिशाली औषधि जसरी पसिहाल्छ भन्नु अज्ञानताको नमुना हो ।
अतिवादी संस्कार
नेपालमा गैरवामपन्थीहरू कहिल्यै समाजवादी हुन सक्दैनन् । समाजवादी हुने भनेको वामपन्थीहरू मात्रै हुन् । नेपाली काङ्ग्रेसको इतिहास पढ्दा यो सच्चाइ प्रमाणित हुन्छ । बीपी कोइरालाको समाजवादी चेतनालाई नेपाली काङ्ग्रेसका नेता र तिनका योजनाविद्हरूले क्वाप्लाक्क खाइदिए । सोसलिस्ट इन्टरनेशनलका महासचिवले न्यूयोर्कको एउटा भेटघाटमा नेपाली काङ्ग्रेस अब समाजवादी रहेन भनिरहँदा सहभागीहरूको अनुहार रातो भएको थियो । उनले भनेको वाक्य थियो, ‘आफ्टर द डेथ अफ बीपी कोइराला एण्ड गणेशमान सिंह नेपाली काङ्ग्रेस इज नो मोर सोसलिस्ट’ । यो सन् २००६ को कुरा हो । अब नेपाली काङ्ग्रेसलाई समाजवादी मार्गमा हिँडाउने कोही प्राणी देखिएका छैनन् किनभने बीपी कोइरालाको चिन्तनलाई बुझ्न नेपाली काङ्ग्रेसका सभापतिलाई पनि पन्ध्र दिने प्रशिक्षण चाहिन्छ । अरुको कुरा किन गर्नु प¥यो ?
नेपाली काङ्ग्रेस नै समाजवादी हुन नसकेपछि अर्को कुन चाहिँ गैरवामपन्थी पार्टी समाजवादी हुन सक्ला ?
वामपन्थी नेताहरूमै पनि कार्ल माक्र्सको सोच अनुसारको समाजवाद निर्माण गर्ने चेतना देखिएन । मूल हुन् कार्ल माक्र्स । लेनिन र माओ चतुङ कार्ल माक्र्स बराबर होइनन् । उनी आआफ्नो देशमा माक्र्सवादी सोचलाई समातेर क्रान्ति गरेका हुन् । लेनिनको क्रान्तिलाई समाजवादी भनियो, माओ चतुङको क्रान्तिलाई नयाँ जनवादी भनियो । त्यसैले हामी कार्ल माक्र्सको चिन्तनको अध्ययन गरेर नेपाली समाज अनुकूल हुने परिवर्तनको सोच बनाउनु पर्छ । र, यो सोच नेपालमा उदाइसकेको छ । अज्ञानीहरूले यसलाई संशोधनवाद भने पनि, भाइ काङ्ग्रेस भने पनि नेपालमा पुँजीवादी क्रान्ति सम्पन्न गरी समाजवादतर्फ जाने बाटो भनेकै जनताको बहुदलीय जनवाद हो । यो नै नेपाली माक्र्सवाद हो । कार्ल माक्र्सदेखि लहरै एंगेल्स, लेनिन, स्टालिन, माओ चतुङको फोटो टाँसेर पार्टीको परिचयमा यी सबैको नेतृत्व अथवा संरक्षकत्व खोज्नु सन् १९७० को दशकको उग्रवामपन्थी सोचको निरन्तरता मात्र हो ।
नेपालको वर्तमान पुस्ताले अहिल्यै बुझे हुन्छ – अन्तिम निष्कर्षमा नेपालमा दुई पार्टी मात्र रहन्छन् । एउटा हो, नेपाल कम्युनिस्ट पार्टी उसको समूह — अहिलेको वाम गठबन्धन जस्तो । अर्को हो नेपाली काङ्ग्रेस र उसको समूह । वाम गठबन्धन प्रतिशील हुन्छ र उसको लक्ष्य समाजवाद हुन्छ । नेपाली काङ्ग्रेस र उसको समूह यथास्थितिवादी हुन्छ र उसको भविष्य यूरोपेली उदारवाद जस्तो हुनेछ । कालान्तरमा वाम गठबन्धन राष्ट्रिय पुँजीवादको पक्षधर हुनेछ भने नेपाली काङ्ग्रेस दलाल पुँजीवादको पक्षधर हुनेछ अर्थात् चुनावमा काङ्ग्रेसले जित्नु भनेको मुलुक परजीवी हुनु हो अनि बुझेका कम्युनिस्टले चुनाव जिते भने मुलुक आत्मसम्मानको बाटोमा अघि बढ्नु हो ।
नेकपाका कार्यकर्ताहरूले माक्र्स र लेनिन अनि माओ चतुङबीचको भेद बुझ्नु जरुरी हुन्छ । जहिलेसम्म तिनीहरूले माक्र्स, एंगेल्स, लेनिन, स्टालिन र माओलाई एउटै लहरमा राख्छन् तिनको समाजवाद पनि मरेको ह्वेल जसरी समुद्री किनारमा पल्टिरहनेछ । नेपाली काङ्ग्रेसका कार्यकर्तालाई मैले के भन्नु ! किनभने त्यहाँ पनि पुँजीवाद र समाजवाद बुझ्ने एकाध नेताहरू अहिले पनि छन् ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना