गुटको राजनीतिमा रमाएको काँग्रेस


shib kumar bhattaraiशिवकुमार भट्टराई

 

विकास र समृद्धि नयाँ सरकारको चुनावी नारा हो । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धनले प्रदेशसभा र प्रतिनिधिसभामा झण्डै दुईतिहाइको बहुमत प्राप्त गरेका छन् । सातमध्ये छ प्रदेशमा वाम गठबन्धनले सरकार बनाएको छ । केन्द्रमा केपी शर्मा ओली नेतृत्वको दुईतिहाइभन्दा बढीको समर्थन प्राप्त सरकार छ । सरकार गठन भएको झण्डै साढे तीन महिना व्यतीत भइसकेको छ । लामो समयको सङ्क्रमण लगभग टुङ्गिएको छ । अब सरकार चुनावमा बाचा गरेको काम पूरा गर्न तम्तयार हुनुपर्ने हो । नेपाली जनताले वाम गठबन्धनलाई विकास र समृद्धिकै लागि बहुमत दिएका हुन् । सधैँको अस्थिरता र सङ्क्रमणबाट वाक्कदिक्क भएका नेपालीको चाहना स्थिरता, विकास र समृद्धि छाओस् भन्ने हो, सर्सर्ती हेर्दा सरकारलाई काम गर्न कुनै बाधा अड्चन आएको देखिँदैन । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस पनि सरकारलाई गुण र दोषका आधारमा समर्थन र विरोधका लागि तयार रहेको देखिन्छ । मधेशवादी दल त सरकारलाई समर्थन गर्ने कोटीमै परिसकेका छन् । सत्तामा सहभागिता जनाउने अन्तिम तयारीमा रहेका उनीहरू पनि सरकारका लागि समस्या खडा गर्ने पक्षमा देखिएका छैनन् । यस्तो बेला सरकारले तीव्र गतिमा काम थाल्नुपर्ने हो । के कारणले अपेक्षा गरेअनुसारको गति लिन नसकेको हो ? प्रश्न तेर्सिन थालेको छ ।
प्रमुख प्रतिपक्षको हैसियतमा खुम्चिएको नेपालकै सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेस चुनाव सकिएको तीन महिनापछि समीक्षा बैठकमा जुटेको छ । करिब एक महिना चलेको बैठक अब भने अन्तिम चरणमा पुगेको छ । बैठकमा अधिकांश केन्द्रीय सदस्यले आ–आफ्ना धारणा राखिसकेका छन् । यहाँ व्यक्त धारणा स्वतन्त्र र यथार्थपरक कम गुट संरक्षण बढी देखिएको छ । सबैभन्दा ठूलो आकारको पार्टी चाउरिएर अहिलेको लाजमर्दाे अवस्थामा आइसक्दा पनि नेताहरू एकअर्काप्रति कटाक्ष र औँलो उठाउन उद्यत छन् । चुनावी हारको सतही समीक्षामा जुटेका नेताहरू भावी रणनीति बनाउन पटक्कै चासो राख्ने पक्षमा देखिएका छैनन् ।
गएको चुनावमा पार्टीले यस्तो लज्जाजनक हार किन बेहो¥यो भन्ने पक्षमा कोही पनि इमानदार देखिएनन् । कमजोर सङ्गठन, स्वेच्छाचारी नेतृत्व, नियन्त्रण र सन्तुलनको अभाव, गुटगत बिगबिगी, नेतामुखी नीतिजस्ता कारण पार्टी कमजोर भएको विषयमा बैठकमा गम्भीर छलफल नै चलेन । केवल एकले अर्कालाई दोषको भारी बोकाएर आफू पानीमाथि ओभानो हुने प्रवृत्ति र शैलीले फेरि पनि निरन्तरता पाएको छ । यही ढङ्गले भोलि पनि पार्टी चलाउने हो भने हिजोको लगानी आज डुब्न सक्छ । एक्काइसौँ शताब्दीको चुनौती र सम्भावना विपरीत पार्टी सञ्चालन गर्ने हो भने नेपाली काँग्रेसले प्रजापरिषद्को नियति भोग्नु नपर्ला भन्न सकिँदैन ।
आजको हाँक के हो भनेर बुझ्न नसक्नेलाई साथ लिएर नेतृत्व अघि बढ्ने क्रम तत्काल रोकिनुपर्छ । जनतासँग कुनै नाता सम्बन्ध नभएका केही चाकडीबाजहरू नेताका वरिपरि घुम्छन् । उनीहरूले दिएको सल्लाह विल्कुलै सतही र स्वार्थ केन्द्रित हुने गर्छन् । जसरी पनि पार्टी कब्जा गर्नुपर्छ भन्ने मान्यता यस्ता स्वार्थी झुण्डको हुने गर्छ, जसलाई कुनै बेला बीपी कोइरालाले भुइँफुट्टा भनेर सम्बोधन गर्नुहुन्थ्यो । यस्ता भुइँफुट्टाबाट पार्टीलाई जोगाउन नेतृत्व सचेत हुनुपर्छ । आफ्ना वरिपरि घुम्नेको जनतामा कत्तिको पहुँच र लगाव छ त्यो पहिचान गर्ने ल्याकत नेतृत्वमा हुनैपर्छ । नत्र सोझा र दुःख गर्ने कार्यकर्ताले मौका पाउँदैनन् । यो अवस्था अहिले नेपाली काँग्रेसमा व्याप्त छ । पार्टीलाई नयाँ शीराबाट लैजानुपर्ने अहिलेको संवेदनशील बेलामा समेत वरिपरि घुम्ने जमातले स्वार्थसिद्ध गर्न संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवालाई ल्याइछाडे । यसले पार्टी कार्यकर्ता र शुभेच्छुकलाई खुसी बनाउन सकेन ।
नेपाली काँग्रेस जस्तो पुरानो र देश विदेशमा राम्रो छवि भएको पार्टीले यो हालतमा आइपुग्नु पछाडिको कारण खोतल्ने काम स्वयं नेतृत्वले गर्नुपर्ने हो । साँच्चै भन्ने हो भने अहिले पार्टीभित्र अभूतपूर्व एकताको सन्देश दिएर कार्यकर्ताको मनोबल उँचो बनाउनुपर्ने थियो । सङ्गठन निरन्तर कमजोर हुँदै गएको धेरैले अनुभूत गरेकै हो । विगत स्थानीय निर्वाचनमा नै पार्टीको पकड कमजोर देखिइसकेको थियो । यसपछि नयाँ स्वरूपमा पार्टी सञ्चालन गर्नुपर्ने थियो तर नेतृत्व तहमा बसेका भागबण्डा गर्दे गुट संरक्षणमा लागे । पहिला कोइराला र देउवा गुटमा विभक्त पार्टीलाई अहिले आइपुग्दा पौडेल, सिटौला, खड्का, गुरुङ गुटमा खण्डित गरिएको छ । त्यसलाई निरस्त पार्ने काम पार्टी सभापतिले गर्नुपथ्र्याे तर दुःखको कुरा सभापतिले सबैलाई खुुसी बनाएर शासन गर्ने सोचले सबै गुटलाई संरक्षण गर्ने काम भयो । गएको चुनावमा यही गुटले एकअर्कालाई सिध्याउने काम ग¥यो । रूपमा दुई ठूला कम्युनिस्ट पार्टी मिलेकाले चुनाव हारेको देखिए पनि सारमा भन्दा गुटगत राजनीतिको नराम्रो शिकार काँग्रेस बन्न पुग्यो ।
अब काँग्रेसलाई पुनःजीवन दिने हो भने नयाँ ढङ्गले सोच्नैपर्छ । पुराना पुस्ता पार्टीका महŒवपूर्ण अङ्ग हुन् । राणाकालमा सङ्घर्ष गर्ने पुस्ता अब लगभग अस्तित्वमा छैनन् । पञ्चायतकालमा कष्ट भोगेका अहिले पार्टी नेतृत्वमा छन् । उनीहरूले भोगेको दुःख वास्तवमै कठोर थियो । जेलनेल र निर्वासनमा रहेका नेताले ०४६ को परिवर्तनपछि सत्ता सञ्चालनको मौका पाएका छन् । तिनैमध्येका हुन्, शेरबहादुर देउवा र रामचन्द्र पौडेल लगायतका नेता । लगभग तीन दशक यो पुस्ताले मुलुकको बागडोर थामेको हो । त्यसैले विगतको पीडाको सावाँ ब्याज यो पुस्ताले पाइसकेको छ । अब यो पुस्ता अभिभावकीय भूमिकामा बस्दा नयाँ पुस्ताले पार्टीलाई नयाँ जोश र जाँगरका साथ अघि बढाउन सक्ला ।
काँग्रेसमा पनि केही आशा लाग्दा युवा पुस्ताका नेता छन् । जो पदमा रहेका बेला पनि आफ्नो र पार्टीको शाख जोगाउन सफल भए । अहिलेको आवश्यकता र चाहनाबमोजिम पार्टीलाई अघि बढाउने कार्य योजना उनीहरूसँग छ । मौका पाए उनीहरूले पार्टीलाई नयाँ शीराबाट लैजान सक्ने छन् तर यसका लागि बूढा पुस्ताको त्याग र समर्पण आवश्यक छ । अब देउवा र पौडेलले नेपाली काँग्रेसलाई नयाँ गति दिन सक्दैनन् । उनीहरूमा त्यो जाँगर र सीप पनि छैन । त्यसमा पनि उनीहरू आफ्ना लागि भन्दा अरूका लागि मोहर बन्ने अवस्थामा रहेका छन् । गुट चलाउने स्वार्थीहरूको झुण्डलाई यी दुवै नेताले बोक्नु आवश्यक छैन । बरु नयाँ सोच र शैलीका साथ काम गर्न सक्ने युवा पुस्तालाई बिस्तारै नेतृत्व तहमा लैजाने योजना बनाउन आवश्यक छ । नयाँ नेतालाई गुटबाट पूर्णतः माथि उठेर काम गर्न मौका दिनुपर्छ । नेतृत्व हस्तान्तरण गर्दा फेरि गुटको गलगाँड सँगसँगै थमाउने काम भयो भने त्यो अझै कष्टप्रद हुनेछ ।
विगत केही समययता नेपाली काँग्रेसले नयाँ पुस्ताको भोट तान्न सकेको छैन । परम्परागत भोट भने अहिलेसम्म जोगिएको देखिन्छ तर नयाँ पुस्तासँग पार्टीलाई जोड्न सकिएन भने लोकप्रियता वृद्धि गर्न वास्तवमै कठिन हुनेछ । त्यही अवस्था नेपाली काँग्रेसले भोगिरहेको छ । छोरा नाति पुस्तालाई पार्टीको मतदाता बनाउन सकिएको छैन । यो कुरा नेताहरूलाई थाहा छ । अब इतिहासको बखान गरेर नयाँ पुस्ताको भोट पाउने अवस्था छैन । उनीहरूलाई आकर्षित गर्ने खालको नीति कार्यक्रम नल्याएसम्म बुबा–हजुरबुबाले भनेको भरमा नयाँ पुस्ताले भोट दिने कल्पना नगरे हुन्छ । यो यथार्थलाई हामीले स्वीकार्ने पर्छ । अब ओगटेर होइन पदलाई सक्रिय बनाएर जानुपर्ने बेला आएको छ । गुट चलाउनेका लागि यो प्रियकर नहोला तर पार्टीप्रति इमानदार तथा बफादार कार्यकर्ताको चाहना यस्तै छ । गुटको राजनीतिले आफैँलाई सिध्याउने काम मात्रै हुन्छ । प्याज छोडाए जस्तो एकअर्कालाई छोडाउँदा अन्त्यमा प्याजनै सकिने अवस्था आएजस्तो काँग्रेसको गुट राजनीति मौलाएको छ । गुटलाई ध्वस्त नपारेसम्म काँग्रेसले गति लिन सक्दैन । जसका लागि नयाँ पुस्ताको भावना बुझ्ने र सानिध्यता गाँस्न सक्नेलाई नेतृत्व सुम्पनु आवश्यक छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना