दुई कोरियाबीच ऐतिहासिक शिखर बैठक सम्पन्न: युद्ध अन्त्य गर्ने सहमति


एजेन्सी

सोल, वैशाख १५ गते । कोरिया प्रायद्विपमा सधैँका लागि युद्ध अन्त्य गर्ने सहमति भएको छ । दक्षिण कोरिया र उत्तर कोरियाका शीर्ष नेताबीच शुक्रबार सम्पन्न शिखर बैठकमा यस्तो सहमति भएको हो । सहमतिअनुसार यसै वर्षभित्र दुई कोरियाबीच शान्ति सम्झौता हुने भएको छ ।
कोरियाली युद्ध भएपछि पहिलो पटक ६५ वर्षपछि दक्षिण कोरियाली भूमिमा पुग्नुभएका उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ ऊन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनबीच भएको सौहार्दपूर्ण बैठकमा कोरियाली प्रायद्विपलाई आणविक अस्त्रमुक्त क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त भएको छ । दुई चरणमा भएको बैठकपछि संयुक्त घोषणापत्र जारी गरिएको छ । घोषणापत्रमा दुवै नेताले आपसी सम्बन्धलाई प्रगाढ बनाउन वार्ताको क्रम जारी राखी थप मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । वार्तामा भएको सहमतिअनुसार यसै वर्ष दक्षिण कोरियाका राष्ट्रपति मुनले उत्तर कोरियाको भ्रमण गर्नुहुने भएकोे छ ।
दुई कोरियाबीच सन् १९५० देखि ५३ सम्म भीषण युद्ध भएको थियो । युद्धपछि युद्धविराम सम्झौता गरिए पनि शान्ति सम्झौता नगरिएकाले अहिलेसम्म प्राविधिक रूपमा दुवै कोरिया युद्धको अवस्थामा थिए । दुवै देश एकअर्काप्रति आरोपप्रत्यारोपमा केन्द्रित थिए । koriya
दक्षिण कोरियाको पान्मुन्जोमस्थित शान्तिगृह (पिस हाउस) मा नेताद्वय किम र मुुनबीच शुक्रबार बिहानै झन्डै डेढ घण्टा वार्ता भएको थियो ।
औपचारिक वार्ता अगाडि किमलाई मुनले सैन्य प्रदर्शनी अगाडि अभिवादनसहित भव्य स्वागत गर्नुभएको थियो । पहिलो पटक दक्षिण कोरियाली भूमि टेक्नुभएका किमले मुनलाई पनि त्यसैबेला उत्तर कोरियाली भूमि टेकाउनुभएको थियो । नेताद्वयको यस कदमलाई निकै महत्व दिइएको थियो । यसलाई शान्ति र मेलमिलापको सङ्केतका रूपमा हेरिएको छ । शुक्रबार बिहान उहाँहरूको ऐतिहासिक शिखर बैठकअन्तर्गत पहिलो चरणको वार्ता सम्पन्न भएपछि खानाको समय छुट्याइएको थियो । खाना खाएपछि फेरि भेटवार्ता भएको थियो । दुवै चरणको वार्तापछि पान्मुन्जोम घोषणापत्र जारी गर्दै आउँदा दिनमा वार्ता र छलफललाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो । सन् १९५३ मा कोरियाली युद्ध सकिएपछि पहिलो पटक उत्तर कोरियाका नेता दक्षिण कोरिया जानुभएको हो ।
बैठकस्थलमा प्रवेश गरेपछि आगन्तुक पुस्तिकामा उहाँले “शान्तिपूर्ण युगको प्रारम्भको विन्दुमा एउटा नयाँ इतिहास सुरु भएको छ,” भनेर लेख्नुभएको छ । दुई कोरियाबीच ऐतिहासिक शिखर वार्ता सफल भएकोमा चीन, अमेरिका लगायत अन्तर्राष्ट्रिय समुदायले स्वागत गरेका छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना