खेलकुदको विवाद

प्रजित शाक्य

 


एसियाली खेलकुदअघि नेपाली खेलकुदमा विवाद देखिनु नियति नै मान्नुपर्छ । पछिल्ला दुई एसियाडलाई मात्र फर्केर हेर्दा पनि यो कुरा छर्लङ्ग हुन्छ । दुई संस्करणअघि ‘ग्वान्जोओ एसियाड’ मा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी)को विवाद चर्केको थियो । त्यसपछि एसियाडको मुखमै सर्वोेच्च अदालतले धु्रवबहादुर प्रधान अध्यक्ष रहेको नेपाल ओलम्पिक कमिटीलाई अवैध भन्दै रुक्मशम्शेर राणाको नेतृत्वमा रहेको एनओसीलाई मान्यता दियो । जसले नेपाली खेलकुद एसियाडअघि भुमरीमा परेको थियो ।
दक्षिण कोरियामा भएको पछिल्लो संस्करण ‘इन्छन एसियाड’  पनि विवादमुक्त हुन सकेन । ग्वान्जाओ एसियाडमा राखेप र एनओसीको विवादले प्रतियोगिता प्रभावित भएको थियो । इन्छन एसियाडमा खेलकुद मन्त्रालय र राखेपको झगडाले तयारीमा असर प¥यो । यी दुवै खेल निकाय एसियाडका लागि तात्नेभन्दा आपसी झगडामा अल्झिए । खेलकुद मन्त्रालय र राखेपले आ–आफ्नो ढङ्गले तयारी समिति गठन गरेर रमिता देखाए । खेलाडीहरूलाई न यताको कुरा सुनौँ न उताको कुरा सुनौँ भयो । यी दुईको झगडाले एसियाडमा नेपालको सहभागितामा नै अन्योलमा प¥यो ।
आगामी अगस्टमा नै इन्डोनेसियामा एसियाडको अर्को संस्करण हुँदैछ । नेपाली खेलाडीहरू अहिले यसको तयारीका लागि अभ्यासमा छन् तर विगतमा जस्तै यसपालि पनि विवाद सिर्जित छ । यसपटक विवादमा मुछिएको छ– तेक्वान्दो ।
तेक्वान्दो नेपालको सर्वाधिक सफल खेल हो भन्दा फरक पर्दैन । दक्षिण एसियाली मानचित्रमा त विगतमा नेपालकै प्रभुत्व थियो । विश्वकै सबभन्दा ठूलो खेलकुद मेला ‘ओलम्पिक’ मा नेपालले छनोट चरण पार गरेर चयन हुने एकमात्र खेल पनि तेक्वान्दो नै हो । छनोट चरण खेलेर ओलम्पिकको लागि योग्य सावित हुने संगिना वैद्य नेपालकी पहिलो खेलाडी हुनुहुन्छ । त्यसपछि दिपक विष्टले पनि छनोट चरण पार गरेर ओलम्पिक खेल्नुभयो । सन् १९८८ को सोल ओलम्पिकमा तेक्वान्दोलाई प्रदर्शन खेलको रूपमा राखिँदा नेपालका विधान लामाले कास्य पदक जित्नुभयो । तर प्रदर्शन खेल भएकोले ओलम्पिकमा राष्ट्रिय गानसहित नेपालको ध्वजा फहरिए पनि आधिकारिक खेल नभएको कारण इतिहास बन्न सकेन ।
एसियाली खेलकुदमा पनि नेपाललाई सर्वाधिक पदक दिलाउने खेल तेक्वान्दो हो । सन् १९८६ मा दक्षिण कोरियाली राजधानी सोलमा आयोजना भएको दशौं एसियाली खेलकुद नेपालको लागि ऐतिहासिक रह्यो । सो एसियाली खेलकुदमा नेपालले जितेका आठमध्ये चार काश्य पदक तेक्वान्दो खेलाडी विधान लामा, राजकुमार राई, राजकुमार बुछे र रामबहादुर घच्छेले हासिल गर्नुभएको थियो ।
सन् १९९४ मा जापानको हिरोसिमामा भएको १२ औँ एसियाली खेलकुदमा तेक्वान्दोमा मान बहादुर शाहीले कांस्य पदक हात पार्नुभयो । बैङ्ककमा भएको १३ औँ एसियाली खेलकुदमा सविता राजभण्डारीले तेक्वान्दोमा रजत पदक प्राप्त गरेर कीर्तिमान कायम गर्नुभएको थियो । यो नेपाली खेलकुदकै अहिलेसम्मको सबभन्दा ठूलो पदकको रूपमा रहेको छ । सो समय तेक्वान्दोमै किशोरबहादुर श्रेष्ठ र सपना मल्लले पनि सो समय काश्य पदक जित्नुभएको थियो ।
बुसान एसियाली खेलकुदमा पनि तेक्वान्दोतर्फ दिपक विष्ट, रेनुका मगर र रितु जिमी राईले तीन काश्य पदक नेपाललाई दिलाउनुभएको थियो । दोहामा भएको १५ औँ एसियाली खेलकुदमा पनि दिपक विष्ट र आयशा शाक्यले काश्य पदक हात पार्नु भएको थियो ।
यसरी एसियाली खेलकुदमा तेक्वान्दो नेपाललाई सबभन्दा बढी पदक दिलाउने खेल बनेको छ । त्यसैले एसियाडमा यस खेलबाट सधैँ पदकको आशा रहन्छ । तर यसपटक तेक्वान्दोको सहभागिता नै अन्योलमा छ ।
के हो त विवाद ?
अहिले नेपालमा तेक्वान्दोका दुई समानान्तर सङ्घ सक्रिय छन् । एउटा अन्तर्राष्ट्रिय मान्यताप्राप्त तथा लामो समयदेखि दृश्यमा रहेको नेपाल तेक्वान्दो सङ्घ । अर्को राष्ट्रिय तेक्वान्दो युनियन । करिब पाँच वर्षअघि राखेपका तत्कालीन सदस्यसचिव युवराज लामाले तेक्वान्दो युनियनलाई मान्यता दिएपछि तेक्वान्दोका दुई सङ्घ बनेका हुन् । नेपालको सर्वोच्च खेल संस्था राष्ट्रिय खेलकुद परिषद्ले दुवैलाई मान्यता दिएको छ । सो नयाँ सङ्घले सन् २०१४ मा इन्छन एसयाडमै सहभागिता जनाउन खोजेको थियो । तर अन्तर्राष्ट्रिय मान्यता प्राप्त नभएकोले तेक्वान्दो युनियनका खेलाडीले खेल्न पाएन ।
तर यसपालिको एसियाडमा विवादले ठूलो रूप लिएको छ । दुवै तेक्वान्दो सङ्घले गत पुसमा राखेप च्याम्पियन्सिपमा सहभागिता जनाए । दुवै सङ्घले एसियाली खेलकुदको तयारीमा एक दर्जन खेलाडी चयन गरी बन्द प्रशिक्षणमा राखेका छन् ।
नेपाल तेक्वान्दो सङ्घ कुनै हालतमा आफ्नो समानान्तर सङ्घका खेलाडीलाई एसियाडमा लाने पक्षमा छैन । उसले यस हप्ता पत्रकार सम्मेलन गरी आफ्नो धारणा स्पष्ट पारिसक्यो । नेपाल तेक्वान्दो सङ्घका महासचिव दिपराज गुरुङ भन्नुहुन्छ– नेपाल तेक्वान्दो सङ्घअन्तर्गतका खेलाडीले मात्र एसियाडमा खेल्नेछन्, अर्को सङ्घले पनि प्रशिक्षण गरिरहेको छ भन्ने सुनेको छु, खेलाडी प्रशिक्षकको मिहिनेतमा अन्याय र अन्योल नहोस् भनेर हामीले आधिकारिक धारणा राखेका हौँ ।
हुन त अहिले दुवै सङ्घका खेलाडीबीच प्रतियोगिता गराएर एसियाडका लागि तेक्वान्दो खेलाडी चयन गर्ने हल्ला छ तर नेपाल तेक्वान्दो सङ्घको यस्तो भनाइ आएपछि विवाद उत्कर्षमा पुग्ने धेरै सम्भावना छ । तेक्वान्दोको अर्को सङ्घ भने आफूहरू पनि राखेपबाट मान्ता प्राप्त सङ्घ भएको, राष्ट्रिय प्रतियोगिता पनि गरेको हुँदा सहभागिताको अवसर राखेपले दिनुपर्ने माग गर्दैछ । तेक्वान्दोका दुवै सङ्घ समान हैसियतका छन्, त्यसैले दुवैले अवसर पाउनुपर्छ भन्ने भनाइ तेक्वान्दो युनियनको छ ।
राखेप भने यसका लागि उच्चस्तरीय समिति गठन गरेको र सोही समितिले निर्णय लिनेछ भन्दैछ । आखिर समस्या जेजस्तो भए पनि एसियाडजस्तो प्रतियोगिताअघि यसको मारमा खेलाडीहरू पर्नेछन् । सहभािगतामा अन्योल भएपछि उनीहरू मानसिक रूपमा थाक्ने पक्का छ । त्यसैले यो विवादको समाधान जति चाँडो हुनसक्यो, त्यत्ति नै राम्रो हुनेछ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना