संगीतद्वारा नेपाली संस्कृति सरंक्षण प्रयासमा मन मगन

man magan

गोरखापत्र समाचारदाता–
ललितपुर । गायक दीपक ब्रजाचार्यले गीतसंगीतमा कला र संस्कृतिलाई समायोजित गर्न सके नेपाललाई विश्वले हेर्ने दृष्टिकोणमा फरक आउनसक्ने धारणा राख्नुभएको छ ।
यहाँस्थित शुक्रबार नेवाः राष्ट्रिय पत्रकार गुथिद्वारा आयोजित ‘संगीतद्वारा नेपाली संस्कृति सरंक्षण’ विषयक साक्षातकार कार्यक्रममा बोल्नुहुँदै उहाँले उक्त भनाई राख्नुभएको हो ।
‘लोकगीत, लोकनृत्य, लोकसंगीतलाई बिर्सेर हामीले पश्चिमी संस्कृति अङ्गाल्न पुगेकाले हाम्रो पहिचान लोप हुँदैछ ।’ उहाँले भन्नुभयो, ‘पश्चिमी संस्कृति र संगीत हावाको झोकाजस्तै हो, त्यसैले पश्चिमी संगीतले होइन, नेपाली संगीतले मात्र विश्वसामू नेपाल चिनाउन सकिन्छ ।’
बीस वर्षको पप गीत र सङ्गीतमा रमाएका बज्राचार्यलाई एकजना विदेशी फ्यानले नेपाली पप गीतको औचित्य नभएको बताएपछि नेपाली संस्कृति भल्किने गीतसंगीतको खोजीमा करिब चारवर्ष अनुसन्धानमा लागेको उहाँले उक्त कार्यक्रममा बताउनुभयो ।
उहाँले बेल्जियममा रहेको विश्व वाद्य सङ्ग्रहालयमा नेपाल र नेपालीको वाद्यवादनका कुनै पनि सामाग्री नभएको भन्दै सम्बद्ध पक्षको ध्यानाकर्षण पनि गर्नुभयो ।
नेपाली संस्कृति समावेश गरिएको म्युजिक भिडियो ‘मन मगन’ सार्वजनिक भएको केही दिनपछि चर्चाको शिखरमा पुगेपछि पत्रकारसँग साक्षातकार गर्नुपुगेका गायक दिपकले नेपाली संगीतमा संस्कृतिको समायोजन अति आवश्यक भएकोमा जोड दिनुभयो ।

deepak bajracharya
नयाँ वर्ष वि.सं. २०७५ शुभसाइतको अवसर पारेर सार्वजनिक गरिएको मन मगनमा जात्रा र पर्वहरुमा बजाइने परम्परागत बाजा र नाँचलाई समावेश गरिएको दिपक बजाचार्य बताउनुहुन्छ ।
यस गीतमा अत्याधुनिक हिपहप, सुदुरपश्चिमको तराईमा नाचिने छलिया नाच, मध्य पहाडी क्षेत्रको झ्याउरे, मध्य र पहाडी जिल्लाका झाँक्री नाच, उपत्यकाको लाखे, भक्तपुरको घिन्ताङ किसी, इन्द्रजात्रामा देखाइने पुलुकिसी, धुनिया घुमाउने र धिमेनाचलाई समायोजन गर्र्दै उक्त गीत तयार भएको छ । करिब एकसय पचासजना कलाकारहरुले भूमिका निर्वाह गरिएको मन मगनले विश्वब्यापी चर्चा पनि पाएको गायक बज्राचार्य दाबी गर्नुहुन्छ ।

dipak-bajracharay
रिक्की शाक्यको शब्द र संगीतमा निर्माण भएको मन मगन म्यूजिक भिडियोलाई रिदम ब्याण्डले एरेञ्ज गरेको हो । सुव्रतराज आचार्यको निर्देशन, अनिल मानन्धरको छायाङ्कन तथा सुप्रिम पराजुलीले सम्पादन गर्नुभएको छ ।
एकदिनमा छायाङ्कन गरिए पनि मौलिकतासहित सबै संस्कृतिलाई उचीत स्थान दिँदै सम्पादन गर्न करिब छमहिना लागेको गायक बज्रायार्यले बताउनुभयो ।
मन मगन म्यूजिक भिडियोले नेपालको मौलिक गीत, संगीत, कला, संस्कृतिलाई संरक्षण गर्ने प्रयास गरेको छ । भिडियो निर्माण गर्न ज्यापू समाज, यलले गरेको सहयोगप्रति उहाँले धन्यवाद समेत दिनुभयो । –उपेश महर्जन

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना