दृढ नेतृत्व : समृद्धिको रहस्य

shyam rimal_2श्याम रिमाल

एक राम्रो नेता हुन ऊसँग राम्रो रणनीति, ज्ञान र भविष्यवाणी गर्नसक्ने हुुनुपर्छ ः महाथीर मोहम्मद
८३ हजार मेगावाट विद्युत् उत्पादन गर्ने सक्ने जलस्रोत, सबै मौसम र तापक्रम भएको हावापानी, हिमाल–पहाड–तराई सबै भूस्थिति भएको जमिन, नदी–तालतलैया–वनस्पति–वन्यजन्तु–चराको बासस्थान, सयभन्दा बढी जातिको समूह, जातिपिच्छे संस्कृति, ऐतिहासिक–धार्मिक–सांस्कृतिक सम्पदा, परिश्रमी जनता भएको मुलुक नेपालको विकास जति हुनुपर्ने हो, त्यति नभई कुल गार्हस्थ उत्पादन वार्षिक ४ हजार २८० डलर भई सन् २०१६ मा संसारका गरिब राष्ट्रमा २८ औँ स्थानमा पर्छ भने ४८ अल्पविकसित राष्ट्रमध्ये एक पर्छ । नेपालमा राजनीतिक अस्थिरताले विकास हुन नसकेको कुरा धेरैले दोहो¥याउँछन् । पाँच वर्षसम्म लगातार एकै व्यक्ति प्रधानमन्त्री हुन नसकेकाले त्यसो भएको तिनको तर्क छ । देश विकास नहुनामा राजनीतिक दल र नेता तथा तिनको काम गर्ने टोलीको योग्यता वा क्षमतामा देखिएको अभावबारे चाहिँ कमैले बोले वा लेखेका छन् । के कसैको इच्छा मात्र देश विकास हुने मापदण्ड हो र ? के हाम्रा दल र नेता वा तीसँग काम गर्ने समूह योग्य नभई देश विकासको नाराले मात्र मूर्त रूप लिन सक्छ र ?
महाथीर मोहम्मदको लामो प्रधानमन्त्रित्वकाल (सन् १९८१–२००३) ले मलेसियालाई आर्थिक वृद्धिका लागि आवश्यक राजनीतिक स्थायित्व दियो । एसियाली मूल्यमान्यताका समर्थक मोहम्मदको पूर्वलाई हेर र भिजन २० भन्ने नीति थियो । उनले विदेशी लगानीलाई स्वागत गरे, कर संरचनामा सुधार गरे, भन्सार महसुल दर घटाए र सरकारी स्वामित्वका धेरै संस्थानलाई निजीकरण गरे । मलाया, चिनियाँ र भारतीय जातीय विभाजनलाई विश्वास सिर्जना र शक्ति साझेदारीमार्फत कम गरी आर्थिक समृद्धि दिए । उनले नयाँ विकास नीति १९९१ ल्याए जसले सामान्य आर्थिक वृद्धि र गरिबी निवारणमा जोड दियो । उनले आफ्नो प्रधानमन्त्रित्वकालमा सरकारी कार्यालयमा कार्यतालिका निर्माण र कामको दायित्व निर्धारण गरी निर्माण क्षेत्रमा वृद्धि, मध्यम वर्गको विस्तार तथा साक्षर दर र आयु दरमा वृद्धि भई मलेसिया तीव्र गतिमा आर्थिक रूपले समृद्ध भयो । श्रमको महìव जनतालाई देखाउन उनी आफू पनि काममा कडा मिहिनेतले उत्रिए, कार्यकालमा कमै बिदा लिए । आधुनिक मलेसियाका पिताका रूपमा समेत परिचय बनाएका उनले कृषिमा आधारित गरिब अर्थतन्त्रलाई विकास गरी २२ वर्षमा दक्षिणपूर्वी एसियाको शक्तिशाली औद्योगिक धनी अर्थतन्त्र र सामाजिक परिवर्तन भएको राष्ट्र दिए ।
दक्षिणपूर्वी एसियाको अर्को समृद्ध राष्ट्र सिङ्गापुरका जन्मदाता लि क्वान यँुले सानो सिङ्गापुरलाई संसारको वित्तीय केन्द्र बनाए । स्वतन्त्रताताका निर्माण उद्योग मात्र रहेको सिङ्गापुरमा सन् २०१३ मा विश्वकै बढी प्रतिव्यक्ति आय भएका मुलुकमध्ये एक (कतार र लक्जम्बर्गपछि) बनाए । उनको दूरदर्शिताबाट सिङ्गापुर न्युयोर्क, लण्डन र स्विट्जरल्याण्डकै दर्जामा सिङ्गापुर विश्वको वित्तीय केन्द्र बन्यो । बेलायती साम्राज्यको बन्दरगाह सिङ्गापुरसँग अन्य प्राकृतिक स्रोत केही नभएकाले युले त्यसैबाट व्यापार गतिविधि बढाए । भ्रष्टाचारमुक्त र प्रविधियुक्त वातावरणका साथ गहन वित्तीय र आर्थिक नीतिले बहुराष्ट्रिय कम्पनीले सिङ्गापुरलाई क्षेत्रीय केन्द्रका रूपमा रोजे । उनले बेरोजगारी उच्च रहेको सिङ्गापुरमा पहिले कामको प्रत्याभूति दिए । आर्थिक विकास बोर्ड स्थापना गरी डच अर्थशास्त्रीको सहायताले उनले निर्माण कारखाना स्थापना गरे । बहुराष्ट्रिय कम्पनीबाट विदेशी लगानी आकर्षित गर्ने कार्यक्रम चाले । ‘सन् २०१६ को सिङ्गापुरको जनसङ्ख्या ५६ लाख थियो । त्यस वर्ष सिङ्गापुुर आउने पर्यटकको सङ्ख्या एक करोड ६४ लाख थियो, जनसङ्ख्याको झण्डै तीन गुणा बढी ।
चीनमा देङ सियाओ पिङपछिका सबभन्दा बढी शक्तिशाली सि चीनपिङ माओजत्तिकै आदरणीय पनि भएका छन् । माओको मास लाइन र देङको तथ्यबाट सत्य खोज्ने विचारजस्तै सिले नयाँ युगमा नयाँ विशेषतासहितको चिनियाँ समाजवाद सिद्धान्त ल्याई विश्वलाई छक्कै पारेका छन् । माओ क्रान्ति जनताको तल्लो तहबाट आउँछ भन्थे भने संयम र नियन्त्रित रूपबाट समृद्ध समाज सिको सपना हो नकि साम्यवादी आदर्श स्वर्ग । सन् २०१२ मा सत्तामा आएपछि सिले चीनको पुनर्जीवनका लागि सबैलाई आह्वान गरे र चिनियाँ जनतालाई उत्प्रेरित गर्दै आशा जगाइदिए । सन् १९६६मा संयुक्त राष्ट्रसङ्घको सदस्य बन्दा इजिप्टमा मात्र यसको दूतावास थियो । अहिले सिको पालामा चीनको व्यापार साझेदार १२० राष्ट्र भएका छन् सबभन्दा बढी निर्यात गर्ने देशमा प्रथम र आयात गर्नेमा दोस्रो देश चीन भएको छ । रमाइलो कुरा, आफ्नो जीवनकालमा माओले विदेशका नाममा तत्कालीन सोभियत सङ्घको मात्र भ्रमण गरे भने सिले सन् २०१२ देखि करिब ५० राष्ट्रको भ्रमण गरिसकेका छन् । आफ्ना पूर्ववर्ती जियाङ जेमिन र हु जिन्ताओलाई बिर्साउँदै देङको सुधार र खुलापनलाई पछ्याउन उनले कानुनको शासनमा सुधार, चिनियाँ विशेषतासहितको समाजवाद र वातावरणीय संरक्षणमा जोड दिए । सन् २०२० सम्म गरिबी निर्मूल गरेर २०२१ सम्म सामान्य धनी समाजको लक्ष्य लिएको चीनले चालिस वर्षका अवधिमा गरिबी सत्तरी करोड घटाएर संयुक्त राष्ट्र सङ्घको आधा गरिबी घटाउने लक्ष्य पूरा गरी पहिलो राष्ट्र बनेको छ । सन् २०१३–१७ सम्ममा चीनमा करिब ६५ करोड गरिबी घटेको बताइएको छ जुन बेलायत, फ्रान्स वा इटलीको जनसङ्ख्या बराबर हो भनिन्छ । सन् २०१६ सम्ममा १०–१५ उच्च दर्जाका सैनिक, सरकारी स्वामित्वका संस्थाका उच्च अधिकृत र पाँच राष्ट्रिय तहका नेता गरी करिब १२० जनालाई भ्रष्टाचारविरुद्ध समाइसकिएको छ भने एक लाख जतिलाई आरोप लगाइएको छ । एक क्षेत्र एक मार्ग उनकै अवधारणाको ‘पृथ्वी ग्रहको शताब्दीकै विशाल परियोजना’ हो जसमा हालसम्म करिब ७० राष्ट्र सम्मिलित भइसकेका छन् जसले एसिया, युरोप र अफ्रिका जोड्छ । यस्तो अवधारणा जो कोही नेताले ल्याउन सक्दैन । ट्रम्पले ‘फेरि अमेरिकालाई महान् बनाऔँ’, मोदीले ‘हरेकको साथ हरेकको विकास’ र पुटिनले बलियो राष्ट्रपति, बलियो रुस (चुनावी नारा) जस्ता आफ्नै मुलुकबारेको नाराबीच सिले विश्वलाई नै चमत्कार दिने झड्का दिएकाले तिनसँग यिनको तुलना नै गर्न मिल्दैन ।
नेता हुनु भनेको अरूलाई स्वेच्छाले आफ्नो पछि लाग्ने बनाउन सक्ने योग्यता हो भनिन्छ । सफलता प्राप्त गर्न दूरदृष्टिकोण, निष्ठा, समर्पण वा त्याग, उदारता, नम्रता, बहिर्मुखीता, सिर्जनशीलता, अध्ययनशीलता, स्वच्छता, दृढता, तर्कशीलता त छँदैछ, नेतामा बेला बेला हाँसोठट्टा गर्ने स्वभाव पनि हुनुपर्छ तनाव हटाउन वा दिक्कलाग्दो क्षणलाई जगाउनका लागि । नत्र नेताको पछि किन लाग्छन् कार्यकर्ता वा जनता ? सरकारमा रहेको नेता वा मन्त्री–प्रधानमन्त्रीसँग भाषण मात्र गर्छन्, काम गर्न सक्ने ल्याकत देखाउँदैनन् भने तिनको भाषणले मात्र जनतालाई सन्तुष्टि दिन सक्दैन । खाली भाषण दिने मन्त्री र तिनलाई भट्याउने मिडिया दुवै जिम्मेवार छन् देश विकास नहुनामा । अर्काे पक्षलाई होच्याउने वा आफ्नै गुणगान गाउनेलाई पनि यहाँ जनताले चिनिसकेका छन् बरु सही कुरा गर्नेलाई पत्याउँछन् । सल्लाहकारले सधैँ पढाइदिनुपर्ने वा तिनको सल्लाह नमान्ने नेता पनि यहाँ जन्मे देशलाई भार मात्र दिए । सबैलाई समेटेर जान सक्ने र परिआएमा कठोर कदम चाल्न सक्ने नेता देशले खोजेको छ जसले अब समृद्धिको सच्चा उपहार दिन सकोस् । उद्घाटन, विमोचन, गोष्ठी, कार्यशाला, अन्तक्र्रिया, छलफल, बहस धेरै भए । जनता साँच्चिकै गरिबीबाट मुक्त हुन चाहन्छन् ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना