बुद्धका उपदेश विश्वमै लोकप्रिय : प्रम

kpoliकाठमाडौँ, वैशाख १७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिनुभएका गौतम बुद्धका उपदेशहरू विश्वमै लोकप्रिय रहेको बताउनुभएको छ ।  २५६२औं बुद्धजयन्तीको अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले शान्तिका अग्रदूत गौतम बुद्धले सम्पूर्ण मानव जगत्को कल्याण गर्न गृहत्याग गरी कठोर परिश्रमबाट प्राप्त गर्नुभएको बोधी ज्ञान आजसम्म पनि उत्तिकै शास्वत रहेको उल्लेख गर्नुभएको छ । 

‘बुद्ध विचारले अहिंसा, सद्भाव, मानवकल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकाले नै उहाँका विचार विश्वभर यति धेरै लोकप्रिय हुन सकेका हुन्’ शुभकामना सन्देशमा भनिएको छ, ‘गौतम बुद्ध नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिनुभएकाले उहाँप्रति हामीले गर्व गर्न सक्छौं । बुद्ध हामी सबै नेपालीका लागि गर्वका प्रतीक हुन् । ’
प्रधानमन्त्री ओलीले बौद्ध धर्मको विश्व भ्रातृत्वको भावनालाई आत्मसात गर्दै सबै मिलेर अगाडि बढ्न प्रेरणा मिलोस् र सबैको कल्याण होस् भन्ने धारणा पनि शुभकामना सन्देशमा व्यक्त गर्नुभएको छ ।  
सद्भाव हाम्रो अनुपम विशेषता
यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले किराँतहरूको महान चाड उभौलीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत दिदीबहिनी तथा दाजुभाइप्रति सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताको सङ्गमस्थल भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले विविधता भित्र एकता र सामाजिक सद्भाव हाम्रो अनुपम विशेषता भएको शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । ‘भाषा, संस्कृति, भेषभूषा र संस्कार आ–आफ्नो जातीय पहिचान दिलाउने विशेषताहरू हुन् । त्यसैगरी किराँत जाति पनि आफ्नो मौलिक संस्कृति र विशेषता बोकेको आदिवासी हो । किराँत विविध मूल्य मान्यता र संस्कारले धनी मानिन्छ,’ शुभकामना सन्देशमा भनिएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना